
सरकारी कामकाजमा मातृभाषाको प्रयोग गर्न जुट्दै संस्थाहरू
काठमाडौँ
नेपाल तामाङ घेदुङ र किराँत याक्थुङ चुम्लुङको सहकार्यमा भाषा आयोगट हालसालै सार्वजनिक गरेको प्रदेशमा सरकारी कामकाजको भाषाका लागि गरिएको सिफारिस अनुसार आगामी रणनीति र कार्ययोजना निर्माण गर्नको लागि नेपाल तामाङ घेदुङको कार्यालयमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा तमु ह्युल छ्योँज धी गुरूङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरूङ, किराँत याक्थुङ चुम्लुङबाट अध्यक्ष योगराज लिम्बु र अमर तुमेहाङ, अवधि सांस्कृतिक प्रतिष्ठानबाट विजय वर्मा, अवधि सांस्कृतिक विकास परिषदबाट विक्रममणि त्रिपाठी रहेको थियो । साथै भाषिक मानव अधिकार सङ्गठनबाट अध्यक्ष अमृत योञ्जन तामाङ र डा.विष्णुकुमार सिंजाली,भाषा आयोगका प्रवक्ता डा.लोकबहादुर लोप्चन, नेपाल तामाङ घेदुङका महासचिव महितकुमार तामाङ र उपाध्यक्ष कुमार घिसिङ तथा नेवा दय दबुबाट नरेश ताम्राकारको उपस्थिति रहेको थियो । नन्द कन्डवा, सन्तोष सिं चेम्जोङ र गोविन्द आलाङकारिकको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बुले संस्थाको तर्फबाट प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगका लागि गरिएका पहल र प्रयास तथा अस्पष्ट रहेको विषयका बारेमा बोल्नु भएको थियो । त्यसपछि नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले तामाङ घेदुङ र भाषा आयोगको सहकार्यमा मातृभाषामा शिक्षा लागू गरिएको र प्रदेश ३ मा सरकारी कामकाजमा तामाङ भाषाको प्रयोगका लागि पहल हुँदै आएको बताउनुभयो । त्यसपछि नेवा दय दबुका अध्यक्ष नरेश ताम्राकार लगायत अन्य सहभागीहरूले विचार राखेका थिए ।
कार्यक्रममा भाषा आयोगका प्रवक्ता डा.लोकबहादुर लोप्चनले प्रदेशमा सरकारी कामकाजमा मातृभाषाहरूको प्रयोगसम्बन्धी नमुना नीति २०७८ प्रस्तुत गर्दै आगामी दिनको कार्यदिशाका विषयमा रायसल्लाह सुझाउनु भएको थियो। तत्पश्चात भाषाविद अमृत योञ्जन तामाङले सरकारी कामकाजको भाषाको प्रयोग सम्बन्धी आयोगको सिफारिस र आगामी कार्यदिशा बारे विचार प्रस्तुति गर्नुभएको थियो । सरकारी कामकाजको भाषाको लागि सबै सङ्घसंस्थाको संयुक्त पहलमा सबै भाषालाई कहीँ न कहीँ स्थान दिने र सिफारिस भएका भाषालाई कार्यान्वयनका लागि संयोजन समिति गठन गरी अघि बढ्ने निष्कर्षमा निकालिएको थियो ।