ज्ञानको खेती याने शिक्षाले तामाङहरूलाई राज्य संरचनामा पुर्याउँछ: प्रा.डा.महेन्द्र पी लामा
काठमाडौँ २०७९ साल भदौ २७ गते ।
कान्तिपुर राष्ट्रिय दैनिकबाट सञ्चालन कान्तिपुर कन्क्लेभ-२०२२ मा नेपालको भूराजनीति र अर्थराजनीति विषयमा निम्त्याइएका प्रा.डा.महेन्द्र पी लामाले आज २०७९ साल भदौ २७ गतेका दिन काठमाडौँ बौद्धस्थि तामाङ राष्ट्रिय पुस्तकालयको अवलोकन गर्नुभयो भने उहाँलाई पुस्तकालयमा स्वागत गरिएको थियो । साथै सोही अवसरमा तामाङ सेवा गुठी भवन बौद्धको सभा हलमा प्रा.डा.महेन्द्र पी लामाज्यूको प्रमुख आतिथ्यतामा हलमा क्रस बोर्डर तामाङ सोलिडारिटी इन द कन्टेक्स अफ नेपाल एन्ड इण्डिया विषयक अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरिएको थियो । तामाङ राष्ट्रिय पुस्तकालयका सचिव लक्ष्मी रूम्बाबाट कार्यक्रम सञ्चालन गरिएको थियो भने स्वागत मन्तव्य पुस्तकालयका सदस्य निष्णु थिङले गर्नु भएको थियो ।
जापानका लागि नेपालका पूर्व राजदूत एवम् समाजसेवी डा.गणेश योञ्जनको सभाध्यक्षमा सञ्चालित उक्त कार्यक्रममा मानवशास्त्री डा.मुक्त सिं लामाले नेपाल र भारतबीच भूगोलको मात्र कनेक्टिभिटी नभई समग्र हिमाली बेल्टको पूर्वीय सामाजिक, सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्ध रहेको विचार व्यक्त गर्नु भएको थियो । प्रमुख अतिथि प्रा.डा.महेन्द्र पी लामाले नेपाल र भारतीय तामाङको चुनौती, अवसर र समस्या फरक फरक रहेको बताउँदै नेपालका तामाङलाई राज्य संरचनामा पुग्नको लागि दुई स्टेप मात्र पार गर्नु पर्ने भए तापनि भारतीय तामाङहरू चाहिँ थप एक स्टेप बढी पार गर्नुपर्ने विचार अभिव्यक्त गर्नुभयो । उहाँले राज्य सत्ता वा संरचनामा प्रवेश गर्ने एकल र सशक्त माध्यम छ भने त्यो तामाङ जातिले ज्ञानको खेती गर्नु हो वा शिक्षा प्राप्त गरी सक्षम, योग्य र सफल हुनु हो भन्नेमा जोड दिनुभयो। साथै उहाँले तामाङहरू जुनसुकै देशको पहिचान वा राष्ट्रियतामा रहे पनि उनीहरू देशको उच्चतम पद, प्रतिष्ठा र पहिचान हासिल गर्नको लागि शिक्षा नै एकल ब्रम्हास्त्र हो भन्नुभयो।हुनतः उहाँले राज्य वा देशको उपरी संरचनामा पुग्नको लागि बाधित विविध पर्खालहरू वा व्यवधानहरू रहेको बताउँदै ती सबै पर्खालहरू वा बाधाहरू शिक्षाको माध्यमबाट हटाउन सकिने बताउनुभयो। आफ्नो आख्खे (बाजे), पिता र आफू स्वयम शिक्षाको माध्यमबाट वर्तमान पहिचान, प्रतिष्ठान र ओहोदामा पुग्न सकेको उल्लेख गर्नुभयो ।
अन्तर्क्रियाको क्रममा उहाँले कुनै पनि देश सार्वभौमिकताको दृष्टिमा समान रहने हुँदा रोटीबेटी वा ठुल्दाइ या साना भाइ जस्ता शब्द र सम्बन्ध नेपाल र भारतबीचको सम्बन्धलाई परिभाषित गर्न उचित नभएको बताउनुभयो । प्रबुद्ध व्यक्तिहरूको समूहको सदस्य समेत रही नेपाल र भारतको सन्धि र सम्बन्धको प्रतिवेदन समेत तयार पारी बुझाइएकोमा सोको कार्यान्वयनसम्बन्धी जिज्ञासा पनि सहभागीहरूबाट उठाइएका थिए । तथापि उहाँले कुनै पनि देश सार्वभौम रहने भएको हुँदा देशका नेताहरूलेयक सोहीअनुसार नै व्यवहार गर्न उचित हुने बताउनुभयो । अझ उहाँले कुनै पनि देशलाई चिनाउने र बनाउने भनेको महान नेताले हो र यसको लागि देशको नेतृत्वमा सही व्यक्ति पुग्नु पर्ने कुरा भारतीय प्रधानमन्त्री मनमोहनसिंहको उदारणसहित प्रस्तुत गर्नुभयो ।
व्यक्ति वा समुदायले निरन्तर परिवर्तन र रूपान्तरणमा लागी पर्नुपर्ने, अविराम रूपमा नवनव उपलब्धि र प्राप्तिको लागि प्रयासरत रहनु नै जीवनको सार्थकता हो भन्दै आफू पनि अबको दिनमा राजनीतिक क्षेत्रमा प्रवेश गर्ने खुलासा गर्दै समग्र नेपाली तामाङ समुदायलाई भावी पुस्ताको लागि वर्तमान पुस्ताले गोरेटो नखनी नहुने, बाधारूपी पर्खालहरू भत्काउनुपर्ने र तामाङ पुस्तैनी ज्ञान, विज्ञान, भाषा, संस्कृति एवम् सभ्यताको हस्तान्तरण हुनुपर्ने अभिव्यक्ति दिनुभयो ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष डा.गणेश योञ्जनले अतिथिको अन्यत्र पनि कार्यक्रम रहेको हुँदा प्रमुख अतिथिलाई हार्दिक आभार व्यक्त गर्नु भयो भने यसअघि प्रमुख अतिथिलाई स्वागत र सम्मानित गरिएको थियो । यसमा कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, पूर्व सचिव धनबहादुर तामाङ, डा.लोकबहादुर लोप्चन, बुद्ध छिरिङ मोक्तान, प्रदीप बमजनसहित तामाङ बुद्धिजीवि, पुस्तकालय परिवार, पत्रकारसहित विशिष्ट व्यक्ति व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।