खानीखोला गापामा तामाङ भाषा विषय पठनपाठन हुँदै

खानीखोला गापामा तामाङ भाषा विषय पठनपाठन हुँदै

काभ्रेपलाञ्चोक, २०७९।१२।०४ गते ।

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकमा नेपाल तामाङ घेदुङ केन्द्रीय समितिको समन्वय र तामाङ घेदुङ जिल्ला कार्य समिति काभ्रेको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनामा स्थानीय भाषा नीति निर्माण तथा तामाङ भाषा विषय पठनपाठनका लागि ५ दिने कार्यशालाको उद्घाटन भयो । यस कार्यक्रमको अध्यक्षता तामाङ घेदुङ काभ्रेका अध्यक्ष श्री राजकुमार ब्लोनले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष श्री इन्द्रबहादुर थिङ, विशेष अथिति नेपाल तामाङ घेदुङ सङ्घीय परिषदका महासचिव श्री काजीमान थिङ, शिक्षाविद् श्री विद्यानाथ कोइराला, डा.लोकबहादुर लोप्चन  हुनुहुन्थ्यो ।साथै तामाङ भाषा लिपि प्रशिक्षक श्री प्रतीक ङेसुर तामाङ र श्री लीलाबहादुर स्याङतान रहनु भएको ‍थियो ।

यस कार्यक्रमको औचित्य र महत्वका विषयमा गाउँपालिका शिक्षा अधिकृत श्री विष्णुबहादुर अधिकारीले मन्तव्य राख्नुभएको थियो । तत्पश्चात उपाध्यक्ष श्री दोर्जेमान जिम्माले गाउँपालिकाले सबैको समन्वय र सहकार्यमा स्थानीय विषय र मातृभाषा विषय शिक्षाको थालनी गरेको बताउनुभयो । त्यसपछि स्थानीय भाषा नीति, ऐनका विषयमा भाषाविद् डा.लोकबहादुर लोप्चनले खानीखोला गाउँपालिकाले पारित गरेको स्थानीय भाषा नीति २०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन, २०७९, खानीखोला भाषिक तथा स्थानीय सङ्ग्रहालय ऐन। २०७९, सरकारी कामकाजमा मातृभाषाको प्रयोग कार्यविधि २०७९, स्थानीय भाषा ऐन, २०७९ लाई प्रस्तुत गरी संविधानको अनुसूची ८ को बुँदा २२ मा भाषा संरक्षण, संवर्धन र विकास गर्ने दायित्व स्थानीय तहको रहेको विषयमा प्रस्ट पार्नुभयो। प्रस्तुतिकै सिलसिलामा नेपाल तामाङ घेदुङका महासचिव श्री काजीमान थिङले तामाङ घेदुङबाट गरिएका भाषिक, साँस्कृतिक पहलका साथै स्थानीय तहहरूमा तामाङ मातृभाषा विषय पठनपाठनका लागि हालसम्म ९ वटा स्थानीय तहहरूसँग समन्वय गरेका प्रस्तुत गर्नुभयो ।

त्यसैगरी तामाङ भाषा विषयका पाठ्यपुस्तक लेखक एवम् तामहीक लिपि प्रशिक्षक श्री प्रतीक ङेसुर तामाङले पनि हालसम्म नेपाल तामाङ घेदुङको पहलमा ९ वटा भन्दा बढी स्थानीय तहहरूमा तामाङ भाषा विषय पठनपाठनको पहल गरिए पनि रोशी गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, कोन्ज्योसोम गाउँपालिकामा मात्र सुचारू रहेको कुरा आफूहरूले गरेको अनुगमनबाट पहिचान भएको उल्लेख गर्नुभयो । त्यसै गरी बाँकी स्थानीय तहमा पाठ्यपुस्तक छापेर पठनपाठन सुरू हुन नसकेको चर्चा गर्नुभयो ।

कार्यक्रमको प्रमुख अथिति इन्द्रबहादुर थिङ छिन्ताङले आफूहरूले भौतिक पूर्वाधार विकासका साथै जनताको चेतना र सभ्यता विकासमा प्राथमिकता दिएको बताउँनुभयो । उहाँले खानीखोला गाउँपालिकाले आ.व.२०७९।८० मा स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकास, तामाङ मातृभाषा विषय पठनपाठन र गाउँ शिक्षा सम्मेलन गरेर शिक्षा तथा सामाजिक क्षेत्रमा विशेष पहल गरेको बताउनुभयो । कार्यक्रमको अन्तमा नेपाल तामाङ घेदुङ जिल्ला कार्य समितिका अध्यक्ष राजकुमार ब्लोनले तामाङ घेदुङको पहलमा यस स्थानीय तहमा तामाङ भाषा विषयको पठनपाठनको यो कार्यशाला महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक र विव्यस पदाधिकारिका साथै स्थानीय राजनीतिक दलका प्रतिनिधि एवम गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

You might also like