सोमा माया दूरासँगै मृत दूरा भाषाः पुनर्जीवित होला त ?

 

सोमा माया दूरासँगै मृत दूरा भाषाः पुनर्जीवित होला त ?

 डा.लोकबहादुर लोप्चन

दूरा जाति

दूरा जातिको जनसांख्यिक अवस्थाबारे गरेको अध्ययनअनुसार लमजुङमा दूराहरूको कुल जनसंख्यामध्ये लगभग ७२ प्रतिशत  बसोबास  बस्छन् (यम दुराः दूरा जातिको सङक्षिप्त परिचय, २०१४)। त्यसैगरी दूरा समुदायको छाता संगठन दूरा सेवा समाजले २०५४ सालमा लिएको जनगणनाअनुसार अहिले दूराहरू कास्की, चितवन, नवलपरासी, ओखलढुङ्गा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछापलगायत देशका १२ जिल्लामा छरिएर बसेका छन् ।

नेपालको राष्ट्रिय जनगणना २०६८ को अनुसार दूरा जातिको जनसङ्ख्या २,१५६ जना रहेको थियो । जसमा १०६ जना भाषिक वक्ताहरू पहिचान गरिएका थिए ।दूराहरू लमजुङ (दूराडाँडा) मा आदिकालदेखि रहँदै आएको भए पनि अन्य धेरै ठाउँहरू चितवन, कास्की, मुस्ताङ, काठमाडौँ, ललितपुरमा छरिएको देखिन्छ (दूरा भाषा अभिलेखन, २०७६, भाषा आयोग) ।

दूरा भाषा

दूरा भाषा  भोटबर्मेली भाषा परिवारमा पर्छ । भोटबर्मेली परिवारको हिमाली-पूर्वेली उप-समूहमा समावेश छ । हड्सनकाअनुसार सार्वनामिक भाषा हो । भाषाविद् भुर्म र क्रिस्टनले पनि दूरा भाषालाई लोपोन्मुखमा समावेश गरेका छन् (प्रवासःलोपोन्ख दूरा जातिको संस्कृति,२०७६) ।

कानेस्वाँरा (लमजुङ) का वीरबहादुर दूरा र तुर्लुङकोट (लमजुङ) का केशबहादुर दूरा (जन्म: वि. सं.२००० ) ले दूरा भाषाको खोज,अनुसन्धानमा योगदान दिनुभएको छ । उहाँहरूले गाउँगाउँ डुलेर दूरा भाषाका थुप्रै शब्द सङकलन गर्नुभएको छ । केशबहादुर दूराले सङकलन गर्नुभएको दूरा भाषाको २,२०० शब्दका आधारमा दूरा भाषको अध्ययन,अनुसन्धान कार्य अघि बढेको छ (यम दूराः दूरा जातिको सङक्षिप्त परिचय, २०१४)  ।

समा दूरासँगै मृत दूरा भाषा

केदार विलास नागिलाले सोमा माया दूरालाई अस्ताउँदो घामको संज्ञा दिएका थिए । उनले आफ्नो स्नातकोत्तर तहको उपाधिमूलक शोधपत्रमा पनि दूरा शब्द र व्याकरण विषयमा अनुसन्धान गरेको थिए । उनले आफ्नो विद्यावारिधि उपाधिमूलक अध्ययनको क्रममा दूरा भाषामा २,३०० जति दूरा भाषाका शब्द सङ्कलन गरेका छन् ( गोपाल शर्मा, लोन स्पिकर लास्ट होप पर नेपाल्स रेयर दूरा ल्याङग्वइज )

सन् २००७ मा उनको मृत्यु हुनु अगाडिसम्म दूरा भाषाको अन्तिम वक्ता सोमा माया दूरा मात्र थिइन् यस धर्तीमा दूरा भाषा बोल्ने एक्ली वक्ता ।त्यतिखेर  उनी ८२ वर्षको उमेरमा आँखा नदेख्ने, कान नसुन्ने र अस्वस्थ भएकी थिइन्। दूरा भाषा  बोल्ने सक्ने उनै एक्ली वक्ताको मृत्युपछि यो भाषा लोप हुन पुगेको हो (ब्याटल टु सेभ द लास्ट अफ दूरा स्पिकर्स, २००८, एन्ड्रयु वनकम्बे, एसिया करेस्पोन्डेन्ट) ।

दूरा भाषा अभिलेखनको प्रयास

  • दूरा सेवा समाजको प्रयास

दूरा सेवा समाज वि.सं.२०५१ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई वैधानिकता पाउनु अघि वि.सं. २०२८ सालमै लमजुङ तुर्लुङकोटका समाजसेवी शेरबहादुर दूराको अध्यक्षतामा एक तदर्थ समिति गठन भएको थियो । त्यसैको जगमा दूरा सेवा समाजको स्थापना भएको देखिन्छ ( पश्चिमाञ्चलका दूरा समुदायमा प्रचलित लोकवार्ताः२०६६) । दूरा सेवा समाजबाट वि.सं. २०५७ मा दूरा जातिको भाषा, परम्परा र संस्कृति विषय पुस्तक तयार गरेको पाइन्छ । त्यसैगरी दूरा सेवा समाजकै पहलमा दूरा भाषाको शब्दकोश २०६० र  दूरा सेवा समाजः एक चिनारी (ब्रोस्युर) सन् २००७ मा तयार भई प्रकाशित छन् ।भाषा आयोग र दूरा सेवा समाजको सहकार्यमा दूरा भाषाको पुनः वर्णनिर्धारण, शब्द सङकलन, शब्दकोश निर्माण, पाठ सङ्कलन, व्याकरण लेखन र दूरा भाषाको इतिहासको समेत लेखन कार्य सम्पन्न भएका छन् ।

२.भाषा आयोग र अन्य सङ्घसंस्थाका प्रयासहरू

२.१ भाषिक इतिहास

भाषा आयोगबाट दूरा भाषाको इतिहास लेखन कार्य भएको पाइन्छ । दूरा भाषा विज्ञ मुक्तिनाथ घिमिरे र भाषाविज्ञ डा.तारामणि राईबाट दूरा भएको इतिहास लेखन कार्य भएको हो ।

२.२ वर्ण निर्धारण

विसं २०६८ सालमा डा. माधव पोखरेल र मुक्तिनाथ घिमिरेको प्राज्ञिक सहयोगमा दूरा भाषाको वर्ण निर्धारण गरिएको थियो । यी काम सम्पन्न गर्नका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले सहयोग गरेको थियो । वि.सं. २०७३ सालमा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान काठमाडौँको आर्थिक सहयोग र  दूरा सेवा समाज केन्द्रीय कार्य समितिको संयोजनमा दूरा भाषाको वर्ण निर्धारण भएको देखिन्छ ।

२.३ शब्द सङ्कलन तथा शब्दकोश निर्माण

२०६० सालमा १ हजार ५ सय शब्द र २ सय ७७ वाक्य समावेश गरेर दूरा भाषाको शब्दकोश निकालिएको थियो ।दूरा भाषामा शब्द सङ्कलन तथा शब्दकोश निर्माण कार्य पनि भाषा आयोगको आर्थिक सहयोग र दूरा समाज केन्द्रीय कार्य समिति काठमाडौँको सहयोगमा भएको पाइन्छ।दूरा भाषाका एकल वक्ता मुक्तिनाथ घिमिरे र भाषाविज्ञ डा.तारामणि राईबाट दूरा भाषामा शब्द सङ्कलन र शब्दकोश तयार भएको हो ।

२.४ पाठ सङ्कलन

दूरा भाषामा मौखिक वा लोक परम्परामा पाइएका पाठ (कथा, गाथा, गीत, लोककथा, उखान, लोकोक्ति आदि) को सङकलन कार्य पनि भाषा आयोगबाटै सम्पन्न भएको देखिन्छ।यसमा पनि दूरा सेवा समाज केन्द्रीय कार्य समितिको संयोजन रहेको छ।यसैगरी २०५७ सालमा दूरा समुदायको छाता सङगठन दूरा सेवा समाजले “दूरा जातिको भाषा, परम्परा र संस्कृति” नामक पुस्तक प्रकाशन भएको थियो ।

२.५ व्याकरण लेखन

भाषा आयोगबाट वि.सं. २०७६ सालमा दूरा सेवा समाजको सहकार्यमा दूरा भाषाको व्याकरण लेखन कार्य गरिएको छ । भाषाविज्ञ डा.तारामणि राई र दूरा भाषा वक्ता मुक्तिनाथ घिमिरे लिखित दूरा भाषाको व्याकरण प्रकाशन भने हुन सकेको छैन ।

२.६ साहित्य र भाषा शिक्षा

दूरा भाषामा साहित्यिकतर्फ विधागत कृतिहरू सिर्जना भएको पाइँदैन । दूरा भाषामा फुटकर लेख र गीत भने सिर्जना भएको देखिन्छ । दूरा भाषामा लेखिएको भाषिक सन्देश (जिङगल) को श्रव्यदृश्य सामग्री तयार भई प्रकाशोन्मुख रहेको छ । भाषा आयोगबाट तयार गरिएको भाषिक सन्देशको लेखन कार्य मुक्तिनाथ दूराबाट भएको हो भने यसको गायकहरू विमला दूरा र तेजेन्द्र दूराको रहेको छन् ।

क) भाषिक सन्देश लेखन र श्रव्यदृश्य सामग्रीको विका

भाषा आयोगबाटै लोप भइसकेको दूरा भाषामा वि.सं.२०७७ सालमा दूरा भाषामा भाषिक सन्देश (जिङ्गल) लेखन भई प्रकाशन भएको छ। दूरा भाषामा लिखित भाषिक सन्देशको श्रव्यदृश्य सामग्री तयार भई प्रसारोन्मुख रहेको पाइएको छ ।

ख) दूरा भाषा कक्षा सञ्चालन

दूरा भाषालाई संरक्षण र पुनर्जीवन दिनको लागि दूरा सेवा समाज काठमाडौको तर्फबाट विद्यालयमा अध्ययनरत विद्यार्थी र दूरा युवाका लागि दूरा भाषा सिकाइ कार्यक्रमहरू सञ्चालन गरिँदै आएको पाइन्छ ।

ग) दूरा भाषामा शिक्षा

लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका वडा नं.११ स्थित देवी सदन आधारभूत विद्यालय तुर्लुङकोटमा वि.सं.२०७२ बाट कक्षा १-५ सम्म दूरा भाषा पठनपाठन गरिएको थियो ।जुना दुराले दूरा भाषामा तालिम लिएपछि ३५ जना विद्यार्थीहरूलाई दूरा पठनपाठन गरेकी थिइन् (द हिमालयनः पन्त, इनिसियटिभ स्टार्टस इन लमजुङ स्कुल टि प्रिजर्भ दूरा ल्याङग्वइज, मे २, २०१८)

घ) दूरा भाषा पाठ्यसामग्री लेखन तथा प्रकाशन

दूरा भाषा कक्षा सञ्चालनका लागि भाषा आयोगले आ.व.२०७८/७९ मा दूरा भाषामा पाठ्यसामग्री तयार गरेको छ। दूरा भाषा वक्ता मुक्तिनाथ दुरा लिखित उक्त पुस्तिक मूल्याङकन भाषाविज्ञ डा.तारामणि राईबाट भएको छ । भाषा आयोगबाट प्रकाशित दूरा भाषा कक्षा पाठ्यसामग्री, २०७८ समुदाय र विद्यालयमा समेत पठनपाठन गर्ने गरी भाषा आयोग, दूरा सेवा समाज र सुन्दरबजार नगरपालिकाको बीचमा सहकार्य भएको देखिन्छ ।

ङ)  दूरा भाषा कक्षा सञ्चालन

भाषा आयोगबाट वि.सं.२०७८/२०७९ देखि दूरा भाषामा ९० घण्टे दूरा भाषा कक्षा सञ्चालन गरिने भएको छ । यस कार्यक्रममा दूरा भाषा सिक्न इच्छुक २० जना सहभागीले ४५ दिनमा दैनिक २ घण्टाको दरले ३० दिने प्रत्यक्ष कक्षामा सहभागी भई दूरा भाषा सिक्नेछन् भने १५ दिने स्वाध्यायन कक्षामा दूरा भाषाको सिकाइ परिवार, समुदाय र विद्यालयमा अभ्यास हुने र दूरा भाषामा सिर्जनात्मक लेखन कार्य हुने भएको छ।

च) अध्ययन अनुसन्धान तथा सूचना सम्प्रेषण

दूरा भाषामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूबाट अध्ययन अनुसन्धान भएका छन् ।दूरा भाषामा विभिन्न व्यक्ति, अध्येता, संस्थाबाट अध्ययन अनुसन्धानहरू स्वतन्त्र रूपमा र उपाधिका गरिएका पनि छन् ।

छ) समाज भाषावैज्ञानिक अध्ययन

दूरा भाषामा भाषा विज्ञान केन्द्रीय विभागबाट वि.सं.२०७० सालमा समाजभाषा वैज्ञानिक अध्ययन कार्य भएको देखिन्छ (रेग्मी,२०७३: नेपालको समाजभाषावैज्ञानिक सर्वेक्षण, अवधारणापत्र, २०७३ भाषा आयोग) ।

ज) अध्ययन अनुसन्धान

दूरा भाषामा केदार विलास नागिलाको सन् २००८ मा एस्पेक्टसः एभिडेन्सेस फ्रम दूरा ल्याङग्वइज विषयक लेख नेपालिज लिङग्युइस्टिक भोलुम २३ नोभेम्बर अङ्कमा लिनसुन काठमाडौँबाट प्रकाशन भएको देखिन्छ । त्यसैगरी मुक्तिनाथ घिमिरेको दूरा जातिको लोपोन्मुख भाषा र संस्कृति शीर्षक लेख प्रकाशन भएको पाइन्छ (२०७३,मधुपर्क, पूर्णाङ्क ५६६ साउन, काठमाडौँ: गोरखापत्र संस्थान)।यमबहादुर दूराले सन् २०१४ मा दूरा जातिको परिचय विषयक विस्तृत अनुसन्धानमूलक लेख दूराका कुरा डट ब्लकस्पोट डटमा प्रकाशित भएको छ ।विश्व अधिकारीले सोसियो कल्चरल लाइफ अफः दुराः अ सोसोलोजिल केस स्टडी अफ खजे गुरूङ विषय अध्ययन गरेको पाइन्छ ।

लमजुङको जीता निवासी मुक्तिनाथ घिमिरे (२००९ सालमा जन्म) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरप शीर्षकमा शोधपत्र तयार पार्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर तहमा अध्ययनरत रहँदा त्यस शोधपत्र तयार पार्नुभएको थियो । केदार विलास नागिलाले भाषा विज्ञान केन्द्रीय विभाग, त्रि.वि.कीर्तिपुरबाट दूरा भाषाको ग्रामर र शब्दकोश विषयमा स्नातकोत्तर तहको उपाधि प्रयोजनका लागि शोधपत्र तयार गरेका छन् ।

पश्चिमाञ्चलका दूरा समुदायमा प्रचलित लोकवार्तासम्बन्धी अध्ययन वि.सं. २०६६ सालमा नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय र सिर्जनशील अध्ययन केन्द्र नेपाल (प्रा.) लि.बीचको सहकार्यमा भएको पाइएको छ। यसमा दूरा समुदायको लोक परम्परा र सामजिक सांस्कृतिक जीवनको विविध पक्षहरूको बृहत अध्ययन गरी अभिलेखीकरण गरिएको छ।

दूरा भाषाको मृत्युबाट पाठ सिकाइ

सन् २००७ मा समा दूराको मृत्यु हुनु अघि दूरा भाषाको संरक्षण गर्नका लागि दूरा सेवा समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू आआफ्नै ढङगले लागेको पाइयो । तर एकीकृत र ठोस प्रयासको अभावमा रामराम भन्दाभन्दै समा माया दूरा, जो दूरा भाषाका अन्तिम वक्ता थिएन्, उनै वक्ताको मृत्युसँगै दूरा भाषा यस संसारबाट बिलाएको वास्तविकता हाम्रै तीतो सत्य र साक्ष्य हुन् । हुनतः समयक्रममा भाषाको पनि मृत्यु हुने कुरा भाषाशास्त्रीहरूको मत रहेको छ डाइनोसर जस्तै हराउने, अस्तिस्वका लागि आफूलाई परिवेश सापेक्ष रूपान्तरण गर्न नसक्दा ।तर संयोग भन्नुपर्छ, गैरदूरा समुदायको मुक्तिनाथ घिमिरे भने दूरा भाषाका जीवित वक्ता हुन् अहिले पनि तथापि एक्ला वक्ता भएका भाषा जीवित नमानिने हुँदा दूरा भाषालाई मृत भनिएको हो ।

हुनतः संस्कृतजस्तो संसारमै धैरै भाषाको जननी स्रोत र विशाल दस्तावेजीकरण भएको शास्त्रीय भाषा मृतप्राय छ। यसको कारण भाषा अभलेखन गरेर मात्र बाँच्दो रहेनछ, साँच्चै भाषा बचाउनको लागि त भाषाको पुस्तान्तरण हुनुपर्दो रहेछ पुस्ता-दरपुस्ताले पुर्खाको भाषा बोलेमा भाषा जीवित रहँदो रहेछ ।त्यसैले भाषाको संरक्षण, संर्वर्धन र विकासको एक मात्र विकल्प भनेकै समुदायमा उक्त भाषाको प्रयोग हुनु हो। त्यसैगरी शैक्षिक पठनपाठनमा माध्यम र विषयका रूपमा विद्यालयदेखि उच्च शिक्षासम्म प्रयोग विस्तार गरिनु हो। अझ सबैभन्दा सशक्त  र सफल उपाय भनेको उक्त भाषाको सरकारी कामकाजको प्रयोगमा जोड्नु हो ।जस्तो संसारमै लोप भइसकेको हिब्रु भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिई हरेक नागरिकलाई उक्त भाषाको प्रयोगमा अनिवार्य गरी पुनर्जीवन दिइएको हो।

निष्कर्ष

दूरा समुदायले आफ्नो जीवन पद्धतिमा दूरा भाषालाई जोडेर संस्कार, संस्कृति, धर्म, कर्म र आपसी सञ्चारको भाषामा रूपान्तरण गरेमा दूरा भाषालाई व्यँुताउन नसकिने होइन। तसर्थ, प्रारम्भ दूरा समुदायको हरेक व्यक्ति र परिवारले दूरा भाषा सिकेर बोल्न थाल्नु दूरा भाषा बचाउनको लागि पहिलो कदम हुनु पर्दछ। त्यसपछि दूरा विद्यार्थीका लागि कक्षा ८ सम्म अनिवार्य रूपमा दूरा भाषा विषय पठनपाठन यथाशीघ्र गरिनु पर्दछ । यसका लागि स्थानीय तहले आर्थिक व्यवस्थापन गरी शिक्षक प्रबन्ध र पाठ्यासामग्रीको जोहो गरिनु पर्छ । त्यसैगरी भाषा आयोग, आदिवासी जनजाति आयोग, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठानले प्राविधिक र प्राज्ञिक सहयोग गरेर कार्य रूप दिनुपर्छ, अब भने दूरा जाति, भाषा र संस्कृतिका बारेमा बुद्धिविलासी केन्द्रीकृत कार्य गरेर मात्र पुग्दैन ।यसका लागि दूरा भाषालाई दूरा समाज, संस्कृतिसँगै विद्यालय शिक्षा र सरकारी कामकाजको भाषाका रूपमा कम्तीमा पनि सम्बन्धित वडा तहमा लागू गर्न सकेमा दूरा भाषा यो धर्तीमा हिब्रू भाषाको अर्को जीवित अवतार बन्ने निश्चित छ । अन्यथा भाषिक मृत्युमा संवदेना दिन भ्याउने तर बचाउन नसक्ने विचरा सिवाय हाम्रो उम्दा सामर्थ्य देखिनेवाला छैन ।

सन्दर्भ सामग्री

नेपाली भाषा

घिमिरे, मुक्तिनाथ ( ), दूरा जातिको चिनारी, हिमालय डट सोकान्थ डट क्याम डट एसि युके/ एनसाइन्ट नेपाल।

दुरा, गोकुलप्रसाद (२०५६), दूरा जातिको परिचय, काठमाडौँ: गोकुल प्रसाद दूरा ।

दूरा जातिको, भाषा परम्परा र संस्कृति , (२०५७) काठमाडौँ : दूरा सेवा समाज ।

घिमिरे, मुक्तिनाथ (२०५८) दूरा भाषाको व्यकरणात्मक स्वरूप, स्नातकोत्तर तहको शोधपत्र, त्रिभुवन विश्वविद्यालय ।
दूरा भाषाको शब्दकोश  (२०६०), काठमाडौँ : दूरा सेवा समाज ।

अधिकारी, ऋषिकान्त (२०६२) दूरा जातिको परिचय, काठमाडौँ: श्रीमती यशोदा कुमारी अधिकारी ।

दूरा सेवा समाज :एक चिनारी (ब्रोसर),  (सन् २००७) काठमाडौं : दूरा सेवा समाज ।

पश्चिमाञ्चालनका दूरा समुदायमा प्रचलित लोकवार्ता (वि.सं.२०६६), काठमाडौः सिर्जनशील अध्ययन केन्द्र (प्रा.) लि. र नेपाल प्रतिलिपी अधिकार रजिस्टारको कार्यालय।

घिमिरे, मुक्तिनाथ (२०७३) ” दूरा जातिको लोपोन्मुख भाषा र संस्कृति”, मधुपर्क, पूर्णाङ्क ५६६ साउन, काठमाडौँ: गोरखापत्र संस्थान।

घिमिरे, मुक्तिनाथ (२०७४) दूरा भाषाको वर्णमाला, काठमाडौँ: आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

दूरा भाषाको वर्णनिर्धारण (२०७३), दूरा सेवा समाज केन्द्रीय कार्यसमिति, काठमाडौँ ।

राई, तारामणि र सकिन्द्र लिम्बू (२०७५) ‘दूरा भाषाको इतिहास’, अध्ययन प्रतिवेदन, भाषा आयोगमा प्रस्तुत ।

घिमिरे, मुक्तिनाथ र राई, तारामणि (२०७६), अप्रकाशित व्याकरण, भाषा आयोग, काठमाडौँ ।

राई, तारामणि, मुक्तिनाथ घिमिरे र तेजमाया राई (२०७५)  ‘दूरा भाषाको शब्द सङ्कलन’,  अध्ययन प्रतिवेदन, भाषा आयोगमा प्रस्तुत ।

प्रवास, तुलसी (२०७६), लोपोन्मुख दूरा जातिको संस्कृति, हिमदूत डेक्स।

घिमिरे, मुक्तिनाथ र राई, तारामणि (२०७७), दूरा भाषा कक्षा पाठ्यसामग्री, भाषा आयोग, काठमाडौँ ।

घिमिरे, मुक्तिनाथ र राई, तारामणि (२०७८), अप्रकाशित शब्दकोश, भाषा आयोग, काठमाडौँ ।

English             

Nagila, Kedar Bilash.2007. The Dura Language: Its Grammar and Dictionary, MA thesis, Central Department of Linguistics, TU.

Schorer, Nicolas (2016), The Dura Language, Volume: 17 Languages of the Greater Himalayan Region, Publisher: Brill.

Adhikari, Bishwo Bandhu ( ) Socio-cultural Life of Dura: A Sociological Case Study From Khaje Gaun, Lamjung.

Adhikari, Rishikant 2042: Dura Jatiko Parichay, Lamjung

Gurung, Ganeshman 2041: Dura Jatiko Samajik Adhayan, Pub. Suresh Bahadur Shahi, Dolpa, Dura Pariyar, Lamjung.

 

You might also like