विद्यालयमा तामाङ भाषा विषयको पठनपाठनः उपलब्धि र भावी कार्यदिशा

विद्यालयमा तामाङ भाषा विषयको पठनपाठनः उपलब्धि र भावी कार्यदिशा

डा.लोकबहादुर लोप्चन

का.मु.सचिव, भाषा आयोग

पृष्ठभूमि

प्रजातन्त्रको पुनस्थापना पूर्व २०४६ अघि मातृभाषामा शिक्षाको कुनै गुन्जायस नै थिएन भन्दा हुन्छ।एकल नेपाली भाषा र भेषयुक्त एकात्मक केन्द्रीकृत शासन थियो।भनूँ नेपालीइतरका सबै मातृभाषाहरू प्रयोग गर्न राज्यबाट प्रतिबन्ध नै लगाइएको थियो।परिणामस्वरूप मातृभाषाहरूलाई जबरजस्त एकल नेपाली भाषामा अपसरित हुन बाध्य पारिएको थियो भने नेपालीबाहेकका अन्य भाषाहरू किनारीकृत थिए।तर नेपाल अधिराज्यको संविधान २०४७ मा भने नेपालमा बोलिने सबै भाषाहरूलाई संविधानतः राष्ट्रिय भाषाको दर्ज प्रदान ग-यो भने मौलिक हकका रूपमा प्राथमिक तहको शिक्षा मातृभाषामा दिन सक्ने संवैधानिक अधिकारको सुनिश्चितता भयो।

वि.सं.२०५० सालमा वैरागी काइँला (तिलविक्रम नेम्बाङ्ग) राष्ट्रिय भाषा नीति सुझाउ आयोग (२०५०) गठन भई नेपाल समक्ष प्रतिवेदन पेस भयो।यसमा नेपालमा बोलिने मातृभाषाहरूमा माध्यम र विषयका रूपमा शिक्षा प्रदान गर्न सकिने भनी सिफारिस भएको थियो।प्राथमिक शिक्षा पाठ्यक्रम (२०४९) एक विषय स्थानीय/मातृभाषा विषय पठनपाठन गर्न पाउने व्यवस्था गरियो।सोही बमोजिम वि.सं.२०५४ तिर पाठ्यक्रम विकास केन्द्रबाट पहिलो पटक देवनागरी लिपिमा तामाङ भाषाको कक्षा १-५ को पाठ्यपुस्तक तयार भएको देखिन्छ।तर उक्त पाठ्यपुस्तक कार्यान्वयनमा गएको देखिँदैन।तत्पश्चात नेपाल तामाङ घेदुङको पहलमा पाठ्यक्रम विकास केन्द्रको स्वीकृति लिई पूरक पाठ्यपुस्तकका रूपमा तामयीग लिपिमा तामाङ भाषा विषयको पाठ्यपुस्तक लेखन भई प्रकाशन समेत भएको पाइन्छ।त्यसैगरी वि.सं.२०६६ सालमा सम्भोटा लिपि प्रतिष्ठानको पहलमा पाठ्यक्रम विकास केन्द्रबाट सम्भोटा लिपि कक्षा १ को पाठ्यपुस्तक प्रकाशन भई कार्यान्वयनमा गएको पाइन्छ।हालसम्म सम्भोटा लिपि प्रतिष्ठानको पहलमा पाठ्यक्रम विकास केन्द्रबाट कक्षा १० सम्मको तामाङ भाषाको पाठ्यपुस्तक लेखन गरी प्रकाशन र कार्यान्वयन भएको देखिन्छ।त्यसपछि भने नेपाल तामाङ घेदुङबाट वि.सं.२०७७ सालमा भाषा आयोगसँगको सहकार्यमा सञ्चालित स्थानीय भाषा नीति र तामाङ भाषा विषय पठनपाठनसम्बन्धी कार्यक्रम सञ्चालन भएको पाइन्छ।

भाषा आयोग र स्थानीय तहको सहकार्यमा स्थानीय भाषा नीति निर्माण

वि.सं.२०७७ सालको एक दिन नेपाल तामाङ घेदुङको भाषा र लिपि विभागका प्रमुख काजीमान थिङ मलाई खोज्दै भाषा आयोगको मातृभाषा शिक्षा शाखामा आइपुग्नु भयो।त्यतिखेर म मातृभाषा शिक्षा शाखा प्रमुख थिएँ।त्यस भेटघाटको क्रममा काजीमान थिङले तामाङ भाषाको लागि भाषा आयोगको तर्फबाट के गर्न सकिन्छ ? यसउपर पनि केही गर्नुप-यो कुरा राख्नु भएपछि स्थानीय तहसँगको सहकार्यमा भाषा आयोग र नेपाल तामाङ घेदुङबाट स्थानीय भाषा नीति निर्माणका साथै तामाङ भाषा विषयको पठनपाठन गर्न सकिने छलफल भयो।यसअघि नै भाषा आयोगको मातृभाषा शिक्षा शाखा प्रमुखको तर्फबाट संयोजन गरी सुनापति गाउँपालिका रामेछापमा बहुभाषिक शिक्षाका लागि नमुना विकास कार्यक्रम सञ्चालन गरिएको थियो।यसमा पहल भने समन्वय मित्र उदय तामाङले गरेका थिए।त्यस क्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थी, शिक्षाविद् एवम् प्रा.डा.विद्यानाथ कोइराला र मेरो  समेत उपस्थिति रहेको थियो।यसरी स्थानीय तहसँग सहकार्य गरेर तामाङ भाषालाई शिक्षा क्षेत्रमा कार्यान्वयन गर्न सकिन्छ भन्ने सिकाइ प्राप्त भएको थियो।

यस्तै सिकाइको आधारमा काजीमान थिङलाई सिन्धुलीका मरिन गाउँपालिकासँग सहकार्य गरी भाषा आयोगको समेत उपस्थितिमा स्थानीय भाषा नीति तयार गर्नका लागि छलफल अगाडि बढ्यो। यसलाई अझ ठोस रूपमा अगाडि बढाउन एक दिन भाषाविद अमृत योञ्जन तामाङ, काजीमान थिङ र मसहित बैठक बस्यौँ।त्यसैदिन एक जना कानुन क्षेत्रको विज्ञ समेत समेटेर स्थानीय भाषा नीतिको मस्यौदा तयार गर्ने सहमतिमा पुग्यौँ।सोही सहमतिअनुसार केही महिनापछि धुलिखेलको एक होटलमा भाषाविद् अमृत योञ्जन तामाङ, अधिवक्ता रामबहादुर थापा मगर, म र काजीमान थिङ बसेर स्थानीय तहको भाषा नीतिको मस्यौदा तयार गरियो।त्यसलाई मैले आवश्यक परिमार्जन, संशोधन र परिमार्जन गरी सर्वप्रथम सुर्खेत जिल्लाको चौकुना गाउँपालिकामा भाषा आयोगको कार्यक्रमको सिलसिलामा उपलब्ध गरायौँ।नेपालमा सङ्घीयतापछि सर्वप्रथम स्थानीय भाषा नीति पारित गर्ने पहिलो स्थानीय तहमा बन्न पुग्यो सुर्खेतको जिल्ला चौकुना गाउँपालिका।यसका लागि तात्कालीन उपाध्यक्ष निर्मला मगर र मगर भाषा पाठ्यपुस्तक लेखक मनबहादुर मगरको प्रशंसनीय मात्र नभई यसमा ऐतिहासिक भूमिका रह्यो।त्यसैगरी काजीमान थिङजीले यसलाई मरिन गाउँपालिकामा स्वीकृत गराई स्थानीय भाषा नीति पारित गर्ने दोस्रो स्थानीय तह हुन सफल भयो।यसरी स्थानीय भाषा नीतिको विधिवत प्रारम्भ हुनु अवश्य पनि भाषिक यात्रामा जोडिएको एउटा थप आयाम थियो भने सफलताको दृष्टान्त समेत।

तामाङ भाषा विषय पठनपाठनका लागि नेपाल तामाङ घेदुङको पहल

एक दिन हाल अन्तर्राष्ट्रिय तामाङ परिषदका महासचिव एवम् तात्कालीन वरिष्ठ उपाध्यक्ष टासी लामाबाट अमृत योञ्जन तामाङ, घेदुङकै तात्कालीन महासचिव बाबु घिसिङसहित बौद्धस्थित एक क्याफेमा तामाङ भाषा विषयको पठनपाठनसम्बन्धी विषयमा हाम्रो पहिलो पटक अनौपचारिक छलफल भयो।त्यस दिन घेदुङको तर्फबाट के कसरी जाने विषय उठान गरिए भने अमृत योञ्जन र मबाट विज्ञको तर्फबाट आगामी कार्यदिशाका विषयमा सुझाइयो।यसरी दुई चार पटकको अनौपचारिक छलफलपछि घेदुङका अध्यक्ष मोहन गोलेसहित कोषाध्यक्ष रूपबहादुर योञ्जन, उपाध्यक्ष कुमार घिसिङसँग यस विषयमा छलफल भयो।त्यसैबिचमा नेपाल तामाङ घेदुङबाट तामाङ भाषा पाठ्यपुस्तक लेखकहरूका लागि लिपि प्रशिक्षण तालिम पनि सञ्चालन भयो।जसमा मोहन कुमार तामाङ, प्रतीक ङेसुर, दर्पण ब्लोन र लिलाबहादुर घलानसहितका लेखकहरू तामयीग लिपिमा तामाङ भाषा विषयको पाठ्यपुस्तक लेखन कार्यका लागि तयार हुनुभयो।

यसै बिचमा नेपाल तामाङ घेदुङबाट तामाङ भाषा विषय शिक्षणका लागि अलग्गै समिति बनाउने कार्य समेत भए।त्यसले मूर्त रूप भने लिन सकेन तर तामाङ भाषा विषय, लिपि, भाषिक स्वरूप र कार्यान्वयनका लागि पर्याप्त गृहकार्य हुन पुग्यो।जसले तामाङ भाषा विषयलाई स्थानीय तहसम्म कार्यान्वयनका लागि तामाङ घेदुङका सल्लाहकारहरूसँग अन्तर्क्रिया भयो।त्यसपछि घेदुङले आफूसँगसँग आबद्ध स्थानीय तहका प्रमुखहरूसँग समन्वय कार्य प्रारम्भ ग-यो।आ.व.२०७८/७९ लागि सम्बद्ध स्थानीय तहहरूबाट तामाङ भाषा विषय कार्यान्वयनका लागि कार्यक्रम र बजेट तय गर्न घेदुङबाट अनुरोधसहित पत्राचार भयो।यसरी घेदुङले स्थापनाको ६ दशकपछि तामाङ भाषा विषयलाई भाषा आयोग र स्थानीय तहको सहकार्यमा कार्यान्वयन गर्ने ठोस आधार तयार भएको थियो । अन्ततः एउटा ब्रेक थ्रुकासाथ कार्यान्वयन हुन पुग्यो ।

भाषा आयोग र नेपाल तामाङ घेदुङबिच सहकार्यका लागि सम्झौता

अन्तर्राष्ट्रिय तामाङ परिषदका तात्कालीन वरिष्ठ उपाध्यक्ष टासी लामासहितका पदाधिकारीको उपस्थितिमा भाषा आयोग र नेपाल तामाङ घेदुङबिच वि.सं. २०७७ सालमा स्थानीय भाषा नीति र तामाङ भाषा विषय कार्यान्वयन गर्न सम्झौता भयो।यसअघि नै आयोगको मातृभाषा शिक्षा शाखा प्रमुखको हैसियतमा मैले आयोगका अध्यक्ष डा.लवदेव अवस्थी र का.मु.सचिव लक्ष्मीप्रसाद भट्टराईसँग यस विषयमा छलफल गरी सम्झौताको वातावरण तयार पारिसकेको थिएँ।यो सम्झौतासँगसँगै भाषा आयोग र घेदुङलाई स्थानीय तहको सहकार्यमा स्थानीय भाषा नीति र तामाङ भाषा विषय कार्यान्वयन गर्ने वैधानिक आधार  बनेको थियो।

स्थानीय भाषा नीति र तामाङ भाषा विषय कार्यक्रमको तयारी र कार्यान्वयन

भाषा आयोगसँग सहकार्यको सम्झौता हुनु अघि नै घेदुङबाट स्थानीय तहका गाउँपालिका र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षहरूसँग स्थानीय भाषा नीति र तामाङ भाषा विषय पठनपाठनको लागि कार्यक्रम सञ्चालनका समन्वय भएको थियोय।त्यतिखेर बागमती प्रदेशका ३२ स्थानीय तहहरूसँग सहकार्यका लागि पहल गरिसकेको थियो।घेदुङका अध्यक्ष मोहन गोले तामाङ र मेरो बिचमा छलफल भएअनुसार घेदुङ अध्यक्षबाट स्थानीय तहसँग सहकार्यका लागि प्रस्तावना तयार गर्ने र मैले उक्त कार्यक्रमको मोडल, कार्यतालिका र अनुमानित बजेट तयार गर्ने कार्य गरियो।करिब २०-२२ वटा स्थानीय तहका लागि कार्यक्रम र बजेट तयार गरिएको थियो।

पहिलो कार्यक्रम वि.सं.२०७७ सालमा काभ्रे जिल्लाको रोशी गाउँपलिकामा सम्पन्न भयो।क्रमशः मण्डनदेउपुर नगरपालिका काभ्रे, किस्पाङ गाउँपालिका नुवाकोट, निजगढ नगरपालिका बारामा कार्यक्रमहरू सञ्चालन भए।तर कोरोनाको बन्दाबन्दीको कारण त्यसपछि केही समयको लागि कार्यक्रम अवरूद्ध हुन पुगेको थियो।वि.स.२०८० सम्म आइपुग्दा रोशी गाउँपालिका काभ्रे, मण्डनदेउपुर काभ्रे, मरिन गाउँपालिका सिन्धुली, थाहा नगरपालिका मकवानपुर, खानीखोला गाउँपालिका काभ्रे, पञ्चकन्या गाउँपालिका नुवाकोट, कोन्ज्योसोम गाउँपालिका ललितपुरमा तामाङ भाषा विषय पठनपाठन भइरहेको छ।तथापि राप्ती नगरपालिका चितवन, दोरम्बा गाउँपालिका रामेछाप,जुगल गाउँपालिका सिन्धुपाल्चोक, निजगढ नगरपालिका बारा, किस्पाङ गाउँपालिका नुवाकोटमा कार्यक्रमसहित अभिमुखीकरण भए पनि तामाङ भाषा विषय पठनपाठन हुन सकेको छैन। हालसम्म घेदुङले स्थानीय भाषा नीति र तामाङ विषय शिक्षाका लागि १२ वटा पालिकाहरूमा कार्यक्रम सञ्चालन गरेको देखिन्छ तर कार्यान्वयन भने ७ स्थानीय तहमा मात्र हुन सकेको छ। वि.सं. २०८० सालमा थप दुई स्थानीयहरू हेटौँडा उपमहानगरपालिका मकवानपुर र राप्ती नगरपालिका चितवनमा पनि तामाङ भाषा विषय पठनपाठन सुरु भएको छ ।भाषा आयोग र तामाङ घेदुङको सहकार्यमा तामाङ भाषा विषयसम्बन्धी कार्यक्रमहरूका झलकहरू देहायअनुसार छन्-

तामाङ घेदुङको पहलमा स्थानीय तहमा सञ्चालित तामाङ भाषा शिक्षासम्बन्धी कार्यक्रमका झलकहरू

.रोशी गाउँपालिका काभ्रेपलाञ्चोक                                      

२.मण्डनदेउपुर नगरपालिका, काभ्रे

३.खानीखोला गाउँपालिका, काभ्रे                                          

  ४.   कोन्ज्योसोम गाउँपालिका, ललितपुर

५.थाहा नगरपालिका मकवानपुर

६.निजगढ नगरपालिका ,बारा

७.राप्ती नगरपालिका चितवन                                                

   ८.मरिन गाउँपालिका सिन्धुली

९.दोरम्बा गाउँपालिका रामेछा                

   १०.जुगल गाउँपालिका सिन्धुपाल्चोक

११.किस्पाङ गा.पा.नुवाकोट                        

 १२.पञ्चकन्या गाउँपालिका, नुवाकोट

१३. हेटौँडा उपमहानगरपालिका, मकवानपुर

१४. राप्ती नगरपालिका चितवन

तामाङ भाषा विषय तामाङ भाषा विषय पठनपाठनको पुनरावलोकन

तामाङ भाषा विषय पठनपाठनको प्रारम्भिक चरण भने वि.सं.२०६७ मा पाठ्यक्रम विकास केन्द्रबाट तयार भएको तामाङ भाषा विषयको पाठ्यपुस्तकको कार्यान्वयनबाट भएको पाइन्छ।त्यतिबेला सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, नुवाकोट जिल्लाका केही विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन भएको पाइयो।लेखकले “विद्यालयमा तामाङ भाषाको शैक्षिक प्रयोग” विषयमा पिएचडीको स्थलगत अध्ययनको सिलसिलामा वि.सं.२०७३ देखि २०७६ को अवधिमा पाठ्यक्रम विकास केन्द्रबाट तयार पारिएको सम्भोटा लिपिमा लिखित तामाङ विषय पठनपाठन भइरहेको पाइएको थियो।अध्ययनमा मूलतः तामाङ भाषाको माध्यम र विषयका रूपमा प्रयोग स्थिति अवलोकन गरी विश्लेषण गरेको थियो।जसमा रसुवा जिल्लाको रसुवा मा.वि.धुन्चे, सरस्वती आ.वि., भीमसेन आ.वि.ठुलो भार्खु, तेम्राङ प्रा..वि.राम्चे, ग्राङ प्रा.वि.राम्चे, नारायणस्थान आ.वि.लहरे पौवा र भुवनेश्वरी प्रा.वि. लहेरपौवामा विद्यालयको तल्लो कक्षाहरू १-३ सम्म नेपाली भाषाका साथै तामाङ भाषा उल्था गरेर पढाउने गरेको पाइएको थियो।त्यसैगरी नुवाकोट जिल्लाको देउराली मा.वि. देउराली, सानु किम्ताङ मा.वि. किम्ताङ तामाङ भाषा विषय पठनपाठन भएको पाइएको थियो।त्यसैगरी काभ्रेको आजाद आ.वि.बनखु, भक्तपुरको सरस्वती आ.वि. नङखेल र काठमाडौँको महेन्द्र मा.वि.फूलबारी बौद्धमा तामाङ भाषा विषय पठनपाठन भइरहेको पाइयो।लेखकको जानकारीअनुसार हाल महेन्द्र मा.वि. बौद्धमा कक्षा ६ सम्म तामाङ भाषा विषय पठनपाठन भइरहेको छ।तर दुःखको कुरा अन्य विद्यालयहरूमा तामाङ भाषा विषयको पठनसम्बन्धी आजको दिनमा जसरी म स्वयम बेखबर छु, विद्यालयहरू पनि अभिभावक विनाका बालकझैँ कतै बेवारिसे भए कि ? भन्ने मेरो अनुमान छ।त्यतिखेर पनि विद्यालयहरूमा पुस्तकको उपलब्धताको   समस्या थियो र यस कार्यक्रमको सुरूवातकर्ताहरूको उपस्थितिको अभाव देखिन्थ्यो।शायद अहिले पुनः अध्ययनमा निस्कने हो भने ती विद्यालयहरूमा तामाङ भाषा विषयको पठनपाठन शून्यमा झरेको होला भनी सहजै आँकलन गर्न सकिन्छ।

यसरी, त्यतिखेरको तामाङ भाषा विषयको पठनपाठनको परियोजना एक संवेग, उम्मेद वा हुटहुटी थियो।यसले राम्रै प्रभाव पारेको पनि थियो तर संस्थागत उत्तरदायित्व, निरन्तरता, जवाफदेहिताको अभावको कारण बिलखबन्दमा परेको अवस्था देखियो।खासगरी यसमा कुनै व्यक्ति वा संस्थाको पहल वा लहडमा तामाङ भाषा विषयको पठनपाठन सुरू हुने भए तापनि यसको निरन्तरतामा ठुलो खाडल देखियो। ठुलै पापड बेलेर राज्य सरकारसँग भिडेर तामाङ भाषा विषयको पठनपाठन जस्तो महत्वपूर्ण कार्य त भए तर त्यसको निरन्तरताको लागि अभिभावकीय दायित्व भने न सरकारी पक्षले लियो न भाषिक सङ्घसंस्थाले।यो एक झमटको अभियान जस्तो बनेको देखियो । यसरी तामाङ जाति र भाषासम्बन्धी कार्यक्रम सञ्चालनको दिगोपना चाहिँ चुनौती बन्दै गएको हो कि भनी सहजै अनुमान लगाउन सकिन्छ।

तामाङ भाषा विषय पठनपाठनः कार्यक्रमको उपलब्धि र समीक्षा

व्यक्ति र संस्थागत जीवनमा समय र पात्रको हुटहुटीका साथ कुनै नयाँ यात्रा थालनी हुने स्वभाविक प्रक्रिया हो।कालान्तरमा संस्थामा पात्रको परिवर्तनसँगै संस्थाबाट बिगतमा सुरूवात गरेका कार्यबाट विषयान्तर हुनु नेपाली समाज, संस्था र समग्र शासकीय व्यवस्थाको मूल चरित्र जस्तो देखिन थालेको छ।भाषा आयोगको मातृभाषा शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा लेखक स्वयम हुँदा तामाङ भाषा विषय पठनपाठनका लागि थालनी गरिएको सहकार्यको यात्रालाई अर्को पात्रले संस्थागत रूपमा निरन्तरता दिइनुपर्ने हो तर अर्को पात्रलाई यस विषयमा जानकारी त के बेखबर नै भएको देखिन्छ।किनकि हाल आयोगको का.मु.सचिवको जिम्मेवारीमा लेखक स्वयम रहँदा जुन शाखाबाट तामाङ भाषा विषय पठनपाठनको लागि सोच र कार्यक्रमको उद्भव भएको थियो।त्यस शाखाको जिम्मेवारी हाल जसले सम्हालिरहेको छ, उसलाई तामाङ घेदुङ र भाषा आयोगको सहकार्य भएको छ भन्ने सम्म पनि सूचना नभएको देखिन्छ।यसलाई संस्थागत रूपमा जिम्मेवारी हस्तान्तरण र निरन्तरताका लागि उत्तरदायी नभएको अवस्था हो भन्न सकिन्छ।ठ्याक्कै, यस्तै अवस्था तामाङ घेदुङमा पनि नहोला भन्न सकिँदैन।घेदुङको भाषा र लिपि विभागमार्फत प्रारम्भ भएको यस तामाङ भाषा विषय पठनपाठन कार्यक्रमका बारेमा हालवालालाई सामान्य जानकारी भएको छ छैन ? यसबारेमा नेतृत्वले जिम्मेवारी हस्तान्तरण गर्ने संस्थागत संस्कार छ कि छैन ? भने तामाङ भाषा विषय पठनपाठनसम्बन्धी कार्यको जिम्मेवारी नेतृत्वले सम्बद्ध शाखालाई प्रदान गरेको छ कि छैन भन्ने कुराले ठुलो महत्व राख्छ।यदि त्यसो हुँदो हो त, अहिलेको रिक्तता आउने थिएन होला।यसरी, के सरकारी के गैरसरकारी उस्तैउस्तै देखिन्छन् संस्थागत संस्कृति र संस्कारमा।

घेदुङको करिब ६० वर्षे लामो संस्थागत जीवन यात्रमा वि.सं.२०७७ मा तामाङ भाषा विषय पठनपाठनसम्बन्धी कार्यक्रम सफल रूपमा सञ्चालन ग-यो।जुन घेदुङको लामो यात्राकामाझ सम्भावना भन्दा पर धकेलिएको जस्तो देखिएको थियो।तर तामाङ भाषा विषय कार्यान्वयन हुनु एउटा ठुलै सफलता थियो।यसलाई घेदुङको इतिहासमा तामाङ भाषा शिक्षाको हिरक यात्राको एक कोशेढुंगा भन्दा पनि फरक पर्दैन होला।किनकि बागमती प्रदेशमा ३२ स्थानीय तहहरूसम्म घेदुङबाट स्थानीय भाष नीति र तामाङ भाषा विषय पठनपाठनको लागि प्रस्ताव गरिनु छोटो समयको उच्च उपलब्धि रह्यो नै।कोरोनाकालको कठिनताको बाबजुद पनि १२ वटा स्थानीय तहहरूमा स्थानीय भाष नीति र तामाङ भाषा विषय कार्यक्रम सञ्चालन गर्न सफल भयो भने ७ वटा स्थानीय तहहरूमा त तामाङ विषय पठनपाठन भइरहेकै छ।यसरी करिब ३ वर्षको तामाङ भाषा विषय पठनपाठन कार्यको अवधिमा विद्यालयहरूमा तामाङ भाषा विषय पठनपाठन कार्य कक्षा ४ सम्म पुग्नु भनेको अल्प समयभित्रको उच्चतम प्राप्ति भन्न करै लाग्छ।

तर, भाषा आयोग र तामाङ घेदुङको सहकार्यमा थालिएको तामाङ भाषा विषय पठनपाठनको यात्रा यतिखेर बिच बाटैमा सुस्ताएको त छैन ? प्रश्न उठेको छ।यो यात्रालाई थप स्थानीय तहमा कार्यान्वयन गर्नका लागि खासै पहल भएको देखिँदैन भने ७ वटा स्थानीय तहहरूमा कार्यान्वयन त भयो, यसको एक चक्र पूरा गर्न कम्तीमा कक्षा ८ सम्म पु-याउनपर्ने हो।स्थानीय तह, घेदुङ र भाषा आयोगले सामूहिक उत्तरदायित्व लिएर तामाङ भाषा विषय पठनपाठनको चक्र पूरा गर्नुपर्ने हो।त्यो कार्य आजको दिनमा आइपुग्दा साझेदार तिनवटै पक्षहरूबाट सम्पादन हुनेगरी आशालाग्दो प्रयास र पहल चाहिँ कतैबाट भएको देखिँदैन।यहाँनिर केही सवालहरू उठेका छन् भने साझेदाहरूमध्ये यसलाई गन्तव्यसम्म पु-याउने जिम्मा लिनुपर्ने हो कि होइन ? कार्यक्रमलाई सुरूवात गरेर बिचमा बेवास्ता गर्न मिल्छ कि मिल्दैन ? भोलिका दिनमा यसरी कार्यक्रम सञ्चालन गर्न हुन्छ कि हुँदैन ? भन्ने गहन विषयहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्नुपूर्व नै निश्चित धारणा, कार्यदिशा र जिम्मेवारी समेत तोकेर उत्तरदायी बनाउने पद्धतिको सुनिश्चितता गरिनुपर्ने थियो, त्यो भएको देखिएन।जसको कारण हालको परिस्थितिको सिर्जना हुन पुग्यो।

भावी गन्तव्य

स्थानीय विषय वा मातृभाषा विषय पठनपाठनको जिम्मेवारी संविधान र मौजुदा कानुनअनुसार स्थानीय तहहरूलाई प्रदान गरिएको छ।उनीहरूको सबलता र  सक्षमता विकास नहुञ्जेल भाषिक सङ्गसंस्थाको सहकार्य एवम् भाषा आयोगजस्ता संस्थाबाट प्राज्ञिक सहयोगमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ।हाल स्थानीय तहको सक्षमता र विज्ञता अभावको कारण जातिभाषिक सङ्गसंस्थाबाट समन्वय र सहजीकरण गरी कार्यान्वयन गर्नु आजसम्मको वैकल्पिक उपाय हो।यसबाट स्थानीय तहको स्रोतसाधन, भाषिक सङ्घसंस्थाको संयोजन र अन्य संस्थाको सहकार्यमा कार्यान्वयनका लागि ठोस आधार तयार हुन्छ।अबको गन्तव्य तल सुझाइएको छः

पहिलो, स्थानीय तहले तामाङ भाषा विषय शिक्षाको एक चक्र पूरा नगरूञ्जेल यसका नेतृत्वकर्ता वा पहलकर्ताका रूपमा रहेको तामाङ घेदुङले यस कार्यक्रमको निरन्तर अनुगमन र सहजीकरण गरेर अभिभाककीय उत्तरदायित्व बहन गरिनु पर्छ।

दोस्रो, भाषा आयोगसँग घेदुङको सहकार्य भएको हुँदा आयोगले घेदुङ र स्थानीय तहबाट तामाङ भाषा विषयको पठनपाठनसम्बन्धी प्रगति विवरण उपलब्ध गराई यसको समीक्षा गरी कम्तीमा पनि यसको एक चक्र पूरा गर्न मार्गनिर्देश गर्नु आवश्यक देखिन्छ।

तेस्रो, तामाङ भाषा विषय पठनपाठनको एक चक्र पूरा गरेपछि नेपाल तामाङ घेदुङले स्थानीय तहबाट यसलाई निरन्तर सञ्चालन गर्ने सुनिश्चिततासहितको सम्झौता गराई यस कार्यक्रमको निरन्तर सञ्चालनको गर्ने जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिनुपर्छ।यसका अतिरिक्त घेदुङले थप स्थानीय तहहरूमा यस कार्यक्रमको प्रयोग विस्तार गर्नुपर्ने देखिन्छ।

चौथो, तामाङ भाषा विषयको पठनपाठनको निरन्तरता र चक्र पूरा गर्नका लागि हालका तामाङ भाषा पाठ्यपुस्तक लेखक समूहबाट कार्य गर्ने गरी तामाङ घेदुङ वा भाषा आयोगबाट कार्यजिम्मेवारीको पत्रसहितको जिम्मेवारी प्रदान गरेर कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

पाँचौँ, बागमती प्रदेश राष्ट्र भाषा ऐन २०८० को जारी भई २०८१ बैशाखबाट लागू भएपछि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत हरेक स्थानीय तहमा मातृभाषाको माध्यम शिक्षा प्रदान गर्नुका साथै स्थानीय विषय/मातृभाषा विषयलाई अनिवार्य रूपमा पठनपाठन गर्ने पद्धति विकास गरिनु पर्दछ।

छैटौँ, उल्लिखित विकल्पका साथै विकास साझेदार, सङ्घसंस्था, निकाय र विज्ञ, विद्वानहरू एवम् सरोकारवालाहरूबीच यस विषयमा सामाजिक संवाद गरी थप स्थानीय तहहरूमा कार्यक्रम विस्तार गर्न जरूरी छ।

सातौँ, शिक्षा क्षेत्रमा तामाङ बालबालिकाको आवश्यकता भनेको तामाङ भाषा विषय एक पक्ष मात्र हो।उनीहरूको खास आवश्यकता भनेको चाहिँ तामाङ भाषाको माध्यमबाट विद्यालयका तल्ला कक्षाहरूमा पठनपाठन गर्न पाउनु हो।यसलाई व्यवस्थापन गर्नु राज्य, सरकार, स्थानीय तह, भाषा आयोग र घेदुङजस्ता सङ्घसंस्थाहरूको उत्तरदायित्व र कर्तव्य हो।आगामी दिनमा तामाङ भाषा विषय शिक्षाबाट क्रमशः तामाङ भाषाको माध्यममा शिक्षा प्रदान गर्ने दिशामा रूपान्तरित हुन अपरिहार्य छ।

 

 

 

 

 

 

 

 

You might also like