मधेश प्रदेशमा मातृभाषा शिक्षाको अवस्था कस्तो छ ? स्थलगत रिपोर्ट

मधेश प्रदेशमा मातृभाषा शिक्षाको अवस्था कस्तो छ ? स्थलगत रिपोर्ट

वीरगन्ज, मधेश प्रदेश । २०८१ साल मंसिर ३ गते

भाषा आयोगको आयोजनामा वीरगन्ज महानगरपालिकाको संयोजन एवम् मधेश विश्वविद्यालयको सहकार्यमा वीरगन्ज महानगरपालिकास्थित श्री त्रिजुद्ध माध्यमिक विद्यालयको तालिम हलमा प्रदेशमा मातृभाषाहरूको स्थिति र कार्यान्वयनसम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । भाषा आयोगको अध्यक्ष डा.गोपाल ठाकुरको अध्यक्षता सञ्चालित यस कार्यक्रममा मधेश वि.वि.का उपकुलपति प्रा.डा. दिपक शाक्य, रजिस्टार डा.विजय कुमार यादव र डिन उपस्थिति रहनुका साथै वीरगन्न महानगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णसहित भाषा आयोगका मधेश प्रदेश सदस्य मा.गोपाल जी प्रसाद सर्राफ एवम आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनसहित स्थानीय तहका शिक्षा प्रमुख, प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा भाषा आयोगका मा.सदस्य गोपाल अश्कबाट मधेश प्रदेशमा मातृभाषा शिक्षाको स्थिति र कार्यान्वयन विषय कार्यक्रममा उपस्थित सबैका लागि स्वागत गर्नुका साथै मातृभाषा शिक्षाको आवश्यकता, औचित्य र भावी कार्यदिशाका विषयमा विचार अभिव्यक्त गर्नुभएको थियो । तत्पश्चात सहभागी स्थानीय तहका शिक्षा प्रमुख, विद्यालयका प्रधान्यापक र मातृभाषा विषय शिक्षकबाट भएका मातृभाषा शिक्षासम्बन्धी प्रयोग, अभ्यास र चुनौतीका बारेमा छलफल गरिएको थियो ।यसक्रममा मधेश प्रदेशका विभिन्न स्थानीय तहमा मातृभाषा विषयको पठनपाठनसम्बन्धी सवालहरू प्रस्तुत भएकामा देहायअनुसार प्रस्तुत गरिएका छन्

१.वीरगन्ज महानगर पालिकामा मातृभाषाको अवस्था, चुनौती र भावी मार्ग

यस नगरपालिकामा स्थानीय प्रज्ञा प्रतिष्ठान ऐन पारित गरी स्थानीय भोजपुरी प्रज्ञा प्रतिष्ठान स्थापना र सञ्चालन भएको छ। त्यसैगरी स्थानीय विषय र मातृभाषा पाठ्यक्रमको निर्माणको चरणमा रहेको पाइयो । महत्वपूर्ण कुरामा यहाँ शिक्षा महाशाखाअन्तर्गत भाषा, कला,साहित्य र संस्कृति शाखा स्थापना गरिएको छ। जुन नेपालको स्थानीय सरकारहरूमध्ये नयाँ र भाषा एवम साहित्यका लागि विशिष्ट अभ्यास मान्न सकिन्छ ।

यहाँ विद्यालयहरूमा नेपाली र सामाजिक विषयको पठनपाठन गर्दा स्थानीय भोजपुरी भाषालाई शिक्षाको माध्यमका रूपमा समेत अवलम्बन गरिएको पाइयो । तथापि विद्यालयहरूमा स्थानीय विषयका रूपमा अङग्रेजी र गणित विषय पठनपाठन भइरहेका छन्। शिक्षकका लागि बहुभाषिक तालिम र बहुभाषिक पाठ्यसामग्रीहरू अभाव देखिन्छन्। केही विद्यालयहरूलाई नगरपालिकाबाट नै अङ्ग्रेजी माध्यमका विद्यालय घोषणा गर्ने क्रममा ४ वटा विद्यालयहरू अङ्ग्रेजी माध्यमबाट सञ्चालित छन् ।

त्रिजुद्ध मा.वि. प्रअ नवीन कुमार मित्रका अनुसार स्थानीय भाषाहरू अस्तित्व रक्षाका लागि सघर्षरत देखिन्छन् । ७७ जिल्लाका विद्यार्थीहरू यस महानगरपालिकामा अध्ययन गर्ने भएकाले विद्यार्थीका भाषिक सांस्कृतिक विविधताको शिक्षामा सम्बोधन गर्न कठिनाइ भएको छ । अङग्रेजी माध्यम वर्तमानमा सामाजिक प्रतिष्ठाको विषय बन्दै गएकाले भाषा संस्कृति र स्थानीय ज्ञान सिपको संरक्षण, प्रवर्धनमा क्रमशः समस्या बन्दै गएको छ।

म.न.पा.का महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार बिगतमा शिक्षक पेसागत विकासअन्तर्गत बहुभाषिक शिक्षक तालिम प्रदान गरियो। शिक्षा कार्यालय, स्रोत केन्द्र, तालिम केन्द्रबाट बहुभाषिक शिक्षक तालिम प्रदान गरिए । यसका साथै बहुभाषिक पाठ्यसामग्रीहरू बिकास गरिए ।

डिएभीकेडिया मा.वि.पर्सा

विद्यालयका प्रधानाध्यापक श्री  प्रमोदकुमार पाण्डेका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा विद्यालयहरूमा सामाजिक विषय नेपाली भाषामा पठनपाठन गर्नुपर्ने व्यवस्थाले एकल भाषिकताको झनक दिएको छ ।त्यससम्बन्धमा कानुनी प्रावधान के हो भने स्थानीय तहका जनप्रतिनिधि परिवर्तन हुने बित्तिकै भाषा लाद्ने पद्धति भएकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने सवाल उठान गरिएको थियो ।

२.परवानीपुर गाउँपालिका बारा

यस गाउँपालिकाका बालगंगा आ.वि.का शिक्षक मोहम्मद सफीकाअनुसार विद्यालयमा उर्दू भाषाको पठनपा      ठन गरिँदै आए पनि बालबालिकाका लागि पाठ्यपुस्तकको अभाव छ । जसबाट बच्चाको जिन्दगीमा नै खेलवाद हुन पुगेको छ । विद्यालय प्रअ सर्राफकाअनुसार विद्यालयमा उर्दू विषय पठनपाठन हुन्छ तर शिक्षक एक जना मात्र पर्याप्त छैन । तर परम्परागत उर्दू सिकाइ पद्धति अनुसार लेखन पद्धति लेफ्ट टु राइट हुँदा १२ लाई २१ भन्ने र लेख्ने जस्ता कमजोरी हुन जान्छन्। तसर्थ विना पाठ्यपुस्तक, शिक्षक र व्यवस्थापनको कारण उर्दू विषय पठनपाठन टाउको दुखाइ बनेको छ ।

यस गाउँपालिका शिक्षा शाखा प्रमुख रविन्द्र मित्रका अनुसार परवानीपुर गाउँपालिकामा वि.सं.२०५७/५८ बाट भोजपुरी विषयको पठनपाठन कक्षा १-५ सम्म प्रारम्भ भए पनि हाल निरन्तर हुन सकेको छैन । भोजपुरी भाषाका पाठ्यक्रम र पाठ्यपुस्तको स्थानीय तहमा सख्त खाँचो  छ  । विगतका गाउँपालिका ३४ विद्यालयहरूमा कक्षा १-५ सम्म भोजपुरी विषय कक्षा १-५ सम्म पठनपाठन भए तापनि हाल दर्जन संख्यामा पनि विद्यालयहरूमा पठनपाठन हुँदैन ।तर यस पालिका वि.सं.२०८० बाट कक्षा १ मा भोजपुरी भाषाको पाठ्यपुस्तक लेखन भई कक्षा १ मा लागू भएको छ ।यसलाई क्रमशः माथिल्लो कक्षमा प्रयोग विस्तारै गर्दै जाने योजनामा स्थानीय रहेको छ ।

श्री भोजभगत मा.वि. परवानीपुर

यस मा.वि.का बलिरामप्रसाद सर्राफकाअनुसार यहाँ कक्षा १-३ सम्म भोजपुरी भाषा पठनपाठन भइरहेको छ। तथापि पाठ्यक्रम निर्धारित स्थानीय विषय र मातृभाषा विषय लागू गर्नमा विद्यालय र स्थानीय तहमा उदासिनता देखिन्छ ।

३.गरूडा नगरपालिका रौतहट

गरूडा नगरपालिकाका शिक्षक किसन दयाल यादवकाअनुसार यहाँ वि.सं.२०७७ सालमा बज्जिका भाषा विषय पठनपाठनका लागि कक्षा १ को पाठ्यपुस्तक तयार पारियो।  वि.सं. २०७८ सालमा कक्षा २ को पाठ्पुस्तक लेखन कार्य सम्पन्न भयो । यसमा काका सामुदायिक अध्ययन केन्द्र र पाठ्यक्रम विकास केन्द्र सानोठिमीको पनि सहयोग रहेको छ । बज्जिका भाषा विषय रौतहटका ४ भन्दा बढी स्थानीय तहहरू पठनपाठन भइरहेको छ।

त्यसैगरी गरूडा नगरपालिकाका शिक्षा प्रमुख सरोज गौतमकाअनुसार मातृभाषा र विषयलाई बुझ्न जरूरी रहेको बताउनु भयो । स्थानीय तहमा मातृभाषा विषयले कम प्राथमिकता पाउँदै आएको हुँदा यसका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूपले व्यवस्था गरेअनुसार लागू गर्नुपर्ने उल्लेख गर्नुभयो । यसका लागि स्थानीय तहका विद्यालयहरूमा ५०% मातृभाषा विषय र बाँकी ५०% स्थानीय विषय गरी कुल १००% अङकको स्थानीय ज्ञान, सिप र प्रविधि पठनपाठन गरेर समेट्न सकिने सुझाउनुभयो ।

४.विनोद कुमार मेहता, रामनगर गाउँपालिका सर्लाही

सर्लाही जिल्ला रामनगर गाउँपालिकाको सिद्धार्थ मा.वि. स्थानीय विषय/मातृभाषा विषयको सट्टा ऐच्छिक अङग्रेजी/गणित विषय पठनपाठन गर्दै आएको छ। स्थानीय तहमा बोलिने भाषाप्रति विकर्षण र अङग्रेजी भाषाप्रतिको आकर्षणको मूल कारण भाषा शिक्षालाई रोजगारीसँग जोड्न नसकिनु हो । तथापि तराईमा भोजपुरी भाषाको महत्व र गरिमा उच्च रहेको छ ।यस भाषामा उखान टुक्काबाट चोटिलो रूपमा अभिव्यक्ति दिन सकिन्छ ।

 

कार्यक्रममा सहकार्य गरेका मधेश वि.वि.का उपकुलपति प्रा.डा.दिपक शाक्यले ४ वटा भाषाहरू अनिवार्य सिक्नपर्ने विचार राख्दै मातृभाषा, स्थानीय भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय सिक्न जरूरी रहेको बताउनु भयो । भाषा सिकाइ भनेको सम्बद्ध जातिले मात्र नभई अन्तरजातीय सिकाइ हुनुपर्ने तथ्यलाई अष्ट्रेलियामा बसेका नेपालीहरूले नेपाल भाषा र संस्कृति सिकाउन बसोबासस्थल घरपरिवारमा नै भाषा  र संस्कृतिका पूर्वाधारहरू तयार पारेर प्रयोग गरेको अनुभव आदान प्रदान गर्नुभयो । उहाँले मधेश विश्वविद्यालय मानित विश्वविद्यालयका रूपमा अगाडि बढेको हुनाले स्थानीय तह, भाषा आयोग र विश्वविद्यालयको सहकार्यमा स्थानीय पाठ्यक्रम र भाषासम्बन्धी अध्ययन अनुसन्धानका साथै भाषा साहित्य सम्मेलन गरी योगदान पुर्‍याउन सकिने विचार व्यक्त गर्नुभयो।

स्मरणीय कुरा के छ भने धेरै सहभागीहरूले भोजपुरी, मैथिली र बज्जिका भाषामै आफ्ना अनुभवहरू बताउनु भएको थियो। यसक्रममा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले पनि भोजपुरी भाषाबाटै आफ्नो समापन मन्तव्य राख्ने क्रममा स्थानीय भाषा माध्यम र विषयका रूपमा पठनपाठनसम्बन्धी समस्या भए तापनि आयोगको सिफारिसबाट त्यसको निर्क्यौल भएको उल्लेख गर्नुभयो । भाषा आयोग, स्थानीय तह र मधेश वि.वि.को समेत सहकार्यमा मधेश प्रदेश मधेशी भाषाहरूलाई सरकारी कामकाजअन्तर्गत शिक्षा क्षेत्रमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहभागी स्थानीय तह वीरगन्ज म.न.पा पर्सा, परवानीपुर गा.पा. बारा, गरूडा न.पा रौतहट तथा रामपुर गाउँपालिका सर्लाहीका शिक्षा प्रमुख, प्रधानाध्यापक र शिक्षकहरूबाट मातृभाषा शिक्षासम्बन्धी भएका अभ्यास र समस्या वा सवालहरूको प्रस्तुति पश्चात आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनले मातृभाषालाई माध्यम र विषयका रूपमा प्रयोग विस्तार गर्ने उपायहरू वा सवालहरूको सम्बोधन गर्नुभएको थियो ।उहाँले सहभागीको जिज्ञासा सम्बोधन गर्नुका साथै सरकारी कामकाजको भाषाका अतिरिक्त सङ्घीय, प्रदेश र स्थानीय सरकारहरूको सहकार्यात्मक उत्तरदायित्वका विषयमा विचार प्रकट गर्नुभएको थियो।

निष्कर्ष

यस मुलुकमा सङ्घीय मन्त्रालयमा समेत भाषा तथा साहित्य शाखा नभएकोमा वीरगन्ज महानगरपालिका मधेश प्रदेश भने भाषा, कला, साहित्य र संस्कृति शाखा स्थापना गरेर पहिलो इतिहास कायम गर्न सफल भएको पाइयो ।

You might also like