खानीखोला बन्यो स्थानीय भाषा ऐन पारित गर्ने नेपालमै प्रथम गाउँपालिका

खानीखोला बन्यो स्थानीय भाषा ऐन पारित गर्ने नेपालमै प्रथम गाउँपालिका
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका। २०७९ साल पुस २९ गते ।
खानीखोला गाउँपालिकाका शिक्षा अधिकृत विष्णुबहादुर अधिकारीका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको दुर क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाको ११ औँ अधिवेशन गाउँसभाले २०७९ पुस २९ गते खानीखोला भाषा ऐन-२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन-२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन-२०७९ पारित गर्दै सम्पन्न भएको छ। यसरी यो खानीखोला गाउँपालिका गाउँपालिकातर्फ नेपालमै पहिलोपल्ट स्थानीय भाषा ऐन पारित गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ। यसअघि नगरपालिकातर्फ नेपालमै स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरी नेपालमै पहिलो नगरपालिका बन्न सफल भएको थियो। जसमा नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा नेपालमै पहिलो पल्ट भाषा ऐन ल्याउने मेयर हुन सफल हुनुभएको थियो। त्यसैगरी खानीखोला गाउँपालिकाका युवा नेता तथा युवा अध्यक्ष इन्द्रबहादुर थिङ गाउँपालिकातर्फ पहिलो पटक स्थानीय भाषा ऐन ल्याउने पहिलो अध्यक्ष हुन सफल हुनु भएको छ ।
यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी सम्मानीय राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाई नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिस गरेको छ । गाउँपालिकाले पनि तामाङ मातृभाषा विषय पठनपाठन गर्न र स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय विषय पठनपाठन गर्नको लागि आ.व.२०७९।८० मा कार्यक्रम र बजेटको व्यवस्था गरेको छ। यस कार्यक्रममा तामाङ भाषा विषयको लागि नेपाल तामाङ घेदुङ र स्थानीय पाठ्यक्रम र विषय तयारीको लागि बहुभाषिक शिक्षा तथा सञ्चार प्रा.लि.काठमाडौँबाट प्रस्ताव समेत गरेको छ । यसरी यस गाउँपालिकाका नेतृत्वबाट भाषा, संस्कृति र शिक्षामा विशेष पहल र प्रयास गरी सामाजिक र सांस्कृतिक रूपान्तरका लागि योगदान पुर्‍याएको देखिन्छ ।

You might also like