दूरा र लुङखिम भाषा बचाउन भाषा कक्षा सञ्चालन हुँदै

 

दूरा र लुङखिम भाषा बचाउन भाषा कक्षा सञ्चालन हुँदै

 

नेपालका एक हजार भन्दा कम वक्ता भएका भाषाहरूमध्ये दूरा भाषामा दूरा समुदायका एक जना पनि वक्ता छैनन् । त्यसैगरी लुङखिम भाषामा पनि ६/७ जना भन्दा कम वक्ता मात्र रहेका छन्  । जनगणना (२०६८) अनुसार दूरा जातिको जनसङ्ख्या ५,३९४ पहिचान गरिएकोमा १ जना मात्र वक्ता उल्लेख गरिएको छ। उक्त एक जना मात्र वक्ता पनि मुक्तिनाथ घिमिरे हुन् । त्यसैगरी लुङखिम राई जातिका कुल जनसङ्ख्या १२९ र वक्ता सङ्ख्या १२१ जना पहिचान गरिएको पाइन्छ। तथापि बोल्ने वक्ता भने भाषा आयोगका साथै भाषा विज्ञान केन्द्रीय विभाग त्रि.वि.वि.आदिको अध्ययनअनुसार ६/७ जना रहेको देखिन्छ। दुराहरूको बसोबास लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा रहेको छ भने लुङखिम जातिको बसोबास इलाम जिल्लाको सूर्योदय नगरपालिकास्थित आहालेमा लुङखिमभाषी वक्ताहरू रहेको अध्येताहरूको भनाइ छ । साथै पत्रकार गणेश राईको अध्ययनअनुसार लुङखिम जातिको बसोबास इलामको सूर्योदय नगरपालिकाको वडा न.१० र ११, इलामकै देइमाइ, जोगमाई, पाँचथरको लुङखिम, भारतको दार्जिलिङ र भुटानको अलिपुरमा समेत रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका साथै विभिन्न सङ्घसंस्थाहरूबाट दुरा भाषामा भाषिक अभिलेखीकरणको कार्य हुँदै आएको छ। तथापि लुङखिम भाषा भने भाषा आयोगको स्थापनापछि वर्ण निर्धारण, शब्द सङ्कलनका साथै व्याकरण लेखन जस्ता कार्य हुँदै आएको छ। दुरा भाषामा पनि भाषा आयोगबाट शब्दकोश निर्माण, इतिहास लेखन, व्याकरण लेखन जस्ता कार्य गर्दै आएको पाइन्छ । तथापि भाषाको अभिलेखीकरण कार्यले मात्र लोपोन्मुख भाषालाई जीवन्त राख्न नसकिएको हुँदा यसलाई अन्तरपुस्ता हस्तान्तरण र दैनिक जीवनमा प्रयोग गरिनु आवश्यक रहेको कुरा भाषाविदहरू बताउँछन् ।

भाषा आयोगको वि.सं.२०७३ सालमा स्थापना भएपछि भाषाहरूको जीवन्तताको लागि अत्यन्तै लोपोन्मुख भाषाहरूमा भाषा कक्षा सञ्चालन गर्ने क्रममा कुसुन्डा, बराम र तिलुङ भाषामा भाषा कक्षा सञ्चालन गरी ती भाषाहरूलाई जीवन्त राख्ने प्रयास हुँदै आएको छ । जसमा सम्बद्ध भाषिक संस्था समुदाय र विज्ञ अध्येताका साथै भाषा आयोगको उल्लेखनीय भूमिका रहेको छ ।

भाषा आयोगले मिति २०७८ साल जेठ ३० गतेका दिन भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम राखी दुरा र लुङखिम भाषामा आ.व.२०७८/७९ देखि भाषा कक्षा सञ्चालन गरी उक्त भाषाहरूलाई पुस्तान्तरण गर्ने जानकारी गराएको छ । भाषा कक्षा सञ्चालनका लागि सम्बद्ध भाषाका विज्ञ, लेखक र स्रोतव्यक्तिको सहभागितामा सम्बन्धित भाषिक समुदायसम्बद्ध संस्थाको संयोजकत्वमा भाषा कक्षा सञ्चालनका लागि पाठ्यसामग्री लेखन हुने भएको छ । भाषा आयोगको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा भाषा आयोगका अध्यक्ष, सदस्यसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो भने दुरा सेवा समाज र तिलुङ राई समाजका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा दुवै भाषाका अध्येता डा.तारामणि राई विज्ञका रूपमा उपस्थित भई उक्त भाषाहरूको अवस्था र  संरक्षणका लागि गरिनुपर्ने कार्यहरूका बारेमा बताउनु भएको थियो । उक्त अन्तर्कियाबाट दूरा भाषामा पाठ्यसामग्री तयार गर्न दूरा सेवा समाजको अध्यक्ष देवबहादुर दुराको संयोजकत्वमा विज्ञमा डा. तारामणि राईसहितको समिति गठन गरी दूरा भाषामा पाठ्सामग्री तयार गर्ने जिम्मेवारी प्रदान गरिएको छ। त्यसै गरी लुङखिम राई समाजको अध्यक्ष जङग लुङखिमको संयोजकत्वमा भाषाविद् एवम अध्येता डा. तारामणि राईलाई विज्ञ एवम पाठ्यपुस्तक लेखकको जिम्मेवारी प्रदान गरिएको छ। जसमा स्रोतव्यक्तिका रूपमा पूर्ण राई र पत्रकार गणेश वाम्बुले राई रहेका छन् ।

भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चनका अनुसार आगामी भदौ र असोजसम्ममा उक्त दुई भाषाहरूमा कक्षा सञ्चालन हुनेछ । भाषा कक्षाहरू दिनको दुई घण्टाको दरले जम्मा ९० घण्टाको अवधिमा ४५ दिनसम्म सञ्चालन हुनेछ । जसमा ३० दिन प्रत्यक्ष कक्षा  र १५ दिन स्वाध्यायन कक्षा सञ्चालन हुनेछ । साथै स्थानीय तहको सहकार्यमा उक्त स्थानीय तहका विद्यालयमा अध्ययनरत सम्बद्ध भाषाका हरेक विद्यार्थीलाई समेत विषयका रूपमा कक्षा १-८ सम्मा पठनपाठन गर्नका लागि स्थानीय पालिकासँग सहकार्यको पहल भएको छ। जसअनुसार सुन्दरबजार नगरपालिका लमजुङ र सूर्योदय नगरपालिका इलामले भाषा कक्षामा विद्यालयतर्फ विषयका रूपमा दूरा र लुङखिमा भाषा विषय पठनपाठनका लागि प्रति पालिका ३/३ लाख विनियोजन गर्ने प्रतिबद्धता मातृभाषा शिक्षा शाखा डा.लोकबहादुर लोप्चन समक्ष गरेका छन् । यसरी भाषा आयोग, सम्बद्ध भाषिक संस्था र स्थानीय पालिकाहरूको सहकार्यमा दूरा र लुङखिम भाषिक समुदायमा भाषिक कक्षा सञ्चालन हुने र विद्यालयमा सम्बद्ध भाषिक समुदायको प्रत्येक बालबालिकालाई भाषा विषयका रूपमा ती भाषाहरू पठनपाठन गरी उक्त भाषाहरूको संरक्षण, संवर्धन, विकास र प्रयोग गरी जीविन्तता दिने भएको छ।

 

 

 

 

 

You might also like