
इन्टेग्रिटी आईकन नेपाल २०२२ सार्वजनिक
२०७२ सालमा नेपालको संविधान जारी भएदेखि दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भईसकेको छ भने, प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालको सङ्घीयतालाई प्रभावकारी बनाउन तीनै तहका सरकारका प्रशासनिक एकाइहरूको भूमिका महत्वपूर्ण हुन्छ । सङ्घीय व्यवस्था नेपालका लागि नयाँ हो र जवाफदेहिताको पाटोलाई मजबुत बनाएर संघियताको अभ्यासलाई उदाहरणिय रुपमा प्रस्तुत गर्ने अवसर पनि हो । त्यो अवसरलाई यथार्थतामा परिणत गर्ने व्यक्तिलाई थप हौसला दिने हो भने । समृद्ध नेपालको कल्पना असम्भव होइन । अकाउन्टविलिटी ल्याब नेपाल सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्र भित्रका त्यस्ता कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ । ९ वर्ष अगाडि नेपालबाट सुरु भएको इन्टेग्रीटी आईकन, अभियान हाल विश्वका अन्य १५ देशमा विस्तार भईसकेको छ ।
यस वर्षका इन्टेग्रिटी आईकनहरूलाई देशभरिबाट प्राप्त भएका ४१० मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनुभएको थियो ।
इन्टेग्रीटी आइकन २०२२ का लागि छनौट भएका व्यक्तित्वको संक्षिप्त विवरण यस प्रकार रहेको छः
१. कल्पना अधिकारी, इन्जिनियर, सडक विभाग, काठमाडौँ
सरकारी सेवामा उनलाई निडर र जोखिम लिनसक्ने कर्मचारी भनेर चिनिन्छ । हालसम्म उनले दाङ, कैलाली, काठमाडौं, पर्वत, पाल्पा लगायतका जिल्लाहरूमा काम गरिसकेकी छिन् । उनी जहाँ गइन् त्यहाँ लामो समयदेखि रोकिएका परियोजनाहरू सुचारु भए । उदाहरणका लागि, उनी कालीगण्डकी करिडोर सडक आयोजना अन्तरगत कार्यवाहक परियोजना प्रबन्धक भएर जँदा मन्द्राङको भीरको बाटो ८/९ वर्ष देखि बन्न सकिरहेको थिएन । विशेषज्ञ नहुदाँ जोखिमयुक्त ठाउँको काम अगाडी बढ्न सकेको थिएन । स्थानीयहरूले बाटोको लागि आफ्नो जग्गा दिए, तर सडक बन्ने कुरा त परको कुरा, पानीको मुहान सुकेर कुलो बन्द भयो । कल्पना अधिकारी त्यहाँ गईसकेपछि अवस्थाको अध्ययन गरिन् । योजना परिमार्जन गरेर कामलाई अगाडि बढाईन् ।
२. मोहन कृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाण्डौ
मोहन कृष्ण सन् २०५५ देखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा कार्यरत छन् । उनी सेवाग्राहीका त प्रिय पात्र हुन नै सहकर्मीका लागि पनि प्रेरणाका स्रोत हुन् । भारत र बंगलादेश लगायत अन्य देशहरूमा प्रमाणित भइसकेको प्रविधि जसले कुनै पनि खाद्य वस्तु अर्गानिक हो कि होईन भनेर छुट्याउछ, सो प्रविधिलाई नेपालमा कार्यान्वयन गर्नमा मोहन कृष्ण महर्जनको ठुलो भूमिका छ । यो प्रविधिले नेपालमा सकारात्मक नतिजा पनि देखाउन थालिसकेको छ । उनले विभागले गर्ने कामहरू पारदर्शी हुन् र सबैले थाहा पाउन भनेर चौमासिक पत्रकार सम्मेलन पनि गरिरहेका छन् । पत्रकार सम्मेलनमा विभागले प्रस्तुतीकरण गर्ने र पछि सरोकारवालासँगको अन्तरक्रियामा सवाल जवाफ हुने भएकोले सरोकारवालाहरू सुसूचित हुन पाएकाछन् । यस अभ्यासबाट विभागको परदार्शिता माथि उठ्ने प्रश्नहरू कम भएका छन् ।
३. राजेश साह जयसवाल, प्रहरी हवल्दार, जिल्ला प्रहरी कार्यालय, सर्लाही
राजेश विगत ६ वर्षदेखि मलंगवा अस्पतालमा कार्यरत छन् । सामान्यतया, मानिसहरू प्रहरीसँग कुरा गर्न धक मानिरहेका हुन्छन् तर, उनले सेवाग्राहीलाई गर्ने असल व्यवहारका कारण जिल्लाका प्रहरी इकाई प्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गरेको छ । कोभिडको सुरुवाती अवस्थामा कर्मचारीहरू बिरामी नजिक जान पनि डराउँथे । राष्ट्रसेवक नै पछाडि हट्यो भने जनता पनि डराउँछन् भनेर उनी अगाडि सर्थे । चिकित्सक नै पछि हटेपछि उनि आफै बिरामीको नजिक गएर समस्या बुझ्थे । कसैको मृत्यु भयो भने पनि पोष्टमार्टम गर्ने ठाउँमा लाश लैजान उनले नै सहयोग गरिदिन्थे । यसले अरु कर्मचारीलाई पनि अग्रपंक्तिमा आएर काम गर्न प्रेरित गर्यो ।
४. रोशनी देवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौ
सानै देखि लैंगिक विभेद विरुद्ध आवाज उठाउने उनको स्वभावले उनलाई सरकारी सेवामा डोर्यायो । सरकारी सेवामा आइसकेपछि पनि उनले हरेक क्षेत्र लैंगिकमैत्री हुनुपर्छ भनेर आवाज उठाईन् ।महिला खेलाडीलाई सहज होस् भनेर महिला मैत्री कभर्ड हल बनाउन पहल गरिन् । आफ्नै प्रयासमा, आफैँले लेखेर र आफैँले रेकर्ड गरेर बालविवाह, दाईजो प्रथा, सामाजिक कुरिती विरुद्ध र एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्राप्त गर्न सकिने सेवा सम्बन्धित विषयमा सन्देशहरू नेपाली, मैथिली, भोजपुरी र स्थानीय भाषामा प्रसारण गरिन् । ५० भन्दा बढी चेतनामूलक सामाग्री प्रसारण गर्न मन्त्रालयले कुनै खर्च गर्नु परेन ।
५. सुजन कुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु
सेवाग्राहीका समस्या सुन्ने र त्यसको समाधानका लागि लागी पर्ने उनको बानिको सबैले प्रशंसा गर्दछन् । उदाहरणका लागि, नाम्चेमा हेलिकप्टर कम्पनीले आफ्नै मनोमानीमा जथाभावी हेलिकप्टर उडाउने गर्दथे, जसले गर्दा खच्चर व्यवसाय गर्ने मान्छेको रोजगारी खोसिएको थियो । त्यसै कारण उनीहरूले ईलाका प्रशासन कार्यालयमा यही गुनासो लिएर आएका थिए। उनले सबै हेलिकप्टर कम्पनीमा पत्र पठाई बैठकको लागि निमन्त्रणा दिईन् । ८ वटा हेलिकप्टर कम्पनीबाट २५ जना छलफलमा आए । त्यहीँ बैठकबाट कम्पनी र खच्चर व्यवसायबीच हेलिकप्टरले उद्धार गर्ने र सामानहरु स्याङबोचे एयरपोर्ट सम्म मात्र लाग्ने सहमति भयो । नाम्चेबासीले कर्मचारी ६ महिना पनि टिक्दैनन् भन्ने विश्वास गर्दछन्, तर सुजनको कामबाट प्रभावित नाम्चेबासीले ६ महिनामै उनलाई सम्मान गरेका छन् ।
यी आईकन र उनीहरूले गरेका कामलाई हाम्रो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ताभरि प्रस्तुत गर्नेछौँ । उहाँहरूलाई प्रोत्साहित गर्न यहाँहरूले वेबसाईट मार्फत सन्देश पनि पठाउन सक्नुहुनेछ । हामीलाई फलो गर्दै गर्नुहोला । आगामी कार्तिक २४ गते सम्मान समारोह आयोजना गर्दैर्छौँ ।
सम्पर्कः अस्मिता शर्मा, ९८५१२०३२१९