भाषा आयोगबाट सुनुवार भाषामा शब्दकोश निर्माण हुँदै

 

भाषा आयोगबाट सुनुवार भाषामा शब्दकोश निर्माण हुँदै

दोलखा तामाकोशी गाउँपालिका-६ हाँवा ।

सुनवार भाषामा शब्दकोश निर्माण गर्नको लागि भाषा आयोगले सुनुवार सेवा समाज, सङ्घीय कार्यसमितिको संयोजनमा मिति २०७८।०९।२० गतेका दिन तामाकोशी गाउँपालिका वडा नं.७ मा रामेछाप, दोलखा जिल्ला सुनुवार भाषा वक्तासँग  र सुनुवार सेवा समाजका जिल्ला पदाधिकारीहरूसँग छलफल कार्यक्रम सम्पन्न गरी सुनुवार भाषामा शब्दकोश निर्माण कार्य थालनी गरेको छ। गाउँपालिका उपाध्यक्ष उर्मिला खड्का केसीको प्रमुख आथित्य रहेको उक्त कार्यक्रममा भाषाविद् डा. लाल श्याँकारेलु रापचा र अध्येता झुमप्रसाद राईले शब्दकोश निर्माणको लागि सहजीकरण गर्नुभएको थियो भने भाषा आयोगका उपसचिव गेहनाथ गौतमले भाषा आयोगले नेपालका लोपोन्मुख भाषाहरूको संरक्षण र विकासका लागि गरिएका कार्यहरूको विषयमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्षता गरेका भाषा आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनले भाषा लोप हुनको कारण बजारिया प्रभाव, सरकारी कामकाजमा एकल नेपाली भाषाको प्रयोग र विद्यालयमा बहुभाषिक शिक्षाको प्रयोग नभई अङ्ग्रेजी माध्यमको अन्धाधुन्द प्रयोगजस्ता कारण उल्लेख गर्नुभयो । साथै उहाँले सुनुवार सेवा समाज, स्थानीय तह र विद्यालयले बहुभाषिक शिक्षा अविलम्ब प्रारम्भ गर्नुपर्ने बताउनुभयो । तत्पश्चात प्रमुख अतिथि उर्मिला खड्काले गाउँपालिकाले अल्पसङ्ख्यक जाति र लक्षित समूहको लागि कार्यक्रम तयार गरी बजेट विनियोजन गर्दै कार्य गर्दै  आएकोमा सुनुवार जाति सङ्ग्रहालय निर्माण भएको स्मरण गराउनुभयो ।यस कार्यक्रम सञ्चलान गरिएको स्थान पनि सुनुवार सङ्ग्रहालयको हल रहेको थियो। उहाँले गाउँपालिकामा कला र संस्कृतिअन्तर्गत कार्यक्रम र बजेट विनियोजन गरिएको हुँदा त्यसबाट भाषिक सक्षमता विकासमा लगानी गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै कार्यक्रममा वडा न.७ का वडाध्यक्ष लेखबहादुर सुनुबारले पनि यस वडामा सुनुवार भाषा संस्कृतिको संरक्षण र विकासका लागि आफूहरू लागी पर्ने बताउनुभयो ।

 

 

You might also like