तामाङ कर्मचारी सञ्जालले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने
तामाङ कर्मचारी सञ्जाल समितिको बैठक विभिन्न विषयहरुमा निर्णय सहित हिजो मिति २०७८ चैत्र २३ गते सम्पन्न भएको छ। समितिको बैठक काठमाडौँको बबरमहलस्थित होटल क्यालिटि बाङ्केटमा समितिका अध्यक्ष टेकराज स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकले आउँदो नयाँ बर्ष २०७९ को अवसर पारेर सङ्गठित हुने क्रममा रहेको तामाङ कर्मचारीहरुलाई एकबद्ध गर्ने उद्देश्यका साथ पिकनिक सहितको कार्यक्रम आयोजना गर्ने भएको छ । पिकनिक कार्यक्रम आगामी बैशाख १० गते शनिवारका दिन काठमाडौँको बालाजुस्थित बाइसधारामा आयोजना हुने भएको छ । समितिले निकट भविष्यमा सम्पन्न हुन गइरहेको तामाङ कर्मचारी सञ्जालको साधारण सभालाई उक्त पिकनिकसँगै सम्पन्न गर्ने लगायतका विषयमा निर्णय गरेको छ । पिकनिक कार्यक्रममा हालसालै गठित तामाङ निजामती कर्मचारी मञ्ज (तदर्थ) लाई साधारण सभामार्फत अनुमोदन गर्ने, उक्त मञ्जको घोषणापत्रलाई पारित गर्ने, अन्य विषयगत कार्यसमिति गठन गर्ने, सदस्यता वितरण तीब्र पार्ने, बौद्धिक समूह तयार पार्ने, लोकसेवा तयारी कक्षा सञ्चालन तयारी आदि थप कार्यहरु गर्ने भएको छ।त्यसैगरी पिकनिक कार्यक्रममा यस आर्थिक वर्षमा लोकसेवा आयोगबाट सिफारिस भई निजामती सेवामा प्रवेश गरेका नयाँ शाखा अधिकृतहरुलाई समेत स्वागत गर्ने, परिचयात्मक कार्यक्रम गर्ने र मनोरञ्जनात्मक कार्यहरु सम्पन्न गर्ने भएको छ । बैठकमा तामाङ निजामती कर्मचारी मञ्च (तदर्थ) समितिका संयोजक टंक नेगी र सदस्य छायाँलाल मोक्तानको पनि सहभागिता रहेको थियो । त्यसैगरी समितिले उल्लिखित कर्मचारी सञ्जालमा आबद्ध हुन र बाँकी सबै तामाङ कर्मचारीहरुलाई बनभोज कार्यक्रममा सहभागिताका लागि समेत आह्वान गरेको छ । पिकनिक कार्यक्रमको बारेको विस्तृत विवरण तयारीपछि जानकारी गराउने समितिले जनाएको छ ।