सत्ता, धर्मशाला र बादशाहहरूको नियति

 

सत्ता, धर्मशाला र बादशाहहरूको नियति

डा.लोकबहादुर लोप्चन

पूर्वीय दर्शनको सार रहेको छ यस धर्तीका हरेक प्राणीको जीवन क्षणभङ्गुर छ । मानिस पनि त्यही अस्थायी वा सीमित आयुबन्दी जीवनको हद र सीमाभन्दा अलग हुन सक्ने कुरै रहेन । त्यसरी नै मानिसले जीवनमा प्राप्त गर्ने धन, सम्पत्ति, सत्ता, पद आदि पनि स्थायी होइनन्, केही समयको लागि करार गरिएको अस्थायी वा निमित्त मात्र हुन् । जसरी धर्मशालामा हजारौँ मानिस आउँछन्, केही क्षण अडिन्छन् र केही समयपछि त्यागिन्छन् । त्यही धर्मशालाको नियति हो सत्ता र पदको पनि, जुन आजीवन वा सार्वकालिक कोही कसैको हुँदैन । त्यसैगरी सत्तासीन वा पदाधिकारी नियति पनि उस्तै दयनीय रहन्छ, जो केही समयका लागि पदमा विराजमान हुन्छन् तर निश्वित समयको पाबन्दीपछि पदमुक्त हुन्छन् । जसरी जन्म र मृत्यु शाश्वत सत्य हुन्, त्यसरी नै नियुक्ति र अवकाश पनि अकाट्य रहन्छन् । संसारमा मानवले शासन वा प्रशासन सञ्चालनको लागि परापूर्वकालमा सम्राट वा बादशाहरूपी पदहरू स्वघोषणामा तयार गरिए र प्रचलनमा ल्याइए । त्यसैगरी आधुनिक युगमा कानुन निसृत पद र प्रतिष्ठाका थुप्रै पद र  मानकहरू तयार गरिएका छन् । तथापि ती सबै कोही कसैको लागि उसले जीवनकालमा गरेको योगदान, त्याग र साधनाको आधारमा प्राप्ति हुने भो तर सदाको लागि भने होइन, केही समयको लागि र एउटा निमित्त नायक बनाउँछन्, जनताले । तसर्थ जनता नै दुनियाँमा सार्वभौम हुन्, महान हुन् तर शासक वा बादशाहहरू जनताले पठाएको प्रतिनिधिन वा जनताका वारेस निमित पात्र मात्र हुन् । जुन बेलासम्म जनताले उसलाई अनुमति दिन्छ, त्यो बेलासम्म ऊ जनताको वारेसका रूपमा पदमा रहन पाउँछ, जनविश्वास गुमाएको दिन उसको बहिर्गमन हुन्छ । यही हो सत्ता, धर्मशाला र बादशाहरूको अन्तिम हैसियत र नियति  ।

अस्तित्ववादी दार्सनिक सात्रेले भनेका छन्- मानिसको जिन्दगी चीलको झम्टामा परेको चल्लासरि निरूपायित छ। सत्ता, धर्मशाला र बादशाह (शासक) को नियति पनि त्यस्तै विवश र बन्धित रहेको छ, जसरी चीलको झम्टामा नपरूञ्जेल चल्लाहरू स्वतन्त्र रहन्छन् । तर चीलरूपी झम्टामा परेको क्षणमा  सांसारिक यथार्थलाई स्वीकार्नुको विकल्प हुँदैन ।

समकालीन विश्व राजनीतिक परिदृश्यमा अमेरिकी सत्ताबाट डोनाल्ड ट्रम्पको अवसान हुनुलाई दाँज्न सकिन्छ तर सत्तामा टिक्नको लागि अमेरिकी संसदभवन हिल टाउनमा आक्रमण गरिएको किन नहोस् ? त्यसैगरी नेपालमा पनि सर्वोच्च अदालतको २०७८ साल असार २८ को फैसलासँगै ओली सरकारको बहिर्गमन हुने सुनिश्चित भएको छ, तर त्यही क्षणिक मानिएको सत्तामा टिक्नको लागि दुई पटकसम्म प्रतिनिधिसभा भङ्ग गरिएको किन नहोस् । जसरी विगतमा राणाशासन फालिए र ज्ञानेन्द्रको प्रत्यक्ष शासनको उन्मादी आकाङ्क्षाको कोपाभाजनमा पर्दा राजतन्त्र नै नेपालबाट सदाको लागि विलय समेत भएको हो । यसरी दुनियाँमा सत्ता र पद क्षणिक अवधिका लागि मात्र हुन्, जो कोही कुनै पनि बेलामा त्यस पदबाट मुक्त हुनुको विकल्प छैन। अहिले त्यही घटना नेपाली राजनीतिक रङगमन्चमा देखा परेको छ। यो कुनै अस्वाभाविक, असामान्य र अभूतपूर्व परिवेश भने होइन, यो समाज व्यवस्थाको सामान्य प्रक्रिया न हो । दुनियाँमा राजनीति, शासन र प्रशासनको नियमित आकस्मिकताको एउटा चक्र पूरा भएको परिवेश न हो । यो जनता र शासनबीचको करारीय सम्बन्धको समाप्ति र अर्को करारीय सम्बन्धको प्रतिस्थापनको स्वभाविक, नियमित र सामान्य प्रक्रिया मात्र न हो ।

तथापि संसारको राजनीतिक इतिहासका विभिन्न कालखण्डहरू त्यति सरल, सहज र स्वभाविक रूपमा सलल बगेको पाइँदैन। धर्मशाला ठानिएको सत्ताहरू क्रुर तानाशाहीको फन्दा पर्दा विनासकारी विश्व युद्धको विभीषिकामा परिणत भएका छन्। निर्वाचनकै बलमा हिटलर जन्मिँदा दोस्रो विश्वयुद्ध भई हिरोशिमा र नागासाकीमा एटम बमहरू पक्डिएर लाखौँ नरसंहार भई विश्वमा सैतानी व्यवहार प्रदर्शित नभएका होइनन् । जुन घटनाहरू केही स्वेच्छाचारी र तानाशाही शासकको सनकमा घटित निर्मम र दुःखत पाटाहरू हुन्। तर संसारको राजनीतिक मात्र नभई सामाजिक सांस्कृतिक पक्षहरू सरल रेखामा चल्ने गरेको इतिहास छैन । अझ राजनीतिमा त विचित्रका अभ्यास वा खेल भएको सुन्न मात्र होइन, देख्न र भोग्नु समेत पर्दछ ।

नेपालको राजनीतिक कालखण्डको विगत ३० वर्षको छोटो समयमा पनि संवैधानिक राजतन्त्र, माओवादी सशस्त्र युद्ध र राष्ट्रपतिको व्यवस्थासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा देशको शासकीय परिणित हुन् । नेपाली जनताको बलिदानीपूर्ण संघर्षका प्राप्ति हुन्, आफ्नो लागि आफैँ जनताले बनाएको संविधान र लोकतन्त्र हुन् भनूँ आफैँ आर्जेको शासकीय सम्पत्ति हो । जुन केही समयको लागि निर्वाचन मार्फत जनताले शासकलाई सुम्पेको नासो मात्र हो तर कुनै पनि टाइपको शासकको लागि उक्त जिम्मेवारी आजीवन शासन गरी मोजमस्ती गर्नका लागि प्रदान गरिएको न विर्ता हो न वपौती नै हो । बरू यो जनताले केही समयको लागि लोकतान्त्रिक पद्धतिमार्फत् क्षणिक समयको लागि प्रदान गरिएको नासो मात्र हो जुन जनताले चाहेको दिन फिर्ता गर्नुको गुन्जायस नै छैन । यस अर्थमा पनि सत्ताको अर्त धर्मशाला भन्दा कुनै फरक नपर्ला । त्यसरी नै शासकको अर्थ धर्मशालामा आश्रय लिन पुगेको केही समयको लागि धार्मिक पाहुना मात्र ।

समाजशास्त्री र मनोविज्ञानवेत्ताहरूका अनुसार समाजमा सबै मानिसहरू असल हुँदैनन्, कोही अपराधी पनि जन्मन्छन् । सत्ता र शासकको प्रवृत्ति पनि त्यस्तै भएको विश्व इतिहासले बताउँछ । स्टालिन र हिटलरहरू असल शासकको कित्तामा पर्दैनन् तर दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला, मलेसियाली नेता मोहम्मद महाथीर र आधुनिक सिङ्गापुरका प्रणेता लि क्वान यु जनताका प्रिय नेता हुन्, देशका लागि राजनेता हुन् भने विश्वका लागि अनुकरणीय छवि हुन् । यसरी असल कर्मले राष्ट्र निर्माण गर्ने महान नेताहरू जनताको अदालतमा मात्र नभई उनीहरूको मन मस्तिष्कमा विश्व इतिहासमा सदा छाइरहन्छन् । तर जसले जनताको विश्वासलाई कुल्चने प्रयास गर्छ, स्वेच्छाचारी शासन गर्छ, ऊ सत्ताबाट बहिर्गमित मात्र हुँदैन, जनताले उसलाई जनविरोधी र अपराधी शासकको रूपमा कारबाही गर्छ र इतिहासका कुशासक वा कुपात्रको रूपमा दर्ज गरेर हेर्छ ।

नेपालको राजनीतिक इतिहासमा महान जनताले सयौँ वर्षको सङ्घर्षको उपलब्धिको रूपमा संविधान सभामार्फत संविधान निर्माण कार्य सम्पन्न गरेको मात्र छैन । वि.सं.२०७४ मा निर्वाचन कार्य सम्पन्न भई संविधानले व्यवस्था गरेअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भइसकेको छ । तथापि राजनीतिक दलको आन्तरिक कमजोर लोकतन्त्र, नेतामा निहीत पुरातन सामन्ती संस्कार र जनतामा रहेको दलगत अन्धाभक्त धारणा एवम् लम्पट पार्टी कार्यकर्ताको कारण बेलाबेलामा शासकबाट संविधान, कानुन, विधि र पद्धतिलाई लत्याउने गरेको विश्वलेषण हुने गरेको छ । मुलुकको निर्माणको लागि महान राजनेताको आवश्यकता पर्छ भन्ने कुरा विकसित मुलुकको दृष्टान्तले प्रस्ट पारेकै छ । हाम्रो सन्दर्भमा समृद्ध नेपाल र सुखी नेपालको सपना वा आश्वासन प्राप्त गरेको छ, त्यस सपनालाई चरितार्थ गर्ने राजनीतिक नेतृत्वको खाँचो नेपालको वर्तमान आवश्यकता हो तर आयाराम गयाराम नेतृत्व होइन । जनताको इच्छा र आकाङ्का नै नेपालको समृद्धि र सुखी जीवनबाहेक के छ र ?

त्यही महान जनताको सुखी जीवनको सपना साकार पार्नको लागि अब नेतृत्वमा रहेको सामन्ती र पुरातन सोचमा बदलावको आवश्यकता छ। राजनीतिक क्षेत्रका पछिल्ला पुस्ताले समृद्ध मुलुकको निर्माणको लागि साहस, आँट र दुरदर्शिकासाथ देश र जनताको पक्षमा आफूलाई सतिसालझैँ  उभ्याउन सक्नुपर्दछ । अन्यता हामी पुनः गलत शासकको गलत कृत्यको सिकार हुन विवश हुन्छौँ । हुनतः जनताको जीत नहुने कुरै छैन, तर जनताले दुखसास्ती पाउँछ, देश विकासको क्रममा पछि पर्छ र भावी पुस्ताले हामीलाई सराप्छ । दुनियाँमा कोही मनुष्य संविधान र कानुनभन्दा माथि हुँदैनन् चाहे ती उच्च पदस्थ किन नहुन् चाहे सामान्य नागरिक नै । तसर्थ विधि, पद्धति, कानुन र संविधानको सर्वोच्चतालाई हरेक नागरिक र शासकले स्वीकार्नै पर्छ  साथै नागरिक र शासकले अक्षरशः पालना गर्नुपर्छ  त्यही नै देश, जनता र शासकको परम दायित्व र कर्तव्य हो ।

You might also like