अस्ताए लोपोन्मुख लुङखिम भाषाका जेष्ठ वक्ता नन्दलाल राई

 

अस्ताए  लोपोन्मुख लुङखिम भाषाका जेष्ठ वक्ता नन्दलाल राई

नेपालका अत्यन्त लोपोन्मुख भाषाहरूमध्येमा लुङखिम भाषा पनि पर्दछ । इलाम जिल्लाको सुर्योदय नगरपालिकाको वडा नं.१० स्थित आहालेमा लुङखिम समुदायको बसोबास रहेको छ। भाषाविदहरूको सहयोगमा भाषा आयोगले गरेको अध्ययनको क्रममा लुङखिम भाषा स्पष्ट बोल्न सक्ने वक्ताहरू ७ जना मात्र भेटिएका थिए । भाषा आयोगबाट भाषाविद डा.तारामणि राईको नेतृत्वमा लुङखिम भाषाको व्याकरण लेखन कार्य भइरहेको छ भने यसअघि भाषा आयोगकै संयोजनमा लुङखिम भाषाको वर्ण निर्धारण र शब्द सङकलन कार्य पनि सम्पन्न भएको छ। तर दुःखको कुरा लुङखिम भाषामा राम्रोसँग बोल्न सक्ने एक मात्र वक्ता नन्दलाल राईको ९३ वर्षको उमेरमा निधन भएको छ। यसबारेमा भाषाविद डा.तारामणि राईले फेसबुस स्टाटसमा लेखेका छन्:

भाषाप्रेमीहरूका लागि दुखद् खबर !

………….

आधा दर्जन मात्र वक्ता भएको लुङ्खिम भाषाको सबैभन्दा बृहद् र भाषामा राम्रो दख्खल राख्ननुहुने नन्दलाल लुङ्खिम राईको निधनको खबरले मर्माहत छु । पछिल्लो चोटि भाषा विज्ञान केन्द्रीय विभाग र भाषा आयोगको सहकार्यमा भइरहेको यस भाषाको व्याकरण लेखनको लागि केही आवश्यक डाटाहरू सङ्कलन गर्न ८ हप्ता अघि चैत मसान्तमा इलाम पुगेको थिएँ । यस भाषाको अभिलेखिकरण (documentation) को कार्य भर्खरै मात्र सुरु भएको अवस्थामा उहाँको निधनले अपूरणीय क्षति पुगेको छ ।

केही समय अघि कुसुन्डा भाषाको वक्ता ज्ञानीमायाको निधनपछि १ जना कमला खत्री मात्र कुसुन्डा भाषाको वक्ता हुनहुन्छ । तिलुङ भाषाको वक्ता ३-४ जना भन्दा बढी छैनन् । नेपालमा यस्ता अल्प संख्यक भाषाहरू थुप्रै छन् । यस्ता भाषाहरूको छिटो भन्दा छिटो पुनर्जीवित (revitalize) तुल्याउन अभिलेखिरण, भाषा वक्ताको बृद्वि वा वा पुस्तान्तरण समयमा नगर्ने हो नेपालको भाषिक विविधताको परिचयमा खिया त लाग्छ नै, बहुभाषिक सम्पदामा गर्व गर्ने नुर गिर्नेछ । भाषा सम्बन्धित समुदायको मात्र सम्पत्ति होइन, सिङ्गो मुलुकको मात्र पनि होइन, विश्वको सम्पदा हो । दुर्भाग्य विश्वबाट हरेक २ हप्ता अर्थात् १५ दिनको अन्तरालमा एउटा भाषा लोप भैरहेको दृष्टान्त छ ।

अन्तमा ड्राफ्ट प्रतिवेदन उनै दिवंगत लुङखिम भाषाका वक्ता नन्दलाल राईप्रति समर्पित गर्दै उहाँको आत्माको सुप्तुलुङमा बास होस् भन्दै सुम्निमा-पारुहाङसँग कामना गर्दछु । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्छु ।

भाषा आयोगले लुङखिम भाषा संरक्षण र पुस्तान्तरणका लागि यसै वर्ष लुङखिम भाषामा कक्षा सञ्चालनको कार्यक्रम राखेको बुझिएको छ । तर लुङखिम भाषाका साथै मुन्धुमका ज्ञाता नन्दलाल राई अस्ताएसँगै उक्त भाषाका अमूल्य स्रोत विलाएको छ। लुङखिम भाषा र संस्कृतिका अथाह सम्पदा वा मुहान सुकेको छ । यसले समयमै उक्त भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्नमा ढिलाइ भएको र जिम्मेवार निकायहरू भाषा र संस्कृतिप्रति उत्तरदायी हुन नसकेको कटु सत्यको उजागर भएको छ।

भाषा आयोग र भाषाविद एवम भाषा क्षेत्रका अध्येताहरूमा  लोपोन्मुख जाति  र भाषाप्रति सहानुभूति रहे पनि स्थानीय भाषा र संस्कृति संरक्षण, संवर्धनका संवैधानिक जिम्मेवारी पाएका सूर्योदय नगरपालिकाका जनप्रतिनिधिहरू यसप्रति बेखबर छन्, गैरजिम्मेवार देखिन्छन् र यस्तै अल्पसङ्ख्यक जाति र भाषाका मृत्युका लाचार साक्षी बनेका छन् । तसर्थ सङघीय व्यवस्थाको कार्यान्वयन भएर स्थानीय तहमा भाषा र संस्कृति संरक्षणको जिम्मेवारी प्रदान गरिए पनि ती संस्थाहरू अन्योल र अलमलमा छन्, भनूँ डोजेर विकासको मोहपासको मोतियाबिन्दु नै उनीहरूमा लागेको हो कि भन्ने भान हुन थालेको छ। यसलाई भूपि शेरचनको कवितात्मक शीर्षकमा घुम्ने मेचमाथि अन्धा मान्छेको नियति बनेको छ । यस्ता समस्या एक जना मात्र वक्ता भएको कुसुन्डा भाषाले पनि व्यहोर्ने परेको छ । दाङको घोराही उपमहानगरपालिका स्थित सुपैलाकोटमा लोपोन्मुख कुसुन्डा समुदायको बसोबास छ । तिनै कुसुन्डाहरूमध्ये कमला कुसुन्डा मात्र उक्त भाषा बोल्न जान्ने वक्ता रहेकी छन्, ज्ञानीमाया कुसुन्डाको मृत्युपछि । भाषा आयोगलगायत अन्य केन्द्रीय संस्थाहरूले कुसुन्डा भाषामा कक्षा सञ्चालन, भाषा वृत्ति प्रदान र आवास समेत निर्माण गरी पहल र प्रयास गर्दै आएको छ । स्थानीय घोराही उपमहारनगरपालिका यसका प्रति उत्तरदायी भई प्राथमिकताका साथ उद्धारको काम गरेको पाइँदैन । जबकि कुसुन्डा विकास समाज घोराहीका अध्यक्ष धनबहादुर कुसुन्डा उपमहानगरपालिकाको कार्य समितिमा छन् । यसरी स्थानीय तहहरूले आफ्नो मूल जिम्मेवारी स्थानीय जाति, भाषा र संस्कृतिप्रति बेखबर रहँदा स्थानीय जनताले सङ्घीयताको लाभ हासिल गर्न पाइरहेका छैनन्, बरू पुराना पुस्ताका वक्ता, ज्ञानका स्रोत मानिएका ज्ञानीमाया कुसुन्डा र नन्दलाल राईजस्ता भाषिक सांस्कृतिक धरोहर अस्ताए पछि उक्त भाषा र संस्कृतिको संरक्षणमा बाधा मात्र पुगेको छैन, ती भाषाहरू लोप हुने प्रतीक्षा गर्दैछन् वा  ती भाषाहरू मृत्युको पालो कुर्दै छन् । तसर्थ यसका प्रति स्थानीय सम्बद्ध समुदाय, स्थानीय निकाय, भाषिक अध्येता, सम्बद्ध आयोग र विकासका साझेदारीहरूको सामूहिक पहल, प्रयास र तत्काल सघन कार्यक्रम सञ्चालन गरिनु अपरिहार्य छ ।हार्दिक श्रद्धान्जली ।

 

 

You might also like