मन्डनदेउपुर नपामा भाषा नीति तथा मातृभाषामा शिक्षा लागू हुने

मन्डनदेउपुर नपामा भाषा नीति तथा मातृभाषामा शिक्षा लागू हुने

भाषा आयोग, नेपाल तामाङ घेदुङ र मन्डनदेउपुर नपा काभ्रेको साझेदारीमा मन्डनदेउपुर नपाको सभाहलमा २०७७ साल मङसीर ९ गतेका दिन नपाका वडाध्यक्षसहित मावि तहका विद्यालयका प्रधानाध्यापकहरूसहित विव्यस अध्यक्षको उपस्थितिमा कोरोना महामारीकाबीच विद्यालय सन्चालन तथा भाषा नीति तथा मातृभाषा शिक्षासम्बन्धी कार्यक्रम सम्पन्न भयो । साथै उक्त कार्यक्रममा नपाका स्वास्थ्य कार्यालयमा प्रमुखहरू समेत सहभागी रहनुभएको थियो । नपाका शिक्षा अधिकृत लोकेन्द्र विष्टबाट सन्चालित उक्त कार्यक्रमको अध्यक्षता मेयर श्री टोकबहादुर वाइबाज्यूले गर्नुभएको थियो । कार्यक्रममा भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन, भाषाविद अमृत योन्जन तामाङ र नेपाल तामाङ घेदुङ सङ्घका कोषाध्यक्ष रूपबहादुर योन्जनको उपस्थिति रहेको थियो। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रणव न्यौपानेको स्वागत तथा कार्यक्रमको औचित्यसम्बन्धी मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा नगर शिक्षा समितिबाट कोरोना महामारीकाबीच स्वास्थ्य कार्यढाँचा तयार पारिएकोमा सोहीबमोजिम विद्यालय सन्चालन गर्नका लागि समितिबाट गरिएको निर्णय सार्वजनिक गर्दै सम्बद्ध सबैबाट राय सुझाव लिइएको थियो । जसमा नपाका मेयर र प्रशासकीय प्रमुखबाट नगरपालिकाबाट गरिएको प्रयत्न र पहलको बारेमा सहभागी वडा शिक्षा समितिका प्रमुख वडाध्यक्ष, विव्यस अध्यक्ष र प्रअहरूलाई नपाबाट गरिने व्यवस्थापनका बारेमा बताउनु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा भाषा आयोगको तर्फबाट मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनले भाषा आयोगको सवैधानिक दायित्व, भाषा नीति निर्माण, मातृभाषा शिक्षाका अवधारणा र अभ्यासका साथै साझेदारिताको मोडलको बारेमा विचार व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक विद्यालय र निजी विद्यालयबाट प्रदान गरिने शिक्षाको गुणस्तरको सुधारसम्बन्धी मन्तव्य राख्नु हुँदै मातृभाषामा शिक्षा  पाउनु बालअधिकार भएको हुँदा त्यसको सुनिश्चिता लागि भाषा आयोग, नेपाल तामाङ घेदुङ र नगरपालिका सहकार्यमा कार्यक्रम सन्चालन गरी शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने सामूहिक प्रयत्न हुने जानकारी गराउनुभयो । त्यसपछि भाषाविद अमृत योन्जन तामाङले बालबालिकाले मातृभाषामा शिक्षा पाउनु संवैधानिक अधिकार भएको हुँदा स्थानीय तह र विद्यालयले सोको लागि माध्यम र विषयका रूपमा स्थानीय मातृभाषालाई अनुसरण गर्नुपर्ने विचार राख्नुभयो । बहुभाषिक कक्षामा विद्यार्थी, स्रोत शिक्षक र चित्रलगायतका माध्यमबाट विद्यार्थीलाई भाषिक सहजीकरण गर्न सकिने, स्थानीय तहमा सहभागितामूलक विधिबाट २ दिनमै मातृभाषाको पाठ्यसामग्री निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । त्यसको लागि संविधानले प्रदान गरेको अधिकारको कार्यान्यवनका लागि स्थानीय तहमा भाषा नीति निर्माण गरी लागू गर्नुपर्नेमा जोड दिनुभयो । त्यसपछि मात्र बालबालिकाहरूले मातृभाषामा शिक्षा पाउने अधिकार प्राप्ति हुने सुझाव राख्नुभयो । तत्पश्चात नेपाल तामाङ घेदुङका कोषाध्यक्ष रूपबहादुर योन्जनले तामाङ घेदुङले लामो समयदेखि देशैभरि तामाङ समुदाय र भाषा संस्कृतिका क्षेत्रमा अगुवाई गर्दै आएको बताउनुभयो । स्थानीय तहको सहकार्यमा सन्चालन गरिने मातृभाषा नीति तथा मातृभाषा शिक्षा कार्यक्रममा तामाङ भाषाको पाठ्यपुस्तक तामयीग लिपिमा लेखिने र भाषामा लिपिको समेत जरूरत पर्ने चर्चा गर्नभयो । साथै उहाँले बाग्मती प्रदेश ३२ स्थानीय तहमा यस कार्यक्रमका लागि सम्झौता भइसकेको तर कोरोनाको कारण कार्यान्वयनमा केही ढिला हुँदै गए पनि यो देशकै लागि नमुना र अपरिहार्य कार्य भएको हुँदा यसमा आफूहरू भाषा आयोगको प्राविधिक र स्थानीय तहको आर्थिक सहयोगमा संयोजनको जिम्मेवारी निर्वाह गरी कार्यक्रम सन्चालन गर्न हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्तमा यस कार्यक्रममा सभाध्यक्ष नगरपालिका मेयर श्री टोकबहादुर वाईबाज्यूले आफूहरूले कोरोना महामारीबीचमा पनि विद्यालय सन्चालनका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य सामग्रीको व्यवस्था गरी पठपाठनलाई निरन्तरता दिन कार्यक्रम आयोजना गरेको बताउनुभयो । साथै यसै कार्यक्रममा भाषा आयोग, नेपाल तामाङ घेदुङ र नगरपालिकाको संयुक्त साझेदारीमा नगरपालिकामा भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षा कार्यक्रम लागू गरिने बताउनुभयो । उहाँले यस नगरपालिकाले शिक्षा र स्वास्थयमा प्राथमिकता दिएको हुँदा तलबभत्ता बाहेक ३ करोड ९४ लाख विद्यालय शिक्षामा खर्च गरिएको बताउनुभयो । साथै शिक्षक दरबन्दी थप, न्यूनतम तलब वा पारीश्रमिकको व्यवस्था, योग्यताअनुसार तहगत प्रअ र इन्चार्जको व्यवस्था, सहयोगी कार्यकर्ता र लेखाका कर्मचारीका लागि उचित पारीश्रमिकको व्यवस्था, प्रअको लागि थप सेवासुविधाको प्रबन्ध गर्नका साथै अतिरिक्त क्रियाकलापमा सहयोग गर्ने शिक्षक तथा कम्प्युटरका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको बताउनुभयो । कोरोना महामारीमा सहायतास्वरूप विद्यालयका लागि थर्म गनलगायत अत्यावश्यकीय सामग्रीहरू उपलब्ध गराएको बताउनुभयो ।

उहाँले आफूहरूले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिई सबै व्यवस्थापकीय कार्य गरिएको हुँदा सिकाइ उपलब्धि वृद्धि हुनुपर्ने, त्यसका लागि प्रत्येक विद्यालयका प्रअ, विव्यस पदाधिकारी, विषय शिक्षक र वडाध्यक्ष समेत जिम्मेवार रहनुपर्ने बताउनुभयो । उहाँले अर्को बैठकमा प्रत्येक विद्यालयले शैक्षिक सुधारको कार्ययोजना बनाई नपामा पेस गर्नुपर्ने र हरेक विद्यालयका प्रअलाई नपाले कार्य सम्पादन करार गरिने बताउनुभयो । शिक्षकले पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्न र शिक्षक ड्रेस कोड अनिवार्य भएको कुरा उल्लेख गर्नुभयो । अन्तमा बहुभाषिक शिक्षाका लागि पनि आफूहरू लगानी गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै यो नगरपालिकालाई काभ्रे जिल्लाका १३ स्थानीय तहहरूमध्ये उत्कृष्ट बनाउन आफ्नो संयन्त्र परिचालन गरी आफू लागिरहने हुँदा त्यसका लागि सबैको साथ, सहयोग प्राप्त गर्ने विचार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

You might also like