दोस्रो भाषिक यात्राः राजी जाति र भाषा (स्थलगत अध्ययन रिपोर्ट) डा.लोकबहादुर लोप्चन

दोस्रो भाषिक यात्राः राजी जाति र भाषा (स्थलगत अध्ययन रिपोर्ट)

डा.लोकबहादुर लोप्चन

विषय सन्दर्भ

सुदूर पश्चिमको कैलाली जिल्लाका राजी समुदायको भाषिक अभियन्ताहरु, राजी साल्मी समाजका भाषिक वक्ता तथा राजी समाज कैलालीका पदाधिकारीसँग  राजी समुदायको सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थाको बारेमा भाषा आयोगको स्थापना, भूमिका र समुदायको भाषिक दृष्टिकोणका बारेमा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनसहित अतिथि डा. चुडामणि पाण्डेय, डा.लक्ष्मी पण्डित तथा भाषा आयोगका उपसचिव गणेशबहादुर सिंहसहित लेखापाल केशवप्रसाद रेग्मीको उपस्थितिमा स्थलगत अध्ययन अनुगमन गर्ने सिलसिलामा अन्तर्क्रिया तथा छलफल कार्य गरिएको थियो ।

भ्रमणको उद्देश्य, स्थान, मितिः

राजी समुदायको ऐतिहासिक उत्पत्ति, सामाजिक सांस्कृतिक, आर्थिक तथा भाषिक अवस्थाका पहिचान गरी संरक्षण तथा संवद्र्धनका उपाय पहिचान गर्ने साथै ब्यासी भाषामा शिक्षाको लागि राजी भाषाको स्तर पहिचान गरी सो भाषामा शिक्षाका लागि प्रोत्साहन गर्नु रहेको थियो ।यो अध्ययन मिति २०७३।११। ३ देखि २०७३।११।९ गते सम्म रहेकोमा राजी समुदायका अगुवाहरूसँग अन्तरव्रिmया कार्यक्रम मिति २०७३।११।६ गतेका दिन सञ्चालन गरिएको थियो ।

 राजी समुदायका अगुवाहरूसँग अन्तरव्रिmया (मिति २०७३।११।६ गते)

राजी समुदायसँग कैलालीको टीकापुरको एसिया ग्रीन होटलको  हलमा २०७३ साल चैत्र ६ गते विहान ८ बजे भाषा आयोगको उपसचिव (मातृभाषा शिक्षा ) श्री लोकबहादुर लोप्चनको संयोजकत्व र डा. चुडामणि पाण्डेय तथा डा. लक्ष्मी पण्डित, भाषा आयोगकै उपसचिव गणेशबहादुर सिंह, लेखापाल केशवप्रसाद रेग्मीसहित राजी समाजका अध्यक्ष चित्र बहादुर राजी, सल्लाहकार डम्बरबहादुर राजी लगायत राजी जातिका अभिभावक, राजी भाषाका वक्ताहरुको उपस्थितिमा छलफल  र अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रमको संयोजन भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनले गरेका थिए भने राजी समाजका अध्यक्ष चित्रबहादुर राजीसहित उपस्थित राजी अभिभावक र वक्ताहरुले सहभागिता जनाएको उक्त छलफलमा डा.चुडामणि पाण्डे, डा.लक्ष्मी पण्डित सहित उपसचिव गणेशबहादुर सिंहले आफ्नो विचार राखेका थिए । डा.चुडामणि पाण्डेले राजीहरुले आफ्नो भाषा परिवारमा बोल्ने गरे नगरेको, राजी भाषाको संरक्षण तथा संवर्धन कति लागी परेको, राजी संस्कृति र संस्कारमा भाषाको प्रयोग भएनभएको विचार राख्नुभयो । त्यसै गरी डा. लक्ष्मी पण्डितले राजी जाति र भाषाको विषयमा विद्यावारिधिसम्मको अध्ययन भएको, राजी भाषामा व्याकरण, शब्दकोश नभएको तथा राजीहरुले विस्तारै आफ्नो भाषा छोड्दै गएको अध्ययनको निचोड रहेकामा अब राजी जाति आफैँले भाषा संरक्षण तथा संवर्धनमा लागी पर्नुको विकल्प नरहेको सुझाव राख्नुभयो ।

त्यसै गरी कैलाली जिल्लाका पूर्व जिल्ला शिक्षा अधिकारीसमेत रहेका गणेशबहादुर सिंह सरले राजीहरुको भाषिक प्रयोग प्रवृति र राजीहरुले आफ्नो भाषाप्रति केकस्तो बफादारिता देखाउन सक्छन् त्यसैमा राजी भाषाको भविष्य निर्भर रहने सुझाव राख्नुभयो । त्यसपछि कार्यक्रम संयोजक लोकबहादुर लोप्चनबाट भाषा आयोगको स्थापना, यसको संवैधानिक कार्यक्षेत्रहरु, वर्तमान गतिविधिको बारेमा चर्चा गरी राजी जातिको उत्पत्ति, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवस्था बारेमा छलफल अगाडि बढाइयो । साथै राजी भाषाको अवस्था, यसमा शिक्षाको सम्भाव्यता तथा राजी भाषाको संरक्षण तथा संवर्धनका समस्या र समाधानका उपायहरुका सन्दर्भमा खुला छलफल गरियो । जसमा राजी साल्मी समाजका अध्यक्ष चित्रबहादुर राजी तथा सल्लाहकार डम्बर राजीबाट सोसम्बन्धी सूचना, जानकारी, राय सुझाव सङ्कलन गर्ने कार्य गरियो ।

अन्तर्क्रिया र  छलफलबाट पाइएका प्राप्तिहरूः

 राजी जातिको ऐतिहासिक उत्पत्ति तथा बसोबासस्थलः

हरेक काम गर्दा राजीखुसीका साथ गर्ने भएको यस जातिलाई राजी जाति भनिएको तर्क रहेको छः राजी साल्मी समाज कैलालीका अध्यक्ष चित्रबहादुर राजीको । राजीको इतिहास अझै नलेखिएकोले मौखिक भनाइमै सीमित छ, राजी जातिको ऐतिहासिक उत्पत्तिको अवस्था । यी जातिको बसोबास वर्तमान अवस्था हेर्दा कैलालीको टीकापुर नगरपालिकाको ज्योतीनगरमा बसोबास रहेको पाइएको छ ।आफूहरुलाई फिरन्ता समेत भन्न रुचाउने यो जातिको बसोबास सुर्खेत, बर्दिया, कन्चनपुर, दाङ, बाँकेमा समेत रहेको पाइन्छ । माझी, बोटे पनि माझी नै हुन् भन्ने राजी समुदायको भनाइ छ । यी जाति खोलाको किनारमा बस्ने भएको माछा मार्ने र बालुवामा सुन चाल्ने काम गर्दछन् । मुख्य पेशा चाहिँ डुंगा खियाउने भन्छन् राजी साल्मी समाजका अध्यक्ष चित्रबहादुर राजी । उनकाअनुसार देशभरिको राजी जातिको कुल जनसंख्या ४४३६ रहेका छन् ।

राजीहरु तराईका थारु, सोनाहा जस्तै स्थायी आदिवासी ठान्दछन् । स्थायी बसोबास नगर्ने, घर बनाउने र घर ध्वाँसो कालो हुन थालेपछि छाडेर जाने जातिका रुपमा उनीहरु आफूलाई चिनाउँदछन् । राजीहरु कैलालीको टीकापुरस्थित राजीपुर, राजापुरमा बस्ने भएकोले उक्त ठाउँको नामाकरण त्यसो हुन गएको अनुमान लगाउँछन् राजी अगुवाहरु। राजीपुरमा विगतमा राजीको बसोबास भएको तथ्यलाई नकार्न सकिन्न। राजीहरु बसाइँ सरेर पहाडको खोँचमा बसोबास गर्ने गरेको देखिन्छ ।

राजी समाज र संस्कृतिः

राजीहरु खोलाको किनार बस्ने भनिए पनि हाल तराईका जिल्लाहरूमा बसोबास गर्दछन् ।कैलालीको टीकापुरको  ज्योतीनगरमा हाल राजीहरुको बस्ती रहेको छ तथापि राजीको झुप्रा घर, सानो जमिन, विपन्न आर्थिक अवस्था रहेको देखिन्छ । तथापि राजी जातिको आफ्नै संस्कार र संस्कृति रहेको छ ।उनीहरु मागी  विवाह गर्दछन् । पानी पँधेरो वा कतै केटीलाई कुरेर तानेर लगेर जबरजस्ती पनि विवाह गर्ने चलन राजी जातिमा विगतमा रहेको थियो ।चाडपर्वमा मुख्य रुपमा मङसिर पूर्णिमा मान्ने गर्छन् । खानामा रोटी, माड, खिचडी खान्छ्न् । उनीहरू मतवाली जाति भएकाले संस्कारहरुमा जाँड रक्सीको प्रयोग हुन गरेको पाइन्छ । भेषभूषामा कमिज, सदरी र पगरी गुँथ्ने गर्दछन् । यिनीहरुको मुख्य थर बन्डाले, नौकोले र पूर्वीय राजी हुन् । कुइनेल, बडकोल, कुचाले, कुम्लेल, भर्जुलेल पनि राजी जातिका थरहरु हुन् । राजी जाति हिन्दू धर्म मान्ने प्रकृतिपूजक हुन् । उनीहरु रुखको बोटमुनि ढुंगाको शिला खडा गरेर बोका, कुखुराको बली दिन्छन् । राजी जातिमा मटेर वा नाइके जसलाई गाउँको मुखिया भनिन्छ । उनैको आदेशअनुसार राजी समुदाय चल्ने गर्दछन् जसरी थारु समुदायले बडघरलाई आफ्नो नाइके ठानेर उनकै आज्ञापालना गर्दछन् ।

राजी जातिको पेसा

राजी जातिको मुख्य पेशा डुंगा खियाउने कार्य हो । यिनीहरु माछा मार्ने, जडीबुटी सङ्कलन गर्ने, बालुवामा सुन चाल्ने काम गर्दछन् । हाल केही जग्गा जमिन जोडेर बस्ने गरेका छन् । कैलालीको टीकापुर ज्योती नगरका राजी समुदायको एक दुई कट्टा मात्र प्रत्येक परिवारको जमिन रहेको छ । काठको झुपडीमा बस्ने राजीहरुको आर्थिक अवस्था कमजो र रहेको पाइन्छ । यिनीहरु भीरमौरीको मह समेत काढेर सङ्कलन गर्दछन् । मजदुरी गर्ने र भारतमा काम गर्न जाने यिनीहरुको बाध्यता हो । अहिलेसम्ममा राजी जातिका दुई जना मात्र शिक्षक रहेको पाइयो ।

राजी भाषाको अवस्थाः

राजी समुदायको सम्पर्क भाषा राजी भाषा नै हो । उनीहरु राजीलाई फान भाषा पनि भन्दछन् । अघिल्लो पुस्ताले राजी भाषाको प्रयोग गरे पनि युवा पुस्ताले चाहिँ घरमै नेपाली भाषा प्रयोग गर्न थालेका छन्।यसले राजी भाषा लोपोन्मुख रहेको पुष्टि गर्दछ फेरि यहाँको राजी भाषामा डोट्याली भाषाको समेत प्रभाव परेका पाइन्छ । जसरी ब्यासी भाषामा हिन्दीको प्रभाव परेका पाइयो । नयाँ पुस्ताले राजी भाषालाई छोड्दै जानुले राजी भाषाको अस्तित्व सङ्कटापन्न रहेका देखिन्छ ।

हुनत राजी भाषा त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभाग, कीर्तिपुरबाट समाज भाषावैज्ञानिक अध्ययन भएको छ। यस भाषामा पी.एच.डी. समेत गरिएको पाइन्छ । डा. लक्ष्मी पण्डितकाअनुसार समाजभाषा वैज्ञानिक सर्वेक्षणको प्रतिवेदनले राजी भाषा हराउने स्थिति वा लोपोन्मुख रहेको उल्लेख गरेका छन् । उनीहरु राजी भाषामा कुराकानी गर्न गौरव गर्छन् तर संकोच भने मान्दैनन् । उपस्थित राजीमध्ये तत्काल कुनै लोकगीत गाउन भनिएकोमा बूढापाका मात्र गाउन सक्ने बताएबाट विस्तारै राजी भाषा बूढापाकामा रहने र पछिल्लो पुस्तामा हस्तान्तरण नहुने अवस्था सिर्जना हुन पुगेको देखिन्छ ।

राजी भाषाका केही शब्दहरु आमालाई अमा, बुबालाई आबा, पानीलाई ती, भात लाई ताङ, आगोलाई म्हई, नमस्कारलाई ढोग लौसी, छोरालाई चाङ, छोरीलाई ग्रामोङ, बाजेलाई कुकु र बज्यैलाई कपी भन्छन् ।

राजी भाषा समाजबाट भएको भाषासम्बन्धी कार्यहरुः

राजी भाषामा व्यक्तिगतस्तरमा पीएचडी सम्मको अध्ययन भएको पाइन्छ भने त्रि.वि.वि. भाषाविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरबाट राजी भाषामा समाजवैज्ञानिक अध्ययन भएको पाइन्छ । तर पनि राजी भाषाको वर्णमाला, लिपि, शब्दकोश, व्याकरण अझै तयार भएको छैन। राजी भाषाको संरक्षण तथा संवर्धनसम्बन्धी कार्य राजी समाज  तथा समुदायले प्रारम्भ गरेको समेत पाइएन । तर आगामी दिनमा राजी भाषाको संरक्षणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, केन्द्रबाट पहल गर्नुपर्ने, भाषा आयोगले सहयोग गर्नुपर्ने, भाषा संरक्षणका लागि बजेट तथा कार्यक्रम आवश्यक रहेको कुरा राजी साल्मी समाजका अध्यक्ष चित्रबहादुर राजीले सुझाव राखेर यस भाषाप्रतिको आफ्ना मनोकाङ्क्षा अभिव्यक्त गरेका छन् ।

राजी भाषामा शिक्षाको प्रयोग सम्भाव्यताः

कैलालीको ज्योतीपुर निवासी राजी समुदायको छलफलमा राजी जातिका केही शिक्षक रहेका छन् । राजी बालबालिकालाई विद्यालय ऐच्छिक विषयका रुपमा राजी भाषा विषय पढाउन सकिने बताउँछन् त्यसका लागि आफ्ना समुदायमा विद्यालय स्थापना हुनुपर्ने बताउँछन् । तथापि राजी भाषामा मौखिक पठनपाठन मात्र हुन सक्ने देखिन्छ । किनकि लिखित पठनपाठनका लागि यस भाषामा वर्ण, लिपि, शब्दकोश, व्याकरण र साहित्य हालसम्म रहेको पाइँदैन ।

राजी भाषा संरक्षण तथा संवर्धनको लागि गर्नुपर्ने कार्यः

राजी भाषासम्बन्धी अन्तर्क्रियामा राजी भाषा संरक्षणमा केकस्ता प्रयास गरिनुपर्छ भनी सोधिएकोमा राजी समुदायबाट राखेका सुझावहरु यसप्रकार छन्ः

क) गाउँस्तरीय छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने,

ख) राजी भाषाको लिपि, व्याकरण, वर्णमाला निर्माण तथा साहित्य लेखन कार्य गर्ने,

ग) भाषा आयोगले शब्दकोश निर्माण, व्याकरण, साहित्य लेखन तथा भाषा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने

घ) राजी जनसंख्या तथा भाषिक वक्ताको तथ्याङ्क सङ्कलन गरी सत्यापन गर्नुपर्ने,

ङ) ६ जिल्लाका राजी भाषासम्बन्धी संयुक्त गोष्ठी सञ्चालन गर्नुपर्ने,

च) भाषा आयोगमार्फत भाषा लोप हुन नदिन टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने,

छ) कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने ।

राजी साल्मी केन्द्रीय समिति टीकापुर कैलालीका अध्यक्ष चित्रबहादुर राजीले समापन मन्तव्यका सिलसिलामा राजीलगायत नेपालका १० भाषाहरु लोपोन्मुख अवस्थामा रहेको चर्चा गरे । आफू ५० वर्ष पुगेको तर नाति पुस्ताले राजी भाषा बोल्न छोडेको यथार्थलाई कोट्याउन पुगे । तर आफू भने राजी भाषाको संरक्षण तथा संवर्धनमा लागिरहने बताए यसका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिज्ञा समेत गरे । यसै क्रममा उनले राजी जातिको जग्गाजमिन नरहेको भएको जग्गा पनि ऐलानी रहेको, विपन्न आर्थिक अवस्था, फिरन्ता बसाइको कारण जाति र भाषा दुवै लोपोन्मुख रहेको तथ्य उजागर गरे । यस जातिको आयस्रोत अत्यन्त न्यून जस्तो महिनाको हजार रुपियाँ समेत कमाउन नसक्ने नाजुक आर्थिक अवस्था रहेको कुरा उल्लेख गरेका थिए । यस जातिमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने समेत अत्यन्त कम रहेकोमा राजी जातिका एकदुई जनाले मात्र स्नातक तहसम्म अध्ययन गरेको खुलासा समेत गरेका थिए ।

तसर्थ  उनेल यस जातिको लागि उच्च शिक्षासम्म निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने मागसमेत गरे ।उनले ६ जिल्लाका राजी जाति र भाषाको संयुक्त गोष्ठी, भाषा संरक्षणको लागि बजेट व्यवस्था गर्नुपर्ने, भाषा आयोगमार्फत भाषिक जागरण अभियान सञ्चालन गर्नुपर्ने, यस भाषाको वर्णमाला निर्माण, लिपि, शब्दकोशको विकास गर्न भाषा आयोगजस्ता संस्थाले पहल गर्नुपर्ने कुराको उठान गरेका थिए ।

निष्कर्ष

यस अन्तर्क्रिया कार्यक्रममा भएको राजी भाषी समुदायसँगको अन्तर्क्रियाको निष्कर्ष देहायअनुसार रहेका छन्-

क)    स्थानीय तहमा सरकारी कामकाजको भाषामा प्रयोग गर्न पहल गर्ने, सञ्चार, अदालत, कार्यालया काममा प्रयोग गर्न सम्भाव्यता अध्ययन र प्रयोग गर्ने,

ख)    सरकारी कामकाजमा तत्कालको लागि राजी भाषाका अनुवादकको व्यवस्था गर्नुपर्ने

ग)    विशेष संरक्षित क्षेत्र जस्तो  कैलालीको टीकापुरको ज्योतीनगरलाई राजी विशेष संरक्षित क्षेत्र घोषित गरी  राजी विकास कार्यक्रम सन्चालन गर्ने,

घ)    नगरपालिकाले राजी भाषाको संरक्षण संवर्धनका लागि बजेट तथा कार्यक्रमको व्यवस्था गर्नुपर्ने,

ङ)    ती नगरपालिकामा रहेका विद्यालयमा ब्यासी मातृभाषामा शिक्षा दिने व्यवस्था गर्नुपर्ने,

च)    राजी समुदायले गृहभाषामा नाति पुस्तासम्म प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने,

छ)    डोट्यालीको अनुकरणलाई कम गर्न राजी भाषा संरक्षण अभियान सञ्चालन गरी सबैलाई राजी समाजमार्फत सचेतना कार्यक्रम सन्चालन गर्नुपर्ने,

ज)    तत्काल राजी समुदायको बालबालिकाका लागि ऐच्छिक विषयमा शिक्षणसिकाई गर्न पहल गर्ने, निजी विद्यालयमा समेत सोको अनिवार्य व्यवस्था गर्नुपर्ने

झ)    भाषा आयोग लगायत सरकारी निकायबाट राजी भाषाको लिपि निर्माण, वर्णमाला, व्याकरण  निर्माण तथा साहित्यिक प्रकाशनमा सहयोग गर्नुपर्ने,

ञ)    लोपोन्मुख राजी समुदाय र भाषाको संरक्षण संवर्धनका लागि यस भाषाको गहन अध्ययन अनुसन्धान गरिनुपर्ने ।

ट)    राजी समुदायको लागि स्थायी आवास जग्गाजमिनको व्यवस्था गर्नुपर्ने

ठ)    राजी जाति  र भाषासम्बन्धी विषयमा ६ जिल्लाको संयुक्त भेला गर्ने,

ड)    राजी मातृभाषामा शिक्षा दिने व्यवस्था गर्ने,

ढ)    राजी संस्कार, संस्कृति, सीपको आधुनिकीकरण गरी आयआर्जनमूलक बनाउने,

ण)    राजी जातिका युवा पुस्तालाई राजी भाषाको प्रयोग गर्न सचेत र प्रोत्साहित गर्नुपर्ने ।

 

 

 

 

You might also like