राना थारू भाषासम्बन्धी भाषा आयोगको प्रेस विज्ञप्ति
काठमाडौँ २०७८ साल भदौ २९ गते ।
भाषा आयोगले नेपालको संविधान २०७२ को धारा २८७ अनुसार सरकारी कामकाजको आधार निर्धारण गरी सातै प्रदेशका लागि निर्धारित आधारमा टेकेर सात वटै प्रदेशहरूका लागि सरकारी कामकाजको भाषा सिफारिस गरेको छ। भाषा आयोगको सिफारिसअनुसार दुई किसिमले सरकारी कामकाजको भाषाका रूपमा प्रदेश भाषा सिफारिस गरिएका छन् । जसमा पूर्ण रूपमा सरकारी कामकाजमा प्रयोग गर्न सकिने र आंशिक रूपमा सरकारी कामकाजमा प्रयोग गर्न सकिने भाषाहरू सिफारिस गरिएको थियो । तथापि केही भाषिक समुदायले प्रदेशगत रूपमा आफ्नो भाषा सिफारिस नगरेको भनी विज्ञप्ति वा गुनासो प्रकट समेत भएको छ । मूलतः सुदूर पश्चिम प्रदेशमा राना थारू भाषा सिफारिस नभएको भनेर प्रचारवाजी भएको देखिन्छ । सो सम्बन्धमा भाषा आयोगले आजै विज्ञप्ति जारी गरी भाषा आयोगले जनगणना २०६८ को आधार लिनु परेको र उक्त जनगणनामा राना थारू भाषाको दर्ज नै नभएकोले सिफारिस गर्ने आधार नै तयार हुन नसकेको जनाएको छ। साथै आगामी जनगणना २०७८ मा उक्त भाषा सूचीकृत भएमा वक्ता सङ्ख्याको बाहुल्यताले उक्त भाषा सिफारिस गर्न योग्य ठटहरिन पुगेमा सोका आधारमा हाल गरिएको सिफारिसलाई परिमार्जन र संशोधन गर्न सकिने उल्लेख छ ।