मातृभाषामा शिक्षासम्बन्धी सिफारिस, २०८२
कार्यकारी सारांश
नेपालको संविधानको धारा २८७ को उपधारा ६ को (ग) मा मातृभाषाहरूको स्तर पहिचान गरी शिक्षाको प्रयोग सम्भाव्यतासम्बन्धी सुझाव नेपाल सरकारसमक्ष पेस गर्ने संवैधानिक दायित्व रहेको छ। यसै गरी संविधानको धारा ७ को उपधारा (३) र भाषा आयोग ऐन, २०७४ को दफा ३ को (ख) र (ग) समेतका आधारमा मातृभाषामा शिक्षासम्बन्धी प्रतिवेदनमा समाविष्ट सुझाव र सिफारिसलाई सङ्घ, प्रदेश र स्थानीय तहमार्फत् कार्यान्वयन गरी मातृभाषामा शिक्षा पाउने प्रत्येक नागरिकको भाषासम्बन्धी मौलिक अधिकारको प्रत्याभूति हुने अपेक्षा गर्दै मातृभाषामा शिक्षासम्बन्धी सिफारिस गरिएको छ।
५.१ स्थानीय तहमा मातृभाषामा शिक्षासम्बन्धी स्थलगत अध्ययन र प्राप्तिहरू
भाषा आयोगबाट करिब एक दशकको अवधिमा गरिएका मातृभाषाको शिक्षामा प्रयोग सम्भाव्यतासम्बन्धी अध्ययनका प्राप्ति र निष्कर्षहरू देहायअनुसार रहेका छन्:
५.१.१ मातृभाषाको नक्साङ्कन
समुदायमा मातृभाषाप्रतिको सचेतना बढेको पाइए तापनि मातृभाषाको पुस्तान्तरण घट्दै गएको छ। मातृभाषामा शिक्षाप्रति अधिकांश स्थानीय तहहरू उदासीन रहेको पाइन्छ। विद्यालयमा शिक्षणसिकाइको माध्यममा नेपाली र अङ्ग्रेजीको मात्रै विस्तार हुँदा मातृभाषाहरूले बाह्य प्रोत्साहन पाउन सकेको देखिँदैन।
५.१.२ मातृभाषाको स्तर पहिचान
नेपालका विभिन्न मातृभाषामा सामग्री निर्माण र प्रकाशन व्यक्तिगत प्रयासमा सीमित रहेको छ। कतिपय मातृभाषाहरूको स्तरीकरणका चरण समेत पूरा हुन नसकी भाषिक नियम निर्धारण/स्तरीकरण कार्य प्रारम्भिक अवस्थामा रहेका छन्। साथै मातृभाषामा शिक्षाको विस्तार/विकासका लागि नीतिगत र कार्यगत खाका तयार भएको पाइँदैन।
५.१.३ शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता
शिक्षामा मातृभाषा (माध्यम र विषय) को प्रयोगलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्न मौजुदा ऐन, नियमहरूमा संशोधन भएको देखिँदैन। केही स्थानीय तहबाट मातृभाषामा शिक्षाको लागि प्रेरणादायी पहल भए तापनि विद्यालय वा शिक्षण संस्थामा मातृभाषाको प्रयोग विस्तारप्रति राज्य प्रणाली उदासीन नै रहेको पाइन्छ।
५.२ मातृभाषामा शिक्षासम्बन्धी आधारहरू
मातृभाषामा शिक्षासम्बन्धी मुख्य आधारहरूलाई देहायअनुसार प्रस्तुत गरिएको छः
५.२.१ नीतिगत र कानुनी प्रबन्ध
५.२.२ स्थानीय तहको नेतृत्वदायी भूमिका
५.२.३ समुदायको सहभागिता र अभिभावक सचेतना
५.२.४ विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको प्रतिबद्धता
५.२.५ मातृभाषा शिक्षक छनोट र विकास
५.२.६ मातृभाषाको पाठ्यक्रम र मूल्याङ्कन पद्धतिको विकास
५.२.७ मातृभाषाको पाठ्यसामग्री र स्रोतसामग्री
५.२.८ भाषा योजना निर्माण र कार्यान्वयन
५.२.९ प्रविधिक सहयोग र परामर्श
५.२.१० आर्थिक स्रोतको सुनिश्चितता
५.२.११ अन्तर्तह समन्वय र सहकार्य
५.३ मातृभाषामा शिक्षासम्बन्धी सिफारिसहरू
नेपालको संविधानको धारा ३१ (५) ले हरेक बालबालिकालाई मातृभाषामा शिक्षा पाउने अधिकारको प्रत्याभूति गरेको सन्दर्भमा संविधानको धारा २८७ को उपधारा ६ को (ग) मा भाषा आयोगलाई मातृभाषाहरूको विकासको स्तर मापन गरी शिक्षामा प्रयोगको सम्भाव्यतासम्बन्धी सुझाव पेस गर्ने संवैधानिक दायित्वबमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय सरकारसमक्ष कार्यान्यनका लागि देहायअनुसार सिफारिसहरू गरिएका छन्:
५.३.१ भाषाको जीवन्तता, पुस्तान्तरण र पुनर्जीवन
- नेपालमा बोलिने सबै मातृभाषाको जीवन्तता र पुनर्जीवनका लागि अन्तरपुस्तासम्म भाषिक पुस्तान्तरणसम्बन्धी कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने,
- तीनै तहका सरकार र अन्य सम्बद्ध सबै निकायहरूबाट लोपोन्मुख र मृतप्रायः भाषाहरूको वर्णपहिचान, शब्द सङ्कलन, शब्दकोश निर्माण, पाठ सङ्कलन, व्याकरण लेखन, लोकवार्ता सङ्कलन, भाषिक इतिहास लेखनजस्ता कार्य गरी भाषिक अभिलेखन गर्नुपर्ने,
- नेपालका मृतप्रायः भाषा र विशेष भाषिक क्षेत्रलाई स्थानीय तहमार्फत् विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा गर्दै पर्यटकीय गन्तव्यका साथै “भाषिक सांस्कृतिक क्षेत्र विशेष कार्यक्रम” अगाडि बढाउनुपर्ने,
- नेपालका सबै भाषाहरूलाई स्वउत्पादन, स्वरोजगारी व्यावसायिकता तथा भाषिक उद्यमशीलतासँग जोडेर भाषिक सिकाइ र प्रयोगको परिवेश तयार गर्नुपर्ने,
- नेपालमा बोलिने सबै भाषाहरूमा प्राथमिकताकासाथ विश्वविद्यालयहरूमा अध्ययन अनुसन्धान गर्न भाषावृत्ति र शोधवृत्तिको व्यवस्था गर्नुपर्ने।
५.३.२ कानुनी प्रबन्ध र कार्यान्वयन
- नेपालको संविधानको धारा ३१ (५) ले प्रत्याभूत गरेको मातृभाषामा शिक्षा पाउने मौलिक हकको सम्मान हुने गरी मौजुदा शिक्षा ऐनमा पुनरावलोकन गर्नुपर्ने,
- शिक्षा ऐन (२०२८ संशोधनसहित) को तथा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ को दफा २८ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायका नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने व्यवस्थालाई सबै तहका सरकारहरूबाट कार्यान्वयन, अनुगमन र पृष्ठपोषण गर्नुपर्ने,
- नगरपालिका, गाउँपालिका, वडा एवम् समुदायस्तरमा मातृभाषाको माध्यमबाट सेवाप्रवाह गर्ने र मातृभाषाकै माध्यमबाट आधारभूत तहको शिक्षा उपलब्ध गराउनेतर्फ कानुनी एवम् संरचनागत आधार तयार गरी कार्यान्वयन गर्नुपर्ने,
- निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन तर्जुमा गर्दा भाषा सेवा समूह गठन र मातृभाषामा शिक्षक दरबन्दी र नियुक्तिसम्बन्धी प्रावधान समावेश गर्नुपर्ने,
- स्थानीय तहमा बोलिने मातृभाषामा आधारभूत तहमा कक्षा ३ सम्म माध्यमको रूपमा र कक्षा ४-८ मा विषयका रूपमा पठनपाठनको प्रबन्ध गरी तत्काल कार्यान्वयन गर्नुपर्ने,
- सरकारी कामकाजमा लागू भएका भाषाहरूमा सङ्घ र प्रदेश तहमा तत्काल प्रारम्भिक बालकक्षादेखि १२ कक्षासम्म मातृभाषा विषयको रूपमा पठनपाठन गरी क्रमशः अन्य मातृभाषाहरूमा पनि कक्षा १२ सम्म विषयको रूपमा पठनपाठन गर्ने प्रबन्ध गर्नुपर्ने,
- सरकारी कामकाजका लागि सिफारिस गरिएका भाषाहरूमा सङ्घ र प्रदेश विश्वविद्यालय तहमा भाषा अध्ययन विभाग स्थापना गरी भाषासम्बन्धी जनशक्ति उत्पादन गर्नुका साथै यसबाहेकका अन्य मातृभाषाहरूमा पनि भाषिक जनशक्ति तयार पार्न विश्वविद्यालय तहमा पठनपाठनका साथै अध्ययन अनुसन्धानको प्रबन्ध गर्नुपर्ने,
- उच्च शिक्षा ऐनमा मातृभाषाका प्राध्यापक/शिक्षक दरबन्दी सिर्जना, भर्ना, छनोट गर्ने प्रबन्ध गरी मातृभाषाको माध्यमबाट पठनपाठनका लागि आवश्यक जनशक्तिको विकास गर्नुपर्ने,
- मातृभाषाको शिक्षाका निमित्त कुनै एक भाषामा प्रयोग क्षेत्र, प्रयोजन र कार्य विशेषअनुसार उक्त भाषामा सर्वस्वीकार्य र आधिकारिक भाषिक स्वरूप तथा लिपिको विकास र प्रयोग गर्ने अवस्था नआउञ्जेलसम्म उक्त भाषाको प्रचलित रूप र एक वा एकभन्दा बढी लिपिहरू एकसाथ प्रयोग गर्नुपर्ने ।
५.३.३ मातृभाषामा शिक्षासम्बन्धी भौतिक पूर्वाधार तथा शैक्षणिक व्यवस्थापन
- भौतिक पूर्वाधारको विकास र स्रोतसाधन व्यवस्थापनका लागि कार्यक्रम र बजेटसहित अनुदानको व्यवस्था गर्नुपर्ने,
- मातृभाषाको संरक्षण, संवर्धन र विकासका लागि भाषिक सम्मान र वक्ताको स्वाभिमानको योजना निर्माण गरी लागू गरिनुपर्ने साथै वक्ताको जीविका र जीवनस्तरसँग सम्बन्ध कायम गर्न विशेष प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने,
- मातृभाषामा शिक्षासम्बन्धी अनुभव र सिकाइ आदानप्रदान गर्न अन्तर्देशीय अवलोकन भ्रमण र अन्तरसिकाइको व्यवस्था गर्नुपर्ने।
५.३.४ मातृभाषा शिक्षाको तहगत र विषय क्षेत्रगत सिफारिसहरू
क) मौलिक ज्ञान पद्धति, परम्परागत र अनौपचारिक शिक्षा
- परम्परागत ज्ञान हन्तान्तरण र भाषिक पुस्तान्तरण तथा लिपिको प्रयोग सम्बन्धमा गुम्बा, गुरुकुल, माङ्हिम, मदरसा, बौद्ध बिहारजस्ता संस्थाहरूको विशेष भूमिका रहेकाले सम्बन्धित संस्थाहरूको सबलीकरण र मूलप्रवाहीकरण गर्न मापदण्ड तयार गरी शैक्षिक र भाषिक अनुदानको व्यवस्थाका साथ भाषिक संरक्षण र संवर्धनमा जोड दिनुपर्ने,
- सङ्घ, प्रदेश तथा स्थानीय सरकारले नेपालका संस्थागत तथा सामुदायिक विद्यालयमा नैतिक शिक्षा र सामाजिक शिक्षा विषयलार्इ माध्यमिक तहसम्म मातृभाषामा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने,
- नेपालका मौलिक कला, संस्कृति, सभ्यता, अनुभव र ज्ञानको अन्तरपुस्ता र अन्तरसमुदायमा आदानप्रदान गर्न अन्तर्संस्कृति र अन्तर्भाषिक सिकाइको पद्धति विकास गरी कार्यान्वयन गर्नुपर्ने।
ख) प्रारम्भिक बालविकास तथा शिक्षा र विद्यालयमा मातृभाषामा शिक्षा
- आधारभूत तह (कक्षा १-८) मा मातृभाषालाई माध्यम र विषयका रूपमा प्रयोग गरिनुपर्ने। यसअन्तर्गत विषयका रूपमा मातृभाषाको पठनपाठनलाई माध्यमिक तह (कक्षा ९-१२) मा निरन्तरता दिने व्यवस्था गर्नुपर्ने,
- दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा, स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाका साथै दृष्टि एवम् श्रवणशक्ति दुईवटै नभएका नागरिकलाई स्पर्श सङ्केतको माध्यमबाट शिक्षा प्राप्त गर्ने हकको सुनिश्चितता गर्नुपर्ने,
- आधारभूत तहसम्म स्थानीय विषय र मातृभाषा विषयलाई पूर्णाङ्क नै ५०/५० अङ्कको छुट्टा छुट्टै कायम गरेर दुई विषय अनिवार्य रूपमा पठनपाठन गर्ने,
- विद्यालयमा विषयका रूपमा मातृभाषा पठनपाठनका लागि बहालवाला शिक्षकलाई सेवाकालीन तालिम प्रदान गर्ने र क्रमशः मातृभाषा शिक्षक दरबन्दीको प्रबन्ध गरेर मातृभाषा विषयलाई स्थानीय तहमा लागू गर्न सङ्घ र प्रदेशबाट सहजीकरण गर्नुपर्ने ।
मातृभाषामा शिक्षासम्बन्धी विषय क्षेत्रगत सुझाव र सिफारिसलाई देहायअनुसार प्रस्तुत गरिएको छः
- प्रारम्भिक बाल विकास तथा शिक्षा देखि कक्षा ५ सम्म मातृभाषामा शिक्षा
- प्रारम्भिक बालविकास तथा शिक्षा देखि कक्षा ५ सम्म सरकारी र निजी विद्यालयहरूमा विद्यार्थीलाई आआफ्नो मातृभाषाका माध्यमबाट पठनपाठन गर्नका लागि अवसर सुनिश्चित गर्नुपर्ने। यसका लागि मातृभाषामा आधारित बहुभाषिक शिक्षा पद्धतिलाई आत्मसात गर्नुपर्ने।
आ) कक्षा ६ देखि ८ सम्म मातृभाषा र व्यापक प्रयोगको भाषामा शिक्षा
- कक्षा ६ देखि ८ सम्म विद्यालयको पठनपाठनको माध्यममा मातृभाषा र व्यापक प्रयोगको भाषा नेपाली वा अङ्ग्रेजीलाई सँगसँगै प्रयोग गर्नुपर्ने।
इ) कक्षा ९ देखि १२ सम्म मातृभाषा शिक्षा
- विद्यालय शिक्षाको कक्षा ९ देखि मातृभाषालाई विषयका रूपमा पठनपाठन गर्नुपर्ने,
- कक्षा ९ देखि विज्ञान, गणित र प्राविधिक विषयहरू अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्न सकिने।
ग) विश्वविद्यालय तहमा मातृभाषा शिक्षा
- विश्वविद्यालयहरूमा मातृभाषा विषयको अध्ययन अध्यापन गरिनुका साथै मातृभाषासम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई प्राथमिकता दिनुपर्ने,
- उच्च शिक्षामा भाषासम्बन्धी अध्ययनका लागि छात्रवृत्ति कोष स्थापना गरेर अवसर र सुविधा उपलब्ध गर्नुपर्ने ।
घ) दृष्टिविहीन, बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा
- दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाका साथै दृष्टि एवम् श्रवणशक्ति दुइटै नभएका नागरिकलाई स्पर्श सङ्केतको माध्यमबाट शिक्षा प्राप्त गर्ने हकको सुनिश्चित गर्नुपर्ने ।
ङ) दोस्रो भाषा र विदेशी भाषा शिक्षण
- विद्यालय तहमा नेपालीइतर मातृभाषी सिकारूका लागि नेपाली र सबैका लागि अङ्ग्रेजीलाई दोस्रो भाषाका रूपमा शिक्षणका निम्ति सबै तहका सरकारहरूबाट आवश्यक जनशक्ति, पाठ्यसामग्री र लगानीसमेत बन्दोबस्त गरी दोस्रो भाषा सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउनुपर्ने ।
५.३.५ भाषा योजना निर्माण र विकास
- सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूबाट आफ्ना बालबालिकाको सिकाइको अवस्थाको अवलोकन गरी विद्यालयलाई सिकाइको सुधार योजना तथा कार्यक्रम तयारीका लागि सहयोग गर्नाका साथै सिकाइमा स्थानीय भाषाको प्रयोग गर्न बनाइने नीति तथा योजना निर्माणमा विद्यालयलाई सहयोग उपलब्ध गराउनुपर्ने।
५.३.६ मातृभाषा शिक्षाको कार्यान्वयन संयन्त्र
- मातृभाषामा शिक्षासम्बन्धी स्थानीय तहमा हाल देखा परेका भ्रम निवारण गर्न र संविधानको पालना गराउने कार्यमा सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विशेष भूमिका निर्वाह गरिनु पर्दछ। यसका लागि सङ्घीय र प्रादेशिक तहका शिक्षा हेर्ने मन्त्रालयहरू र स्थानीय तहमा शिक्षा हेर्ने शाखा वा एकाइ स्थापना गरेर मातृभाषामा शिक्षासम्बन्धी सहजीकरण, नियमन र अनुगमनको व्यवस्था गर्नुपर्ने,
- स्थानीय तहका सरकारहरूबाट बहुभाषिक कार्यप्रणालीको विकास गरी मातृभाषाको माध्यमबाट आधारभूत तहको शिक्षा उपलब्ध गराउने व्यवस्था गर्न र भाषिक समुदायमा लक्षित गरी नगरपालिका एवम् गाउँपालिकाहरूले संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न अग्रणी भूमिका खेल्नुपर्ने।
५.३.७ बहुभाषिक माध्यमबाट सेवाप्रवाह
- सङ्घ, प्रदेश र स्थानीय तहहरूबाट भाषासम्बन्धी नीति र कानुनको व्यवस्था गर्दै हरेक तहमा बहुभाषाको माध्यमबाट सेवा प्रवाह गर्न भाषा हेर्ने महाशाखा वा शाखा स्थापना गरी तत्काल भाषासम्बन्धी जनशक्तिको व्यवस्था गरी भाषिक कार्यक्रम र लगानी सुनिश्चित गर्नुपर्ने,
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र प्रदेश सुशासन केन्द्रबाट प्रदान गरिने सेवा प्रवेश र सेवाकालीन तालिममा बहुभाषिक विषयवस्तुसम्बन्धी परामर्श कार्यलाई तत्काल कार्यान्वयन गर्नुपर्ने,
- शिक्षण पेसामा आबद्ध हुने शिक्षकका लागि सेवा प्रवेश र सेवाकालीन तालिममा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी तालिम अनिवार्य गरिनुपर्ने,
- तीनै तहका सरकारहरूबाट सरोकावालाहरूमा भाषाका विषयमा सकारात्मक सोच र व्यवहारको विकास गर्न भाषिक साक्षरता र सचेतना विकाससम्बन्धी अभियानलाई समुदायको सहभागितामा आधारित परामर्श कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने,
- नागरिकका लागि बहुभाषिक माध्यमबाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन सूचना प्रविधिका साथै कृत्रिम बौद्धिकता (एआई) को प्रयोगका माध्यमबाट पनि अन्तर्भाषिक अनुवाद गर्ने सुविधा र अवसर वृद्धि गरेर पहुँच विस्तार गर्नुपर्ने।
5.३.८ मातृभाषा पाठ्यक्रम र मूल्याङ्कन पद्धति
- पाठ्यक्रम विकास केन्द्रबाट मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम विकाससम्बन्धी मातृभाषा/स्थानीय पाठ्यक्रम प्रारूप, कार्यविधि तथा निर्देशिका तर्जुमा गरी कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहलाई प्रबोधीकरण र सहजीकरण गर्नुपर्ने,
- सङ्घीयस्तरमा मातृभाषामा शिक्षासम्बन्धी भाषिक सक्षमता निर्धारण गरी सार्वजनिकीकरण, प्रबोधीकरण र सहजीकरण गर्नुपर्ने,
- विद्यालय तहमा मातृभाषामा आधारित बहुभाषिक शिक्षाको माध्यम र मातृभाषा विषयका रूपमा पठनपाठनसँगै मातृभाषाकै माध्यमबाट शिक्षणसिकाइ सहजीकरण गर्दै सोहीअनुसार प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्नुपर्ने,
- विश्वविद्यालय शिक्षामा नेपालमा बोलिने मातृभाषाहरूको विषयगत पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन, परीक्षा सञ्चालन र मूल्याङ्कन गर्नुपर्ने,
- शिक्षामा मातृभाषालाई शिक्षणसिकाइको माध्यम र विषयका रूपमा प्रयोग विस्तार गर्न मातृभाषा शिक्षालाई पेसा, व्यवसाय, उत्पादन, रोजगारी, पर्यटन, सञ्चार र बजारसँग जोड्न स्थानीय भाषाको उपयोग गर्ने रणनीति योजनाबद्घ रूपमा लागू गर्नुपर्ने,
- औपचारिक शिक्षण संस्थाभन्दा बाहिर हुने भाषासम्बन्धी पठनपाठन र तालिमको परीक्षण र प्रमाणीकरण गर्न आयोगबाट भाषा योग्यता प्रारूप र परीक्षण विधि समेत निर्धारण गरेबमोजिम आयोगको समन्वय र सहकार्यमा स्थानीय तहबाट परीक्षा सञ्चालन गरेर भाषिक योग्यताको प्रमाणीकरण गरी प्रमाणपत्र दिनुपर्ने,
- नेपालको निजामती सेवालगायत जनशक्ति छनोटसम्बन्धी परीक्षामा मातृभाषालाई माध्यम र विषयका रूपमा समावेश गरी आवश्यकतानुसार बहुभाषिक परीक्षा पद्धति अवलम्बन गर्नुपर्ने ।
५.३.९ मातृभाषामा पाठ्यसामग्री र स्रोतसामग्री
- नेपालका सबै मातृभाषाहरू राष्ट्रभाषा मानिएको सन्दर्भमा मातृभाषाको प्रयोग विस्तार गर्न बालोपयोगी सामग्रीहरूको विकास गर्नुपर्ने। प्रकाशित सामग्री पर्याप्त नभएको सन्दर्भमा मातृभाषामा श्रव्यदृश्य सामग्री र अनुवाद सामग्री विकास गर्नुपर्ने,
- मातृभाषामा श्रव्य दृश्यसामग्री विकास गर्दा बाह्य मुलुकका आयातीत श्रव्यदृश्य सामग्रीलाई नेपाली वा नेपालका मातृभाषामा रूपान्तरण गर्ने र त्यस्तो रूपान्तरण गर्दा मातृभाषाको मौलिकता कायम राख्ने गरी योजना बनाएर कार्यान्वयन गर्नुपर्ने,
- आधारभूत तह कक्षा १-८ र माध्यमिक तह कक्षा ९-१२ को विषयगत पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू मातृभाषामा विकास गर्दै जानुपर्ने ।
५.३.१० शिक्षक र प्राध्यापक व्यवस्थापन र सक्षमता विकाससम्बन्धी
- विद्यालय र विश्वविद्यालय तहमा मातृभाषालाई माध्यम र मातृभाषा विषयका रूपमा पठनपाठन गर्न मौजुदा शिक्षक र प्राध्यापकको दरबन्दी मिलान, पदस्थापन र सममायोजन गरेर भाषासम्बन्धी शिक्षक र प्राध्यापक व्यवस्थापन गर्नुपर्ने सोका लागि तीनै तहका सरकारहरूबाट विभिन्न मातृभाषी पृष्ठभूमिसँग तालमेल हुने गरी सम्बद्ध भाषाको ज्ञानको आधारमा प्राध्यापक र शिक्षक पदस्थापना गर्नुपर्ने,
- विद्यालय र विश्वविद्यालयका शिक्षक र प्राध्यापक भर्ना, छनोट र नियुक्तिसम्बन्धी विद्यमान प्रावधानको पुनर्विचार गरी विद्यालय र विश्वद्यालय तहमा मातृभाषी शिक्षक र प्राध्यापक आपूर्ति गर्न मातृभाषी पृष्ठभूमिका शिक्षक र प्राध्यापक व्यवस्थापनसम्बन्धी नीति अवलम्बन गर्नुपर्ने,
- परम्परागत र धार्मिक विद्यालयमा भाषिक जनशक्तिको व्यवस्थापन गर्न औपचारिक र अनौपचारिक रूपमा मातृभाषासम्बन्धी अध्ययन गरेका जनशक्तिलाई आयोगको मापदण्डको आधारमा मान्यता प्रदान गर्न आवश्यक व्यवस्था गर्नुपर्ने ।
- साङ्केतिक भाषामा तालिम प्राप्त गरेका जनशक्तिको उपाधिलाई आयोगको मापदण्डबमोजिम सम्बन्धित निकायबाट समकक्षता प्रदान गरी प्रमाणीकरणको व्यवस्था गर्नपर्ने,
- सरकारी कामकाजको भाषा कार्यान्वयनको सुरूका वर्षहरूमा भाषासम्बन्धी जनशक्तिको हकमा पेसागत अनुमतिपत्र आवश्यक नहुने ।
५.३.११ भाषा प्रविधि र मातृभाषामा शिक्षा
- भाषा, शिक्षा र प्रविधिलाई अन्तर्सम्बन्धित गरी मातृभाषा शिक्षाको प्रयोग विस्तार गर्नुपर्ने,
- मातृभाषाको विद्युतीय शिक्षणसामग्रीअन्तर्गत बहुभाषिक कार्टुन चित्र, भाषा सिकाइ ट्युटर, भाषिक एप, अनलाइ पोर्टल, अर्काइभजस्ता सामग्रीको प्रबन्ध मिलाउनुपर्ने,
- विद्युतीय बहुभाषिक सामग्रीहरूमा बहुभाषिक शब्दकोशसहित अन्तर्भाषिक अनुवाद पद्धति, गुगल अनुवाद र अनुवाद एप्सहरूको व्यवस्था मिलाई प्रयोग गर्नुपर्ने ।
५.३.१२ मातृभाषा शिक्षामा लगानी सन्तुलन
- समाज र समुदायको अमूर्त सम्पदाका रूपमा रहेका भाषाको संरक्षण, संवर्धन र विकासका निम्ति हरेक तहका सरकारबाट भाषासम्बन्धी वार्षिक नीति, कार्यक्रम तय गर्दै भाषिक उत्तरदायी बजेटको व्यवस्था गर्नुपर्ने ।
5.३.१३ मातृभाषामा शिक्षासम्बन्धी सचेतना, पैरवी र परामर्श
- जनप्रतिनिधि, कर्मचारी र शिक्षकको भाषासम्बन्धी बुझाइ र सोचाइलाई रूपान्तरण गरी मातृभाषालाई समाज र जीवन पद्धतिको अभिन्न अङ्गका रूपमा स्थापित गर्न भाषासम्बन्धी परामर्श वा अभिमुखीकरण कार्यक्रम सबै तहबाट सञ्चालन गर्नुपर्ने,
- स्थानीय तहको संयोजनमा मातृभाषाको माध्यमबाट शिक्षाको बढोत्तरीका लागि भाषिक समुदायका प्रतिनिधि र सरोकारवालाहरूबीच सामाजिक संवादको थालनी गर्नुपर्ने ।
५.३.१४ अन्तरतह समन्वय, सहकार्य र साझेदारिता
- सङ्घ, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा मातृभाषामा शिक्षाका लागि कार्यान्वयन संयन्त्र खडा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने ।
५.३.१५ भाषिक अनुगमन, कार्यसम्पादन परीक्षण र दण्ड सजाय
- सङ्घ, प्रदेश र स्थानीय तहमा मातृभाषामा शिक्षाको कार्यान्वयनसम्बन्धी नियमित अनुगमन गर्न हरेक तहको भाषा शिक्षासँग सम्बन्धित महाशाखा वा शाखाको संयोजनमा “मातृभाषामा शिक्षा कार्यान्वयन अनुगमन समिति” गठन गरी आवश्यक पृष्ठपोषण र सुधार कार्य गर्नुपर्ने,
- विद्यार्थीले विद्यालय परिसरमा नेपालीलगायत मातृभाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्यलाई तत्काल बन्द गर्नुपर्ने।
५.४ सङ्घ, प्रदेश र स्थानीय तहमा मातृभाषा शिक्षाका लागि भाषाहरू सिफारिस
विधानतः सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको पहल कदमीबाट नेपालमा बोलिने १२४ वटै भाषाहरूमा मातृभाषा शिक्षा शिक्षा प्रदान गर्नुपर्दछ। समुदाय, विद्यालय र उच्च शिक्षामा मातृभाषालाई माध्यम र विषयका रूपमा लागू गर्नुपर्दछ।
५.४.१ सङ्घीय तहमा मातृभाषा शिक्षा प्रदान गरिनुपर्ने भाषाहरू (१२४ भाषाहरू)
सङ्घीय तहमा मातृभाषामा शिक्षाका लागि राष्ट्रिय जनगणना, २०७८ अनुसार १२४ मातृभाषाहरू सिफारिस गरिएको छ ।
५.४.२ प्रदेश तह र स्थानीय तहमा मातृभाषा शिक्षाका लागि सिफारिस भएका भाषाहरू
प्रदेश र स्थानीय तहमा प्रदेश र स्थानीय तहबाट मातृभाषामा शिक्षाका लागि कार्यान्वयन गर्न देहायअनुसार भाषाहरू सिफारिस गरिएको छः
- कोशी प्रदेशमा बोलिने भाषाहरू (१०९ भाषाहरू)
यस प्रदेश र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
ख) मधेश प्रदेशमा बोलिने भाषाहरू (६२ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
ग) बागमती प्रदेशमा बोलिने भाषाहरू (१०९ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
घ) गण्डकी प्रदेशमा बोलिने भाषाहरू (७५ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
ङ) लुम्बिनी प्रदेशमा बोलिने भाषाहरू (६८ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
च) कर्णाली प्रदेशमा बोलिने भाषाहरू (४९ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
छ) सुदूरपश्चिम प्रदेशमा बोलिने भाषाहरू (७४ भाषाहरू)
यस प्रदेशमा बोलिने भाषाअन्तर्गत जिल्ला र स्थानीय तहमा बोलिने भाषाहरूको विवरण आयोगको वेबसाइटमा उपलब्ध रहेको छ।
५.५ स्थानीय तहमा मातृभाषामा शिक्षाका लागि सिफारिस
स्थानीय तहमा बोलिने सबै मातृभाषामा आवश्यकता, औचित्य र सम्भाव्यताका आधारमा मातृभाषामा प्रदान गरिनु पर्दछ। प्रदेशगत स्थानीय तहमा बोलिने भाषाहरू आयोगको वेबसाइटमा उपलब्ध छ। प्रदेशगत स्थानीय तहको विवरण तल प्रस्तुत गरिएको छः
५.५.१ बागमती प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
५.५.२ मधेश प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
५.५.३ बागमती प्रदेशका स्थानीय तहका भाषाहरू
५.५.४ गण्डकी प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
५.५.५ लुम्बिनी प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
५.५.६ कर्नाली प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
५.५.७ सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा बोलिने भाषाहरू
अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (सन् २०२२-२०३२)
नेपालको राष्ट्रिय कार्ययोजना
कार्यकारी सारांश
१. दीर्घकालीन सोच
भाषिक मानव अधिकारसहित आदिवासी भाषाहरूको संरक्षण, संवर्धन, विकास र प्रयोग विस्तार गरी न्यायपूर्ण र समतामूलक बहुभाषिक समाजको सिर्जना गर्ने ।
२. उद्देश्यहरू
यस कार्ययोजनाका मुख्य उद्देश्यहरू देहायबमोजिम रहेका छन्:
क) आदिवासीका भाषाहरूको संरक्षण, संवर्धन र विकास गर्नु,
ख) आदिवासी भाषाहरूको सरकारी कामकाजमा प्रयोग विस्तार गर्नु
ग) आदिवासी भाषाको विद्यालय र उच्च शिक्षामा पठनपाठनको सुनिश्चितता गर्नु,
घ) आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र अनुसन्धान गरी विकास कार्यसँग आबद्ध गर्नु
ङ) आदिवासी भाषाहरूको अभिलेखन र यान्त्रिक अनुवाद पद्धतिको विकास गर्नु,
च) अन्तरसांस्कृतिक र अन्तर्भाषिक सिकाइलाई बढावा दिई प्रयोगमा ल्याइनु,
छ) अन्तर्तह र सम्बन्ध सङ्घसंस्थाको सहकार्य, साझेदारी र सबलीकरण गर्नु,
ज) आदिवासी भाषाको विकास र प्रयोग विस्तार गर्न स्रोतसाधन र लगानीको प्रबन्ध गर्नु,
झ) भाषिक अनुगमन, मूल्याङ्कन र कार्यसम्पादन परीक्षण गरी पृष्ठपोषण गर्नु ।
३. रणनीतिहरू
उल्लिखित उद्देश्य प्राप्तिका लागि देहायका रणनीतिहरू तय गरिएका छन्:
क आदिवासी भाषाहरूको अन्तरपुस्ता पुस्तान्तरण गरी मातृभाषाहरूको संरक्षण, संवर्धन र विकास गर्ने
ख) आदिवासी भाषाहरूको सरकारी कामकाजमा प्रयोग विस्तार गर्ने (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)
ग) आदिवासी भाषाको विद्यालय र उच्च शिक्षामा मातृभाषा शिक्षा को पहुँच अभिवृद्धि गरी पठनपाठनको सुनिश्चितता गर्ने,
घ आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र अनुसन्धान गरी राज्यको नीति, कार्यक्रम र विकासका क्रियाकलापमा आबद्ध गर्ने,
ङ) आदिवासी भाषाहरूको अभिलेखन, सार्वजनिकीकरण र यान्त्रिक अनुवाद पद्धतिको विकास गरी प्रयोगमा ल्याउने
च) समुदायको सामाजिक-सांस्कृतिक जीवन पद्धतिमा आदिवासी भाषाको समाहित गर्दै अन्तरसांस्कृतिक र बहुभाषिक सिकाइको विस्तार गर्ने,
छ) अन्तर्तह सहकार्य, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारहरूकाबीच समन्वय एवम् जातीय तथा भाषिक सङ्घसंस्था सक्षमता विकास गरी क्रियाशीलता बढाउने,
ज) आदिवासी भाषाको विकास र प्रयोग विस्तार गर्न स्रोतसाधन र लगानीको सुनिश्चितता गर्ने,
ञ) भाषिक अनुगमन, मूल्याङ्कन र कार्यसम्पादन परीक्षण गरी पृष्ठपोषण गर्ने ।
४. कार्यनीति तथा कार्यक्रमहरू
रणनीति ४.१ आदिवासी भाषाको संरक्षण, संवर्धन र विकाससम्बन्धी कार्यनीति र कार्यक्रमहरू देहायको तालिका प्रस्तुत छन्:
तालिका १
आदिवासी भाषाको संरक्षण, संवर्धन र विकाससम्बन्धी
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
| ४.१ नेपालका आदिवासी भाषाहरूको पुस्तान्तरण गरी संरक्षण, संवर्धन र विकास गर्ने
|
क)आदिवासी भाषाको अध्ययन, सर्वेक्षण नक्साङ्कन गरी प्राथमिकता निर्धारण गरिनेछ। ख) प्रति भाषा एकाइ लागत आधार तय गरी कार्यक्रम तथा बजेटको व्यवस्था गरिनेछ। ग)आदिवासी भाषाको संवर्धनका लागि भाषिक अभिलेखन (शब्दकोश, व्याकरण लेखन, साहित्य विकास आदि) कार्यमा जोड दिइनेछ । घ) आदिवासी भाषाको वाङ्मय र विधागत साहित्यको विकासमा गरिनेछ ।
|
क)आदिवासी भाषाहरूको संरक्षण र संवर्धन
v आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र नक्साङकन गरी प्राथमिकता निर्धारण v भाषागत प्रति एकाइ लागत तयारी गरी बजेट विनियोजन v मृतप्रायः भाषाका वक्ता संरक्षणका लागि भाषावृत्तिको व्यवस्था v आदिवासी भाषाको मौखिक पद्धतिको निरन्तरताका लागि अभिमुखीकरण v आदिवासी भाषाका लोकगीत र ऐतिहासिक महत्त्वका सामाजिक-सांस्कृतिक कैरनहरू सङ्कलन v आदिवासी भाषा सिकाइका लागि मातृभाषा सिकाइ पुस्तक तयारी र समुदाय र विद्यालयमा आधारित भाषा कक्षा सञ्चालन v आदिवासी भाषा सिकाइसम्बन्धी श्रव्यदृश्य पाठ्यसामग्री उत्पादन v आदिवासी भाषाको पुस्तान्तरणका लागि डिजिटल सिकाइ सामग्री कार्टुन, चित्र, भाषा सिकाइ एप्स निर्माण र प्रयोग v आदिवासी भाषाहरूमा लोकवार्ता सङकलन, वाङ्मय र साहित्यको विकासका लागि आदिवासी विज्ञहरूलाई शोधवृत्ति प्रदान v आदिवासी भाषाका विज्ञ र भाषिक स्रष्टाहरूलाई विश्व आदिवासी दिवस र अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कदर, मानसम्मान र पुरस्कार प्रदानसम्बन्धी कार्यक्रम ख) आदिवासी भाषाहरूको विकास v आदिवासी भाषाका वाङ्मय र विधागत साहित्यको विधागत विकास v आदिवासी भाषाहरूको परिभाषित तथा प्राविधिक शब्दावली निर्माण v आदिवासी भाषाहरूको मानक शब्दकोशको विकास v आदिवासी भाषाहरूको मानक व्याकरण लेखन v आदिवासी भाषामा रहेका व्यक्तिनाम, स्थाननाम र अभिलेखीय भाषाहरूको अध्ययन अनुसन्धान v आदिवासी भाषामा सिर्जना र लेखनका लागि भाषिक सङ्घसंस्थाको क्षमता विकस र कार्य सञ्चालनका लागि अनुदान प्रदान v मृतप्रायः भाषा (Nearly extinct), मरणोन्मुख भाषा (Moribund), लोपोन्मुख भाषा (Endangered) हरूको वर्णपहिचान, शब्दकोश सम्पादन, व्याकरण निर्माण र लेखनशैलीको विकास v आदिवासी भाषाहरूको परिचय कोश (Linguistic Encyclopedia), ग्रन्थसूची (Linguistic Bibliography) र विस्तारित ग्रन्थसूची (Annotated Linguistic Bibliography) निर्माण र प्रकाशन v मृतप्रायः भाषा, मरणोन्मुख भाषा र लोपोन्मुख भाषाहरूको मानक चित्रमय प्राइमर विकास
|
रणनीति ४.२ आदिवासी भाषाहरूको सरकारी कामकाजमा प्रयोग विस्तार गर्ने (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)कार्यनीति र कार्यक्रमहरू देहायको तालिका प्रस्तुत छन्:
तालिका २
सरकारी कामकाजमा आदिवासी भाषाको प्रयोग विस्तार
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
| ४.२आदिवासी भाषाहरूको सरकारी कामकाजमा प्रयोग विस्तार गर्ने (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) | क)तीनै तहका सरकारहरूबाट भाषा ऐन, नियमावली, मापदण्डहरूको विकास गरी कार्यान्वयन गरिनेछ।
ख)तीनै तहकार सरकारहरूबाट भाषासम्बन्धी कार्यक्रम र बजेट तय गरी कार्यान्वयन गर्न संयन्त्र (भाषा महाशाखा, शाखा, प्रतिष्ठान स्थापना र मानव संशाधनको व्यवस्था गरिनेछ । ग)तिनै तहहरूका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाअन्तर्गतका सरकारी सेवा प्रवाहमा आदिवासी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गरिनेछ । घ) सरकारी कामकाजको भाषाका लागि मानकीकरण तथा अनुवाद पद्धतिको विकास गरी लागू गरिनेछ । |
v सङ्घ, प्रदेश र स्थानीय तहमा आदिवासी भाषासँग सम्बन्धित नीति, नियम, ऐन, कानुन र मापदण्डहरूको पुनरवलोकन, परिमार्जन र आवश्यकता अनुसार नयाँ कानुन निर्माण र कार्यान्वयन । v सङ्घ, प्रदेश तथा पालिका तहमा मातृभाषामा शिक्षासम्बन्धी भाषा आयोगबाट सिफारिस भए बमोजिमको मापदण्डमा आधारित कार्यक्रम सञ्चालन v सङ्घ, प्रदेश र स्थानीय तहमा भाषा महाशाखा वा शाखा स्थापना एवम् भाषा आयोगको प्रदेश शाखा स्थापना गरी सहजीकरण v सरकारी कामकाजमा प्रयोग हुने भाषाहरूको मानक शब्दकोश, मानक व्याकरण र परिभाषित तथा प्राविधिक शब्दावली तयार गरी प्रकाशन, वितरण र प्रयोग v आदिवासी भाषाहरूमा अनुवाद गर्ने पद्धतिको विकास
|
रणनीति ६.३ आदिवासी भाषाको विद्यालय र उच्च शिक्षामा मातृभाषा शिक्षाको पहुँच अभिवृद्धि गरी पठनपाठनको सुनिश्चिततासम्बन्धी नीति तथा कार्यक्रमहरू
तालिका ३
विद्यालय र उच्च शिक्षामा मातृभाषा शिक्षाको कार्यान्वयन
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
| ४.३आदिवासी भाषाको विद्यालय र उच्च शिक्षामा मातृभाषा शिक्षाको पहुँच अभिवृद्धि गरी पठनपाठनको सुनिश्चितता गर्ने | क) प्रारम्भिक बालविकास र अनौपचारिक शिक्षा आदिवासी भाषामा प्रदान गर्न प्रबन्ध मिलाइनेछ ।
ख)आदिवासी भाषालाई माध्यम र विषयका रूपमा विद्यालय तहमा पठनपाठन गरिनेछ। ख) उच्च शिक्षामा आदिवासी भाषा अध्ययन विभाग स्थापना वा आदिवासी भाषा विषय अध्ययनको कार्यक्रम सञ्चालन गरिनेछ ।
|
v आदिवासी भाषामा प्रारम्भिक बालविकास र अनौपचारिक शिक्षाको व्यवस्था
v विद्यालय शिक्षाको कक्षा १-१२ मा माध्यम र विषयका रूपमा पठनपाठन v उच्च तहमा आदिवासी भाषा अध्ययन विभाग स्थापना र अध्ययनको व्यवस्था वा विषयको पठनपाठन v आदिवासी भाषाको पाठ्यक्रम, पाठ्यसामग्री विकास एवम् योग्य जनशक्ति विकास v विद्यालय र उच्च शिक्षामा आदिवासी भाषाका शिक्षक र प्राध्यापकको दरबन्दीको सिर्जना र भर्ना v विद्यालय शिक्षक र उच्च शिक्षाका प्राध्यापकका लागि बहुभाषिक शिक्षासम्बन्धी तालिम सामग्री तयारी र प्रशिक्षण v आदिवासी भाषा र संस्कृति अध्ययनका लागि केन्द्रीय विश्वविद्यालयमा अध्ययन विभाग र प्रदेश विश्वविद्यालयमा पनि अध्ययन विभाग स्थापना र सञ्चालन ।
|
रणनीति ४.४ आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र अनुसन्धान गरी राज्यको नीति , कार्यक्रम र विकासका क्रियाकलापसम्बन्धी नीति तथा कार्यक्रमहरू
तालिका ४
आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र अनुसन्धान
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
| ४.४ आदिवासी भाषाहरूको अध्ययन, सर्वेक्षण र अनुसन्धान
|
क) भाषिक पहिचान र अभिलेखन गरिनेछ।
ख) सङ्घ, प्रदेश र स्थानीय तहबट आदिवासी भाषाहरूको भाषिक सर्वेक्षण र प्रोफाइल निर्माण र प्रकाशन गरिनेछ। ग) भाषा अध्ययन अनुसन्धाताहरूको लागि अनुसन्धान कोषको विकास गरिनेछ। घ) आदिवासी भाषाहरूको लेखनमा प्रयोग हुने लिपिको विषयमा अध्ययन गरी प्रयोग सम्भाव्यताको यकिन गरिनेछ ।
|
v राष्ट्रिय जनगणनामा नसमेटिएका भाषहरूको सर्वेक्षण र नेपाल सरकारसमक्ष अभिलेखनको लागि सिफारिस
v सबै आदिवासी भाषाहरूको वर्णपहिचान र अभिलेख कार्य सम्पादन v अनुसन्धाताको लागि आदिवासी अनुसन्धान पद्धतिको मानक विकास v आदिवासी भाषाहरूको अध्ययन र सर्वेक्षण गरी तहगत प्रोफाइल निर्माण v भाषावैज्ञानिक अध्ययन गरी सार्वजनिकीकरण र प्रकाशन v आदिवासी भाषाहरूको परिचय कोश, भाषा ग्रन्थसूची (Linguistic Bibliography) र विस्तारित भाषा ग्रन्थसूची (Annotated linguistic Bibliography) आदि को तयारी v आदिवासी भाषासम्बन्धी सबै खाले वाङ्मयको सङ्कलन, सम्पादन र प्रकाशन v आदिवासी भाषाहरूको भाषावैज्ञानिक ज्ञानकोश (Linguistics Encyclopedia) सम्पादन र प्रकाशन । |
रणनीति ४.५ आदिवासी भाषाहरूको अभिलेखन, सार्वजनिकीकरण र यान्त्रिक अनुवाद पद्धतिको विकाससम्बन्धी नीति र कार्यक्रमहरू
तालिका ५
आदिवासी भाषाहरूको अभिलेखन, सार्वजनिकीकरण र यान्त्रिक अनुवाद पद्धतिको विकास
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
४.५ आदिवासी भाषाहरूको अभिलेखन, सार्वजनिकीकरण र यान्त्रिक अनुवाद पद्धतिको विकास गरी प्रयोगमा ल्याउने । |
क)आदिवासी भाषाको संरक्षण, विकास र सरकारी कामकाजमा प्रयोगका लागि यान्त्रिक अनुवाद पद्धतिको विकास गरिनेछ।
ख) आदिवासी भाषाहरूको डिजिटल अभिलेखन गरिनेछ। ग) आदिवासी लिपिहरूको युनिकोडीकरण गरी मानक लेखन प्रणालीको विकास गरिनेछ । घ)आदिवासी परम्परागत सञ्चार पद्धतिका विषयमा खोजी गरेर मापदण्ड र शैलीको विकास गरी कार्यान्वयन गरिनेछ । ङ) आदिवासी पुस्तकालय, अभिलेखालय र सङग्रहालय स्थापना गरी सञ्चालनमा ल्याइनेछ।
|
v यान्त्रिक अनुवाद पद्धतिको विकास र प्रयोग
v आदिवासी भाषाहरूको विद्युतीय अभिलेखनका लागि अभियानका रूपमा कार्यक्रम सञ्चालन v लिपिगत युनिकोडको विकास र प्रयोग विस्तार v आदिवासी मिडिया शैली पुस्तक विकास v आदिवासी मिडिया प्राविधिक कोशको विकास v आदिवासी मातृभाषाका पत्रपत्रिकाहरूको सङ्कलन गरेर ऐतिहासिक अभिलेखन v आदिवासी समुदायका परम्परागत सञ्चार पद्धतिको खोज र अनुसन्धान v आदिवासको भाषामा श्रव्य र श्रव्य-दृष्य सामग्री उत्पादन गरी प्रसारण गर्न सम्बद्ध सञ्चार संस्थालाई अनुदान v आदिवासी मातृभाषामा प्रकाशित भइरहेका पत्रपत्रिका र जर्नलको विकास र निरन्तरका लागि आर्थिक सहयोग v आदिवासीको भाषा र संस्कृतिसम्बन्धी पुस्तकालय, अभिलेखालय र सङ्ग्रहालय स्थापना र सञ्चालन । v आदिवासी भाषासम्बन्धी सबै खाले अध्ययन, अनुसन्धान र अभिलेखीय सामग्रीहरू सङ्कलन v आदिवासी भाषासम्बन्धी सबै खाले पु्स्तक, पत्रपत्रिका र स्मारिका आदि सामग्रीहरू सङ्कलन v आदिवासी भाषासम्बन्धी उत्पादित सबै खाले श्रव्य, श्रव्य-दृश्य सामग्रीहरू सङ्कलन v आदिवासीको भाषासम्बन्धी सामग्री व्यवस्थापनको लागि अभिलेखालय कक्षको व्यवस्था v आदिवासी भाषासम्बन्धी पुस्तक आदिको जानकारी दिने पुस्तक सङ्ग्रहालयको व्यवस्था v आदिवासी भाषामा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूको लागि अध्ययन कक्षको व्यवस्था
|
रणनीति ४.६ समुदायको सामाजिक-सांस्कृतिक जीवन पद्धतिमा आदिवासी भाषाको समाहित गर्दै अन्तर्सांस्कृतिक र अन्तर्भाषिक सिकाइको प्रयोग विस्तारसम्बन्धी नीति र कार्यक्रमहरू
तालिका ६
समुदायको सामाजिक-सांस्कृतिक जीवन पद्धतिमा आदिवासी भाषाको समाहिती गर्दै अन्तर्सांस्कृतिक र अन्तर्भाषिक सिकाइको प्रयोग विस्तार
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
४.६समुदायको सामाजिक-सांस्कृतिक जीवन पद्धतिमा आदिवासी भाषाको समाहित गर्दै अन्तर्सांस्कृतिक सिकाइ परिवेश विकास र प्रयोग गर्ने । |
क) वातावरण र जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र जलस्रोत व्यवस्थापन आदिमा आदिवासी भाषाहरूको भूमिका र योगदानको अध्ययन अनुसन्धान गरी थप सचेतना अभिवृद्धि गरिनेछ । ख) जातिभाषिक संस्थाहरू, क्षमता विकास गरी सहजीकरण, अनुदान र सचेतीकरण गराई हरेक समुदायमा मातृभाषाको प्रयोग विस्तार गरिनेछ। ग) गैरसरकारी संस्थाहरूको परिचालन गरी स्थानीय विद्यालय समुदायमा सचेतीकरण गरिनेछ । घ) स्थानीय तहको क्षमता विकासका लागि सहजीकरण कार्यक्रम सञ्चालन गरिनेछ । ङ) सबै समुदायबीच अन्तर्सांस्कृतिक सिकाइ तथा अन्तर्भाषिक सिकाइको लागि प्रोत्साहन र भाषा संस्कृति वृत्तिको व्यवस्था गरिनेछ।
|
v घरायसी सञ्चार, धार्मिक, सांस्कृतिक जीवन संस्कारमा प्रयोग v औपचारिक कार्यक्रम, सभा र समारोहमा प्रयोग v बहुभाषिक तथा सांस्कृतिक कार्यक्रमहरूको आयोजना, v गैससबाट एकीकृत रूपमा स्थानीय तहमा कार्यक्रम परिचालन v स्थानीय भाषा नीति निर्माण र कार्यान्वयन, स्थानीय प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालन v अन्तर्भाषिक र अन्तर्सांस्कृतिक अनुभव आदानप्रदान
|
रणनीति ४.७ अन्तर्गत अन्तर्तह सहकार्य, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारहरूकाबीच समन्वय एवम् जातीय तथा भाषिक सङ्घसंस्था सक्षमता विकाससम्बन्धी रणनीति र कार्यक्रमहरू
तालिका ७
अन्तर्तह सहकार्य, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारहरूकाबीच समन्वय एवम् जातीय तथा भाषिक सङ्घसंस्था सक्षमता विकास
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
४.७ अन्तर्तह सहकार्य, राष्ट्रिय अन्तर्राष्ट्रिय विकास साझेदारहरूकाबिच समन्वय एवम् जातीय तथा भाषिक सङ्घसंस्था सक्षमता विकास गरी क्रियाशीलता बढाउने । |
क) सङ्घ, प्रदेश र स्थानीय तहहरूकाबीचको सहकार्यमा भाषिक कार्यक्रम सञ्चालन गरिनेछ। ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार एवम सरोकारवालाहरूको साझा उत्तरदायी पद्धति निर्माण गरिनेछ। ग) जातीय तथा भाषिक सङ्घसंस्थाहरूको क्षमता विकास गरी क्रियाशीलतामा जोड दिइनेछ । घ) आदिवासी भाषा दशकको कार्यान्वयन लागि राष्ट्रिय निर्देशक समिति, समन्वय परिषद र कार्यान्वयन समूहहरू) गठन गरी सञ्चालनमा ल्याइनेछ । |
v आदिवासी समुदायका लागि सचेतना हाते पुस्तकको विकास (टुल टेक्निकसहितको) v आदिवासी समुदायका लागि पहल र वकालती पद्धतिको हाते पुस्तकको विकास v आदिवासी सङ्घ संस्थाहरूलाई सरसहयोगको लागि मापदण्ड स्थापना र कार्यान्वयन v आदिवासी सङ्घसंस्थाहरूलाई जनचेतना अभिवृद्धिका लागि अनुदानको प्रबन्ध v सरकारी कर्मचारी र शिक्षकका लागि प्रशिक्षण केन्द्रमा आदिवासी भाषा पाठ्यक्रमको विकास र तालिम v आदिवासी भाषिक समुदाय र अभियन्तालक्षित अभिमुखीकरण, सक्षमता र सचेतना विकास तालिम कार्यक्रम v राष्ट्रिय जनगणना,२०८८ मा यथार्थ सूचना सङ्कलनको लागि भाषिक समुदायमा सचेतना कार्यक्रम v यस सञ्जालमा भाषा आयोग, आदिवासी जनजाति आयोग लगायतका आयोगहरू, विश्वविद्यालयका भाषा केन्द्रीय विभागहरू, प्राज्ञिक निकायहरू, सरकारी तथा गैरसरकारी एवम् भाषिक सङ्घसंस्थाहरूको प्रतिनिधित्वमा कार्यक्रम सञ्चालन v आदिवासी भाषा दशक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशक समिति र समन्वय परिषदमार्फत् आवश्यक मात्रामा स्रोत र जनशक्ति परिचालन गर्दै भाषिक विकासका कार्य सम्पादनमा मार्गनिर्देश र समन्वय तथा सहजीकरण |
रणनीति ४.८ अन्तर्गत आदिवासी भाषाको विकास र प्रयोग विस्तार गर्न स्रोतसाधन र लगानीको सुनिश्चिततासम्बन्धी कार्यनीति र कार्यक्रमहरू
तालिका ८
आदिवासी भाषाको विकास र प्रयोग विस्तार गर्न स्रोतसाधन र लगानीको सुनिश्चितता
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
४.८आदिवासी भाषाको विकास र प्रयोग विस्तार गर्न स्रोतसाधन र लगानीको सुनिश्चितता गरिनेछ। |
क) प्रति आदिवासी भाषा एकाइ लागत आधार तय गरी कार्यक्रम तथा बजेटको सुनिश्चितता गरिनेछ । | · हरेक मातृभाषालाई लागत आधार मानेर कार्यक्रम तथा बजेट विनियोजन पद्धतिको विकास
· सङ्घ, प्रदेश र स्थानीय तहबाट भाषा विकास कार्यक्रम र बजेटको व्यवस्था · भाषिक बजेट कोडमा आधारित योजना, कार्यक्रम र लगानी प्रणालीको अवलम्बन |
रणनीति ४.९ अन्तर्गत भाषिक अनुगमन, मूल्याङ्कन र कार्यसम्पादन परीक्षण गरी पृष्ठपोषणसम्बन्धी कार्यनीति र रणनीतिहरू
तालिका ९
भाषिक अनुगमन, मूल्याङ्कन र कार्यसम्पादन परीक्षण गरी पृष्ठपोषण
| रणनीतिहरू | कार्यनीतिहरू | कार्यक्रमहरू |
६.९ भाषिक अनुगमन, मूल्याङ्कन र कार्यसम्पादन परीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने, |
क) भाषागत अनुगमन र अवलोकन पद्धतिको विकास गरी भाषिक परीक्षण (Language Audit) गरिनेछ। ख) भाषिक कार्यसम्पादन परीक्षण (Language Performance Audit) उत्तरदायी प्रणाली लागू गरिनेछ। ग) भाषिक विकास र प्रयोग विस्तारका लागि सहायता उपलब्ध गरिनेछ।
|
v भाषिक अनुगमनका लागि सूचकसहितको कार्यविधि निर्माण गरी कार्यान्वयन v भाषिक अनुगमन र मूल्याङकन (Language Monitoring and Evaluation) v भाषिक कार्यसम्पादन परीक्षण ( Language Performance Audit) v भाषाको संरक्षण र विकासका लागि सहायता (Technical Backstopping for Language Preservation and Development) |