थाहा नगरपालिका मकवानपुरमा शैक्षिक सत्र २०८० बाट तामाङ भाषा विषय पठनपाठन हुने

 

 

थाहा नगरपालिका मकवानपुरमा शैक्षिक सत्र २०८० बाट तामाङ भाषा विषय पठनपाठन हुने

मकवानपुर, थाहा नगरपालिका । २०८० साल बैशाख १९ गते।

नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयोजन, नेपाल तामाङ घेदुङ सङ्घीय समिति तथा भाषा आयोग नेपालको सहकार्यमा मकवानपुर जिल्लाको थाहा नगरपालिकामा स्थानीय भाषा नीति निर्माण र तामाङ मातृभाषा शिक्षा विषयक पहिलो दिनको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८० साल बैशाख १९-२३ गतेसम्म ५ दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरपालिकामा मेयर श्री विष्णुबहादुर विष्टबाट पानसमा बत्ती बालेर गरिएको थियो। नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष श्री लीलाबहादुर घलान को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले, मातृभाषा शिक्षा विज्ञ डा.लोकबहादुर लोप्चन र नेपाल तामाङ घेदुङका केन्द्रीय महासचिव श्री काजीमान थिङ तामाङले स्थानीय भाषा नीति, मातृभाषा शिक्षा, तामाङ विषय शिक्षा, शैक्षिक गुणस्तर एवम् भाषा र सिकाइको सम्बन्धका विषयमा विचार अभिव्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा  नगर प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि श्री विष्णुबहादुर विष्टले नेपाल बहुभाषिक देश भएको र यस नगरपालिकामा तामाङ जातिको ४७ प्रतिशत बसोबास भएको सङघीयता र बहुभाषिकताको मर्मअनुसार नै तामाङ मातृभाषा शिक्षाको लागि कार्यक्रम र बजेट नगर अधिवेशनबाट विनियोजन गरी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै उनले शिक्षा क्षेत्रको सुधारका लागि विज्ञहरूको उपस्थितिमा कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा तामाङ भाषा विषयका पाठ्यपुस्तक लेखकहरू श्री प्रतीक तामाङ र श्री लीलाबहादुर स्याङतानले ४ दिनसम्म लिपि प्रशिक्षण तथा पाठ्यपुस्तक लेखन कार्यमा सहजीकरण गर्ने कार्य तालिका रहेको बताइएको छ। यस कार्यक्रममा थाहा नगर घेदुङका अध्यक्षबाट स्वागत र बागमती प्रदेश तामाङ घेदुङका सचिवबाट कार्यक्र सञ्चालन गरिएको थियो। कार्यक्रमको अन्तमा नेपाल तामाङ घेदुङ बामगती प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका सभापति लीलाबहादुर घलानले नगरका प्रमुख सहित पदाधिकारी, कर्मचारी, अतिथि र सहभागीलाई धन्यवाद दिँदै तामाङ मातृभाषा शिक्षाका लागि थाहा नगरपालिका मकवानपुर जिल्लाकै पहिलो स्थानीय तह हुन सकेकोमा आभार व्यक्त गर्नुभयो ।

 

 

You might also like