प्रदेश २ को निजगढ नपा. बारामा तामाङ भाषा र स्थानीय विषय पठनपाठन हुने

 

प्रदेश २ को निजगढ नपा. बारा मा तामाङ भाषा र स्थानीय विषय पठनपाठन हुने

निजगढ, बारा २०७८ साल असार २३ गते ।

प्रदेश २ को बारा जिल्लास्थित निजगढ नगरपालिकामा शैक्षिक सत्र २०७८ देखि नगरपालिकाका सबै २७ वटै सरकारी विद्यालयहरूमा तामाङ भाषा विषय र स्थानीय विषय पठनपाठन हुने भएको छ। नेपाल तामाङ घेदुङको संयोजन, भाषा आयोग प्राविधिक सहयोग र  निजगढ नगरपालिकाको आर्थिक एवम प्राविधिक सहकार्यमा मातृभाषा शिक्षा (तामाङ विषय शिक्षण) र स्थानीय पाठ्यक्रम प्रबलीकरण कार्यक्रम सम्पन्न भएको छ।

यो पनि पढ्नुहोस

विद्यालयका प्रअ, वडाध्यक्षसहित नेपाल तामाङ घेदुङको पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङको अध्यक्ष मोहन गोले तामाङले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगरपालिका उपप्रमुख लीलादेवी खनाल हुनुहुन्थ्यो । तामाङ घेदुङका जिल्ला समितिका सदस्य चन्द्र लामाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले कार्यक्रमको औचित्य, महत्व, कार्यक्रम गतिविधिको बारेमा प्रस्तुति गर्नुभएको थियो । त्यसपछि तामाङ भाषा पाठ्यपुस्तक लेखक एवम् लिपि प्रशिक्षक प्रतीक ङेसुर तामाङले तामाङ भाषा पाठ्यपुस्तक र तामयिक लिपिको विषयमा सहभागीलाई प्रस्ट्याउनु भयो । त्यसपछि भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनले मातृभाषामा शिक्षा, भाषा विषय पठनपाठन, दोस्रो भाषाका रूपमा नेपाली र अङ्ग्रेजी भाषा शिक्षा तथा सामुदायिक विद्यालयको सुधार एवम सिकाइ उपलब्धि अभिवृद्धिका उपायसम्बन्धी प्रस्तुति गर्नु भएको थियो । साथै उहाँले राज्यका सबै तह, तप्का र निकाय सम्बद्ध सबैले राज्यको जिम्मेवारीप्रति उत्तरदायी भई इमानदारीकासाथ संवैधानिक र कानुनी विषय प्रावधानहरू कार्यान्वयन गर्नुपर्ने बताउनु भएको थियो । भाषाविद डा.गोपाल ठाकुरले नेपालको संविधान लगायत कानुनी प्रावधानमा मातृभाषामा शिक्षा पाउने अधिकारको सुनिश्चितता गरेको हुँदा त्यसलाई स्थानीय तहले सम्बोधन गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । साथै उहाँले सम्बद्ध भाषिक समुदायले भाषा र संस्कृतिलाई संरक्षण गर्नको लागि त्यसलाई धर्म, संस्कार र शिक्षालगायत सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

मन्तव्यकै क्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले यस नगरपालिकामा विविध भाषा र जाति रहेको हुँदा सबैको अपेक्षा सम्बोधन गर्नको लागि नगरपालिका यो कार्यक्रम आयोजना गर्न पुगेको विचार अभिव्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम उपमेयर लीलादेवी खनालले नेपाल बहुभाषिक एवम सांस्कृतिक मुलुक भएको र यो नगरपालिकाले त्यसलाई कार्य रूप दिनको लागि नेपाल तामाङ घेदुङको सहकार्यमा यस कार्यको थालनी गरेको विचार व्यक्त गर्नुभयो । आगामी दिनमा अन्य मातृभाषामा पठनपाठनको प्रबन्ध गर्न नगरपालिका लागी पर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहभागी प्रअहरूसँग गरिएको अन्तर्क्रियाको सिलसिलामा यस नगपालिकामा तामाङ, भोजपुरी, कठरिया र नेपाली भाषा बोल्ने वक्ताहरू रहेको हुँदा ती भाषाका विद्यार्थी विद्यालयमा अध्ययनरत रहेको पाइयो । तथापि कतिपय बालबालिकाकाले मातृभाषा सिक्न नपाएको र घरैमा नेपाली भाषा सिकाउँदा मातृभाषा लोप हुँदै गएको पाइयो ।  विद्यालयमा पनि एकल नेपाली भाषालाई माध्यमको रूपमा प्रयोग गर्ने र मातृभाषा वा स्थानीय विषयलाई पठनपाठन नगरी अङ्ग्रेजी भाषा विषय पढाएको पाइयो । जसको कारण विदयालयको पठनपाठनमा भाषिक समस्या आइपरेको बताएका थिए । जे होस्, यो कार्यक्रमसँगै यस नगरपालिकामा यस शैक्षिक सत्रबाट तामाङ भाषा र स्थानीय विषय पठनपाठन हुने भएको छ ।

 

You might also like