भीमेश्वर दोलखामा गठबन्धनबाट उपमेयरको उम्मेदवार संगिता तामाङ को हुन् ?
१.परिचय
वि.सं. २०४५ सालमा सङ्गिता तामाङ दोलखा जिल्लाको हालको भीमेश्वर नगरपालिका वडा नं.६ बोचमा बाजे नन्दलाल तामाङ तथा पिता रामबहादुर तामाङ र माता विष्णु माया तामाङका तीन दाजुभाइ पछिका कान्छी छोरी हुन् ।गाउँकै विद्यालयमा कखरा पढी मावि तहको शिक्षा पछि चरिकोटस्थित गौरीशङकर क्याम्पस हुँदै आरआर क्याम्पसमा अध्ययन गर्दा सम्म उनको विद्यार्थी राजनीतिक यात्राले अनेरास्ववियू केन्द्रीय सदस्यमा दुई कार्यकालको पदीय जिम्मेवारी निर्वाह गर्न सफल भएकी छन् ।
२. राजनीतिक जीवनयात्राको प्रारम्भ
उनी वि.सं. २०५६ सालमा कक्षा ६ मा अध्ययन गर्दा १४ वर्षको कलिलै उमेरमा अनेरास्ववियू प्रारम्भिक कमिटीको अध्यक्षमा चयन भएसँगै उनको राजनीतिक यात्रारम्भ भएको देखिन्छ। तत्पश्चात उनी वि.सं. २०६५ सालमा गौरीशङकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्षको जिम्मेवारी प्राप्त गर्न सफल हुन पुग्छिन् । उनी अनेरास्ववियू दोलखा जिल्लाको उपाध्यक्ष हुँदै वि.सं. २०६५ देखि २०७२ सम्म दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहमा पुग्न सफल हुन्छिन् ।
३. सामाजिक सांस्कृतिक सक्रियता
उनले आदिवासी जनजाति महासङ्घ दोलखाको अध्यक्ष र नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षमा निर्वाचित भई कुशलतापूर्वक उक्त जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।नेपाल तामाङ विद्यार्थी घेदुङको केन्द्रीय उपाध्यक्ष हुँदै उनी वि.सं. २०७८ सालदेखि नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् ।
४.वैवाहिक जीवन
उनी वि.सं. २०७३ सालमा हालको खानीखोला गाउँपालिका निवासी तात्कालीन दोलखा जिल्लाका जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनसँग विवाह बन्धनमा बाँधिन पुग्छन् पूर्वमन्त्री माननीय पार्वत गुरूङको अभिभावकत्वमा ।हाल मण्डनदेरपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चन र सङ्गिता तामाङका दुई सन्तानहरू सम्राट लोप्चन तामाङ र छेसाङ लोप्चन तामाङ दुई सन्तान छन् ।
५. वर्तमान राजनीतिक स्थिति
अहिले उनी नेकपा एस पार्टीसँग सम्बद्ध भए पनि विगतमा नेकपा एमालेमा आबद्ध रही जीवनको २०-२५ वर्ष खर्ची सकेकी छन् ।दोलखाका राजनीतिक नेता पशुपति चौलागाई, आनन्द पोखरेल, पार्वत गुरूङ तथा शिवप्रसाद भण्डारीको राजनीतिक स्कुलिङमा हुर्केली दोलखाली चेली हुन् उनी ।राजनीतिक रूपमा वि.सं.२०७४ सालमा भीमेश्वर नगरपालिकामा उपमेयरको एक मात्र राजनीतिक पृष्ठभूमिसहितको उम्मेदवार उनी थिइन् तथापि पारीवारिक कारण उक्त अवसर उनको लागि उपयुक्त रहेन। हाल उनी नेकपा एससम्बद्ध महिला सङ्घ बागमती प्रदेशकी सचिव छिन् ।
उनको वर्तमान राजनीतिक अवस्था चाहिँ स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा सङघीय जनप्रतिनिधिका लागि समेत सबल राजनीतिक पृष्ठाधार भएका महिला नेतृत्व हुन् ।हाल नेकपा एस आबद्ध रहेकी उनी भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयरको एक सशक्त र राजनीतिक पृष्ठभूमि भएकी सबल उम्मेदवार हुन् ।