विश्वमा तामाङ भाषा, लिपि र शिक्षाको प्रयोग अवस्था कस्तो छ ?
परिचय
अन्तर्राष्ट्रिय तामाङ परिषदबाट काठमाडौँमा नोभेम्बर ९-१० गते काठमाडौँमा विषयगत समिति गठन प्रयोजनका लागि आयोजित विज्ञ भेलामा विश्वमा तामाङ भाषा, लिपि र शिक्षाको अवस्था र कार्यदिशासम्बन्धी कार्ययोजना निर्माणका लागि समूहगत छलफल भयो।आइटिसीको विधानअनुसार विभिन्न ९ वटा विज्ञहरूको समिति गठन गरेर सम्बद्ध विषयक्षेत्रमा कार्ययोजना बनाई कार्यान्वयन गर्ने मुख्य कार्यसूची थियो ।
नेपालमा तामाङ जातिको स्थिति
नेपालमा तामाङ जातिको कुल जनसंख्या १६,४९,८६६ र तामाङ मातृभाषी वक्ताको संख्या १४,२३,०७५ रहेको छ। जसमा तामाङ जातिको ५.६२ प्रतिशत र तामाङ मातृभाषी वक्ताको प्रतिशत ४.८८ प्रतिशत रहेको छ।यस आधारमा तामाङ भाषाको नेपाली भाषामा अपसरण (Shifting) २,१६, ७९१ वा १५.२३% रहेको छ।तर यस अघि राष्ट्रिय जनगणना २०६८ मा यो दर १२ प्रतिशतको हाराहारीमा रहेको थियो
बागमती प्रदेशमा जातिगत र भाषिकको स्थिति
राष्ट्रिय जनगणना २०७८ काअनुसार यस प्रदेशमा कुल १३९ जातजातिको बसोबास रहेको पाइन्छ । जसमा बहुलताको आधारमा पाँचौ तहसम्मको जातिमा तामाङ (१९.८९ प्रतिशत), पहाडी ब्राह्मण (१७.८४ प्रतिशत), क्षेत्री (१७.४१ प्रतिशत), नेवार (१५.५७ प्रतिशत) समुदाय र मगर (५.११ प्रतिशत) रहेका छन्। यहाँ १ हजारभन्दा कम जनसंख्या भएका ७१ अल्पसंख्यक जातिहरू बसोबास गर्दछन् । जसमा सबैभन्दा कम जनसख्या रहेका ५ जातिमा राजी, ताप्केगोला, केवरत, नटुवा र चै/खुलावट रहेको पाइन्छ ।
यस प्रदेशमा राष्ट्रिय जनगणना २०७८ अनुसार १०९ भाषाहरू बोलिने गरेको पाइन्छ । जसमा भाषिक वक्ता सबैभन्दा बढी नेपाली (५६.०५), तामाङ (१७.९९%), नेपालभाषा (११.८२%), मगर ढुट (२.४०%), थारू (१.५६%) रहेको पाइएको छ । त्यसैगरी १ हजार भन्दा कम वक्ता भएका भाषाहरू ६२ वटा रहेका छन् ।
नेपालमा भाषासम्बन्धी मौजुदा कानुनी प्रावधान
नेपाल विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौताहरूको पक्षधरता मात्र नभई आइएलओ (१६९) को लगायत २२ भन्दा बढी सन्धिमा हस्ताक्षरित मुलुको हो। नेपालको संविधानमा बहुभाषिक मुलुकको नीति मात्र अवलम्बन गरिएको छैन।प्रदेश र स्थानीय तहमा नेपालीका अतिरिक्त अन्य मातृभाषाहरूलाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने संवैधानिक प्रावधान रहेको छ।
यसका साथै अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ र नियमावली २०७७ मा मातृभाषा शिक्षाका लागि यथोचित कानुनी प्रबन्ध गरिएको छ।त्यसैगरी संविधान धारा २०८७ बमोजिम गठित भाषा आयोगबाट भाषासम्बन्धी सिफारिस गर्ने व्यवस्था छ । यसबाहेक अन्य विषय क्षेत्रका साथै विभिन्न नीति, कानुन र आवधिक योजनाहरूमा बहुभाषिक कार्यक्रमहरू तय गरिएका पनि छन् । तथापि नेपालमा एकीकृत भाषा ऐन सङ्घीय तहमा समेत छैन।फलतः नेपालमा सङ्घीयताको कार्यान्वयनअन्तर्गत भाषिक सङ्घीयताको कार्यान्वयन अपेक्षित नभएको विश्लेषण हुने गरेको छ।
विश्वमा तामाङ भाषाको प्रयोग अवस्थाको विश्लेषण
विश्वमा विभिन्न देशमा छरिएर रहेका अन्तर्राष्ट्रिय तामाङ परिषदका प्रतिनिधिहरूबाट प्राप्त विवरणलाई निम्नानुसार रहेको छः
प्रितु योञ्जन, डेनमार्क
आइटिसिको डेनमार्क प्रतिनिधि प्रितु योञ्जनकाअनसार त्यहा बसोबास गर्ने तामाङको जनसंख्या ३०० देखि ४०० सम्म रहेको छ । त्यहाँ बसोबास गर्ने तामाङले भाषाको संरक्षणको लागि खासै कार्यक्रम सञ्चालन भएको देखिएन। तर संस्कृतिको संरक्षणका लागि ल्होछारमा तामाङ भाषा बोल्ने गरिएको पाइयो साथै विपत्तिमा तामाङका लागि आर्थिक सहयोग हुने गरेको पाइयो। त्यहाँका बासिन्दा तामाङमध्ये करिब १% जतिले तामाङहरूकाबिच तामाङ भाषा बोल्ने गरिएको जानकारी प्राप्त भयो । प्रायजसो अन्य अवस्थामा नेपाली भाषा आपसी सञ्चारका लागि प्रयोग गर्ने गरेको देखियो।अन्तर्देशीय रूपमा तामाङ भाषा सिक्नका लागि तामाङ भाषा सिकाइ एप बनाउनुपर्ने सुझाव प्राप्त भएको थियो।
कुमार तामाङ, पोर्चुगल
अन्तर्राष्ट्रिय तामाङ परिषदको विज्ञ भेलाको क्रममा प्राप्त विवरणअनुसार पोर्चुगलमा ४ हजारदेखि ५ हजार तामाङ जनसंख्याको बसोबास रहेको देखिन्छ।त्यहाँ भेटघाटको क्रममा तामाङ बोल्ने गरेको पाइन्छ ।खास गरेर त्यहाँ ल्होछारको बेलामा तामाङ बोल्ने गरेको देखिन्छ।उनले पनि अन्तर्राष्ट्रियस्तरमा छरिएर बसेका तामाङका लागि तामाङ भाषा अनलाइन सिकाइ एप बनाउनुपर्ने सुझाएका छन् ।
दावा लामा, क्रोएसिया
क्रोएसियाका दावा लामाका अनुसार नेपालबाहिरका तामाङका लागि तामाङ भाषा सिकाइको अनलाइन एप निर्माण गर्नुपर्ने सुझाव प्राप्त भएको थियो ।
उदय घिसिङ, युके
युकेको सन्दर्भमा त्यहाँ तामाङसम्बन्धी ५-६ वटा संस्थाबाट तामाङसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। त्यहाँ ५ देखि १० हजार जनसंख्या रहेको देखिन्छ। साथै त्यहाँ तामाङ भाषाको प्रवर्धनका लागि सङ्गसंस्थाबाटल कार्यान्वयन गर्न नलागेर लिपिसम्बन्धी विवादमा विरोधको उत्रेको देखिन्छ। साथै व्यक्तिगत सोच सामूहिकतामा बदलिने गर्न नसकिएको उनको विश्लेषण छ ।उनीहरूकाअनुसार लामा गुरूबाट तामयीग भन्दा सम्भोटा लिपिमा जोड दिएको पाइन्छ।
सम्झना लामा, रोमानिया
रोमानियामा करिब १४% तामाङहरूको बसोबास रहेको पाइन्छ। उनीहरूले तामाङ भाषाको प्रयोग भेटघाटमा प्रयोग गर्दै आएका छन् भने ल्होछारमा तामाङ भाषाको प्रयोग गरेको पाइन्छ ।त्यहाँका बासिन्दालाई तामाङ सिकाउनका लागि तामाङ भाषा सिकाइ एप निर्माण गर्नुपर्ने देखिएको छ ।
डिल्लीराम तामाङ, युएइ
त्यसैगरी डिल्लीरामअनुसार तामाङ युएइमा ३० हजार जति तामाङ बसोबास गरेको पाइयो । साथै उनीहरू भेटघाटमा तामाङ भाषा बोल्ने गर्दछम्। तर अधिकाँश रूपमा उनीहरू तामाङहरूबिच आपसमा नेपाली भाषा प्रयोग गर्दछन् । यसै सन्दर्भमा तामाङ भाषा सिक्नको लागि तामाङ भाषा अनलाइन एप्स निर्माण गरेर प्रयोग गर्नुपर्ने कुरा सुझाएका छन् ।
सिक्किम, भारत
सिक्किममा तामाङ जातिको जनसंख्या ६० हजार जति रहेको छ । भारतको सिक्म प्रान्तमा तामयीग लिपिमा लेखिएको तामाङ भाषा विषय कक्षा १० पठनपाठन हुने गर्दै आएको पाइयो। त्यसैगरी आसाम र बंगालमा तामाङ भाषा बोलचालमा रहेको छ।यसका अतिरिक्त सिक्किम सरकारले प्रदेश भाषाका रूपमा तामाङ भाषा प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ ।
तर यहाँ तामाङ भाषा विषय कक्षा ११ र १२ सम्म प्रयास भइरहेको पुगेको छैन तथापि यसका लागि प्रयास भने भइरहेको छ। यहाँ सिक्किम सरकारबाट ७८ जना तामाङ भाषा शिक्षक नियुक्ति गरिएको छ। विद्यालयअन्तर्गत ४७ वटा स्कुल तामाङ भाषा विषय पठनपाठन भइरहेको छ । यहाँ ६२जना प्रावि शिक्षक रहेका छन्।
विद्यालय तहमा मातृभाषा विषय शिक्षाअन्तर्गत तामाङ भाषा विषय कक्षा १० सम्मका कार्यान्वयन भएको छ। तर विद्यालयको माथिल्लो तहमा भने तामाङ भाषा विषय पठनपाठन हुन सकेको छैन। यहाँको क्याम्पस तहमा भने तामाङ भाषा विषय पठनपाठनको ढोका बन्द रहेको देखिन्छ।
त्यहाँ हाल तामाङ र नेपाली भाषाको कोड मिक्सिङ बढ्दै गएको छ। त्यसै भाषाको पुस्तान्तरणको सहजीकरणका लागि शब्द सिकाइ र पुस्तान्तरणलाई जोड्नुपर्ने देखिन्छ ।
तामाङ भाषा, लिपि र शिक्षासम्बन्धी चुनौतीहरू
नेपालमा तामाङ भाषा, लिपि र शिक्षासम्बन्धी देहायका चुनौतीहरू टड्कारो देखिएका छन्-
- मौजुदा कानुनी व्यवस्थाको कार्यान्वयन प्रभावकारी नहुनु
- तीनै तहमा ऐन, नियमावली र मापदण्डसहित कानुनी प्रावधानहरूको अभाव,
- समुदायगत सचेतनामा कमी र जिम्मेवार निकायहरूमा उत्तरदायित्व, अपनत्व र स्वामित्व नहुनु,
- सबै तहका सरकारबाट कार्यक्रम र बजेटको सुनिश्चिततासहित कार्यान्वयन गर्नु (अनुवादक र शिक्षक दरबन्दी सिर्जना, नियुक्ति र रोजगारीको व्यवस्था)
- विद्यालय तहमा मातृभाषाको माध्यम र विषयका रूपमा शिक्षा अनिवार्य गर्नु एवम उच्च शिक्षामा तामाङ भाषा भाषा विषय पठनपाठनको अध्ययन विभाग स्थापना र सञ्चालन गर्नु,
- तीनै तहका सरकारबाट तामाङ भाषा संरक्षण, संरवर्धन र विकाससहित यान्त्रिकरणका लागि भाषा विकास प्रतिष्ठान स्थापना गर्नु,
- भाषिक सङ्घसंस्थामा भाषासम्बन्धी डेस्क व्यवस्था गर्नु,
- तामाङ पुस्तारण र अपसरण बढ्दो छ (घरायसी, औपचारिक, धर्मकर्ममा प्रयोग नभएको)
- तामाङ भाषाको विकास र स्तरीकरण एवम् मानकीकरण गर्नु
- तामयीग लिपिहरूको प्रयोग विस्तार गर्नु ।
तामाङ भाषा, लिपि र शिक्षा प्रर्धनका लागि रणनीतिहरूः
नेपाल भाषा, लिपि र शिक्षा प्रवर्धनका भावी रणनीतिहरू तपसिल बमोजिम छन्-
- भाषिक पुस्तान्तरणका लागि घरपरिवार र औपचारिक कार्यक्रममा अनिवार्य प्रयोग गर्ने,
- विद्यालयमा माध्यम र विषयका रूपमा प्रयोग गर्ने एवम् उच्च शिक्षामा पठनपाठनको व्यवस्था गर्ने,
- तामाङ घेदुङलगायत तामाङ समुदायको पहलमा तीनै तहमा भाषासम्बन्धी कानुनी व्यवस्था गर्ने,
- सबै तहमा तामाङ भाषाको सरकारी कामकाजमा प्रयोग गर्न संयन्त्र स्थापना, बजेटको व्यवस्था र कार्यान्वयनको सुनिश्चितता गर्ने,
- तामाङ भाषाको विकासः तामाङबिच तामाङ भाषा अनिवार्य बोल्ने, समष्टि शब्दकोश, समष्टि व्याकरण, तामाङ भाषा अनुवाद एप्स, यान्त्रिक अनुवाद गर्ने,
- तामाङ ज्ञान, भाषा, संस्कृति र साहित्य अन्तरभाषिक अनुवाद गरी प्रयोग विस्तार गर्ने,
- बालबालिकाका लागि एनिमेटेड कार्टुनसहित विद्युतीय सामग्रीको विकास र प्रयोग गर्ने,
- तामयी लिपिको लिप्यन्तरण पद्धतिको विकास र डिजिटाइजेस गरी अटोमेसन पद्धतिको विकास गर्ने,
- तामाङ भाषा, साहित्य, अभिलेख, अन्य सामग्रीहरूको एकीकृत अभिलेखालय स्थापना र स्थापना सञ्चालन गर्ने ।
निष्कर्ष
अन्तर्राष्ट्रिय तामाङ परिषद तामाङहरूको एउटा सञ्चाल मात्र हो । यसले लचिलो सङगठनको रूपमा तामाङहरूले जोड्ने गर्दछ । यसले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय रूपमा कानुनी व्यक्तिको हैसियत प्राप्त गरेको देखिँदैन । तथापि विश्वभरिका छरिएका तामाङहरूलाई जोड्ने एक कडीका रूपमा कार्य भने यसले गर्दै आएको देखिन्छ ।