के भाषा नाङ्गै छ ?

 

के भाषा नाङ्गै छ ?

बौद्ध काठमाडौँ २०७८ साल बैशाख ४ गते शनिवार ।

२०७८ साल बैशाख ४ गते शनिबारका दिन बौद्धमा मातृभाषाका विभेदविरूद्ध सिंहदरबार अगाडि २१ फेब्रुअरीका दिन मेरो भाषा बचाऊ भन्दै नग्न प्रदर्शन गर्दै आएका भाषिक अभियन्ता विकिन काम्बाहाङको संयोजन र मातृभाषासम्बन्धी विज्ञ एवम् सम्बद्ध सरोकारवालाहरूको उपस्थितिमा नेपालमा भाषिक अधिकारको सुनिश्चिताका लागि आगामी कदम के हुने भन्ने विषय सन्दर्भमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा भाषाविद् अमृत योञ्जन तामाङ, भाषा आयोग मातृभाषा शिक्षा शाखा प्रमुख एव मातृभाषा शिक्षाविज्ञ डा.लोकबहादुर लोप्चन, भाषाविज्ञ डा. लाल राप्चा कोइँच, प्राज्ञ अमरजङग लिम्बू साथै जनजाति आन्दोलनकर्मी आङकाजी शेर्पाका साथै इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु समेत किशोर शेर्पा, सागर केरूङ, दिपक तुलाधार, निष्णु थिङसहित रमेश तामाङ लगायतका भाषासम्बदध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्रारम्भमा बिकिन काम्बाहाङले भाषिक अधिकार प्राप्तिको लागि सङ्घीय सरकारले बहुभाषिक विद्यालय स्थापना गर्नुपर्ने, मातृभाषाका शिक्षक नियुक्ति गर्नुपर्ने र भौतिक  तथा प्राज्ञिक क्षेत्रमा लगानी समानुपातिक हिस्सा विनियोजन गर्नुपर्ने विषयको उठान गर्नु भएको थियो। त्यसपछि भाषाविद अमृत योञ्जन तामाङले भाषिक अधिकार स्थानीय तहमा संविधानतः हस्तान्तरित भएको हुँदा केन्द्रीय आन्दोलनलाई स्थानीय तहतिर मोड्नुपर्ने बताउँदै  स्थानीय भाषा नीति निर्माण र मातृभाषा कार्यान्वयनकका लागि स्थानीय सरकार तथा जातिभाषिक संस्थालाई सक्रिय बनाउनुपर्ने विचार अभिव्यक्त गर्नुभयो । त्यसपछि डा.लोकबहादुर लोप्चनले अबको भाषिक आन्दोलनलाई स्थानीय तहमा केन्द्रित गर्दै केन्द्र तहमा भाषा नीति निर्माण र कार्यान्वयनका लागि स्थानीय तहलाई सहजीकरण गर्नको लागि शिक्षा तथा संस्कृति जस्ता मन्त्रालयहरूलाई जिम्मेवार बनाउन अनुरोध तथा ज्ञापनपत्र दिनुपर्ने सुझाउनुभयो । उहाँले जातिभाषिक संस्थाका साथै भाषासम्बन्धी जानकारसहित अभियन्ताहरूको दबाब संयन्त्र निर्माण गरी तत्काल कार्यान्वयनमा जानुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसपछि अन्तर्क्रियाको क्रममा डा.लाल राप्चाले अझै अल्पसङ्ख्यक भाषाहरूको स्थिति नाजुक रहेको, राज्यले भाषाप्रतिक व्यवहार समन्यायिक हुन नसकेको र अन्ततः अल्पसङख्यक भाषाहरू मृत्युको गर्ततिर धकेलिरहेको हुँदा भाषा नाङगै छ भन्नु विचार राख्नुभयो । त्यसका लागि राज्य र सरकारले सही सम्बोधन नगरिरहेको हुँदा नाङगै आन्दोलनको औचित्य रहेको विचार सम्प्रेषण गर्नुभयो  । त्यसपछि प्राज्ञ अमरजङग लिम्बूले केन्द्र र स्थानीय तह दुवै रूपमा भाषिक अधिकारको आन्दोलन र कार्यान्वयन कार्य सँगसँगै लानुपर्ने तर त्यसका लागि ठोस कार्यान्वयन योजना बनाएर जानुपर्ने विचार राख्नुभयो । त्यसपछि निष्णु थिङले केन्द्रमा भाषा आयोगदेखि संस्कृति, शिक्षा तथा प्रधानमन्त्री र मन्त्रिपरिषदको कार्यालयसम्म आन्दोलनमार्फत भाषिक माग पूरा गर्न दबाब दिनुपर्ने र एउटा लुज फोरम बनाएर कार्यक्रमलाई अग्रसारित गर्नुपर्छ भन्ने विचार राख्नुभयो । त्यसपछि थप कार्यक्रमको लागि संयोजन भाषिक मानव अधिकार समाज काठमाडौँले गर्ने कुरा भाषाविद अमृत योञ्जन तामाङले घोषणा गर्नुभयो भने डा.लोकबहादुर लोप्चनले त्यसपछिको कार्यक्रममा बहुभाषिक शिक्षा अनलाइनले निरन्तरता दिनुभयो । अन्तमा बिकिन काम्बाहाङले नेपालमा बहुभाषिक तथा बहसांस्कृतिक विश्वविद्लय आवश्यक हुनाका साथै भाषिक अधिकारको सुनिश्चिता भई नसकेको हुँदा आफ्नो विद्रोह वा आन्दोलनको स्वरूप परिवर्तन गरी सबैसँग सहकार्य गरी अघि बढन् तयार रहेको विचारसहित कार्यक्रम सम्पन्न भयो ।

You might also like