खानीखोला गापा,काभ्रे अध्यक्षका उम्मेदवार इन्द्रबहादुर थिङ-छिन्ताङ को हुन् ?

 

खानीखोला गापा,काभ्रे अध्यक्षका उम्मेदवार इन्द्रबहादुर थिङ-छिन्ताङ को हुन् ?

              डा.लोकबहादुर लोप्चन-तामाङ

१.परिचय

काभ्रे जिल्लाको डाँडापारिलाई विगतको भूगोलको विकटताको कारण पिछडिएको कर्णालीको उपनामले चिनिने गर्थ्यो । त्यही भेगमा पर्ने ७ गाविसहरू मिलाएर हाल खानीखोला गाउँपालिका बनेको हो। खोपासी तालढुङ्गा सडक २० वर्षेदेखि प्रारम्भ गरिए पनि विगत ३-४ वर्ष यता मात्र डाँडापारि क्षेत्रको फलामेटार हुँदै ताल्ढुंगासम्म सडकको ट्याक खुलाई हिउँदमा यातायाय आवतजावत हुने गर्छ । तर जब मनसुन सुरू भई पानी पर्न थाल्छ वा वर्षा लाग्छ तब यस डाँडापारि क्षेत्रमा पुरानै दुखको कहर सुरू हुन्छ किनकि करिब ६ महिना जति सडक कच्ची हुनाको कारण यातायात ठप्प हुन्छ । यस विगतको डाँडागाउँ, फलामेटार, ताल्ढुंगा, सालधारा र मिल्चे गरी ५ गाविसहरूको संगम हो खानीखोला गाउँपालिका ।

तात्कालीन फलामेटार गाविस चाहिँ हालको खानीखोला गाउँपालिकाको वडा नं.१ मा पर्दछ । यसै वडाको देवीटारमा जन्मिएका हुन् नेकपा माओवादी केन्द्रका प्रदेश सचिव श्री इन्द्रबहादुर थिङ ‘छिन्ताङ साथै खानीखोला गाउँपालिकामा यस पटक गठबन्धनको तर्फबाट अध्यक्षको प्रत्याशी उम्मेदवार । उनी डाँडापारि क्षेत्रमा नेकपा माओवादलाई गाउँसम्म ल्याई विगतमा यस क्षेत्रका १० गाउँपालिका माओवादी इन्चार्ज समेत हुन् ।

२. व्यक्तिगत पृष्ठभूमि

सामान्य र निम्न मध्यम परिवारमा जन्मनु भएका छिन्ताङ वि.सं. २०३३ सालमा जन्मेका हुन् । राजनीतिक हिसाबमा फलामेटार गाउँपालिकामा थिङहरूको वर्चस्व नै रहेकोमा काजीमान थिङ त २५ वर्षे प्रधानपञ्च हुन् भने उनकै छोरा क्षेत्रमान थिङ जिल्ला विकास समितिका सदस्य हुन सफल भए, अझ रामराजा थिङ त पञ्चायतकालमा माननीयको  उम्मेवार नै भए । अझ छिन्ताङकै दाइ अकलबहादुर थिङ महेश त वि.सं. २०६४ सालमा संविधान सभाका सदस्य निर्वाचित हुन सफल भए । यसरी फलामेटार जति भूगोलको विकटतापूर्ण छ तर राजनीतिक क्षेत्रलाई भने त्यसले छेक्न, रोक्न सकेको छैन।हालका माओवादी नेता छिन्ताङ तामाङलाई नै लिन सकिन्छ ।यसले  फलामेटारको राजनीतिक बागडोर तामाङ समुदाय, त्यसमा पनि थिङ समुदायहरूको पुस्तैनी विरासत एवम पुस्तान्तरित भएको पाइन्छ ।

३.शैक्षिक, सामाजिक तथा सांस्कृतिक पक्ष

गाउँकै हालको बाल विकास माविमा प्रावि तह उत्तीर्ण गरी जनविकास माविबाट एस.एल.सी. उत्तीर्ण भएपछि उच्च शिक्षाको लागि आरआर कलेज प्रदर्शनी मार्गमा भर्ना हुन पुग्छन् आइ ए तहमा । तर देशको तात्कालीन सङ्क्रमणकालीन राजनीतिमा उनलाई त्यसबेला माओवादी सशस्त्र युदधको प्रभाव पार्छ र पढाइ तथा परीक्षाको रूटिनपूर्ण जिन्दगी भन्दा दुनियाँ बदल्न वा दुखीको सुदिन ल्याउन भनी माओवादी आन्दोलनमा होमिन पुग्छन् ।

बाल्यकालदेखि सिर्जनशील सोच र सिर्जनामा रम्न चाहने छिन्ताङ क्रमशः सांस्कृतिक रूपान्तरणको लागि लागी पर्छन् । उनले जनगणतन्त्र रेडियो मात्र सञ्चालन गरेनन्, थुप्रै क्रान्तिकारी गीत लेखे, गाए र अभिनय समेत गरे । त्यसैले उनी नेपाल चलचित्र बोर्डका सचिव मात्र भएनन् राष्ट्रिय खेलकुद परिषदका कोषाध्यको व्यवस्थापकीय भूमिका निर्वाह गरिसकेका छन् । गाउँमै जनसांस्कृतिक मञ्च र फलामेटार पुस्तकालय स्थापना गरी सामाजिक रूपान्तरणका लागि साङगीतिक कार्यक्रम, देउसीभैलो र नाटक प्रदर्शनका कार्यहरू भए । जसमा मा.अकबहादुर थिङ, डा.लोकबहादुर लोप्चन, नारायण दाहाल, सुरेन्द्र गोले, सरस्वती श्रेष्ठ, पूर्णमान थिङ लगायत डाँडापारिका तमाम युवाहरूको त्याग र उल्लेखनीय योगदान रहेको थियो । पछिल्लो पटक खानीखोलाका साहित्यकार टीका अविरलले पुस्तैनी विरासतलाई निरन्तरता दिँदै प्रकाशन र नाटक प्रदर्शन गर्न सफल भएका छन् । हुनत हिरामाया घिसिङ यस क्षेत्रमा तामाङ साहित्यकारका रूपमा स्थापित छन् भने डा.लोकबहादुर लोप्चनको नाटक र गीत सङ्ग्रह प्रकाशन भइसकेको छ।

४.राजनीतिक यात्रा

विद्यालयस्तरीय विद्यार्थी जीवनमा छिन्ताङको राजनीतिक सहभागिता देखिन्नथ्यो जब आइए तहको अध्ययनको लागि आरआरमा अध्ययनको लागि काठमाडौँ बसाइ सुरू भयो तबबाट उनको वर्तमान राजनीतिक व्यक्तित्व जग बस्यो भन्न सकिन्छ । त्यसबेला उनी पश्चिम रूकुम, रोल्पाका विद्यार्थी नेताहरूसँग सामीप्यमा रहन्छन् जसको कारण उनी वि.सं.२०५१ सालदेखि माओवादी सशस्त्र युद्धमा लागी पर्छन् ।अन्ततः करिब ३० वर्षको समर्पित राजनीतिक उकालो यात्रामा अविचलित यात्रारत छन्, उनी देशमा घट्ने राजनीतिक उहापोह र क्षणिक लाभ र स्वार्थबाट टाढा देखिन्छन् ।उनले मूलतः माओवादको आदर्शता र व्यक्तिगत जीवनमा जस्तोसुकै अभाव र समस्याको बाबजुद पनि सलिसाल भएर निष्ठाको राजनीति गरिरहेका छन् भनूँ  हजारौँ योद्धाहरू क्षणिक लालसामा ढलेका छन् तर उनी सतिसाल भई काभ्रे डाँडापारिलाई चिनाइ रहेका मात्र छैनन्, गर्विलो राजनीति पदचाप चालिरहेका छन् यसो भन्न सकिन्छ कर्णाली मानिएको डाँडापारिलाई कायापलट गर्न डाँडापारि उनको नेतृत्वलाई प्रतीक्षा गरिरहेको छ ।

अब त्यो मौका आइसकेको छ उनी यस पटक गठबन्धन तर्फबाट खानीखोलाको अध्यक्षको सबल र सशक्त उम्मेवार हुन् यसो भनूँ आगामी बैशाख ३० गतेको निर्वाचनमा उनी जनताबाट अत्यधिक मतबाट अनुमोदित हुने कुरा सुनिश्चित छ । यस अघि पनि उनी अध्यक्षका प्रत्याशी थिए, तर निर्वाचनमा प्राविधिक कारण यस भेगका जनताले उनलाई प्राप्त गर्न सकेन ।परिणामतः यो २० वर्ष पछाडि धकेलिएको छ ।

५. अब गरिबको सुदिन साँच्चै आउँछ कि त ?

यो स्तम्भकार पनि बिरामी हुँदा डाँडापारिबाट एक दिन बोकिएर धुलिखेल अस्पताल आउनु परेको पीडा अझै दुखिरहेछ भने आफ्नै फुपूकी छोरी सुत्केरी व्यथाको कारण ताल्ढुङ्गा पुग्न नपाउँदै बाटैमा प्राणान्त भएको दुखद यथार्थ बिर्सिएको छैन । अन्य घटनाहरू कैयन छन् जुन यहाँ उल्लेख गरी साध्य छैन । अझै सुत्केरी वा कोरोना हुँदा हेलीप्याडबार उद्धार गर्नुपर्ने बाध्यता हाम्रो नियति नै बनेको छ। तसर्थ डाँडापारि  क्षेत्रमा सुविधासहितको अस्पताल पहिलो प्राथमिकता हो, अनि बेरोजगारीको कारण युवाले गाउँ रित्तिएको छ, विदेश पलायन मात्र भएको छैन, गाउँ छोड्दै पनौती, बनेपा र काठमाडौँ बसाइँसराइको डरलाग्दो भीड छ । साथै कृषि, पर्यटन, जडिबुटी, बालुवा, ढुङगा बिक्रीको ठूलो सम्भावना छ, यसको सही उपयोग गरी ग्रामीण जीवनलाई उद्यमीकरण, सहरीकरण र व्यापारीकरण बनाउनु अपरिहार्य छ। यसका लागि अहिलेको गठबन्धनका उम्मेदवार छिन्ताङ तामाङलगायत समूहको लागि यो अवसर र चुनौतीको दोबाटो बनेको छ। शुभेच्छा, फेरि पनि उहाँ र उहाँको टिम सतिसाल बनेर कर्नालीको दुःखद बिम्ब बोकेको यो खानीखाला गाउँपालिका समृद्ध र समुन्न सहरमा रूपान्तरित हुनेछ ।शुभकामना ।

 

You might also like