मलेसिया, सिंगापुर र भारतीय विकासको सन्दर्भमा नेपाल

मलेसिया, सिंगापुर र भारतीय विकासको सन्दर्भमा नेपाल

                                            डा. लोकबहादुर लोप्चन

पृष्ठभूमि

सुखी र समृद्ध जीवन शायद हरेक मानव जिन्दगीको यात्राको गन्तव्य हुन सक्छ।त्यही सुखद जिन्दगीका लालसाले उसले यात्राक्रममा आइपरेका सुखदुखको उकाली र ओरालीलाई सहज र स्वभाविक ठान्ने गर्छ केवल सुखको पर्खाइमा र समृद्धि पाउने तृष्णामा। नेपाली सामाजिक, भौगोलिक, आर्थिक अवस्था तथा विकासको  यथार्थ यस्तो छ कि विकास, सुख र समृद्धि उसको लागि केवल सपना हो, यो मृत्युपछि प्राप्त हुने स्वर्गसरि छ जसरी नमरीकन स्वर्ग देखिन्न।कहर लाग्दा गरिबी, असमानता, विभेद, बञ्चितीकरण, सेवा सुविधाको अभाव, राज्यको कमजोर उपस्थिति जस्ता कारणहरुलाई दोष्याउन सकिन्छः नेपालका पिछडा क्षेत्र, गाउँ, वर्ग, समुदायको विकास नहुनुमा।राणा, राजा र प्रजातन्त्रस्थापनापछि पनि राजनीतिक अस्थिरता, विधिको शासन अभाव, भ्रष्टाचारमा निर्लिप्तता, व्यक्तिवादी सोच, कित्ताकाटे राजनीति, सुशासनको अभाव, नबिउँझिएको नागरिक समाज यसका मसिहा हुन सक्छन् ।तथापि परिवर्तित नेपाल अनि सङ्घीय शासन प्रणालीको कार्यान्वयन, स्थानीय तहको निर्वाचन, सिंहदरबारको गाउँगाउँसम्म स्थानान्तरण, सेवा वितरणको लागि वडागत सेवा केन्द्रको व्यवस्था र समग्र नेपालको सुख, शान्ति र समृद्धिको दुरदृष्टिका लागि जुट्न लागिरहेको विद्यमान अवस्थाको सापेक्षतामा लाग्छ, विकास अब टाढा छैन, सुख र समृद्धि सपनामा सीमित रहँदैन यो यथार्थमा बदलिन्छ तर यसको लागि प्रत्येक स्थानीय सरकार विकासका कारखानामा बदलिन सक्नुपर्छ, अनि प्रदेश र केन्द्रीय सरकारले विकासको रथ कुशलतापूर्वक हाँक्न सक्नुपर्छ तब मात्र अविकासको कर्णालीको बिम्बहरु रहने छैनन् उदाहरणका लागि राजधानी निकट जिल्ला काभ्रेको कर्णाली मानिएका डाँडापारिहरु विकासको मूलधारमा समाहित हुनेछन् । लाग्छ, यसपछि काभ्रे भन्ने बित्तिकै सुगम धुलिखेल, बनेपा र पनौती सम्झिँदा डाँडापारि र कोशीपारिहरु ओझेलमा पर्ने छैनन् । भनूँ स्वाथ्य उपचारको अभावमा कैयन् सुत्केरी र बिरामीहरु उपचारार्थ ल्याउँदाल्याउँदै बाटामा मर्ने छैनन् ।

हुनत विकासको निश्चित परिभाषा छैन,कसैले आर्थिक समृद्धिलाई विकासको रुपमा नअर्थ्याएका होइनन्, कसैले आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक लगायत समग्र पक्षको बढोत्तरी, उन्नति र परिवर्तनलाई विकास मानेका छन् । अमर्त्य सेनकाअनुसार विकास भनेको मानव सक्षमताको विकास हो । जबसम्म मानव क्षमताको विकास हुँदैन, तबसम्म भौतिक विकास भए पनि जस्तो सडक, बजार, सञ्चारलगायत आधुनिक सुविधाले भरिपूर्ण भए पनि त्यसले तात्विक अर्थमा विकास भएको मानिन्न । यसैको उदाहरणको रुपमा लिन सकिन्छ, पूर्व पश्चिम राजमार्गका सडक आसपासका बस्तीलाई सडक, बजार, सेवा सुविधाले जोडेको वषौँ भइसकेकै हो तथापि मानिसको जीवनस्तर, सोच, शैलीमा खासै परिवर्तन भएको पाइन्न । यसको अर्थ हो विकास भनेको मानिसद्वारा गरिने मानिसकै लागि मानिसको विकास  हो ।यस अर्थमा भनिन्छ जति मानिसको क्षमता विकास हुन्छ त्यति नै विकास सार्थक हुन्छ । यसका लागि सर्वप्रथम मानिसलाई शिक्षा, ज्ञान, सीप, क्षमता, सिर्जनशीलता, इमानदारिता र सदाचारिताका साथै राष्ट्रसेवा, समाज र मानिसप्रतिको सम्मान, त्याग, समर्पण र सफलताका लागि संघषशील सोच मात्र हैन  इमानदा र व्यवहारको खाँचो पर्दछ ।

विकासको अन्तराष्ट्रिय अभ्यास

विश्वमा भारत, मलेसिया र सिंगापुरको विकासलाई मोडलको रुपमा लिन सकिन्छ । यी सबै देशहरु उपनिवेशलाई पार गर्दै ५०/ ६० वर्षको अन्तरमा देश काँचुली फेर्न सक्षम भएका छन् । आजभन्दा ५० वर्ष अगाडि हाम्रैजस्तो अर्थतन्त्र भएको यी देशहरु भारतकै उदाहरण लिने भने विश्वको पाँचौ शक्तिशाली देशमा रुपान्तरण भएको छ भने मलेसिया र सिंगापुरले विश्वको विकसित देशका रुपमा गनिएको अवस्था छ। सिंगापुर जस्तो बनाउने भनेर नेपाली राजनेताहरुले बेलाबखत भन्ने गरेको सुनिन्छ पनि अनि मलेसिया त हाम्रो वैदेशिक रोजगारी प्रमुख गन्तव्यस्थल नै बनेको छ। यी देशहरुमा विकास कसरी भए, विकासको चमत्मकारिक फड्को कसरी मार्न सके ? त्यसमा नेता, जनता, प्रशासन कुन पक्षको केकस्तो भूमिका रह्यो त्यसको सिकाइबाट समग्र नेपाल, प्रदेश र स्थानीय तह जस्तो पिछडिएका क्षेत्रहरूको विकासका लागि आधार बन्न सक्छ ।

मलेसियाको विकासको मोडललाई महाथीर विकास मोडल भनिन्छ । किनभने मलेसियाका राजनेता महाथीरले विकासको सपनालाई साकार पारेर वर्तमान समृद्ध मलेसियामा रुपान्तरण गर्न सफल भए । उनले मलेसियाको विकासको लागि भिजन २०२० लागू गरे, औद्योगिक देशमा रुपान्तर गरे । अहिले यहाँको वार्षिक आर्थिक वृद्धिदर ६.५ छ भने यो विश्वको सत्रौँ औद्यागिक राष्ट्र बन्न पुगेको छ । यसको लागि मलेसियाली विकासका नायक वा सारथी महाथीरले दुई पक्षमा रुपान्तरण गरे जसमा पहिलो सरकारको शासकीय पक्षको रुपान्तरण  र दोस्रो आर्थिक रुपान्तरण कार्यक्रम हो । उनको प्राथमिकताका कार्यक्रमहरुमा क) अर्थतन्त्रलाई केन्द्रविन्दुमा राखे कृषि र उद्योगको व्यापक विस्तार गरे । ख) औद्योगीकरण र बाह्य लगानीमा जोड दिए । ग) शिक्षामा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरे भने विश्वविद्यालय शिक्षालाई रोजगारमूलक बनाए । घ) तेस्रो  प्रशासनिक क्षेत्रको सुधार गरे, सुशासन स्थापना गरी जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सफल भए । ङ) पूर्वाधार विकासमा  व्यापक लगानी गरे जसमा बन्दगाह, सडक पूर्वाधार, विमानस्थल निर्माण गर्न पुगे । च) आर्थिक योजनाहरु ५ वर्षे, १० र ३० वर्ष लागू गरे भने स्रोतहरुको समानुपातिक वितरण गरेर सबै समुदायका जनतामा समन्याय कायम गरे ।

सिंगापुर आधुनिक विश्वको विकासको सपनाको देश हो भन्दा फरक पर्दैन । यहाँको  विकासका नायक हुन् यसका राजनेता एवम् प्रशासक ली क्वान यू। उनको विकासको मोडललाई ली क्वान विकास मोडल भन्ने गरिएको पाइन्छ। सन् १९५० सम्म सिंगापुर एउटा गरीब चुत्थो मुलुक थियो तर अहिले प्रतिव्यक्ति आय ३२ हजार अमेरिकी डलरभन्दा बढी छ। यसका लागि ली क्वानले देशको शासकीय ढाँचामा आमूल परिवर्तन गरे, बलियो सङ्गठन संरचना निर्माण गरी त्यसमार्फत विकास रणनीतिलाई कार्यान्वयन गर्न सफल भए । तसर्थ सिंगापुरको विकास मोडललाई सुशासनको मोडल पनि भन्ने गरिन्छ। सिंगापुरको विकासको सूत्र वा रहस्य भने ४ वटा देखिन्छन् ।पहिलो, सुशासन  भ्रष्टाचार रहित प्रशासनको कार्यान्वयन हो भने दोस्रो, निर्यातमूलक उद्योग स्थापना गरी विदेशी बजारको रुपमा स्थापित हुनु । त्यसैगरी तेस्रो पूर्वाधारमा व्यापक लगानी गरे, सडक, विद्युत, हवाइमार्ग लगायत अन्य आधुनिक पूर्वाधारको अभूतपूर्व विकास तथा विस्तार गर्न पुगे,   जसमा छरिएको वस्तीलाई एकीकृत वस्तीमा रुपान्तरण गरे। साथै आप्रवासीको व्यवस्थापन गरी सबैलाई राष्ट्रनिर्माणमा समर्पित गर्न सफल भए फलस्वरुप सिंगापुर हिजाको  गरिब मुलुकबाट  सपनाको देश, सपनाको सहर र अनि विश्वको ऐहसान बन्न पुग्यो ।

छिमेकी राष्ट्र भारत र वर्तमान विश्वका चर्चित नेता नरेन्द्र मोदीको यो सफलताका पछाडि उनी गुजरातको मुख्यमन्त्री हुँदा अपनाएको आर्थिक र विकासको मोडल नै हो । उनले गुजरातमा अपनाएको विकास मोडललाई गुजरात विकास मोडल भनिन्छ यति मात्र होइन यसलाई विकासको मोदी मन्त्र भन्ने गरिएको पाइन्छ। उनले गुजरातको विकासको लागि  एक तिहाइ कृषि, एक तिहाइ उद्योग र एक तिहाइ सेवा नारा अगाडि सारेर विकासको रथलाई कुशलतापूर्वक हाँक्न सफल भए । उनले कृषि क्षेत्रको विकासका साथै पशुपालनलाई साथसाथै अगाडि बढाए भने खण्डहर गुजरालमा पानीको सङ्कलनको माध्यमबाट मरुभूमिलाई स्वर्णभूमिमा परिणत गरे यसका लागि उनले प्रयोगशालादेखि खेतसम्म ज्ञानको हस्तान्तरण नीति लिएर कृषि विज्ञको प्राविधिक सेवा खेतखेतमा पुर्‍याए । त्यहाँ खेतखेतमा कृषक हैन कृषि प्राविधिक पुग्छन् भने दूधमा श्वेत क्रान्ति नै गराए । उनी शिक्षित जनशक्ति उत्पादनमा जोड दिन्छन्, फलस्वरुप उनको पालामा ११ विश्वविद्यालयबाट ४६ विद्यालय स्थापना हुन पुग्यो । उनको विकासको अर्को मन्त्र भनेको औद्योगिक विकास हो, यसमा उनले विदेशी लगानी भित्र्याए जसमा उनले मेक इन इन्डियाको नारा अगाडि सारेर विदेशी लगानी आकर्षित गरेका छन्। यसरी राजनेताको भिजन, जनताको त्याग समर्पण र अन्तराष्ट्रिय साझेदारीबाट उल्लेखित देशहरु विकासको शिखर चुम्न सफल भएका छन् भने यो सफताको कथा नेपालको लागि मार्गनिर्देश वा सिकाइ बन्न सक्छ ।

नेपालको विकास यात्राः

नेपालको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पहिचान विविधतापूर्ण, सुन्दर प्राकृतिक छटा र अङ्ग्रेजलाई पराजित गर्ने वीरतापूर्ण ऐतिहासिक विरासत हाम्रो गर्वको निशानी हो। तर पनि अति कम विकसित देशको परिचय हाम्रो अभिशाप हुन पुगेको छ। देशका केही क्षेत्रको विकासले समग्र देशको विकास हुँदो रहेनछ । पिछडिएका क्षेत्रहरू अविकासको, असुविधाको, पिछडिएको क्षेत्रको अनि ओझेलमा परेको एउटा बस्तीको कारुणिक र दारुण अवस्थाको, नियतिको अनि बाध्यताको । यस्ता कैयन् पिछडिएका क्षेत्र, गाउँ र बस्ती र पीडित जनताहरु नेपालभरि छरिएका छन् तिनको एउटा सपना भनेको विकास, सुखी र समृद्धि जीवन हो भन्ने कुनै दुविधा छैन ।

तसर्थ ती क्षेत्रहरुको विकासका लागि गाउँको सरकार वा स्थानीय सरकारले विकासको अभियान सञ्चालन गर्नैपर्छ । यसका लागि कृषि, पशुपालन र उद्योग व्यवसायलाई सँगसँगै नलगी धरै छैन । मौजुदा प्राकृतिक स्रोत जल, बालुवा, ढुंगा, जडीबुटी, कफी खेती,  पर्यटनलाई औद्योगीकरण गर्नुको विकल्प छैन । साना मझौला उद्योग स्थापना तिनै प्राकृतिक स्रोतमा आधारित भएर सन्चालन गर्न सकिन्छ । कृषिलाई हरित उद्योग र पशुपालनलाई श्वेत उद्योगमा बदल्न सकिन्छ। तर अहिले श्रम तथा बुद्धिको गाउँबाट सहर, सहरबाट विदेश पलायन हुनेको लर्को छ, गाउँ बूढाबूढी र अशक्तको आश्रममा बदलिँदैछ ।गाउँको कृषि, पशुपालन, अन्य स्रोत परिचालनमा जनशक्तिको खाँचो पर्दैछ । यसले दीर्घकालमा विकासलाई पछाडि धकेल्ने सङ्केत गरिरहेको छ।  यसबाट पाठ सिकेर संघ, राज्य र स्थानीय सरकारले तत्काल स्थानीय तहमा स्थानीय स्रोतसाधनमा आधारित रोजगारको सिर्जना गर्न सक्नुपर्छ, कृषिमा आधुनिकता, विविधता अनि गाउँमुखी उद्योगव्यवसाय, बजारको विस्तार, शिक्षाको प्राविधीकरण, पूर्वाधारको निर्माण गर्नुपर्ने देखिएको छ । तर विकास भन्नाले भौतिक पूर्वाधारलाई देख्ने गरिन्छ । मुख्य कुरा मानिसको सक्षमता र सिर्जनशीलताको विकास हो । यसका लागि पिछडिएका क्षेत्रमा शिक्षा, तालिम, अध्ययन,  काममा संलग्नता आदिबाट हरेक मानिसको क्षमताका साथसाथै गाउँ निर्माणको सिर्जनशील, मौलिक, इमानदार सोचको विकास र व्यवहारमा रुपान्तरण हुनै पर्दछ। यो दायित्व मात्र नभई त्यस क्षेत्रका हरेक नागरिकको कर्तव्य हो भने नेता, प्रशासन, नागरिक समाज, शिक्षित पठित, सचेतहरुको त अनिवार्य दायित्व तथा जिम्मेवारी मात्र नभई धर्म, कर्म सबैथोक हो ।

 निष्कर्ष    

कहाँनेर दुखेको छ भन्ने कुरा दुख्नेलाई मात्र थाहा हुन्छ भन्ने डा. भीमराव अम्बेदकरको भनाइबाट के प्रष्ट हुन्छ भने अविकासको पीडा उसलाई थाहा हुन्छ जसले त्यसको दुःख, पीडा र मार खेप्नु परेको छ। पिछडिएको क्षेत्रको विकासका लागि अब स्थानीय सरकार ती क्षेत्रमा रहेकाले त्यसका नेतृत्वले विकासको अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ भने हाम्रा स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरु महाथीर, ली क्वान यू र मोदीको अवतारमा रुपान्तरण हुन जरुरी छ भनाइको मतलब विकासको अन्तराष्ट्रिय मोडल सिक्दै स्थानीय, मौलिक र विकासको अर्गानिक मोडल अपनाउनुपर्ने देखिन्छ। यसका लागि जनताको साथ, सङ्घ र प्रदेश राज्यको सहयोग त्यतिनै आवश्यक छ किनकि स्थानीय सरकारमा क्षमता विकास, अनुभवको अभाव खड्किएको हुन सक्छ त्यसमा केन्द्र र प्रदेशले क्षमता विकास, स्रोतसाधनमा सहकार्य गर्न सक्छ तर स्थानीय तह अब पनि  केन्द्र र प्रदेशको मुख ताक्ने र स्थानीय स्रोत परिचालनबाट भाग्ने गरेमा विकास हाम्रा लागि छेपारोको कथा सिवाय केही हुने छैन।तसर्थ मुलुकको कर्मचारी, अभियन्ताहरु सुशासनका संवाहकमा बदलिन  सक्नुपर्छ भने जनता विकासका कालिगढीमा रुपान्तरित हुनै पर्दछ र विकासको पहरेदार तथा खबरदारी गर्न नागरिक समाज जाग्नुपर्छ ।अतः हामी सबै समाज र राष्ट्रनिर्माणको मुलुको विकासको दिगो अभियानमा आआफ्नो ठाउँबाट लाग्नुपर्ने देखिन्छ ।

 

 

 

 

 

 

You might also like