भोजपुरको आमचोक गापामा बान्तावा भाषा विषय पाठ्यक्रम निर्माण कार्यशाला सम्पन्न
भोजपुर आमचोक गाउँपालिका, २०७८ साल मङसिर २५-२६ गते ।
भाषा आयोग र किरात राई खिम केन्द्रीय समितिको सहकार्यमा आयोजित स्थानीय मातृभाषा बान्तावा भाषा पाठ्यक्रम निर्माण एवम् बहुभाषिक नमुना विकास विषयक २ दिने कार्यशाला भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा बान्तवा भाषा विषयको पाठ्यक्रम समेत तयार भएको छ भने सहजकर्ताका रूपमा उपस्थित विज्ञ व्यक्तित्वहरूबाट बान्तवा मातृभाषा विषय र मातृभाषामा शिक्षा विषयमा विभिन्न जिल्लाबाट सहभागी शिक्षक, प्रअ एवम् बान्तवा खिमका पदाधिकारीहरूलाई सहजीकरण गरी परामर्श प्रदान गरिएको थियो। कार्यक्रममा पाँचथर, इलाम, धनकुटा, भोजपुर जिल्लाबाट सहभागिता रहेको थियो।
किरात राई बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञान किरातीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा किरात राई बान्तावा खिमका विभिन्न जिल्लाका पदाधिकारीहरूका उपस्थिति रहेको थियो। कार्यक्रममा प्रा.डा.विष्णु एस राई प्रमुख अतिथि र भाषा आयोगका सचिव डा.लोकबहादुर लोकबहादुर लोप्चन विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो भने अतिथिमा बान्तवा भाषाविद पदम वालाहाङ राई, डा.ईश्वर कुमार राई, चन्द्र हतुवाली, भाषाविद निराजन बतास रहेका थिए । किरात राई बान्तावा खिमका केन्द्रीय सचिव रिता राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा भाषा आयोगका सचिव डा.लोकबहादुर लोप्चनले सरकारी कामकाजको भाषा, मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा र शैक्षिक सुधारसहित गुणस्तरीय सरकारी शिक्षाका विषयमा प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी डा.ईश्वर कुमार राईले स्थानीय पाठ्यक्रमको नमुना प्रस्तुत गर्नु भएको थियो भने भाषाविज्ञ निराजन बतासले बान्तावा भाषा विषय पाठ्यक्रमको खाका प्रस्तुत गर्दै सहभागीसँग अन्तर्क्रिया गरी पाठ्यक्रमको प्रारम्भिक खाका तयार गर्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथि प्रा.डा.विष्णु एस राईज्यूले समयतालिकासहित कार्यक्रम तय गरी कक्षा १-३ सम्म मातृभाषामा शिक्षा र विषयका रूपमा बान्तावा भाषा विषयलाई पठनपाठन गरी सरकारी कामको भाषामा रूपान्तरण गर्न सके मात्र बान्तावा भाषा संरक्षण गर्न सकिने बताउनुभयो । यस दुई दिने कार्यशालामा बान्तावा भाषा विषयको पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन केन्द्रीय समिति र जिल्ला समितिहरू गठन भएको थियो। यस समितिहरूले १ महिनाभित्र बान्तावा विषयको पाठ्यक्रम तयार गर्ने र ३ महिनाभित्र पाठ्यपुस्तक समेत तयार गरी आगामी शैक्षिक सत्र २०७९ देखि भोजपुर, पाँचथर, ईलाम, धनकुटा जिल्लाका बान्तावा भाषी विद्यार्थीले बान्तवा भाषा विषय पढ्न पाउने प्रबन्ध गरिने कुरा किरात राई बान्तवा खिमका अध्यक्ष ज्ञान किरातीले प्रतिबद्धता जनाउनु भयो ।