दोर्जे सरको पदचाप नाटकः संयोगवश पात्रहरू सरस्वती प्रधान, रूपा सुनार र मन्त्री……..

 

दोर्जे सरको पदचाप नाटकः संयोगवश पात्रहरू सरस्वती प्रधान, रूपा सुनार र मन्त्री……..

सन्दर्भः

देशकै राजधानी काठमाडौँ नजिक रहेको काभ्रेपलान्चोक जिल्लाको हालको खानीखोला गाउँपालिकालाई स्थानिक परिवेश बनाएर यस नाटक समयसन्दर्भ चाहिँ २०५०/५१ सालतरिको हो। त्यतिखेर ग्रामीण गाउँबस्तीमा जातीय विभेदजस्ता अमानुषिक व्यवहारको प्रत्यक्ष अनुभूत गरी लेखिएको नाटकको कथावस्तुले पुस्ट्याइँ गर्दछ । दक्षिण एसियामा ३०० वर्षदेखि एकछत्र रूपमा अमानुषिक र पाशविक ताण्डव मच्चाउने जातीय भेदभाव निसृत छुवाछुत प्रथाले मानव सभ्यतालाई कलङ्कित बनाई रहेको छ। नाटककार डा.लोकबहादुर लोप्चन लिखित यस नाटकमा जाति, वर्ग, क्षेत्र, लिङग जस्ता विविध आयामबाट नेपाली समाजमा असमानता, विभेद, अन्याय, शोषण दमन हुने गरेको पक्षलाई नाटकमा उजागर गरेका छन् ।

यस नाटकमा लेखकले तात्कालीन राजनीतिक चेतनाको प्रतिबिम्बन गर्ने क्रममा वर्गीय सिद्धान्तलाई त्यतिखेरको बुझाइअनुसार सामाजिक रूपान्तरणको आधार मान्न पुगेका छन् ।विगतका पुस्ता सामाजिक अन्धविश्वास र भ्रमका सिकार भए पनि वर्तमान पुस्ता त्यसप्रति सचेत भई सही बाटो अँगाल्न विद्यालय र विश्वविद्यालयहरू वा प्राध्यापक र शिक्षक वर्गले जनमानसमा सही विचार सम्प्रेषण गर्नुपर्ने मक्सदकासाथ लेखक नाटकको शीर्षक नै दोर्जे सरको पदचाप राखेको देखिन्छ । रूकुमको दलित हत्या घटनाप्रति समर्पित गरिएको यस नाटकले उठान गरेको विषयवस्तु, खोजिएको मुक्ति मार्ग र शिक्षक वा सचेत वर्गलाई जिम्मेवारी थमाइएको यस नाटकको प्रत्यक्ष मन्चन भइरहेको  आभास हुन्छ । तर यसले उठान गरेको जुन विषय वा विचार छ, नेपाली समाजको उक्त घटना परिघटना पुनरावृत्ति भइरहेकैछ । रूपा सुनारमाथि सरस्वती प्रधानजस्ता कथित उपल्ला जातकाले गरेको जातपात र छुवाछुतपूर्ण व्यवहार, त्यसप्रतिको कानुनी प्रक्रिया र शिक्षामन्त्री समेत यस घटनामा जोडिन पुगेको सन्दर्भमा यस नाटकको कथावस्तु अझै सान्दर्भिक हुन पुगेको ठहर्छ । यस नाटकको कथावस्तु वा कथासार तल प्रस्तुत गरिएको छः

कथावस्तु वा सारः

ग्रामीण क्षेत्रको कुनै गाउँमा  एउटा झुप्रा घरमा गुमे कामी, साने छोरा र छोरी पुतलीको सानो परिवार छ । त्यो गाउँको साहू गुन्जन सिंह भीमसेन, काले, बुद्धिराजजस्ता लठैतहरू को सहयोगमा गुमे कामीजस्ता गरीबगुरुवाको उठिबास लगाउँदै हिँड्ने गरेका छन् । त्यही गाउँको बीचमा एउटा विद्यालय छ, जसमा गुमे कामीको छोरा र गुन्जन सिंको छोरा पनि सँगसँगै पढ्ने गर्दछन् । त्यहीँ पढाउने शिक्षक दोर्जे गाउँका गरीबगुरुवाको सेवामा समर्पित मात्र छैनन्, सामाजिक परिवर्तनको अगुवाइ गर्छन्, गाउँका युवाहरूको पुरातन विचारमा परिवर्तन ल्याउनमा लागी पर्छन् र गुन्जन सिंजस्ता शोषक वा ब्याजमा स्याज गर्दै गरिबमाथि गीर खेल्ने र जाली फटाहा गर्नेलाई युवाहरूको साथमा कारबाही गरी नयाँ युग र समाज निर्माणमा समर्पित छन् ।

एक दिनको कुरा हो, शिक्षक दोर्जे तामाङले गुमे कामीको छोरा साने र गुन्जन सिंका छोरालाई कक्षाकोठामा सँगै राखेको हुन्छ । गुन्जन सिंहका छोराले सानेलाई आफ्नो खाजा छोएको भनी कुट्छ र घरमा गएर बुबा गुन्जन सिंलाई आफूलाई गुमे कामीको छोरा सानेले कुटेको आरोप लगाउँछ।उता साने पनि आफ्ना बुबा गुमेलाई गुन्जन सिंको छोराले सरले सँगै राखिँदिँदा खाजा छोएको भनी आफूलाई कुटेको बताउँछ । गुमे पनि आफूहरू साना जातका भएकाले त्यसो गर्दा पाप लाग्ने र साहूसँग माफी माग्ने कुरा गर्दछ । त्यसैबेला साने पनि स्कुल अब कैल्यै नजाने बताउँछ र बुबा गुमेले जानुपर्ने बताउँछ । प्रसंगवश सानेले दिदी पुतली किन स्कुल नगएको भन्ने प्रश्नमा गुमेले दिदीको काम घाँस दाउरा काट्ने हो बताउँदा विद्यालयमा सरहरुले छोरीलाई पनि पढाउनुपर्छ भनेको कुरा सुनाउँछन् । त्यति बेलासम्म पुतली पनि घाँस काटेर घर आइपुगेको हुन्छ । पुतलीलाई बुबा गुमेले साने र साहूका छोराकाबीचको झगडाको बारेमा सुनाउँछ । सबैजना घरभित्र प्रवेश गरेपछि पहिलो दृश्य सकिन्छ ।

दोस्रो दृश्यमा साहूको घरमा साहू गुन्जन सिं आफ्ना लठैत काले, भीमसेन, बुद्धिराजसँगै चाडबाडको बेला भएको रक्सी पिइरहेका हुन्छन् सबै जना बुद्धिराजबाहेक। आपसमा रक्सीको मात लागेसँगै हँसीमज्जा गरिरहेका हुन्छन् । त्यसैबेला गुन्जन सिंले गाउँलेहरुलाई एक हजार ऋण दिएकोमा तमसुकमा सयका पछि दुई सुन्ना थपेपछि दश हजार गरी गाउँलेहरूको उठिबास लगाएको कुरा नसाको सुरमा बताउँछन् । लठैतहरू सही थापिरहेका हुन्छन् । त्यत्तिकैमा गुन्जन सिंका छोरा काले अँध्यारो मुख लगाएर विद्यालयबाट आइपुग्छ र बुबा गुन्जन सिंले सोधनी गर्दा गुमेका छोरा सानेले बेसरी कुटेको आरोप लगाउँछ । त्यसपछि गुमे रिसले आगो हुन्छ र के निहुँ पाऊँ कनिका बुक्याउँ भनेझैँ अघिल्लो सालको ऋण तिर्न पनि नआएको र झन् आफ्नो छोरालाई समेत उनका छोराले कुटेको भन्ने थाहापछि उठिबास लगाउन भनी गुमेको घरतिर सबै लठैतहरू र सहित प्रस्थान गर्छन् ।

तेस्रो दृश्य दोर्जेको सरको घरमा युवाहरूको उपस्थिति हुन्छ । दोर्जे सर र अमर, प्रेमलगायतका  युवाहरूकाबीच विद्यालयमा भर्ना अभियानका बारेमा कुराकानी चलिरहेको हुन्छ । दोर्जे सरले भर्ना अभियानसँगै महिला, दलितलगायतका सबै बालबालिकाले विद्यालयमा भर्ना भई पढ्नुपर्ने विचार व्यक्त गर्छन् ।युवाहरू दलित भनेको सानो जात भएकाले किन पढ्नु पर्‍यो, आफ्नो काम गरे भयो नि भन्न पछि पर्दैनन् । त्यसपछि दोर्जे सरले शोषक र फटाहा जालीले नै जातपात, ठूलासाना र गरिब समेत सिर्जना गराएका हुन् भन्ने बताउँछन् । युवाहरुलाई अन्धपरम्परा र अन्धविश्वासका बारेमा बताएर स्पष्ट पार्छन् । अघिल्लो दिन गुन्जन सिंको छोराले सानेलाई कुटेको हुँदा विद्यालय नआएकाले सम्झाउन गुमे कामीको घरतिर लाग्छन् ।

चौथो, दृश्यमा गुमे कामीको घरमा गुन्जन सिं आफ्ना लठैतसहित पुगेका हुन्छन् । आफ्नो छोरालाई कुटेर काललाई जिस्क्याएको सुनाउँछन् । आफूबाट दिएको ऋण तुरुन्त तिर्नु भन्छन् तर गुमे कामी आफूसँग फुटेको कौडीसम्म नभएकोले अर्को साल तिर्ने बाचा गर्छन् । तर उनको हारगुहारको कुनै सुनुवाइ हुँदैन । यस्ता कुरा सुन्ने फुर्सद नभएको भन्दै लठैतहरुलाई गुमेको घर भत्काउन लगाउँछन् । गुमे रोइरहेका हुन्छन् भने पुतलीलाई त्यसो नगर्न भन्दा उनलाई तिमी मेरी कमारी मात्र होइन, यतिका दुलाहा पाउँछ्यौ भन्दै अपशब्दसहित पाशविक व्यवहार गर्छन् । अन्तमा पुतलीले प्रतिकार गर्दागर्दै गुन्जन सिं लठैतहरुले अपहरण गरेर पुतलीलाई लिएर जान्छन् ।

पाँचौ, दृश्यमा दोर्जे सरको नेतृत्वमा अमर, प्रेमसहित युवाहरुको टोली गमे कामीको घर पुग्छन् । त्यहाँ पुग्दा गुमेका घरको भग्नावशेष मात्र हैन, गुमेको रुवाइ र सानेको बिचल्ली देख्छन् । दोर्जे सरबाट सोधपुछ हुँदा साना जातको मान्छेले स्कुलमा सँगै बस्दा खाजा छोएको कारण गुन्जन सिंबाट यो कारबाही गरेको सुनाउँछन् । आफूहरु साना जात र गरिब भएकाले गरीबको साथमा दैव पनि नहुँदो रहेछ भन्दा दोर्जेका साथै सबैले हामी रहेको बताउँछन् । त्यत्तिकैमा गुमे बेसरी रुन थालेपछि कारण खोजी पस्दा आफ्नी छोरी पुतलीलाई अपहरण गरेको बताउँछन् । त्यसपछि गुमेलाई समेत लिएर गाउँलेहरुका साथ दोर्जे सर अपराधी गुन्जन सिंको घरतिर लाग्छन् ।

अन्तिम दृश्यमा गुन्जन सिं लगायत लठैतहरु गुन्जन सिंहको घरआँगनमा रक्सी खाँदै तास खेलिरहेका हुन्छन् । एक्कासी दोर्जे सर, युवा र गाउँलेहरुको प्रवेश भएपछि गुन्जन सिं तास फ्याँकेर  गुमेसहित किन आएको भन्छन् । त्यत्तिकैमा तिमीलाई नै आउनको कारण थाहा होला भनी दोर्जेले बताउँछन् । त्यस्तो कुरा आफूलाई थाहा नभएको भन्दाभन्दै बुद्धिराज भन्नेले मास्टर बाबु पनि पढाउन छोडेर गाउँगाउँमा हिँडेमा के होला भन्छन् ।त्यतिकैमा उपस्थित भीड आक्रोशित भई जाइलाग्न खोज्छन्, गुन्जन सिं र उसका लठैतमाथि तर दोर्जे सरले रोक्छन् । दुई पक्षका बीच आपसमा केहीबेर भनाभन हुन्छ अन्तमा सबैले पुतली खोई भन्दा न विवाह गर्न मिल्छ न पानी नै चल्छ किन चाहियो पुतली तिमीहरुलाई पनि भन्छन् गुन्जन सिं । त्यसपछि भीड उत्तेजित हुन्छ र आपसमा हात हालाहाल हुन्छ । त्यसैका क्रममा भीमसेन, काले, रिट्ठेले बेसरी कुटाइ खान पुग्छन् । त्यसपछि गुन्जन सिंहलाई पुतली खोई भन्दा यिनै काले, भीमसेनहरुले के कसो गरे होलान् भनी दोषारोपण गर्छन् । त्यसबेलासम्म काले, भीमसेन, बुद्धिराजहरुले गरीब भएर गरिबमाथि नै लाग्न गुन्जन सिँले बाध्य पारेको खाली आफ्नो पापी पेट पाल्नका लागि भन्ने बझिसकेका हुन्छन्, आफूले अनाहकका अपराध कर्म गरेकोमा पछुताउँदै प्रायश्चित गर्न आफूहरुलाई सजाय दिन उपस्थित सबैका अगाडि अनुरोध गर्छन् । तर गुन्जन सिंहले आफूहरुलाई दोष लगाएकोमा उसैमाथि जाइलाग्छन् । अन्ततः भीमसेनले गुन्जन सिंकै आदेशमा जीवन रक्षाका लागि हारगुहार गर्दागर्दै बलात्कारपछि हत्या गरेको कुरा सुनाउँछन् र हत्तपत्त पुतलीको लास लिएर उपस्थित हुन्छ र कारुणिक र हृदयविदारक अवस्था छाउँछ । त्यसपछि भीडले गुन्जनसिंलाई कुट्नसम्म कुट्छन् र पुतलीका अगाडि माफी माग्दै गर्दा गुमे कामीले गुन्जन सिंको टाउकोमा घनले हिकाउँछ र केहीबेर पछि मर्छ । त्यसपछि गुमेले पनि आफ्नो छातीमा घनले हिर्काएर मृत्युवरण गर्छ । सबैजना अतालिन्छन् र साह्रै करुण, दारुण र भयावह स्थिति सिर्जना हुन्छ । अन्तमा, शिक्षक दोर्जेबाट सबैलाई सम्झाउँदै अब गाउँमा शोषणको अन्त्य भएको, गाउँमा सोझासाझाको कल्याण हुने र नवसमाजको सिर्जनाको प्रारम्भ भएको बताउँछन् । साथै उनले केही पाउन केही गुमाउनु परेको भन्दै एकातिर गुमे र पुतलीजस्ता असल पात्रहरु गुमाएको र अर्कातिर शोषक, जाली फटाहा गुन्जन सिंहको अन्त्यले एउटा नयाँ युगको प्रारम्भ भएको बताउँछन् भने पुतलीलाई जोगाउन नसकिए तापनि अन्य लाखौँ निर्दोष पुतलीहरु जोगाउने बाचाका साथ कथाको अन्त्य हुन्छ । गीत गुन्जन्छ ।

निष्कर्ष

वि.सं.२०७७ सालमा प्रकाशित एवम् विमोचित यस दोर्जे सरको पदचाप नाटकमा प्रा.डा. गोविन्दराज भट्टराई र प्रा.डा.विद्यानाथ कोइरालाको भूमिका तथा समालोचना रहेको छ ।सनाटकमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक पछौटेपनका कारण भूईँ तहका मानिसहरू कुरीति, अन्धपरम्परा, विभेद, शोषण, गरिबीका साथै  अन्योल र भ्रमका सिकार बनेको कुरालाई नाटकमा उठान गरिएको छ । साथै  नाटकमा त्यसको मुक्तिका लागि शिक्षालयदेखि सचेत हरेक व्यक्तिले सही विचारको सम्प्रेषण गर्दै सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नुपर्ने सन्देश प्रवाहित भएको पाइन्छ  ।

You might also like