१ जनवरीदेखि सुभारम्भ भयोःअन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२)

 

१ जनवरीदेखि सुभारम्भ भयोःअन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२)

काठमाडौँ, १ जनवरी २०२२ ।

विश्वभरिका मुलुकहरूमा १ जनवरी २०२२ मा अङ्ग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको उत्सव मनाइरहेको छ भने संयोगवश आजैको दिन संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषित अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक (२०२२-२०३२) को आजैदेखि प्रारम्भ भएको छ। खासगरी युनेस्कोले यसलाई अन्तर्राष्ट्रिय आदिवासी भाषा दशकको रूपमा मनाउनको लागि विश्वस्तरमा रणनीति र कार्ययोजना निर्माण गरी देशगत रूपमा सञ्चारसमेत गरिसकेको छ। मूलतः यस दशकको मूल उद्देश्य लोपोन्मुख आदिवासी भाषामा केन्द्रीत रही भाषिक समुदायको सहभागितामा भाषिक पुस्तान्तरण, संरक्षण, विकास र भाषाको अभिलेखन गर्नु रहेको छ।

नेपालमा पनि यस सम्बन्धमा भाषा आयोग र युनेस्कोको सहकार्यमा गोष्ठी, कार्यशाला र नेपालको सम्भावित रणनीति तयार पारी आम मानिसमा सचेतना र पैरवी गर्दै आएको छ। यस क्रममा भाषा आयोग र युनेस्कोको सहकार्यमा नेपालका अत्यन्त लोपोन्मुख केही भाषाहरूको अर्काइभिङ गरी पुस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता जनाई सकेको पाइन्छ । साथै नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवादि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी भाषा दशक विषय कार्यक्रम सञ्चालन गर्न तयारी गर्दै गरेको जानकारी हुन आएको छ।

तथापि नेपालका सम्बद्ध मन्त्रालय, आयोगलगायत विभागका साथै प्रदेश एवम् स्थानीय तहहरू यस विषयमा बेखरजस्ता देखिएका छन् । जसरी सन् २०१९ विश्व आदिवासी भाषा वर्ष घोषणा गरी मनाइए पनि हरेक राष्ट्र र जनताका लागि उत्सवमय वर्ष बन्न सकेन । यसपटक पनि अन्तर्राषाट्रिय आदिवासी भाषा दशक भनेर घोषणा गरिए पनि भाषा क्षेत्रमा ठोस कार्य भई संसारका हजारौँ लोपोन्मुख भाषाको संरक्षण, संवर्धन र विकासमा उल्लेख्य योगदान पुग्ने अपेक्षा भन्दा बढी औपचारिकतामा सीमित हुने हो कि भन्ने आशङका पैदा भएको छ ।

नेपाल युएनको यस घोषणाको पक्ष राष्ट्र भएकाले यस दशकमा आदिवासी भाषासम्बन्धी योजना, कार्यक्रम र लगानीसहित विश्वस्तरीय यस जिम्मेवारी निर्वाह गर्नुको विकल्प छैन ।यसका लागि भाषा आयोग, शिक्षा, संस्कृति र सञ्चार मन्त्रालयजस्ता निकायले पहलकदमी चाल्नु पर्ने देखिन्छ।

 

You might also like