पहिलो भाषिक यात्राः ब्याँसी जाति र भाषा
(स्थलगत रिपोर्ट)
डा.लोकबहादुर लोप्चन
दोलखा जिल्लाको जिल्ला शिक्षा अधिकारीबाट आफ्नै गृह जिल्ला काभ्रेपलाञ्चोकको जिल्ला शिक्षा अधिकारी हुने उत्कट चाहनाले तत्कालीन शिक्षा मन्त्रीलाई जिल्लाका सम्बद्ध पार्टीका नेतामार्फत भेटघाट गरी भनसुनका साथ अनुरोध गरिएकै थियो।तर गायिका तारादेवीको गाना सोचेजस्तो हुन्न जीवन…सावित भयो।मेरो सरूवा क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडा भएको थियो जबकि म डेढ वर्ष क्षे.शि.नि.मध्यमाञ्चल सानोठिमीमा यस पूर्व कार्यरत भइसकेको थिएँ।एउटै कार्यालयमा पुनः सरूवा भई जान मनले मानिरहेको थिएन, नयाँ जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछावाले गाडी मगाई सकेको थियो । म दोधारमा थिएँ, के गरौँ कसो गरौँ तर अन्तमा निष्कर्षमा पुँगेः नयाँ जिल्ला शिक्षा अधिकारी जो मसँग सहायक जिल्ला शिक्षा अधिकारी हुनुहुन्थ्यो १ वर्षअघि । मैले उहाँसँगै गएर स्वागत पनि गर्ने र त्यहाँबाट विदा लिने निर्णय एकसाथ गरेँ ।
दोलखा जाँदै गर्दा म हेटौँडा नगई काठमाडौँ बस्न चाहेको कुरा सुनाएपछि नव जिशिअ नारायणकाजी कासिछावा सरले भाषा आयोगमा डा.अवस्थी नियुक्ति भइसकेको र त्यहाँ अवस्थी सरलाई भनेर कामकाजमा रहन सक्ने बताउनुभयो । तत्काल कल गरी आफू भाषा विषयमा नै पिएचडी विद्यार्थी रहेको र आउन चाहेको कुरा अवस्थी सरलाई सुनाएँ, उहाँले हार्दिकताकासाथ आउनु भन्नु भयो । तर दोलखाबाट विदाइ भएर आए पनि कहाँ जाने, के गर्ने ? भेटघाटमा छलफल भयो । तत्कालीन अनौपचारिक शिक्षा केन्द्रमा अलि बढी जोड दिएर लागी परियो पनि । तर कुनै पनि निर्णय नभएको हुँदा भाषा आयोग रोजियो । त्यसपछि सुरू भयो, संस्कृति मन्त्रालयमा हाजिरी गरी मन्त्रालयकै हलमा बस्ने । हामी थियौः उपसचिव गणेशप्रसाद भट्टराई, लोकबहादुर लोप्चन, महेश पौडेल । पछि थपिनु भयोः गणेशप्रसाद सर र अन्य साथीहरू ।
केही समयपछि शङखमूलमा भाषा आयोगको कार्यालय भाडामा लिइयो । त्यसपछि सुरू भयोः सङगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य । तदर्थ रूपमा एकल अध्यक्ष डा.लवदेव अवस्थीज्यू र उपसचिवसहितको निर्णय गराइएको कार्यविधिअनुसार भाषा आयोग सञ्चालन हुँदै गयो । करिब १ वर्ष यी र यस्तै संस्था स्थापनाको कार्य गर्दै बित्यो । केही समयपछि उपसचिव झुमप्रसाद राई, जयप्रसाद लम्साल र अन्य कर्मचारीहरू थपिए। अध्यक्षज्यू पूर्वसचिव समेत भएकोले कार्यालयमा विस्तारै भेटघाट, छलफल र सांगठनिक गतिविधि बढ्न थाल्यो । आ.व.२०७४।७५ को कार्यक्रम तथा बजेट प्राप्त हुनुअघि केही सञ्चालन खर्च संस्कृति मन्त्रालयबाट भाषा आयोगलाई उपलब्ध भएको थियो ।जसमध्ये केही रकम भाषिक अध्ययन र अनुगमनमा खर्च गर्न सकिने थियो ।त्यतिबेलासम्म मलाई मातृभाषा शिक्षा शाखा प्रमुखको जिम्मेवारी प्राप्त भई सकेको थियो भने शाखाको तर्फबाट केही कार्यक्रम गर्न सकिने जानकारी मिल्यो ।
हुनतः मानिस त्यो प्राणी हो, जसमा जति उदार मन, सोच भए पनि स्वार्थ वा मनोकाङ्क्षा सँगसँगै जोडिन पुग्छ नै । १६ वर्ष शिक्षण पेसामा रहँदा कतै पनि देशदर्शन गर्न नपाएको मजस्तो व्यक्तिलाई नेपालको पश्चिम भूगोल त्यसमा सुदूर पश्चिम क्षेत्रको भाषिक अध्ययन गर्ने र देश दर्शन गर्ने चाहनाले बन्न पुग्यो- दार्चुलामा ब्याँसी समुदायसँग उक्त भाषामा छलफल गर्ने कार्यक्रम । अनि लाग्यौः तत्कालीन निमित्त सचिव गणेश भट्टराई, म र केशवप्रसाद रेग्मी पश्चिमको दार्चुलाको खलङ्गामा ब्यासी जाति र भाषासम्बन्धी छलफल गर्ने । मिति २०७३।११। ४ गतेका दिन हामी दार्चुलाको सदरमुकाम खलङगामा ब्यासी समुदायसँग ब्यासी भाषासम्बन्धी अन्तर्क्रिया गर्यौँ जुन मेरा लागि र भाषा आयोगको पहिलो औपचारिक भाषिक कार्यक्रम थियो ।कार्यक्रमको स्थलगत प्रतिवेदन तल प्रस्तुत छः
विषय सन्दर्भः
भाषा आयोगका प्रतिनिधिको उपस्थितिमा सुदूर पश्चिमका दार्चुला जिल्लाका ब्यासी समुदायको भाषिक अभियन्ताहरू, ब्यासी समाजका भाषिक वक्ता तथा ब्यासी समाज दार्चुलाका पदाधिकारीहरुलगायत ब्यासी समुदायका शिक्षकसहित जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुसँग एक अन्तर्क्रिया कार्यक्रम गरियो ।ब्यासी समुदायको सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थाको बारेमा भाषा आयोगको स्थापना, भूमिका र समुदायको भाषिक दृष्टिकोणका बारेमा भाषा आयोगका सदस्य सचिव श्री गणेशप्रसाद भट्टराईको नेतृत्वमा स्थलगत अध्ययन अनुगमन गर्ने सिलसिलामा अन्तरक्रिया तथा छलफल कार्य गरियो ।
भ्रमणको उद्देश्य, स्थान, समय र भ्रमण टोली
ब्यासी समुदायको ऐतिहासिक उत्पत्ति, सामाजिक सांस्कृतिक, आर्थिक तथा भाषिक अवस्थाका पहिचान गरी संरक्षण तथा संवद्र्धनका उपाय पहिचान गर्ने साथै ब्यासी भाषामा शिक्षाको लागि ब्यासी भाषाको स्तर पहिचान गरी सो भाषामा शिक्षाका लागि प्रोत्साहन गर्ने रहेको थियो । यो अध्ययन भ्रमण मिति २०७३।११। ३ देखि २०७३।११।९ गते सम्म भए पनि मिति २०७३।११।४ गतेका दिन दार्चुला जिल्ला खलङ्गास्थित जिल्ला शिक्षा कार्यालयको सभा हलमा ब्याँसी समुदायसँग भाषासम्बन्धी छलफल गरिएको थियो ।भ्रमण दलका सदस्यहरूमा मणमा संलग्न सदस्यहरूमा भाषा आयोगका उपसचिव गणेशप्रसाद भट्टराई, उपसचिव, लोकबहादुर लोप्चन र लेखापाल केशवप्रसाद रेग्मी रहेका थिए ।
ब्यासी समुदायका अगुवाहरूसँग अन्तर्क्रिया (मिति २०७३।११।४ गते)
ब्यासी समुदायसँग दार्चुला सदरमुकामस्थित जिल्ला शिक्षा कार्यालयको हलमा मिति २०७३ साल चैत ४ गतेका दिन ब्यासी समुदायका अगुवा, ब्यासी समाज दार्चुलाका पदाधिकारी, ब्यासी समुदायका अभिभावक, शिक्षक तथा जिल्ला शिक्षा कार्यालयका पदाधिकारीहरुको उपस्थितिमा भाषा आयोगको आयोजनामा एक अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरियो ।
कार्यक्रमको अध्यक्षता ब्यासी समाजको दार्चुलाका श्री धीरेन्द्र बूढाथोको अध्यक्षतामा सञ्चालित कार्यक्रममा भाषा आयोगका सदस्य सचिव गणेशप्रसाद भट्टराईबाट भाषा आयोगका स्थापना, औचित्य, कार्यक्रम, वर्तमान गतिविधि तथा भावी कार्यक्रमका बारेमा जानकारी दिने कार्य भयो । त्यसैगरी कार्यक्रममा सहजकर्ता भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनबाट ब्यासी जातिको ऐतिहासिक उत्पत्ति, विकास, सामाजिक तथा सांस्कृतिक अवस्था, भाषिक प्रयोग अवस्था, शैक्षिक स्थिति तथा ब्यासी भाषाको संरक्षण तथा संवर्धनका लागि समस्या तथा समाधानका विषयमा खुला छलफल सञ्चालन गरी सहभागीहरुबाट विचार, राय तथा सुझाव सङ्कलन गर्ने कार्य गरियो ।
ब्यासी समुदाय, दार्चुलामा गरिएको छलफलका मुख्य विषयहरुः
- व्यासी जातिको ऐतिहासिक उत्पत्ति तथा बसोबासस्थलः
ब्यास जातिको उत्पत्तिका बारेमा ब्यास समुदायको अगुवा तथा अभियन्ताहरुको फरक फरक मत पाइएको छ । शिक्षक चमक सिं ब्यासकाअनुसार अपि हिमाल (नामज्युङ) बस्ने र ब्यास रिसीको तपस्या गर्ने हुँदा यस जातिलाई ब्यास ऋषिकै सन्तान हो भन्ने विश्वास पनि गरिएको पाइन्छ । केहीको संख्यामा भारतको यतोक भन्ने एकथरिको भनाइ रहेको तथा केही थरिको भनाइमा केही संख्यामा तिब्बतबाट आएको भन्ने भनाइ पाइयो । ब्यास जाति दार्चुला जिल्लाको साविकको ब्यास गा.वि.स.मा बसोबास गर्ने गरेका छन् । राप्ला, सितोला गाविसमा यी जातिको बसोबास रहेको छ । साविकको अपि गाउँपालिकामा यी गाविसहरू पर्दछन् । यी जाति बैशाखदेखि ६ महिना माथि अपि गाउँपालिकामा बस्दछन् भने ६ महिना तल दार्चुला खलङ्गामा बस्दछन् ।
ब्यासी समाज दार्चुलाका अध्यक्ष धीरेन्द्र बूढाथोकीसहित उपस्थित व्यास समुदायका अभिभावकहरुका अनुसार ब्यास जातिमा धेरै थरहरु रहेका छन् । जसमा टिङकरी, यतवाल, बोहरा, बूढाथोकी र जुहारी समेत रहेको देखिन्छ। उनीहरुको भाषालाई ‘च्यानम’ पनि भनिने गरिएको पाइन्छ ।
यस जातिलाई अन्य जातिले ‘सौका’ समेत भन्ने गरेको पाइन्छ । तथापि यी समुदायमा सौका भनेको उनीहरुलाई हेला अर्घेलो गरी भनेको हो भन्ने तर्क गर्छन् । जि.शि.का. का नासु केशवप्रसाद जोशी सुनेका कथनअनुसार व्यासी जाति पहिलादेखि नै व्यापार व्यवसाय गर्दथे । उनीहरुसँग सयका रुपियाँ रुन्थ्यो जबकि अरुसँग पैसा हुँदैथ्यो । यसरी सयका रूपियाँ त्यसबेला उनीहरुसँग मात्र हुने भएकोले उनीहरुलाई सौका भनिएको हो । तर यस भनाइको छलफलको क्रममा गालीको लागि प्रयोग गरिएको भन्ने देखियो। बरु उनीहरु आफूहरुलाई ‘रङ’ समुदाय भन्न रुचाउँछन् ।
सामाजिक तथा सांस्कृतिक अवस्थाः जगतसिं नब्यालका अनुसार यी जाति काग पुराणअनुसार आफ्नो जन्म र मृत्यु संस्कार मान्ने गर्दछन् । विवाहलाई ढामी भन्दछन् भने जन्मलाई मिच्छेतिन्बा भन्छन् भने लाशलाई छाङ्गो भन्ने यी जातिको मलामीमा महिलाहरु अनिवार्य रुपमा जानुपर्ने हुन्छ । महिला र पुरुषको भेषभूषामध्ये महिलाको पोशाकलाई च्यङ्बाला र पुरुषको पोशाकलाई राङ्गा भन्दछन् ।
- ब्यासी भाषाको अवस्थाः
नेपालको राष्ट्रु जनगणना २०६८ अनुसार ब्यासीका जम्मा भाषिक वक्ता २३०० जना रहेका छन् । अधिकांश ब्यासी समुदायले ब्याँसी भाषा बोले पनि बाजे पुस्ताबाट नाति पुस्तामा आउँदा हिन्दी भाषाको मिश्रण गर्न थालेको देखिन्छ । यसप्रति ब्यासी समुदाय चिन्तित रहेको देखिन्छ । ब्यासी भाषाको शब्दकोश जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट भएको उक्त शब्दकोश ब्यासी, हिन्दी र अङ्ग्रेजी भाषा गरी त्रिभाषी रहेको छ र ब्यासी जातिको सामाजिक तथा सांस्कृतिक अवस्थाबारे अध्ययन भएको पाइन्छ ।
ब्यासी भाषामा एक जना जापानिजले पी.एच.डी. गरेका छन् । यस भाषाको लिपि निर्माण भए पनि वर्णमाला अझसम्म निर्माण भएको पाइन्न । त्रि.वि.वि. भाषा विज्ञान केन्द्रीय विभागले ब्यासी भाषाको समाजवैज्ञानिक अध्ययन गरेको पाइएको छ। ब्यासी भाषाका केही शब्दहरूः आमालाई अमा वा ना, बालाई आप्पा, पानीलाई ती, आगोलाई म्हे, रुखलाई सिङ, गाईलाई रे, खोलाई ख्यु, भातलाई ला, छोरीलाई चमे, नमस्कारलाई बुदेला, नुनलाई छा र दूधलाई न्हु भन्छन् ।
- ब्यासी भाषा समाजबाट भएको भाषासम्बन्धी कार्यहरुः
ब्यासी समाज दार्चुलाले ब्यासी भाषाको संरक्षणका लागि ब्यासी भाषामै आफ्ना जातिको कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । साथै ब्यासी भाषामा वादविवाद कार्यक्रम सञ्चालन गर्ने गरेका पाइन्छ ।
- ब्यासी समुदायको पेशा तथा व्यवसायः
ब्यासी समुदाय तिब्बत र नेपालको सीमाना टिङ्कर क्षेत्रमा बसोबास गर्ने हुँदा यिनीहरुको प्रमुख पेशा व्यापार र व्यवसाय नै हो । त्यसबाहेक पशुपालन र कृषि पेशामा आबद्ध रहे पनि हाल दार्चुलाको सदरमुकाम खलङ्गामा बसोबास गर्न थालेका व्यापार लगायत घरेल उद्योग व्यवसाय जस्तो गलैँचा बुनाइ, कपडा बुनाइजस्ता कार्यमा पनि संलग्न देखिन्छ । केही शिक्षित व्यक्तिहरुले शिक्षक पेशा अँगाल्न पनि पुगेका छन् भने केही व्यक्तिहरु सामाजिक अभियानमा समाहित भएर भाषा संस्कृति संरक्षण तथा संवर्धनमा लागी परेका छन् यसको उदाहरणको लागि ब्यासी समाज दार्चुला र यसका अध्यक्ष धीरेन्द्र बूढाथोकीलाई लिन सकिन्छ नै ।
- ब्यासी भाषामा शिक्षाको प्रयोग सम्भाव्यताः
ब्यासी जातिमा एस.एल.सी. भन्दा बढी अध्ययन गरेका ब्यासी समुदायका युवायुवतीहरु रहेका छन् तर पनि आइ.ए. भन्दा माथि पढ्नेका संख्या औँलामा गन्न सकिने देखिन्छ । शिक्षक प्रधानाध्यापक, शिक्षक महिला र पुरुष समेत उपलब्ध रहेका छन् । ब्यासी समुदायमा उपलब्ध तिनै जनशक्तिबाट आधारभूत तहको सुरुका कक्षामा माध्यमका रुपमा र माथिल्लो कक्षामा समेत विषयका रुपमा शिक्षणसिकाइ गर्न सकिने तर्क यी समुदायको अभिभावकहरुको रहेको छ । तथापि ब्यासी समुदाय ६ महिना ब्यास क्षेत्रमा बसोबास गर्ने र ६ महिना तल खलङ्गामा बस्ने भएकोले शिक्षाको व्यवस्थापन कसरी गर्ने समस्या रहेको देखिन्छ। साथै पाठ्यसामग्री विकास, सन्दर्भसामग्रीलगायत व्याकरण साहित्यको अभाव रहेकोले सो विकासका लागि भाषा आयोगका साथै अन्य संस्थाको सहयोग अपेक्षा गरेका छन् भनूँ ब्यासी समुदाय आवश्यक प्राविधिक तथा भौतिक सहयोग प्राप्त भएमा मातृभाषामा शिक्षा पाउन र दिन उद्यत रहेको देखिन्छ
च) ब्यासी भाषा संरक्षण तथा संवर्धनसम्बन्ध प्राप्त सुझावहरूः
- राज्यले प्रावि स्तरसम्म ऐच्छिक विषयका रुपमा पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने, जस्तो दार्चुलापारि नेपालको उत्तराखण्ड धार्चुलामा व।व्यास मातृभाषा विषय ऐच्छिक विषयका रुपमा पठनपाठन गर्ने व्यवस्था रहेको,
- ब्यासी भाषाको लिपि, व्याकरण, वर्णमाला निर्माण तथा साहित्य लेखन कार्य गर्ने,
- भाषा आयोगले शब्दकोश निर्माण, व्याकरण, साहित्य लेखन तथा भाषा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने,
- समुदायले ब्यासी भाषाको संरक्षण तथा संवर्धनमा संस्थागत तथा व्यक्तिगत रुपमा थालिएका प्रयासहरुलाई निरन्तरता दिने,
ब्यासी समाज दार्चुलाका अध्यक्ष धीरेन्द्रबहादुर बूढाथोकीः भाषा हराएमा मानिस पनि हराउँछ। त्यसर्थ यसप्रकारको अन्तर्क्रिया भइरहनु पर्दछ । आफूहरूले ब्यासी समाजको अधिवेशनको माध्यम भाषा समेत ब्यासी भाषा नै रहेको बताउनु भयो । साथै उनले ब्यासी भाषाको संरक्षण तथा संवर्धनका लागि भाषा छ तर लिपि, व्याकरण नभएको सो कार्य हुनुपर्यो भन्ने विचार अभिव्यक्त गरे । शिक्षाका लागि ब्यासी भाषा पुस्तक छापिनुपर्ने, यस भाषाका गीत, कथा,पुस्तक प्रकाशन गर्न सहयोग गर्नुपर्ने सुझाव राख्नुभयो । ब्यासी भाषाका कविताहरु लेखी पठाइएमा भाषा आयोगबाट भविष्यमा प्रकाशन गर्न सकिने जानकारी समेत भाषा आयोग सदस्य सचिव गणेशप्रसाद भट्टराईबाट जानकारी दिनुभयो ।
निष्कर्ष
यस अन्तर्क्रिया कार्यक्रम पश्चात ब्यासी जाति र भाषा संरक्षण, संवर्धन र विकासका लागि देहायको निष्कर्ष निकालिएको छः
- स्थानीय तहमा सरकारी कामकाजको भाषामा प्रयोग गर्न पहल गर्ने, सन्चार, अदालत, कार्यालया काममा प्रयोग गर्न सम्भाव्यता अध्ययन र प्रयोग गर्ने,
- सरकारी कामकाजमा तत्कालको लागि ब्यासी भाषाका अनुवादकको व्यवस्था गर्नुपर्ने
- विशेष संरक्षित क्षेत्र जस्तो अपि गाउँपालिकामा सरकारी कामकाजको भाषा ब्यासी भाषा बनाउन सकिने,
- गाउँपालिकाले ब्यासी भाषाको संरक्षण संवद्र्धनका लागि बजेट तथा कार्यक्रमको व्यवस्था गर्नुपर्ने,
- ती गाउँपालिकामा रहेका विद्यालयमा ब्यासी मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुपर्ने,
- ब्यासी समुदायले गृहभाषामा नाति पुस्तासम्म प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने,
- हिन्दी अनुकरणलाई कम गर्न ब्यासी भाषा संरक्षण अभियान सन्चालन गरी सबैलाई ब्यासी समाजमार्फत सचेतना कार्यक्रम सन्चालन गर्नुपर्ने,
- तत्काल ब्यासी समुदायको बालबालिकाका लागि ऐच्छिक विषयमा शिक्षणसिकाई गर्न पहल गर्ने, निजी विद्यालयमा समेत सोको अनिवार्य व्यवस्था गर्नुपर्ने
- हेमेन्दर ब्यासी बेलायतमा उच्च शिक्षा लिए पनि सन्तानलाई ब्यासी सिकाएर उदाहरणीय कार्य गरेकोले सिकाइका रुपमा लिएर सबै ब्यासी अभिभावकले सन्तानलाई ब्यासी सिकाउनमा गर्व गर्नका साथै यसलाई निरन्तरता दिनुपर्ने,
- भाषा आयोग लगायत सरकारी निकायबाट ब्यासी भाषाको लिपि निर्माण, वर्णमाला, व्याकरण निर्माण तथा साहित्यिक प्रकाशनमा सहयोग गर्नुपर्ने,
- लोपोन्मुख ब्यासी समुदाय र भाषाको संरक्षण संवर्धनका लागि यस भाषाको गहन अध्ययन अनुसन्धान गरिनुपर्ने ।