मेयर टोकबहादुर वाईबा बनेः नेपालमै पहिलो पटक भाषा ऐन ल्याउने नगर प्रमुख
काभ्रेपलाञ्चोक, २०७९ साल असार १९ गते ।
काभ्रेपलाञ्चोक जिल्लाको कान्छो नगरपालिका मण्डनदेउपुर नपाको नगर सभाको ११ औँ अधिवेशन असार १० गते सुरू भई असार १६ मा दोस्रो बैठक र असार १९ गते तेस्रो वा अन्तिम बैठक बसी सम्पन्न भएको छ। नगरपालिकाको आ.व.२०७९/८० को नीति, कार्यक्रम र बजेट पारित गर्नका साथै यस अधिवेशनबाट न्यायिक समिति र लेखा समिति गठन भएको छ।
नगरको वर्षे अधिवेशन कार्यक्रम तथा बजेट अधिवेशनका रूपमा बुझिए पनि यस नगरपालिकाले दुई ऐनहरूमा संशोधन गर्ने क्रममा स्थानीय शिक्षा ऐन,२०७४ र न्यायिक समिति कार्यविधि ऐन, २०७४ को संशोधन गर्न बनेका विधेयकहरू सर्वसम्मतिले पारित गरेको छ । यसै नगर सभाले मण्डनदेउपुर अस्पताल सञ्चालन विधेयक, स्थानीय भाषा विधेयक, मन्डनदेउपुर प्रज्ञा प्रतिष्ठान विधेयक र मण्डनदेउपुर भाषिक तथा सांस्कृतिक सङ्ग्रहालय विधेयक पारित गरेको छ। यसरी यो नगरपालिका नेपालमै भाषा ऐन ल्याउने पहिलो नगरपालिका बन्न पुगेको छ। यसको श्रेय मेयर टोकबहादुर वाईबालाई मिलेको छ, भाषा र संस्कृतिको क्षेत्रमा नेपालकै लागि एउटा नयाँ इतिहास कोरिएको छ। किनभने नेपालमै आजसम्म कहीँ कतै भाषा ऐन बनेको इतिहास छैन। तर त्यो इतिहासलाई ब्रेक गर्दै मेयर टोकबहादुर वाईबाले भाषा र संस्कृतिको लागि उच्च योगदान पुर्याएका मात्र छैनन्, सङ्घीय र प्रदेश सरकारलाई समेत पछि पारेका छन् । किनकि नेपालका कुनै पनि प्रदेशमा मात्र होइन सङ्घीय सरकारले पनि भाषा ऐन ल्याएको छैन ।तर उनले नेपालमै पहिलो पटक भाषा ऐन ल्याएर भाषिक क्षेत्रको लागि उच्च योगदान पुर्याएका छन् ।