तामाङ र नेवार भाषाः अबदेखि बागमती प्रदेशको सरकारी कामकाजको भाषा
हेटौँडा, मकवानपुर । २०७९ साल भदौ २७ गते ।
बागमती प्रदेशको २०७९ साल भदौ २७ गते बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले भाषा आयोगबाट सिफारिस गरिएअनुसार नै पहिलो चरणमा तामाङ र नेवार भाषालाई यस प्रदेशको सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेसँगै यो प्रदेश सरकारी कामकाजमा मातृभाषा प्रयोग गर्ने पहिलो प्रदेश बनेको छ। प्रदेश शिक्षा मन्त्री कुमारी मोक्तानकाअनुसार आज बसेको यस प्रदेश मन्त्रीपरिषदको बैठकबाट ती दुई भाषालाई यस प्रदेशको सरकारी कामकाजको भाषा बनाउने सर्वसम्मतबाट निर्णय गरेको छ।
साथै यी दुई भाषालाई सरकारी कामकाजमा प्रयोगका लागि गर्नुपर्ने तयारी र प्रक्रिया निर्धारणको लागि प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलालाई दिइएको छ। विज्ञहरूकाअनुसार प्रदेश सरकारी कामकाजको भाषालाई कार्यान्वयनमा लैजानको लागि ऐन, कानुन, संरचनागत प्रबन्ध, जनशक्ति व्यवस्थापन र कार्यक्रमसहित बजेटको यथोचित प्रबन्ध गर्नुपर्ने देखिन्छ। यसलाई प्रदेश र स्थानीय तहमा कार्यान्वयनमा उतार्न व्यवस्थापकीय, कार्यपालिकीय र न्यायपालिकीय कार्यहरूमा प्रयोगमा ल्याउनुपर्ने हुन्छ। अझ वर्तमान प्रविधिको युगमा भाषिक यान्त्रिकीकरण गरी यान्त्रिक अनुवादसम्मको प्रबन्ध गर्दै जानु पर्दछ। मूलतः नेपालको सरकारी कामकाजको विद्यमान एक भाषिक प्रयोगको वर्तमान सन्दर्भमा यस निर्णयले संविधानतः उल्लेखित बहुभाषिक मुलुकको मर्मअनुसार प्रदेश तहबाट सुप्रारम्भ भएको मान्न सकिन्छ ।