प्रथम तामाङ पुस्तक लेखक बुद्धिमान मोक्तानको १२२ औँ जन्मजयन्ती सम्पन्न

 

प्रथम तामाङ पुस्तक लेखक बुद्धिमान मोक्तानको १२२ औँ जन्मजयन्ती सम्पन्न

बिजेश्वरी स्वयम्भ काठमाडौँ २०७८ साल कार्तिक २७ गते ।

आज तामाङ डाजाङले एक कार्यक्रम आयोजना गरी तामाङ प्रथम लेखक बुद्धिमान मोक्तानको १२२ जन्मजयन्ती एक अन्तरक्रिया कार्यक्रमका साथ सम्पन्न गर्‍यो ।  डाजाङको नियमित २०७ शृङखलासँगै आबद्ध गरिएको यस कार्यक्रममा सदाझैँ नवोदित तामाङ लेखक तथा कलाकारहरूबाट तामाङ भाषामा लिखित सिर्जनाहरू कविता, गजल, हाइकु आदि सुनाइएका थिए। तामाङ डाजाङका अध्यक्ष फूलकुमार बमजनको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङ, मानवशास्त्री डा.मुक्त सिं लामा, दार्जिलिङका तामाङ लेखक एवम बुद्धिमान मोक्तानका अनुसन्धानकर्ता प्रताप बल तामाङले बुद्धिमान मोक्तानको प्रेरक बाटोमा हिँड्दै तामाङ पुर्खाको लेखन यात्रालाई निरन्तरता दिन अहिलेका पुस्ताले परम्परागत विरासतलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा पोखराका दिपक तामाङले आफूहरू ताम्सालिङ भूमिबाट पुस्तौँ अगाडि अन्यत्र विस्थापन भए पनि पोखरामै तामाङ साहित्यिक संस्थालाई विगत ३ वर्ष अघि नै स्थापना गरेर यस क्षेत्रमा भरथेग सहयोग गर्ने काममा संलग्न रहेको बताउनु भयो । मन्तव्यकै क्रममा प्रताप मोक्तानले आफूले दार्जिलिङको रङ्गुलमा बुद्धिमान मोक्तानको छोरा रामबहादुर मोक्तानसँग भलाकुसारी गरेर तामाङ प्रतिभा बुद्धिमान मोक्तान विषयक पुस्तक लेखन एवम् प्रकाशन गरेको र आफू तामाङ भाषा तथा साहित्य क्षेत्रमा अनुसन्धान, लेखन र श्रीवृद्धिको कार्यमा सक्रिय रहेको बताउनु भयो। त्यसै गरी भाषा आयोगका उपसचिव डा.लोकबहादुर लोप्चनले तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोगका लागि आफ्नो सहयोग रहने, त्यसमा तामाङ भाषासम्बद्ध सबै संस्थालाई एकीकृत गर्ने तर तामाङ बच्चालाई अघिल्लो  पुस्ताले तामाङ भाषा नसिकाउँदा भाषा लोप हुँदै गएको सङ्केत गर्नुभयो । त्यसपछि मानवशास्त्री डा.मुक्त सिं लामाले लामा टी ग्याल्छेनको सहयोगमा आफूले बुद्धिमान मोक्तान लिखित प्रथम तामाङ पुस्तक जिक्तेन तामछ्योई ग्रन्थलाई देवनागरी लिपिमार्फत तामाङ भाषामा उल्था गरेर प्रकाशनमा ल्याएको र अहिले ह्रामालाई अनुवाद गरिरहेको जानकारी दिनुभयो । मन्तव्यकै सिलसिलामा भाषाविद अमृत योञ्जन तामाङले बुद्धिमान मोक्तानले सन् १९५६ मा प्रकाशन गरेर ल्याएको जिकतेन तामछयोई पहिलो तामाङ पुस्तक रहे पनि त्यसअघि पनि अप्रकाशित रूपमा  केही पुस्तक लेखन भएको जानकारी दिनुभयो । उहाँले बुद्धिमान मोक्तानबाट प्रारम्भ भएको तामाङ लेखनको अहिलेको यात्रासम्ममा विभिन्न विधामा २०० भन्दा बढी तामाङ कृतिहरू रहेको बताउनु भयो । साथै उहाँले काठमाडौँको बौद्धस्थित तामाङ गुठीमा तामाङ राष्ट्रिय पुस्तकालय स्थापना कार्य अघि बढेको र त्यहाँ तामाङसम्बन्धी कार्यक्रमहरू नियमित सञ्चालन हुने सूचना समेत प्रवाह गर्नुभयो । कार्यक्रमको अन्तमा डाजाङ एवम यस कार्यक्रमका अध्यक्ष फूलकुमार बमजनले आखेले देखाएको बाटो हिँडेर तामाङ संस्कृति, भाषा, साहित्यको संरक्षण, संवर्धन र विकास गर्नु नै हामी सबैको उहाँप्रतिको श्रद्धा सुमन हो भन्ने विचार अभिव्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा संगीतकार शुभ तामाङ र गायक एवम् गीतकार फूलकुमार बमजनले साङ्गीतिक कोसेली पस्केका थिए । त्यसैगरी सिर्जना प्रस्तुत गर्नेहरूमा मिथिला स्याङ्तानले गजल, राजु मोक्तानले गजल, एनिका तामाङले कविता, हिरा तामाङले तामाङ कविता रहेका थिए ।

You might also like