हाम्रो भाषा बोल्ने कर्मचारी /शिक्षक भए कस्तो हुन्थ्यो ? -अनिता पहरी  

 

हाम्रो भाषा बोल्ने कर्मचारी /शिक्षक भए कस्तो हुन्थ्यो ? -अनिता पहरी  

काठमाडौँ, २०७८ साल फाल्गुण २६ गते ।

आदिवासी जनजाति महिला मन्चबाट ८ वटा लोपोन्मुख आदिवासी जनजातिका किशोरीहरूको सक्षमता विकास गर्न नेतृत्व विकास तालिम प्रदान गरी राष्ट्रियस्तरमा विचार आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।यसमा हायु, चेपाङ, वनकरिया, तामाङ,नेवार गरी ८ लोपोन्मुख जातिका किशोरीहरूको सहभागिता र अनुभव आदानप्रदान गरिएको थियो । यस कार्यक्रमको सञ्चालन ८ जिल्लाका ८ जातिका किशोरीहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा आदिवासी किशोरीहरूको तर्फबाट ता नेतृत्व विकास तालिमको क्रममा प्राप्त सवालहरूलाई समाधान गर्ने विषयवस्तुहरू उठान गरिएको थियो ।

सर्वप्रथम स्थानीय तहदेखि केन्द्र तहसम्मको छलफलबाट उठान भएका विषयवस्तुको उठानको क्रममा किशोरी समूहको तर्फबाट अनिता पहरीले पहरी भाषामा लाजोपा वा नमस्कार भनी अभिवादन गर्दै पहिचान, भूमि, बालविवाह र भेदभाव जस्ता सवालहरू रहेको तथ्य उठान गरिन् । त्यसैगरी उनले पहरीको भाषा लोप हुँदै गएको र तामाङ समुदायका बालबालिकाले तामाङ मातृभाषामा पठनपाठन गर्ने अवसर प्राप्त नगरेको हुँदा मातृभाषामा शिक्षा पाउने प्रबन्ध गर्न जोड दिइन् । साथै सञ्चारको माध्यममा समेत आदिवासी जनजातिका भाषाहरू प्रयोगको समानता नरहेको, समान स्थान र सम्मान प्राप्त नगरेको विषय राखिन् । सामाजिक शिक्षाजस्तो विषयमा आदिवासी जनजातिका मौलिक जीवनशैली, दर्शन र संस्कार समावेश गर्नुपर्ने र सांस्कृतिक विदाहरूलाई समेत सुनिश्चित गर्न नसकिएको हुँदा त्यसलाई कार्य रूप दिनुपर्नेमा जोड दिइन् ।

सन्तोषी वनकरियाले चेम्पाताई वा नमस्कार भन्दै वनकरियाका लागि २० वर्षका लागि जग्गा प्रदान गरिएको थियो तर हाल उक्त जग्गा सरकारबाट हस्तक्षेप  गर्न लागिएको छ। अझ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईज्यूले तपाईँहरूको लागि यो जग्गामा भोगाधिकार थप २० वर्षका लागि भयो भन्ने वचनबद्धता जनाउनुभयो । तर अहिले हामी लखेटिने अवस्था बनेको छ।रोजगारीको अभाव र बाँच्नको लागि जङगल पस्दा सेनाको पक्राउमा पर्नुपर्ने कटु यथार्थलाई समेत उनले सुनाइन् । उनकाअनुसार वनकरियाको २१ वटा घर र ७० जति मात्र जनसङख्या रहेका छन् । त्यसपछि शङ्करापुरकी जुनिता तामाङले स्थानीय तहको भूमिमा जग्गा प्लटिङ गरेको हुँदा भूमिहीन हुने स्थिति रहेको थियो ।फलतः प्राकृतिक विपद आइपरी त्यसको मारमा आदिवासी जनजातिहरू परेको बताइन् ।तत्पश्चात कुसुम गोलेले हाल अनलाईन शिक्षा र  सामाजिक सञ्चालको कारण सानो उमेरमै विवाह भई समस्या जन्मिएको बताइन् ।ललिता हायुले आफ्नो हायु मातृभाषा लोप हुँदै गएको र हायु जातिको विकासमा विशेष लक्षित कार्यक्रम नभएको हुँदा भाषालाई पाठ्यक्रममा समावेश गर्न लागि अनुरोध गरिन् ।प्रस्तुतिकै सिलसिलामा मुना शाक्यले आफूमा शारीरिक अशक्ततता रहे पनि आफ्नै घर र सडक तथा कार्यालयहरूमा अपाङमैत्री संरचना नबनेको बताइन् ।

कार्यक्रममा आदिवासी जनजाति विज्ञका तर्फबाट विचारहरू प्रस्तुत गरिएका थिए,जसमा डा.कृष्णबहादुर भट्टचन, डा.श्यामु थापा, डा.स्टेला तामाङ र शिक्षा मन्त्रालयका उपसचिव डा.लोकबहादुर लोप्चनले किशोरी समूहबाट उठाइएका सवालहरूमा संस्थाको तर्फबाट मन्तव्य व्यक्त गरिएको थियो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले संवैधानिक आयोगहरूलाई सुझाव र सिफारिस पेस गर्नमा सीमित गरिन खोजिएको देखिएको विचार अभिव्यक्त गर्नुभयो । साथै आदिवासी जनजातिको अवस्थाम सुधारका कार्य गर्नको लागि कार्यक्रम र बजेटको अभाव भए पनि स्थानीय तहहरूसँह सहकार्य गरेर भए पनि लक्षित जाति समुदायका किशोरी समूहले उठान गरेका सवालहरूको सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।त्यसै गरी माननीय सरिता न्यौपानेले बालबालिकाहरूले विद्यालय छाड्नुको कारण पनि घर र विद्यालयबीचको भाषिक खाडल रहेको बताउँदै कम उमेरमै विवाहको कारण पनि भाषिक सांस्कृतिक पतनको कारण बनेको उल्लेख गर्नुभयो । कार्यक्रमको अन्तमा माननीय सुरेश आले मगरले आफू ७० वर्षीय युवा भएकोले विगत ३५ वर्षदेखिको जनजाति आन्दोलनलाई परिणाममुखी बनाउन लागी पर्ने र राष्ट्रिय सभामा  जनजातिका सवालहरूको उठान गर्ने बताउनुभयो ।

रोचक लाग्दो के रह्यो भने अनिता पहरीले आफ्नो प्रस्तुतिको क्रममा कुनै पनि सरकारी कार्यालयमा आफ्नो भाषा बोल्ने कर्मचारी वा विद्यालयमा आफ्नो भाषा बोल्ने शिक्षक भए कस्तो होला ? भन्ने प्रश्न यक्ष रह्यो । वास्तवमै सङ्घीयताका कार्यान्वयनपछि राज्य संरचनामा भाषा, संस्कृति र समाजको सही प्रतिबिम्बन हुनुपर्ने हो तर सो हुन नसक्दा अनिता पहरीहरू परिकल्पना गरिरहेछन्- आफ्नो भाषा बोल्ने कर्मचारी भए कस्तो हुन्थ्यो ?

 

You might also like