भाषा आयोगबाट नेवाहाङ राई भाषाको इतिहास लेखिँदै

 

भाषा आयोगबाट नेवाहाङ राई भाषाको इतिहास लेखिँदै

माङतेवा, सिलिचोङ गापा-४, संखुवासभा ।

किरात राई नेवाहाङ समाजको संयोजन र भाषा आयोगको सहकार्यमा नेवाहाङ राई भाषामा इतिहास लेखनसम्बन्धी कार्यशाला २०७८।१०।२३ गतेका दिन जीवनज्योति मा.वि. माङतेवामा सम्पन्न भयो । भाषा आयोगका सचिव डा.लोकबहादुर लोप्चनको अध्यक्षता रहेको उक्त कार्यशालामा गाउँपालिका उपाध्यक्ष लालकुमारी राई प्रमुख अतिथि हुनुहुन्थ्यो ।कार्यक्रममा भाषा आयोगको तर्फबाट भाषाशास्त्री डा.कैलाशकुमार राई र भाषाविज्ञ निरन्जन राई अध्येताका रूपमा उपस्थित रहेका थिए । यस कार्यक्रममा नेवाहाङ केन्द्रीय कार्यसमितिका उपाध्यक्ष भीमा राईका साथै जिल्ला कार्य समितिका पदाधिकारी, नेवाहाङ भाषिक समुदायका वक्ता, नाक्छोङ (पुजारी) हरूको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा वडा न.४ का वडाध्यक्ष  देवेन्द्र राई र गाउँपालिका शिक्षा संयोजक बुद्धिकुमार राई समेत सहभागी थिए ।

कार्यक्रममा स्वागत मन्तव्यको क्रममा नेवाहाङ भाषा नै राई नेवाहाङ जातिको मूल पुख्यौली पहिचानको भाषा रहेको हुँदा पुर्खाको विरासतलाई गलत नामकरण गर्न नहुने र मेवाहाङ भनेर यस समुदाय र भाषाको नाम र परिचयलाई गलत हुन नदिनको लागि आफूहरू सङ्गठित रूपमा लागी परेको बताउनु भयो। त्यसपछि भाषा आयोगका भाषा संरक्षण तथा संवर्धन शाखा प्रमुख गेहनाथ गौतमले नेवाहाङ भाषाको इतिहास लेखनको विषयमा प्रस्तुति गर्नुभयो । त्यसपछि मेवाहाङ समुदायका जिल्ला कार्यसमितिका प्रमुख  पियूष मेवाहाङ राई र वडाध्यक्ष देवेन्द्र राईले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विज्ञको तर्फबाट मन्तव्य राख्दै भाषाविज्ञ निरन्जन राईले भाषाका कतिपय वर्णको उच्चारणमा फेरबदल हुने भाषिक विशेषताको कारण पनि मेवाहाङ र नेवाहाङ हुन सक्ने तर दुवै नाम भएको भाषा एकै हुन सक्ने बताउनु भयो । आफूहरूले दुवै भाषाबीचमा रहेको समानता र असमानताको अध्ययन गरेर भाषिक इतिहास लेख्ने प्रतिबद्धता जनाउनुभयो ।तत्पश्चात यस अध्ययनका भाषाशास्त्री डा.कैलाशकुमार राईले भाषिक इतिहास लेखनको कार्यविधि र विषयवस्तुका विषयमा चर्चा गर्दै आफूहरूले दुवै भाषाका बारेमा मिहिन र गहन अध्ययन गरेर अहिले देखिएका अन्योलतालाई हटाउन प्राज्ञिक समाधान गर्न प्रयास गर्ने विचार व्यक्त गर्नुभयो ।त्यसपछि प्रमुख अतिथि गापा उपाध्यक्ष लालकुमारी राई गाउँपालिकाले कुलुङ र मेवाहाङ भाषामा पाठ्यसामग्री तयार पारी कक्षा ३ सम्म पठनपाठन गर्ने प्रबन्ध गरिएको जानकारी दिनुभयो । मेवाहाङ  र नेवाहाङ भाषाका बीचमा केही विवाद देखिएकोले त्यसको समाधान पछि मात्र पठनपाठन कार्यमा स्थानीय तहको तर्फबाट कार्यक्रमसहित बजेटको व्यवस्था गरिने वचनबद्धता प्रकट गर्नुभयो । कार्यक्रमको अन्तमा कार्यक्रम सभापति तथा भाषा आयोगका सचिव डा.लोकबहादुर लोप्चनले कुनै पनि भाषा अभिलेखीकरण गरेर मात्र नजोगिने, भाषा साँच्चै संरक्षण गर्न पछिल्ला पुस्तामा भाषाको वंशान्तरण गर्नुपर्ने, विद्यालयमा बहुभाषिक माध्यम कार्यान्वयन गर्नुपर्ने, वडा तहमा भाषिक वक्ताको आधारमा भाषा चयन गरी सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने विचार राख्नुभयो ।साथै मेवाहाङ र नेवाहाङ भाषा फरक हो वा एकै हो भन्ने कुराको पुस्टी गर्न सिलिचोङ संखुवासभा गाउँपालिकाको भाषिक सर्वेक्षण गर्नुपर्ने र सञ्चालित नेवाहाङ भाषाको इतिहास लेखनले समेत यस तथ्यलाई परख गर्ने हुँदा भविष्यमा यस भाषालाई नेपालको भाषा सूचीमा दर्ज गर्न भाषा आयोगले सरकारसमक्ष सिफारिस गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

You might also like