तामाङ डाजाङ पत्रिकाको दुई सय अङ्कसम्मको यात्राः उपलब्धि र योगदान
डा.लोकबहादुर लोप्चन
का.मु.सचिव,भाषा आयोग
तामाङ जाति
तामाङ शब्दले तामाङ जाति र तामाङ भाषालाई बुझाउँछ।उनीहरू आफूलाई तामाङ भन्नमै गर्व गर्दछन् भन्ने तथ्य “तामाङ चुङ्नीला ठीम थेन ताम्छयोयी” अथवा तामाङ जातीय संस्कार, संस्कृति र न्याय प्रणालीको रूपमा रहेबाट पुष्टि हुन्छ। तामाङ भाषा चिनियाँ भाषाबाट बनेको अनुमान गरेका छन्।चिनियाँ भाषामा ‘ता’ को अर्थ महान्, ठूलो, विशाल र ‘माङ’ को अर्थ धेरै परिमाण, धेरै, सर्वसाधारण, साझा भन्ने हुन्छ।साथै पेकिङ मानव सभ्यताको विकासमा जोडिएका अन्य आधारहरू भाषाको वंश तथा परिवार, ल्होछार संस्कृति र मङ्गोलाइड हुन्।
तामाङलाई भोटे, मूर्मी, तामाङ, मूल्मी, सेन्मोन, बोन्पा, रोङ्बा, कागते, से, ल्होपा, काठभोटिया, लामा, घले, शेर्पा, लामा भनेर सम्बोधन गर्ने गरिएको पाइन्छ।मुलुकी ऐन नआउँदासम्म तामाङको कानुनी नाम भोटे रहेको थियो।साथै त्यसबेला तामाङलाई इसाङ, से, भोटे, मूर्मी तथा लामा मूर्मी भन्ने गरेकोमा ऐशाङ (आस्याङ आमा) को अपभ्रंश भएर बनेको अनुमान रहेको छ ।
तामाङ जातिको बसोबास
धेरैजसो पहाडी इलाकाहरूमा बसोबास गर्ने तामाङहरूको बस्ती ७,००० फिटसम्मको उचाइमा रहेको पाइन्छ।भौगोलिक हिसाबले यस जातिको मूल बसोबास अति प्राचीनकालदेखि बहुसङ्ख्यामा बस्दै आएको काठमाडौँ उपत्यका र वरिपरिका डाँडा, काभ्रेपलान्चोक जिल्लाको मध्य र लेकाली भाग, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, सिन्धुली, दोलखा र रामेछाप हो (योञ्जन तामाङ, वि.सं. २०४९, पृ.१७)।यी क्षेत्रहरू तामाङ बसोबासका प्रमुख क्षेत्रहरू हुन् तापनि देशभित्र र बाहिर सबैतिर छरिएर रहेका छन्।तामाङ (वि.सं. २०५१, पृ.ड) काअनुसार नेपालबाहिर तामाङ जातिको बसोबास उत्तरपूर्वी भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, पूर्वमा भुटान र बर्मासम्म तथा उत्तरमा तिब्बतको दक्षिण केरुङ, उइसेमा र सिगात्सेसम्म पनि फैलिएको छ।यसरी तामाङहरू काठमाडौँ वरिपरिका जिल्लालगायत देशविदेश फैलिएर रहेको पाइन्छ।
तथ्याङमा तामाङ जाति
नेपालमा तामाङ जातिको कुल जनसंख्या १६,०२,८७५ र तामाङ मातृभाषी वक्ताको संख्या १४,२३,०७५ रहेको छ। जसमा तामाङ जातिको ५.६२ प्रतिशत र तामाङ मातृभाषी वक्ताको प्रतिशत ४.८८ प्रतिशत रहेको छ।यस आधारमा तामाङ भाषाको नेपाली भाषामा अपसरण (Shifting) २,१६, ७९१ वा १५.२३% रहेको छ।तर यस अघि राष्ट्रिय जनगणना २०६८ मा यो दर १२ प्रतिशतको हाराहारीमा रहेको थियो ।
तथ्याङमा तामाङ जाति
क्र.सं. | क्षेत्र | कुल प्रतिशत | प्रतिशत |
१. | कुल जनसंख्या | १०० | ५.६२ |
२. | कुल वक्ता संख्या | १०० | ४.८८ |
४. | पुर्ख्यौली तामाङ भाषा | १०० | ५.५० |
तामाङ संस्कार र संस्कृति
मानव समाजमा जन्मदेखि मुत्युसम्म पूरा गर्नुपर्ने सामाजिक चालचलन, परम्परा, रीतिरिवाज, मूल्य, मान्यता, विश्वासको समष्टि स्वरूपलाई सामाजिक संस्कार भन्ने गरिन्छ।तामाङ (वि.सं. २०५१, पृ.१२७) काअनुसार जातीय मर्यादाअनुरूप मानवकेन्द्रित कृत्यहरूलाई संस्कार भनिन्छ, यसले मानिसहरूलाई सामाजिकीरण गर्न सघाउने गर्दछ भने यसअन्तर्गत गर्भधारणदेखि अन्त्येष्टिसम्मका सामाजिक स्वरूपहरू पर्दछन्।उनले मानिसहरूको शारीरिक तथा सामाजिक आवश्यकताहरूको उपज संस्कृति हो, यसलाई प्राप्त गर्नका लागि वरिपरिको वातावरणसँग सङ्घर्ष गर्दा सृजना हुन्छ भनेका छन् ।मानवशास्त्री टेलर (तामाङ, वि.सं. २०५१, पृ. १२७) काअनुसार संस्कृति त्यो पूर्ण समूह हो, जसमा मानिसले समाजको एउटा सदस्यको नाताले प्राप्त गरेको ज्ञान, विश्वास, कला, आचरण, नियम, चालचलन र अन्य क्षमताहरू सम्मिलित हुन्छन् ।
तामाङ (वि.सं२०५१, पृ.१२७) ले तामाङ संस्कारलाई जन्मसंस्कार, कर्मसंस्कार र दाहसंस्कार गरी तीन वर्गमा वर्गीकरण गरेका छन्।अनि तामाङ संस्कृतिले तामाङ समाजलाई स्वतन्त्र र अलग अस्तित्वको पहिचान निरन्तर रूपमा दिएको उल्लेख गरेका छन्।तामाङ संस्कृति तामाङ समाजको एकीकृत प्रणाली हो, जहाँ सामाजिक मूल्य र मान्यता, आदर्श, लोकरीतिहरू समायोजित भएको हुन्छ । तामाङ जातिको संस्कृतिमा विविधता पाइन्छ (तामाङ, वि.सं. २०६०, पृ.९)।उनकाअनुसार संस्कार भन्नाले जीवन संस्कार बुझिन्छ।जन्मदेखि मृत्यु वा मृत्युपछिको अवधिमा समेत गरिने धार्मिक तथा आध्यात्मिक कर्मकाण्ड नै संस्कार हो।
तामाङ (वि.सं.२०६०) काअनुसार तामाङ संस्कार र संस्कृति विषयक पुस्तकमा तामाङ संस्कार र संस्कृतिलाई भौतिक, अभौतिक संस्कार, जीवनसंस्कार र मृत्युसंस्कारमा वर्गीकरण गरेका छन्।उनले भौतिक संस्कृतिअन्तर्गत जनजीवन, रहनसहन, गरगहना, खानपान, पाहुना संस्कार, तामाङ लोकनृत्यहरू, तामाङ लोकबाजाहरू, हस्तकला, चित्रकला, तामाङ तीर्थस्थलहरू, बौद्ध तीर्थस्थलहरू, बोन तीर्थस्थलहरू र अन्य तीर्थस्थलहरूको विश्लेषणात्मक चर्चा गरेका छन्।अभौतिक संस्कृतिअन्तर्गत ताम्बा संस्कृति, बौद्ध संस्कृति, बोन संस्कृति, चाडपर्व र पूजाहरू समावेश गरेका छन्।त्यसैगरी जीवन संस्कारअन्तर्गत गर्भधारण र जन्मसंस्कार, नामकरण, भातखुवाइ, नाक, कान छेड्ने, गुन्यु चोलो लगाउने, रजस्वला, छेवर, विवाह, मृत्युसंस्कारलाई समावेश गरी गरेका छन्।
योञ्जन तामाङ (तामाङ, वि.सं. २०६७, पृ. २३३–२३७) ले लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरूमा रहनसहनअन्तर्गत क) गाउँघर ख) खानपीन ग) लुगाफाटा घ) गरगहना ङ) लोकबाजा च) नाचगीत उल्लेख गरेका छन् । त्यसैगरी सामाजिक रीतिरिवाज र संस्कृतिअन्तर्गत क) जन्मसंस्कार ख) पास्नी ग) छेवर घ) स्यामा पिन्बा ङ) विवाहका बारेमा चर्चा गरेका छन् साथै यस कृतिमा सम्बन्धविच्छेद र मृत्युसंस्कारका बारेमा चर्चा गरेका छन्।चाडपर्वअन्तर्गत ल्होछार, माघे सङ्क्रान्ति, बैशाख पूर्णिमा, भूमेपूजा, अन्य चाडपर्वहरूका बारेमा वर्णन गरेका छन् ।
तामाङ वाङ्मय र साहित्यिक यात्रा
गद्यपद्यमा लेखिएको शास्त्र तथा काव्य दुवै प्रकारका समस्त भाषाबद्ध रचनाहरूको समूह वा ग्रन्थ वाङ्मय हो (पोखरेल, वि.सं.२०५५, पृ.११३७,ने.बृ.श.को.)।तामाङ वाङ्मय चाहिँ तामाङ भाषाको मौखिक वा लिखित असाहित्यिक तथा साहित्यिक कृतिहरूको सँगालो वा समष्टि हो।उपाध्याय (वि.सं.२०४९,पृ.२०) काअनुसार तामाङ वाङ्मय असाहित्यिक र साहित्यिक गरी दुई प्रकारका छन् ।उनले साहित्यिकबाहेक अन्य धर्म, इतिहास, रीतिरिवाज र पुर्ख्यौली आदिका विषयमा लेखिएका कृतिहरूलाई असाहित्यिक फाँटमा राखेका छन् भने तामाङ पुख्र्यौली रीतिस्थितिलाई नै मूल विषयवस्तु बनाएर लेखिएको भए तापनि साहित्यिक गुणयुक्त कृतिहरूलाई साहित्यिक फाँटअन्तर्गत राखेका छन् ।यसरी तामाङ वाङ्मयअन्तर्गत तामाङ साहित्यिक र असाहित्यिक कृतिहरू पर्दछन्।तसर्थ तामाङ वाङ्मयलाई तामाङ भाषा र साहित्यको भकारी वा भण्डार भन्न सकिन्छ।तामाङ (वि.सं.२०५१,पृ.१०९–११३) ले तामाङ वाङ्मयलाई तीन प्रकारमा वर्गीकरण गरेका छन् जसअनुसार असाहित्यिक, साहित्यिक र पाठ्यपुस्तक छन् ।
साहित्य सिर्जनात्मक तथा सौन्दर्यात्मक विधा हो किनकि साहित्यमा मानवीय विचार वा भावको सुन्दर अभिव्यञ्जना गरिन्छ।तामाङ साहित्य पनि तामाङ जातजातिको जीवनजगत्को सुन्दरतम अभिव्यक्ति हो।यदि तामाङ साहित्यलाई तामाङ जातिबाट अलग गर्ने हो भने सौन्दर्यविनाको तामाङ जाति बन्न पुग्छ वा कुरूप बन्छ।तामाङ साहित्यको पनि लोकसाहित्य र लिखित साहित्य गरी दुई प्रकार छन्।लोकसाहित्यको विकासक्रम निश्चित हुँदैन जुन पुस्ता दरपुस्तामा स्वतःस्फूर्त रूपमा सङ्कलित र हस्तान्तरित हुँदै जान्छन्।तर लिखित साहित्यको प्रारम्भलाई भने ठम्याउन सकिन्छ।तामाङ भाषामा कृति सिर्जनाको प्रारम्भ सन् १९५६ बाट भएको पाइन्छ।मोक्तान (सन् १९५६) द्घारा मा लिखित “ जिकतेन तामछ्योइ वा तामाङ वंशावली ह्रामा” तामाङ भाषाको पहिलो कृति मानिन्छ (तामाङ, वि.सं.२०५४, पृ. ११०)।तर पहिलो तामाङ साहित्यिक कृति सन्तवीर लामाबाट लेखिएको “ताम्बा काइतेन व्हाइ रिमठिम (सन् १९५७) लाई मानिन्छ (योञ्जन तामाङ,सन् २००७, पृ.१३)।यसरी प्रारम्भ भएको लिखित तामाङ साहित्यले अर्धसतक पार गरिसकेको छ ।
तामाङ डाजाङ पत्रिकाको दुई सय अङकसम्मको यात्रा
तामाङ भाषा साहित्य क्षेत्रमा तामाङ डाजाङ संस्थाबट प्रकाशित एवम् सम्पादित तामाङ डाजाङ पत्रिकाले एउटा छुट्टै पहिचान निर्माण गर्दै दुई सय अङकसम्मको अविराम यात्रा गरेको छ।यसरी तामाङ वाङमयअन्तर्गत तामाङ भाषा,साहित्य, संस्कृति, कला, इतिहास, पुस्तैनी, संस्कार र आदिम प्रागऐतिहासिक तामाङ सभ्यतालाई निरन्तर अभिलेखन, सार्वजनिकीरण र आम तामाङ समुदायमाझ मासिक रूपमा उपस्थित भइरहने तामाङ डाजाङको यो साहसिक यात्रा र दुई सय अङ्कसम्म तामाङ डाजाङ पत्रिका प्रकाशनको उपलब्धि र योगदान प्रशंसनीय, कदरयोग्य र समग्र तामाङ जातिको परिचायक बन्न सफल भएको देखिन्छ।
तामाङ डाजाङ पत्रिकाका उपलब्धिहरू
तामाङ डाजाङ पत्रिकाको उपलब्धिको विश्लेषणका लागि यस पत्रिकाको अङ्क १ देखि १९९ सयसम्ममा प्रकाशित विधागत लेख र लेखकलाई आधारका रूपमा लिइएको छ।मूलतः यस पत्रिकामा विधागत समावेशिता हेर्दा ह्वाइम (काव्य), सेङराप (आख्यान),बिजाग्योइकाइ (बालसाहित्य), म्यासेङराप/सेमराप (गैरआख्यान) र दोःबा (अनुवाद) गरी ५ विधागत क्षेत्रहरू समाविष्ट छन् ।
ह्वाइम (काव्य) अन्तर्गत ह्वाइखा (कविता) २२३२ वटा, ह्वाइ (गीत) २५४, गजल ४६१ वटा, हाइकु ३९ वटा, ताङका/सिजो १८ वटा र मुक्तक २१ वटा प्रकाशित भएको देखिन्छ। त्यसैगरी सेङराप (आख्यान) तर्फ साराप (लोककथा) ३५२ वटा, तुनराप (लघुकथा) ४१ वटा, चेमा (नाटक) ११ वटा, ग्रेनराप (उपन्यास) ७ वटा समेटिएका छन्।बिजाग्योइकाइ (बालसाहित्य) तर्फ बिजाह्वाइ (बालगीत) १० वटा, बिजाह्वाइ ३९ वटा तथा बिजाराप (बालकथा) १०५ वटा, बिजाचोम्ताम (बाल निबन्ध) १८ वटा, बिजाग्रेनराप/बिजाचेमा/बिजाल्हेङमो (बाल उपन्यास/बालनाटक/बालसंवाद) ४ वटा प्रकाशन भएको पाइन्छ।
यस पत्रिकामा म्यासेङराप/सेमराप (गैरआख्यान) अन्तर्गत ल्हुइराप/सेमराप (जीवनी/आत्मकथा) ६ वटा, चोम्ताम (निबन्ध) ११७ वटा, डान्बा (संस्मरण) ११४ वटा, समीक्षा/टिप्पणी ५९ वटा, क्यालो (व्यङग्य) ९ वटा, उखानटुक्का/दैनिकी/चुट्किला ५ वटा, चिठी २२ वटा, व्यक्तित्व/ङोसेबा ४४ वटा, दर्शन र विचारतर्फ ४०८ वटा समेटिएका छन्।साथै, डिक्खेनताम (सम्पादकीय) १५७ वटा र विविध शीर्षकमा ९२ वटा लेखहरू प्रकाशित छन्। त्यसैगरी दोःबा (अनुवाद) तर्फ ह्वाइम (काव्य) विधाअन्तर्गत ह्वाइखा (कविता) ६३ वटा, गजल/हाइकु ४ वटा अनुवादित भएको देखिन्छ। सेङराप (आख्यान) तर्फ अनुवादित भएकोमा साराप (लोककथा) १० वटा, राप (कथा) ७३ वटा), तुनराप (४५) वटा, चेमा (नाटक) ३ वटा, ग्रेनराप (उपन्यास) ९ वटा छन्। म्हासेङराप (गैरआख्यान) तर्फ सेमराप (आत्मकथा/व्यक्तित्व) २ वटा, चोम्ताम (निबन्ध) ६२ वटा, डान्बा (संस्मरण) १३ वटा, विचार/विविध ३९ वटा अनुदित भएका देखिन्छन्।
तर स्मरणीय के छ भने सेङरापअन्तर्गत १ वटा कविता (लेखक/अनुवादक) भनेर समेत अनुक्रमिकामा उल्लेख भएको पाइन्छ। लेखक अनुक्रमिकामा साहित्यिक विधागत क्रममा लेखहरूलाई लेखकीय पद्धतिको अनुसार आक्षरिक क्रममा आबद्ध गरेर प्रस्तुत गरिएको छ।यसबाट तामाङ साहित्यमा लेखकीय संख्यात्मक र गुणात्मक योगदानलाई सरसर्ती मूल्याङकन गर्न सकिने आधार उपलब्ध भएको छ।यस अनुक्रमिकामा डाजाङको अङ्क, शीर्षक र प्रकाशन भएको मिति र पृष्ठ समेतको प्रस्तुतीकरणले पाठकीय सहजता मात्र सिर्जना नगरी अनुसन्धाता वा खोजकर्ताका लागि लागि समेत डाजाङ पत्रिकाभित्र छिर्न र लेख पढेर आस्वादन लिनमा मार्गनिर्देश गरेको छ।
तामाङ डाजाङ पत्रिकाको योगदान
तामाङ डाजाङ पत्रिकाले २ सय अङ्कसम्मको गौरवपूर्ण, अविराम, अविचल र सफल यात्रा गरी दुई सय अङ्कमा आइपुग्दा तामाङ जाति, सभ्यता, समाज, संस्कृतिका अन्तरकुन्तरलाई समेटेर सुदूर क्षितिजतर्फ लम्किरहेको आभास हुन्छ।तामाङ तन्नेरीको एक महफिल वा रङगमञ्चको भूमिका निर्वाह गरेको तामाङ डाजाङ पत्रिकाले साँच्चै बाल, युवा,बृद्ध सबै वयका तामाङहरूको मन मस्तिष्कमा एउटा अमिट छाप छोडेको छ।यसले तामाङ भाषा साहित्यको क्षेत्रमा बिगतमा साँघुरो गोरेटोबाट सुरू गरी हाल विशाल साहित्यिक सिर्जनाको राजमार्गतर्फ अग्रसारित भएको अनुभूत हुन्छ।
यसो भनिरहँदा यो बिर्सन हुन्न कि अग्रजको अगुवाइ, तामाङ युवाको साथ सहयोग र देश विदेशका तामाङहरूको उदार मन र सहयोगीपनको जगमा तामाङ डाजाङ पत्रिकाको आजको दुई सय अङ्कसम्ममा आइपुगेको छ।यसमा कैयन तामाङ युवायुवतीका समय, श्रम, पसिना, मेहनत, लगाबका डोबहरू कोरिएको पनि भेटिन्छन्।यसलाई पुस्तागत रूपमा साधना र संघर्षका साथ निरन्तरता दिई दोस्रो शतवार्षिकी मनाउन सक्नुले तामाङ साहित्यिक पत्रकारिकताको क्षेत्रमा एक सफलताको कथा सिर्जना भएको छ।यसमा सफलताका कारक वा सारथीहरू अवश्य पनि तामाङ जाति, समाज, भाषा, साहित्य जगताका लागि सदा प्रशंसनीय मात्र छैनन्, उनीहरू साँच्चै तामाङ समाजको दियो (नाङसाल) हुन्, जसले आफूलाई अरूहरूका लागि समर्पित गरिरहेका छन्। तसर्थ, तामाङ डाजाङ पत्रिका तामाङ जाति, भाषा र साहित्यको एक जीवन्त दस्तावेज र एक जीवित इतिहास अनि लाखौँ तामाङको विचार र दर्शनको सम्बाहक हो भन्नैपर्ने हुन्छ।
तामाङ डाजाङ पत्रिकाको विषय क्षेत्रगत योगदान
तामाङ डाजाङ पत्रिकाले तामाङ जातिको पहिचान स्थापना, तामाङ साहित्यक पत्रकारिता, तामाङ भाषा साहित्यको विकास, तामाङ स्रष्टा लेखकहरूको कृति प्रकाशन र विमोचन, स्रष्टा र लेखकहरूको सम्मानदेखि मासिक रूपमा तामाङ भाषा साहित्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, तामाङ साहित्यिक यात्रा कार्य सञ्चालनमार्फत ग्रामीण तामाङ बस्तीहरूमा पुगेर तामाङ साहित्यका मौलिक सम्पदालाई सङ्कलन, अभिलेखन र सार्वजनिकीकरण गरेर उल्लेखनीय कार्य सम्पादन गर्दै आएको छ।यसले देहायको विषय क्षेत्रमा एउटा गर्विलो र दर्विलो पाइलाहरू चालेका छन्, जसबाट तामाङ जाति, भाषा, साहित्य, संस्कृति र सभ्यताका खातिर उच्च डोबहरू कोरिएका छन् कहिल्यै नमेटिने गरी भनूँ एक अमरताको प्रतिबिम्ब बनाउने गन्तव्यतिर अघि बढिरहेछ, तामाङ डाजाङ पत्रिका।
तामाङ डाजाङ पत्रिकाको विषय क्षेत्रगत योगदानलाई देहायको उपशीर्षकहरूमा प्रस्तुत गरिएको छः
- राष्ट्र निर्माणमा तामाङ जाति, पहिचान र प्रतिबिम्ब
नेपाली राष्ट्र भनेका नेपालका १४२ जाति, १२४ भाषा, १० धार्मिक समुदाय एवम् पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका समग्र जाति र समुदायको साझा आकाङ्क्षा, विश्वास, सम्मान र सहिष्णुताको समष्टि हो।जसमा तामाङ जाति नेपालका जातिहरूमध्ये जनसाङ्खिक हिसाबमा पाँचौँ श्रेणीमा पर्दछ।नेपालको भौगोलिक एकीकरण अघि तामाङहरूको आफ्नै राज्य रहेको तथ्य रिन्छेन दोर्जे राजा (रिन्छेन दोर्जे ग्ले) को अध्ययनबाट प्रस्ट भएकै छ।कुनै बेला एकल राज्यको विरूद्ध उभिएका तामाङहरू नेपाल राज्यको विस्तार र एकीकरणको क्रममा विद्रोह गर्न पुग्दा नेपाली शासकीय कोपभाजनमा पर्न पुगे।उनीहरूलाई मासिने जातमा जबर्जस्त धकेल्दै शासकीय चाकरी र दास बनाइए।फलतः सदियौँको तिरस्कार, बहिष्करण र शासकीय विभेदको शिकार भएका तामाङ जातिको राज्य संरचनामा कमजोर उपस्थिति रहनु अस्वभाविक रहेन।
तामाङ जातिका यिनै ऐतिहासिक उहापोह, घुम्ती र आरोहअवरोहहरूलाई पत्रिकामा प्रकाशित लेखहरूमार्फत अभिलेखन मात्र गरिएको पाइँदैन।जसमा तामाङ जाति,नेपालको शासन व्यवस्था र विभेदको अन्त्यकासाथ समतामूलक समाजको निर्माणका लागि ताम्सालिङ प्रदेश स्थापनासम्मका अधिकारमुखी आवाजहरू सशक्त रूपमा सिर्जनामार्फत् उठान गरिएको पाइन्छ। तसर्थ, तामाङ जाति र मुक्ति आन्दोलनको मुखपत्रको भूमिका समेत यस पत्रिकाले निर्वाह गरेको छ भन्दा उचित देखिन्छ।
ख)तामाङ सभ्यता, संस्कार र संस्कृतिको सम्बाहक
तामाङ जाति, भाषा, संस्कृति र सभ्यताको अन्तरङ्गगत पक्षहरू पत्रिकामा प्रकाशित सिर्जनाहरूमा अभिव्यञ्जित भएको पाइन्छ।तसर्थ, तामाङ डाजाङ पत्रिका एक अपूर्व सङ्गम बनेको छः तामाङ जाति, भाषा, संस्कृति, साहित्य र सभ्यताको।किनकि यसले एक साहित्यिक पत्रिकाको कलेवरमा सबैलाई स्थान मात्र दिएको छैन, तामाङ जनजन र मनमनसम्म पुग्ने प्रयत्न गरेको छ।त्यसैले यो पत्रिका तामाङ सभ्यता, संस्कृति, संस्कारको एक सम्बाहक हो ।
- तामाङ साहित्यिक पत्रकारितामा योगदान
नेपाली साहित्यिका मधुपर्क र गरिमा जस्तै तामाङ साहित्यिक पत्रकारिताको लागि गरिमा हो भन्न सकिन्छ तामाङ डाजाङ पत्रिकालाई।छोटो समयमा उदाएर छिट्टै विलीन हुने साहित्यिक पत्रिकाहरूमाझ तामाङ डाजाङ र तामाङ डाजाङ पत्रिका साँच्चै सतिसाल भएर उभेन सफल भएको तथ्य साबित भएको छ र त यसले दुई सय अङकको लामो कठिन यात्रा तय गर्न सक्यो।यसले यात्रा क्रममा आइपरेका आर्थिक, प्राविधिक, जनशक्तिगत बाधा व्यवधानकाबिच आफूलाई निरन्तरता दिन सक्यो, जुन अनुभव सिकाइ मात्र भएका छैनन्, आगामी दिनका लागि मार्गदर्शक समेत बनेको देखिन्छ।
- तामाङ वाङमय (भाषा र साहित्य) मा योगदान
तामाङ डाजाङ तामाङ साहित्यिक मासिक पत्रिका भएकाले साहित्यिक विधागत सिर्जनाहरू प्रकाशन गर्नु यसको मूल कर्म भएको देखिन्छ।खासगरी काव्य, आख्यान र गैरआख्यानसहित अनुवाद साहित्यामा समेत तामाङ डाजाङ पत्रिकाको सबल उपस्थिति भएको पाइन्छ।यी सबै साहित्यिक सिर्जनाहरू तामाङ भाषामा देवनागरी लिपिमा लेखिएका छन् जसले तामाङ भाषाको संरक्षण, विकासका लागि विशेष योगदान प्रदान गरेको छ।यसमा पत्रिकामा प्रकाशित सिर्जना नै तामाङ भाषाका लागि विस्तृत अभिलेखन हुन्, जसले तामाङ भाषाको विस्तारका लागि यथेष्ट भाषिक सामग्री सङकलन गरेको छ।अझ डिजिटल अनुवाद पद्धतिमा लैजानका लागि त अपरिहार्य वा करपोरा अर्थात् यसमा तामाङ भाषाको लागि पाठहरू प्रसस्त सङ्कलन भएका छन्।यस कार्यबाट तामाङ भाषाको यान्त्रिक अनुवाद (मेसिन ट्रान्सलेसन) लाई सघाउ पुग्ने देखिन्छ भने डिजिटल पुस्ताका तामाङ बालबालिकालाई यान्त्रिक अनुवादमार्फत् सिक्ने पाठहरू उपलब्ध भएका छन्।
- तामाङ स्रष्टा र सर्जकको मासिक डबली
तामाङ डाजाङ पत्रिकाको एक सशक्त, सहभागितात्मक एवम् सिर्जनात्मक कार्यक्रम हो- मासिक रूपमा साहित्यिक कार्यक्रम सञ्चालन एवम् कथा, कविता, गजल, गीत प्रस्तुतिसहित अन्य कार्यक्रमहरू समेतको निरन्तर आयोजना।यसबाट एकातिर तामाङ युवाहरूलाई साहित्यिक सिर्जना गर्न प्रेरित गरेको छ भने अर्कातिर उनीहरूका लागि प्रतिभा प्रष्फुटन गर्न साझा मञ्च प्रदान गरेको छ।तामाङ डाजाङ पत्रिका बाट साहित्यिक यात्रा सुरू गरेका कतिपय तामाङ स्रष्टाहरू राष्ट्रिय पहिचान कायम गर्न सफल भइसकेका छन्।अर्कोतर्फ तामाङ डाजाङले आयोजना गर्ने लेखन प्रतियोगिता, पुस्तक विमोचन, सेलो राग, विमर्शजस्ता कार्यक्रमबाट तामाङ समाजका सबै तहका व्यक्ति, व्यक्तित्वकाबीच चिनापर्जी, विचार साटासाट र अन्तरसम्बन्धको एउटा माहोल तयार गरेको छ।तसर्थ, तामाङ डाजाङ पत्रिका तामाङ समाजका सबैलाई जोड्ने एक सेतु वा पुल बनेको देखिन्छ।
- तामाङ साहित्यिक यात्रा र अभिलेखन
तामाङ डाजाङले तामाङ समाजकेन्द्रित साहित्यिक यात्रा गरेर तामाङ जातिको लोकसाहित्य एवम् मौलिक साहित्यलाई अभिलेखन गर्दै आएको छ।साथै, तामाङ साहित्यको विकासक्रममा प्रत्यक्ष रूपमा जनस्तरमा कार्यक्रम आयोजना गरी एउटा नयाँ प्रकारको अभ्यास गरेको छ।यसले पक्कै पनि तामाङ समाज र साहित्यलाई अन्तर्आबद्ध गरी थप उर्जाकासाथ अगाडि बढ्ने परिवेश तयार गरेको छ।वास्तवमा साहित्य सिर्जना साहित्यका लागि मात्र हो वा साहित्य सिर्जना समाज र जीवनको लागि हो भन्ने साहित्यिक बहसमा तामाङ साहित्य तामाङ समाजको लागि हो भन्ने सैद्धान्तिक आधारलाई व्यवहारको कसीमा परीक्षण गर्न यस प्रकारका कार्यक्रमहरू असाध्यै उपयोगी हुन्छन्।तसर्थ,तामाङ डाजाङपत्रिकाबाट सञ्चालित तामाङ साहित्य यात्रा एउटा नयाँ आयाम हो, नयाँ प्रयोग हो भने तामाङ समुदायलाई जोड्ने माध्यम हो भन्न सकिन्छ।
- तामाङ भाषाको विकास कार्यमा संलग्नता
तामाङ भाषाको विकासका लागि एक हदसम्मको तामाङ लिखित साहित्यको विकासको चरण पार गर्नुपर्ने हुन्छ।यसमा काव्य, आख्यान, गैरआख्यान तथा अनुवादसम्मका पाटापक्षहरू समेटिका छन्।यस पत्रिकाले यी सबै विधासम्बद्ध सिर्जना र रचनाहरू सङकलन, प्रकाशन र विमोचन कार्य गरिआएको छ।त्यतिमा मात्र सीमित नरही यस तामाङ डाजाङबाट सहकार्यात्मक रूपमा तामाङ ज्ञान महोत्सव, तामाङ भाषाको मानकीकरणको कार्यशाला तथा तामाङ भाषा र साहित्यसम्बन्धी विविध कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको छ।यसले तामाङ भाषा र साहित्यको आधुनिकीकरण, मानकीकरण र विकासमा उल्लेख्य योगदान पुगेको छ।
समस्या र चुनौतीको पर्गेल्याइ
तामाङ डाजाङबाट प्रकाशन हुँदै आएको तामाङ डाजाङ पत्रिकाको दुई सयसम्मको यात्रा क्रममा प्रकाशनको लागि आर्थिक जोहो नै हो भन्नेमा कोही पनि अनभिज्ञ छैन होला।यसलाई व्यक्तिगत योगदानकासाथ केही तामाङ युवायुवतीले जीवनका अधिकाँश समय यसमा खर्चेर यहाँसम्म ल्याएको देखिन्छः विना तलब, विना सेवा सुविधा।यसरी तामाङ भावना र संवदेना निसृत योगदानको भरमा पनि यहाँसम्म आइपुग्नु ठुलै संयोग मान्न सकिन्छ।तर सधैँ यसरी चल्न सक्छ त ? किन अझै व्यावसायीकरण हुन सकेन भन्ने सवालहरू उठ्ने पनि गरेका छन्।अझ आजको डिजिटल युगमा यसलाई डिजिटल फर्ममा प्रकाशन गरेपछि हालको म्यानुअल स्वरूप के हुने हो ? जस्ता जिज्ञासाहरू समेत उठेको छन्।
यस पत्रिकाको हालसम्मको निरन्तरतामा स्वतःस्फूर्त रूपमा केही तामाङ युवायुवतीहरूले योगदान गरेका छन्।साथै।तामाङ समाजका अग्रज व्यक्ति विशेषबाट एवम् तामाङ सङ्घसंस्था लगायत विभिन्न संस्थामार्फत् उपलब्ध सहयोगबाट आर्थिक एवम् अन्य पक्षहरूको व्यवस्थापन हुँदै आएको दखिन्छ।तर आउँदा दिनहरूमा यसको पुस्तान्तरण गर्ने विषय र जिम्मेवारीको दिगोपनाका लागि भविष्यमुखी योजनाले ठोस स्वरूप ग्रहण भने अझै गरिसकेको पाइँदैन।
अबको बाटो
पहिलो, बागमती प्रदेशमा तामाङ भाषा सरकारी काजकाजमा प्रयोगमा आएको वर्तमान अवस्थामा तामाङ डाजाङ पत्रिकाले प्रदेश सरकारबाट सरकारी अनुदान उपलब्ध गरी यसलाई प्रकाशन गर्नु प्रदेश सरकार दायित्व हो भने प्रदेश सरकारबाट पत्रिकाले यसखाले सुविधा प्राप्त गर्नु तमाङ डाजाङ संस्था र समष्टिमा तामाङ समुदायको अधिकार पनि हो।दोस्रो, तमाङ डाजाङ पत्रिकालाई समग्र तामाङ जाति, भाषा, संस्कृति र सभ्यताको दस्तावेजका रूपमा ग्रहण गरेर यसको थप विकास र विस्तारका लागि तामाङ जातिसम्बन्धी सङघसंस्थाहरू तथा व्यक्तिहरूबाट संयुक्त सहयोग वा लगानी गर्ने पद्धतिको विकास गर्नुपर्ने देखिन्छ।तेस्रो, बागमती प्रदेश सरकार र यसअन्तर्गतका ११९ स्थानीय तहहरूबाट प्रदान गरिने कल्याणकारी विज्ञापन, सूचना वा सन्देश यस पत्रिकामा उपलब्ध गराउनु जरूरी छ।चौथो, डिजिटल फर्ममा यसलाई रूपान्तरण गरेर गैरआवासीय तामाङहरूको सहभागिताका लागि यस पत्रिकामा स्थान प्रदान गर्ने एवम् पत्रिकाका लागि योगदान समेत पुर्याउने व्यवस्था गर्नुपर्ने देखिन्छ।अन्तमा, तामाङ समाजसँगसँगै तामाङ डाजाङ र तामाङ डाजाङ पत्रिकाको निरन्तरताका लागि हरेक तामाङको तन, मन र धन मूल अस्त्र हो।अरू सबै विकल्पका ढोका बन्द हुँदा पनि तामाङमुखी भावना, संवेग, कर्तव्य, जिम्मेवारी एवम् कर्मले तामाङ डाजाङ संस्था र तामाङ डाजाङ पत्रिकाको निरन्तरता, सफलता र हजारौँ शतबार्षिकीहरू अवश्यम्भावी बन्छन्, सुनिश्चित हुन्छन् र सदासर्वदा अमरताको यात्रामा रहन्छन्।
स्रोतः तामाङ डाजाङ पत्रिका २०० औँ अङकमा प्रकाशित लेख