राप्ती नपा चितवनमा गुणस्तरीय शिक्षा तथा मातृभाषा शिक्षा विषयकअन्तर्क्रिया कार्यक्रम सम्पन्न

राप्ती नपा चितवनमा गुणस्तरीय शिक्षा तथा मातृभाषा शिक्षा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चितवन राप्ती नगरपालिका । २०८० साल जेठ १२ गते शुक्रबार ।

राप्ती नगरपालिकाको आयोजना र आदिवासी जनजाति हक अधिकार संरक्षण समिति राप्तीको सहकार्यमा मिति २०८० जेठ १२ गते शुक्रबारका दिन गुणस्तरीय शिक्षा तथा स्थानीय भाषा ऐन विषयक १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नगरपालिका उपप्रमुख एवम् आदिवासी जनजाति हक अधिकार संरक्षण समितिका संयोजक श्री देवेन्द्र लामा (लोप्चन) अध्यक्षमा सञ्चालित उद्घाटन सत्रमा कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य वडाध्यक्ष सीताराम बल तामाङले राख्नु भएको थियो । उहाँले यस नगरपालिकामा ११ जातजातिको बसोबास रहेको र ११ वटा भाषाहरू बोलिने गरेको कुरा व्यक्त गर्दै भाषिक विविधताको सम्बोधन गरीम  बहुभाषिक नेपालको धारणालाई कार्यान्वयन गर्न नगरपालिकाले यो पहल गरेको विचार अभिव्यक्त गर्नुभयो ।

त्यसपछि वडाध्यक्ष सुनिता डल्लाकोटीले यस नगरपालिकामा जनजातिको उल्लेख्य बसोबास रहेको हुँदा ती जातजातिको भाषा, संस्कृतिको विकासका लागि नगरपालिका प्रतिबद्ध रहे पनि भाषालाई शिक्षाको गुणस्तर र विषयका रूपमा के कसरी लगाउने हो सो बारेमा विज्ञहरूबाट सही मार्गदर्शन र सहजीकरण भएमा नगरपालिकाले कार्यान्वयनमा लान सकिने बताउनुभयो । त्यसैगरी नगरपालिका पूर्व उपप्रमुख डा.इमानसिं लामाले आफ्नो कार्यकालमा पनि गुणस्तरीय शिक्षा र मातृभाषा शिक्षा कार्यान्वयनको पहल गरिए तापनि कार्यान्वयन गर्न नसकिएको बताउनुभयो । यस पटक भने नेपाल तामाङ घेदुङ र आदिवासी हक हित संरक्षण समिति राप्तीको समेत सहकार्यमा नगरपालिकाले कार्यान्वयनमा लैजान भाषा ऐन पारित गरी नगरपालिकाको आगामी नीति, कार्यक्रम र बजेट २०८०।८१ मा समावेश गरी कार्य रूप दिन सुझाउनु भयो ।

कार्यक्रममा नगर उपप्रमुखबाट नगरपालिकाको आयोजना र आदिवासी जनजाति हक हित संरक्षण समितिको सहकार्यकमा सञ्चालित यस कार्यक्रममा उपस्थित नगरपालिकाका पदाधिकारी, प्रधानाध्यापक, भाषिक सङ्घसंस्थाको प्रतिनिधिको सामूहिक पहलमा आगामी वर्ष मातृभाषा शिक्षा माध्यम र विषयका रूपमा लागु हुन विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि एवम् नगर प्रमुख शमशेर लामाले यस नगरपालिकाको सामुदायिक विद्यालय शिक्षामा सुधार गरेर विशिष्टता ल्याउने प्रयासस्वरूप यो कार्यक्रम मार्गदर्शक बन्न अपेक्षा गरेको बताउनु भयो । भूगोलका दृष्टिमा विविधता मात्र नभई चेपाङ लगायत तामाङहरूलाई नेपाली बोल्न कठिन रहेको हुँदा सिकाइमा भाषिक कठिनाई हटाउनको लागि नगरपालिकाले मातृभाषा शिक्षा कार्यक्रम लागू गर्न खोजिएको प्रस्ट पार्नु भयो । उहाँले आगामी आर्थिक वर्षमा स्थानीय भाषा ऐन पारित गर्नुका साथै सबै विद्यालयहरूमा स्थानीय विषय र तामाङ भाषा विषय लागू गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमको प्रशिक्षण सत्रमा मातृभाषा शिक्षाविद् डा.लोकबहादुर लोप्चनले गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रको नतिजामूलक व्यवस्थापन, उच्च सिकाइ उपलब्धि, प्रतिभा पहिचानसहित व्यक्तिको सक्षमता र नैतिका दुवै विकास गर्ने विषयमा प्रस्तुति गर्नुभयो ।साथै उहाँले भाषा ऐन, कानुन र शिक्षा सुधारका लागि नीतिगत र कार्यगत प्रबन्धका विषयमा सहजीकरण गर्नुभयो ।त्यसपछि नेपाल तामाङ घेदुङका केन्द्री महासचिव काजीमान थिङ तामाङले पहिचान, प्रतिनिधित्व र जातीय उत्थानका लागि सम्बन्धित नगरपालिकाहरूलाई संविधान, कानुनले जिम्मेवारी प्रदान गरेकोमा उक्त उत्तरदायित्व पूरा गर्न नेपाल तामाङ घेदुङले हालसम्म १३ वटा स्थानीय तहमा तामाङ भाषा विषय र स्थानीय पाठ्यक्रमको कार्यान्वयनमा पहल गरी व्यवहारमा लागू गर्न सक्षम भएको बताउनु भयो ।

अन्तिम प्रस्तुति गर्ने क्रममा भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थीले गुणस्तरीय शिक्षामा स्केन्डेभियनका देशहरू शिक्षकलाई प्राथमिकता दिई खुल्ला पाठ्यक्रममार्फत शिक्षणसिकाइ गरी विश्वमै उच्च सिकाइ हासिल गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नुभयो । साथै उहाँले भाषा विकासको जग वा आधार हरेक जातिको मातृभाषा भएको र सोही जगमा नेपाली र अङ्ग्रेजीलगायताका भाषाहरू सिक्न सकिने बताउनुभयो । अझ उहाँले सिकाएको ढोका भनेकै मातृभाषा भएको हुनाले मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षण गर्नु नै शिक्षामा गुणस्तर सुनिश्चित गर्ने सर्वोत्तम उपाय भएकोले सोहीअनुसार विद्यालयमा शिक्षणसिकाइ गर्नुपर्ने बताउनुभयो ।

 

 

You might also like