मण्डनदेउपुर नपा काभ्रेमा प्रज्ञा प्रतिष्ठान/ भाषिक सङ्ग्रहालय स्थापना हुने

 

मण्डनदेउपुर नपा काभ्रेमा प्रज्ञा प्रतिष्ठान/ भाषिक सङ्ग्रहालय स्थापना हुने

काभ्रे मण्डनदेदउपुर नगरपालिका

काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मिति २०७८।१२।१३ गते बसेको कार्यपालिकाको बैठकले यस नगरपालिकामा मण्डनदेरपुर प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ। साथै मण्डनदेरपुर नगरपालिकामा नगरकोट पर्यटनीय क्षेत्रको ७०% पर्दछ। जसमा भाषिक तथा सांस्कृतिक सङग्रहालय स्थापना गरी पर्यटकका लागि स्थानीय भाषिक सांस्कृतिक एवम राष्ट्रिय सांस्कृतिक केन्द्र बनाउने नगरपालिकाको दूरदृष्टि रहेको छ। साथै यस नगरपालिकाको प्राकृतिक सौन्दर्यपूर्ण नगरकोटको अधिकांश भाग पर्ने भएकोले नगरपालिको नाम समेत नगरकोट मण्डनदेउपुर राख्न पहल हुँदै आएको छ।

यस नगरपालिकाले विगतमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकता दिई मन्डनदेउपुर आधारभूत अस्पताल स्थापना गरी चौबिसै घण्टा स्वास्थ्य सेवा मात्र प्रदान गरेको छैन, वडा तहसम्म स्वास्थ्य सेवा केन्द्रको अवधारणा अनुसार स्वास्थ्य सेवाका कर्मचारीको प्रबन्ध गरी सेवा प्रदान गर्दै आएको छ। त्यसैगरी शिक्षा क्षेत्रमा नमुना कार्यक्रमहरू अगाडि बढाइएका छन् । जसमा बाल विकास केन्द्रका शिक्षक, आधारभूत तहको शिक्षक र मावि तहको थप शिक्षकको व्यवस्था गरिएको छ। विद्यालय नर्सको अवधारणाअनुसार ३ जना नर्सहरूको प्रबन्ध गरिएको छ भने विद्यालय सिकाइ उपलब्धि परीक्षाअन्तर्गत कक्षा ३, ५, ८ र १० को उपलब्धि परीक्षा लिँदै आएको छ भने बहुभाषिक कक्षा सञ्चालन गरी तामाङ, दनुवार, नेवार तथा गुरूङ भाषा विषय पठनपाठन गरिएको पाइएको छ। शिक्षामा विद्यालय प्रविधिअन्तर विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब र टिचिङ टक उपकरणको समेत व्यवस्था गरिएको छ।

नगरपालिकाको शिक्षा समितिको बैठकले स्थानीय भाषा नीति पारित गरी लागू गर्ने र शिक्षाको लागि १० वर्षे रणनीति निर्माण गरी लागू गर्ने निर्णय गरेको छ। नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबाले विगतदेखि नै यसमा पहल गर्दै आएकोमा प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चनले भाषा नीति निर्माण, स्थानीय प्रज्ञा प्रतिष्ठान स्थापना र भाषिक/सांस्कृतिक सङ्ग्रहालय स्थापना प्रस्ताव अगाडि सारेका हुन् भने शिक्षा शाखा प्रमुख डिकबहादुर राईको पहलमा मण्डनदेउपुर नगरपालिकाको १० वर्षे शैक्षिक योजना निर्माण हुँदैछ ।

You might also like