नेपाली साङकेतिक भाषामा ३ महिने दोभासे तालिम सम्पन्न

 

नेपाली साङकेतिक भाषामा ३ महिने दोभासे तालिम सम्पन्न

लुम्बिनी सांस्कृतिक नपा, रूपन्देही २०७८ साल साउन २ गते ।

राष्ट्रिय बहिरा महासङ्घ नेपालको संयोजनमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भाषा आयोग, अष्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा नेपाली साङ्केतिक भाषामा ३ महिने दोभासे तालिम कार्यक्रम सम्पन्न भएको छ । ७ वटै प्रदेशबाट दोभासे तालिममा सहभागी रहेको उक्त कार्यक्रम लुम्बिनी सांस्कृतिक नगरपालिकाको लुम्बिनी सुरूम्भा होटलमा आवासीय रूपमा सञ्चालन गरिएको थियो । प्रशिक्षक नेपाली साङकेतिक भाषाका कृष्ण गजुरेल र यशोदा थापाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । कोरोनाको कारण उक्त तालिममा सहभागी २० जनामध्ये ८ जनाले तालिम बीचैमा छाडेका थिए । किनकि तालिम अवधिमा नै १० जना भन्दा बढी प्रशिक्षार्थीलाई कोरोना पोजिटिभ देखिएको थियो भने हाल सञ्चालित होटलमा कार्यक्रमलाई स्थानान्तरण गर्नु परेको थियो । तथापि सबै सहभागीले कोरोनालाई जित्न सफल भएका थिए ।

यस तालिम कार्यक्रमको समन्वय र सहकार्यको संयोजन राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन भर्चुअल माध्यमबाट भएको थियो जसमा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीज्यूले सम्बोधन गर्नुभएको थियो । यस कार्यक्रमको समापन कार्यक्रममा भने भाषा आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा.लोकबहादुर लोप्चन प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

समपान कार्यक्रमको अध्यक्षता राष्ट्रिय बहिरा महासङ्घको अध्यक्ष केपी अधिकारीले गर्नुभएको थियो भने प्रशिक्षार्थी बहिनी पूर्णिमा कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहभागीको तर्फबाट तालिम अवधिको अनुभव प्रस्तुत गरिएको थियो जसमा दुई जना प्रशिक्षार्थीले सहभागी जनाएका थिए । त्यसपछि साङकेतिक भाषा दोभासे सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै दोभासेको पेशागत विकास गर्नुपर्ने, लाइसेन्स र शैक्षिक उपाधिका  लागि पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रमुख प्रशिक्षक कृष्ण गजुरेलले यस ३ महिने तालिममा मेहनतकासाथ पसिना बगाएको हुँदा प्रशिक्षार्थीले साङ्केतिक भाषामा सञ्चार गर्न सक्ष्म भएको बताउनुभयो । साङकेतिक भाषा श्रवण क्षमता गुमाएकाहरूका लागि मातृभाषा भएकोले त्यसलाई सरकारी कामकाजमा प्रयोगका लागि सम्बद्ध सबैले जोड दिनुपर्ने विचार राख्नुभयो । रूपन्देही पत्रकार महासङ्घका प्रतिनिधि नवीन घिमिरेले साङकेतिक भाषाको दोभासे तालिम साँच्चिकै फलदायी, पारदर्शी र कामयावी तरिकाले सञ्चालन गरेको भन्दै तारिफ गर्नुभयो ।

तत्पश्चात प्रशिक्षार्थीको तर्फबाट प्रशिक्षक कृष्ण गजुरेल र यशोदा थापालाई मायाको चिनो प्रदान गरिएको थियो भने होटलको तर्फबाट राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीलाई मायाको चिनो स्वरूप बुद्धको प्रतिमा प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा.लोकबहादुर लोप्चनले प्रशिक्षार्थीका प्रमाणपत्र वितरण गर्नुका साथै प्रशिक्षक र आवास प्रदान गर्ने होटलका लागि प्रशंसापत्र वितरण गर्नुभएको थियो । त्यसपछि मन्तव्य राख्दै नेपालको संविधानअनुसार भाषा आयोगबाट साङकेतिक भाषामा वडा तहसम्म सेवा प्रवाह गर्न सिफारिस गरिएको स्मरण गराउनुभयो । उहाँले यस तालिमपछि सहभागीलाई दोभासेका लागि गहन जिम्मेवारी प्रदान भएको हुँदा बहिरा समुदाय र अन्यको बीचमा दोभासेले मन र विचार जोड्ने पुल बन्ने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय तथा सरकारी कार्यालयहरूमा साङकेतिक भाषाको दोभासे नियुक्ति गरी सेवा प्रवह गर्नमा जोड दिनुभयो । साथै साङकेतिक भाषामा शैक्षिक उपाधि, लाइसेन्स र रोजगारीको लागि केन्द्रबाट विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि मन्त्रालय, विश्वविद्यालयसँग जोड्नको लागि भाषा आयोगले राष्ट्रिय बहिरा महासङ्घको पहलमा कार्य प्रारम्भ गरिने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष एवम राष्ट्रिय बहिरा महासङ्घ नेपालका अध्यक्ष केपी अधिकारीले आफूहरूले साङ्केतिक भाषामा दोभासे तयारी गरी श्रवण शक्ति गुमाएका नागरिकका लागि सेवा मद्दत गर्ने जमर्को गरेको उल्लेख गर्नुभयो । साथै उहाँले प्रशिक्षार्थीहरूलाई ढिलोचाँडो पेशागत जीवनमा प्रवेश गर्ने अवसर मिल्ने चर्चा गर्दै आफू २५ वर्षको हुँदा श्रवण क्षमता गुमाउन पुगेको र आफूले नै नेपालमा दोभासे व्यवस्थाको लागि लामो समयसम्म लागी परेको बताउनुभयो । अन्तमा, यो कार्यको थालनी गरेर नेपाली साङकेतिक भाषाको दोभासे तयारी भएको हुँदा उनीहरूका स्थानीय तह, जिल्ला, प्रदेश तहमा उचित स्थान तथा सम्मान प्राप्तिको लागि राष्ट्रिय बहिरा सङ्घ नेपाल लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

You might also like