रोशी गापा काभ्रेमा मातृभाषा शिक्षासम्बन्धी ऐतिहासिक कार्यक्रम

 

रोशी गापा काभ्रेमा मातृभाषा शिक्षासम्बन्धी ऐतिहासिक कार्यक्रम

२०७७ साल माघ ६ गते

रोशी गाउँपालिका काभ्रेपलान्चोकमा भाषा नीति निर्माण तथा मातृभाषामा शिक्षा कार्यक्रम २०७७ साल माघ ६ गतेका दिन भाषा आयोग र गाउँपालिकाको सहकार्य तथा नेपाल तामाङ घेदुङको संयोकत्वमा आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष श्री दलबहादुर लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम गाउँपालिकाका शिक्षा अधिकृत श्री रामबहादुर तामाङको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ अन्तर्राष्ट्रिय परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले मन्तव्य राख्नु भएको थियो । उहाँले मन्तव्यको क्रममा विश्वका देशहरूमध्ये फिनल्यान्डमा शिक्षण पेसा सबैभन्दा आकर्षक र सम्मानित पेसा रहेको हुँदा त्यहाँ शिक्षाको पद्धति सबैका लागि प्रशंसनीय र अनुकरणीय रहेको चर्चा गर्नुभयो । नेपालको सन्दर्भमा पनि सामुदायिक विद्यालय शिक्षाको परिवर्तन वा सुधारको कडी शिक्षक र प्रअ भएको बताउनुभयो । तथापि नेपालमा शिक्षण पेसालाई सङ्घीयताको कार्यान्वयन भइसक्दा समेत सही व्यवस्थापन गर्न नसकिँदा शैक्षिक गुणस्तर सुधारमा कठिनाइ परेको विचार व्यक्त गर्नुभयो । अन्तमा कुनै पनि जाति जीवित रहन र ज्ञान आर्जनसहित सक्षमता विकासको माध्यम वा साधन शिक्षा हो भनी आश्वस्त पार्नुभयो ।

उद्घाटन सत्रमै मन्तव्य राख्ने क्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले तामाङ घेदुङको इतिहासमा भाषा आयोग र स्थानीय तह रोशी गाउँपालिकाको तर्फबाट गरिएको यो भाषा नीति निर्माण र मातृभाषामा शिक्षा कार्यक्रम ऐतिहासिक रहेको बताउनुभयो । उहाँले आर्थिक स्रोत उपलब्ध गर्ने रोशी गाउँपालिका र प्राज्ञिक तथा प्राविधिक सहयोग गरी सहकार्यमा कार्यक्रम कार्यान्वयन गर्ने साझेदार सबैलाई घेदुङको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भाषाको कारण आफू शिक्षक रहँदा गैरनेपाली मातृभाषी विद्यार्थीको सिकाइमा असर परेको र विद्यालय समेत आउन छोडेको कारण विद्यालय शिक्षाको माध्यम भाषा एकल रहेको उदाहरण प्रस्तुत गर्नुभयो । साथै उहाँले नेपाल तामाङ घेदुङले बाग्मती प्रदेशको ३४ स्थानीय तहहरूमा यसैगरी भाषा नीति निर्माण र मातृभाषामा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिने कुरा बताउँदै यस गापामा तामाङ शिक्षक र तामाङ विद्यार्थी भएको विद्यालयमध्ये यस गापाको १२ वडाका २४ विद्यालयहरूमा तामयीय लिपिमा लिखित तामाङ भाषा विषयको पाठ्यपुस्तक यस वर्ष कक्षा १  मा लागू हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तमा कार्यक्रमका अध्यक्ष तथा गापा प्रमुख दलबहादुर लामाले गाउँलिकाभित्र बोलिन सबै भाषाको माध्यमबाट शिक्षा दिन गाउँपालिका प्रतिबद्ध रहेको कुरा कार्यक्र्म आयोजना गरिएको बताउनुभयो । सबै जाति, भाषी शिक्षक र विद्यार्थीको आवश्यकतानुसार गाउँपालिकाले विद्यालय शिक्षामा भाषिक व्यवस्थापन गर्दै जाने उल्लेख गर्नुभयो । उहाँले के कसर मातृभाषामा शिक्षा प्रदान गर्ने भन्ने प्राविधिक कुरा विज्ञबाट निर्धारण गरेबमोजिम हुने भएकोले आफू तयार रहेको कटिबद्धता जनाउनु हुँदै  उद्घाटन सत्रको कार्यक्रमलाई समापन गर्नुभयो ।

यस कार्यक्रममा गापाभित्रका ६९ सामुदायिक विद्यालयहरूका प्रअहरूको उपस्थिति रहेको थियो भने ३ वटा संस्थागत विद्यालयहरू कार्यक्रममा छुटेको थियो । दोस्रो चरणको कार्यक्रमको सुरूमा शिक्षा अधिकृत रामबहादुर तामाङले रोशी गापामा निर्मित स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नको लागि अभिमुखीकरण गर्नुभएको थियो ।त्यसपछि भाषाविद् अमृत योञ्जन तामाङले स्थानीय तहको भाषा नीति, कानुनसम्बन्धी प्रस्तुति राख्नुभएको थियो । उहाँले संविधान, स्थानीय सरकार सञ्चालन ऐन, शिक्षा ऐनमा मातृभाषामा शिक्षाको अधिकारको सुनिश्चिता गरिएको हुँदा स्थानीय तहले भाषा नीति, ऐन बनाई अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रशिक्षणकै क्रममा त्यसपछि भाषा आयोग उपसचिव डा.लोकबहादुर लोप्चनले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम हुनाको कारण व्यवस्थापन पक्ष प्रक्रियामुखी र जागिरमुखी भएको उल्लेख गर्नुभयो । तथापि  शिक्षाको गुणस्तरको अङ्क वा पास फेलमा दजनी गर्न न्यायोचित नभएको विषयको उठान गर्दै बाल कक्षादेखि ३ सम्म मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने र कक्षा ४ देखि मातृभाषा वा स्थानीय विषयलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो । त्यसपछि उहाँले भाषा आयोगबाट तयार गरिएको भाषा नीतिको मस्यौदा र भाषा आयोगको सिफारिस प्रस्तुत गर्दै मातृभाषामा शिक्षालाई कार्यान्वयनमा ल्याएकोमा गाउँपालिका र नेपाल तामाङ घेदुङलाई भाषा आयोगको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

रोशी गापामा सञ्चालित उक्त कार्यक्रम माघ ६ देखि १० गतेसम्म ५ दिनसम्म सञ्चालन हुनेछ । दोस्रो माघ ७ गतेदेखि २४ विद्यालयका कक्षा १ मा तामाङ भाषा विषय पठनपाठन गर्ने शिक्षकलाई तामाङ भाषा विषय र तामयीग लिपिसम्बन्धी प्रशिक्षणमा केन्द्रित हुनेछ । साथै ती शिक्षकहरूलाई बहुभाषिक शिक्षा, दोस्रो भाषा शिक्षा, सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि सुधारमा पनि विज्ञबाट प्रशिक्षण दिइने आयोजक जनाएका छन् । तामाङ भाषा विषय र तामयीग लिपिको प्रशिक्षकमा प्रतीक तामाङ र लीलाबहादुर स्याङतान रहेका छन् । उक्त का ५ दिने तालिम कार्यक्रममा तामाङ भाषा विषयको पाठ्यपुस्तक तयार गरी प्रकाशनको लागि गापालाई विद्युतीप्रति उपलब्ध गरिने र बाँकी विद्यालयहरू स्थानीय पाठ्यक्रमअनुसार स्थानीय विषय पठनपाठन गरिने भएको छ ।

 

 

 

You might also like