हामी बनाउँछौः भीमेश्वरलाई सुन्दर, समृद्ध र पर्यटकीय सहर

 

हामी बनाउँछौः भीमेश्वरलाई सुन्दर, समृद्ध र पर्यटकीय सहर

भीमेश्वर नगरपालिका भूगोलको दृष्टिमा जति सुन्दर छ त्यो भन्दा बढी धार्मिक एवम् सांस्कृतिक सम्पदायुक्त नगर पनि हो यो। भूकम्पीय विपदले तहसनहस पारेको दोलखाबाट भीमेश्वर नगरपालिकामा केही वर्ष यता भौतिक पूर्वाधारहरू पुनस्थापित हुँदै आएको छ। मूलतः पर्यटकीय नगरी चरिकोट, दोलखाको भीमेश्वर नगर लगायत अन्यत्र आवासीय भवनहरू पुनर्निर्माण भएका छन् व्यक्तिगत आवासदेखि सरकारी कार्यालयलगायत सामुदायिक भवनहरू निर्माण भएका छन्।सडक, विद्युत, खानेपानी, सरसफाई जस्ता क्षेत्रमा उल्लेखनीय रूपमा काम भएकै छन्। स्वास्थ्य र शिक्षामा भौतिक रूपमा अस्पताल, कलेज, विद्यालयहरू सञ्चालित छन् ।

यो नगर धार्मिक र सांस्कृतिक नगरीमा विविध जाति, भाषा, धर्म र संस्कृतिको अपूर्व संगम छ। जसलाई नगरको राजकीय र शासकीय संरचनामा समानुपातिक समावेशी सिद्धान्तको आधारमा समन्यायिक प्रतिनिधित्व हुन सकेको छैन। राजनीतिक रूपमा खास जात र वर्ग विशेषको मात्र प्रतिनिधित्व हुँदै आएको छ जबकि यस नगरपालिकामा तामाङ जाति र नेवार जातिको बाहुल्यता छ। उनीहरूको राजनीतिक र शासकीय प्रतिनिधित्व न्यून छ अझ थामी, भुजेल, दलितको उपस्थिति शुन्य नै भन्दा फरक पर्दैन । अझ राजनीति, शासकीय संरचना र सामाजिक कार्यहरूमा महिलाको सार्थक र अर्थपूर्ण सहभागिता हुन सकेको छैन । तसर्थ कुनै समाज र नगरको विकासको लागि समावेशी, समानुपातिक र समन्यायिक नेतृत्व, नीति र प्रतिनिधित्व अत्यन्त आवश्यक छ । जसबाट समाजको वास्तविक धरातलमा आधारित नीति निर्माण भई कार्यान्वयनमा जान्छ। यसको लागि समाजको भुईँ तहको जनताबाट नेतृत्व चयन हुनु जरूरी छ। उसबाट नै जनताले सरल, सहज, छिटो, छरितो, गुणस्तरीय सेवा प्राप्त गर्न सक्छन् । सङ्घीय लोकतन्त्रको चुरो कुरा भनेको जनताले घरदैलोमै सेवा प्राप्त गर्न सक्नु हो । राज्य सरकार र जनता बीचको दुरी घटाएर जनताले भेट्ने सरकार गठन गर्नु हो । तसर्थ स्थानीय सरकारलाई गाउँको सिंहदरबार वा घरदैलोको सरकार भनिएको हो ।

संसारको विकास आफैँमा हुँदैन, परिवर्तनका संवाहक सबल र सक्षम नेतृत्वबाट विकासको अपेक्षा पूरा हुन्छ। मोहम्मद महारथीले मलेसिया, ली क्वान युले सिंगापुर, पार्क चु हाङले दक्षिण कोरियाको काँचुली फेरिदिए, त्यो उनीहरूमा रहेको दूरदर्शिता, शासकीय कौशलता र देश तथा जनप्रतिको प्रतिबद्धताले भएको हो।त्यस्तै भीमेश्वर नगरपालिकालाई देशकै नमुना धार्मिक, सांस्कृतिक र पर्यटकीय नगर एवम विश्वकै गन्तव्य सहर बनाउनु आजको नेतृत्वका लागि एकातिर अवसर हो भने अर्कोतिर चुनौती पनि सँगसँगै हो । अझ आधुनिक भीमेश्वर नगर निर्माण गरी स्मार्ट सिटी वा भीमेश्वर सिटी स्टेट (भीमेश्वर नगर राज्य) स्थापना गर्न जुझारू युवा एवम् समावेशी नेतृत्व चयन गरिनु जरूरी छ। अब नेतृत्वले दोलखाको सादगी एवम् त्यागी नेता भीमबहादुर तामाङ र पशुपति चौलागाई जस्ता इमानदार नेतृत्वको मार्गलाई पछ्याउन सक्नुपर्छ । उहाँहरूको विरासतलाई बोक्न सक्ने, दोलखालाई केन्द्रसँग जोड्न सक्ने र यस नगरको विकास गरी समृद्ध भीमेश्वर र सुखी दोलखाको सपनालाई साकार पार्न सक्नुपर्दछ । यसका लागि जनताले मताधिकारबाट लोकतान्त्रिक संस्कार र व्यवहारमा अब्बल ठहरिएका पार्टीका नेतृत्वलाई एक पटक यस पटक निर्वाचन गर्नु पर्दछ त्यो भनेको पाँचदलीय गठबन्धनको साझा उम्मेवारहरूको छनोट हो, उनीहरूलाई मतदान गर्नु नै सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने आधार तयार पार्नु हो ।

भीमेश्वर नगरपालिकाको विकासको मुख्य पक्षहरू निम्न छन्-

  • नगरपालिकाको जनप्रतिनिधि समानुपातिक समावेशी रूपमा चयन गर्नुः विविध जाति, भाषा, धर्म र संस्कृतिले समान र समन्यायिक स्थान प्राप्त गर्नु ।
  • विधि र पद्धितमा आधारित शासन व्यवस्थाः नगरको विकासको मूल आधार विधि र पद्धतिमा आधारित शासन र विकास हो । जसमा सबै जनताले समान हक अधिकार प्राप्त गर्नेछन् ।
  • धार्मिक र सांस्कृतिक नगरको रुपमा विकास गर्नुः स्थानीय प्रज्ञा प्रतिष्ठान स्थापना गर्नु, भाषिक र सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्नु, बहुभाषिक शिक्षा व्यवस्था गर्नु ।
  • कृषि, उद्योग र पर्यटनः कृषिको आधुनिकीकरण, उद्योग ग्रामको स्थापना, देश र विदेशको पर्यटकीय गन्तव्य बनाउने, कृषि कार्डको व्यवस्था ।
  • आधारभूत शिक्षा र स्वास्थ्यको प्रत्याभूतिः सामुदायिक विद्यालयको सबलीकरण र गुणस्तर सुधार, नगरस्तरीय छात्रवृत्ति र उच्च शिक्षाको व्यवस्था, प्राविधिक तथा व्यावसायिक शिक्षाको केन्द्र बनाउने, स्वास्थ्य बीमा र स्वास्थ्य सहुलियत कार्डको व्यवस्था ।
  • रोजगारी सिर्जना, बेरोजगारी न्युनीकरण र गरीबमुक्त नगर निर्माणः सामूहिक खेती, व्यवसाय र सहकारी पद्धति अवलम्बन, गरीब लक्षित कार्यक्रम, सामाजिक सुरक्षाको प्रबन्धः गाँस, बास र आवासको प्रबन्ध, मानव सेवा आश्रम स्थापना, गरिबी परिचयपत्र र सहुलियत कार्डको व्यवस्था ।
  • छुवाछुत, भेदभाव र विभेदमुक्त नगर घोषणाः अझै पनि नेपाली समाजमा जाति, लिङ्ग, वर्ग र अन्य आधारमा विभेद हुने गरेकोले नगरलाई विभेदमुक्त नगर घोषणा गरिनु पर्दछ ।
  • स्मार्ट सिटी र आधुनिक सहर निर्माणः विद्युतीय शासनका लागि इन्टरनेट सेवा वा विस्तार, नागरिक एपको प्रयोग, डिजिटल अर्काइभ, ब्रोडब्याण्डको विस्तार गर्ने । जस्तो घरैबाट पढ्न सक्ने अनलाइन एजुकेसन, घरमै डाक्टरी सेवा प्राप्त गर्ने जस्तो टेलिमेडिसिन ।
  • विश्वकै पर्यटकीय गन्तव्य बनाउनुः भौगोलिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक सम्पन्नता र वातावरणीय स्वच्छता रहेको यस नगरलाई नेपालको मात्र नभई विश्वकै पर्यटकीय गन्तव्य बनाउनु पर्दछ । भौतिक, सामाजिक सांस्कृतिक पूर्वाधार निर्माण गर्नका साथै फिल्मी सिटी र भर्चुअल सहर निर्माण गर्न सकिन्छ ।

तसर्थ, हामी अनुरोध गर्छौँ

तीब्र विकास अनि समृद्ध भीमेश्वर, दोलखालीको शान

गरौँ गठबन्धनका साझा उम्मेदवारलाई अमूल्य मतदान ।

 

You might also like