
११० वर्षपछि राष्ट्रिय जनगणना, २०७८ मा पहिचान भयोः केवरत भाषा
डा.लोकबहादुर लोप्चन
सुनवर्षी नगरपालिका, मोरङ
२०८१ साल माघ २५ गतेका लागि भाषा आयोगको आयोजनामा केवरत भाषा व्याकरण लेखन कार्यक्रम निर्धारण गरे बमोजिम सोही दिन व्याकरण लेखन कार्यशाला सम्पन्न भयो । भाषा आयोगको अध्यक्ष डा.गोपाल ठाकुरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्यामप्रसाद राजवंशी रहनु भएको थियो भने उपमेयर मीरादेवी दास केवरत विशेष अतिथिका रूपमा रहनु भएको थियो । केवरत भाषा विज्ञ एवम उपप्राध्यापक चतुर्भुजदास केवरत अनुसन्धाताका रूपमा रहेको यस परियोजनमा वक्ता संयोजकका रूपमा प्रजापति दास केवरत रहनु भएको छ भने यस भाषावैज्ञानिकमा अमृत योञ्जन तामाङ रहनु भएको छ। साथै कार्यक्रममा भाषा आयोगका कोशी प्रदेश प्रतिनिधि मा. मातृकाप्रसाद पोखरेलसहित भाषा आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनसहित उपसचिव कमला पाण्डे भण्डारीका साथै नेपाल केवरत समाजको अध्यक्ष वासुदेव प्रसाद केवरतको समेत उपस्थिति रहेको थियो ।
भाषा आयोगका सदस्य मा.मातृकाप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रममा तत्पश्चात परिचयात्मक कार्यक्रम राखिएको थियो । केवरत समुदायका अधिकांशले केवरत भाषामै परिचय दिएका थिए ।
केवरत भाषी परिचयकर्ताहरू
- सुमित्रादेवी दास केवरतः घरमा बालबालिकासँग केवरत भाषा नै बोलिन्छ।
- रामप्रसाद दास केवरत (केवरत समाजका सचिव) घरमा सबैसँग केवरत भाषा बोलिन्छ ।
- नमिता कुमारी दास केवरतः घरमा बोलिने माध्यम भाषा केवरत रहेको छ।
- वासुदेव प्रसाद केवरत (पूर्व शिक्षक तथा केवरत समाजका अध्यक्ष) परिवार र समुदायको सम्पर्क माध्यम केवरत नै रहेको छ।
- चेतनारायणप्रसाद दास केवरतः शिक्षा विज्ञका रूपमा नगरपालिकामा कार्यरत रहनुका साथै केवरत भाषाका अध्येता ।
- सुबोधकुमार दासः केवरत वक्ता र परिवारमा केवरत भाषाको प्रयोग गरिँदै आएको छ।
केवरत भाषा सम्बन्धी विचार र विमर्शः
- वक्ता संयोजक प्रजापति दास केवरतः केवरत जातिको पहिचान र भाषाको पहिचान विस्तारै राज्यस्तरमा हुँदैछ । तर पछिल्ला पुस्तामा अङग्रेजी भाषको प्रभावको कारण केवरत भाषाका शब्दहरू मासिँदै छन् ।त्यसैले विद्यालय र बालबालिकाको शिक्षामा केवरत भाषालाई जोड्न आवश्यक छ ।
- वासुदेवप्रसाद केवरतः हालसम्म केवरत भाषाको व्याकरण लेखिएको छैन । बालबालिकामा समेत केवरत भाषा बोल्न प्रोत्साहन गरिनुपर्छ । केवरत भाषा ढिलै भए पनि पहिचान भएकोमा गर्व लागेको छ ।केवरत भाषाको व्याकरण लेखनबाट यस भाषाको विकास उल्लेख्य योगदान पुग्ने अपेक्षा रहेको छ ।
- अनुसन्धानकर्ताः चतुर्भुजदास केवरतः केवरत भाषाको शब्द संकलन कार्य नेपाल प्रज्ञा प्रतिष्ठानबाट भएको छ । वि.स.२०६७ सालमा नै केवरत भाषाको शब्द संग्रह प्रकाशित भएको हो । तर केवरत भाषाको पहिचान २०७८ को जनगणनापछि पहिचान हुँदा ११० वर्ष लागेछ । त्यसैगरी केवरत लोकजीवन पुस्तक पनि प्रकासन भएको छ। डा.ओम गुरूङको प्रतिवेदनमा केवरत जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न सिफारिस भए तापनि सो हुन सकेको छैन । व्याकरण लेखनका लागि भाषा आयोगबाट प्राप्त निर्देशिकाको परिपालना गरिनेछ भने भाषाविद अमृत योञ्जन तामाङको परामर्श केवरत व्याकरण तयार पारिनेछ ।
- प्रमुख प्रशासकीय अधिकृतः किशोर कुमार मण्डलः विश्वव्यापी रूपमा हेर्दा केवरत जातिको उद्गम बंगलादेशबाट भएको पाइन्छ ।त्यसै गरी केवरतहरू पश्चिम बंगाल, बिहार र झारखण्डमा पनि बसोबास गरेको पाइन्छ । उनीहरूले क्षेत्रीय भाषा प्रयोग गर्दै आएका छन् ।नेपालबाहिरका केवरत र नेपालका केवरत समुदायको जन्म, मृत्य संस्कारमा समानता रहेको पाइन्छ । तथापि केवरत जाति हालसम्म सूचीकृत भएको छैन। यसलाई कतिपयले मधेशी समुदाय भन्ने गरेका छन् ।तर वास्तवमा केवट समुदायबाट केवरत भएको जातिका उत्पतिको कहावत रहेको छ। यी जातिमा अंगिका, बज्जिका, बांला भाषा समेत प्रयोगमा छ।
- नगरप्रमुखः श्यामप्रसाद राजवंशीः नगरपालिका केवरत लगायतका भाषाहरूको संरक्षणमा लागी परेको छ । आयोगबा लेखिने केवरत भाषाको व्याकरण प्रकाशन गर्ने प्रतिबद्धता रहेको छ ।
- नगरउपप्रमुख मीरादेवी केवरतः हामी सन्तानलाई केवरत नसिकाइ के सिकाइ रहेका छौँ भन्ने सवाल उठेको छ। त्यसैले यसलाई प्रवर्तन गर्न स्थानीय विषयका रूपमा पठनपाठन गर्न प्रतिबद्ध छौँ ।आगामी वर्ष केवरत भाषा विषय पठनपाठनको लागि बजेटको व्यवस्था गर्नका साथै लेखिने व्याकरण प्रकाशनमा पालिको सहकार्य रहनेछ ।
यस कार्यक्रमा भाषा आयोगका का.मु.सचिव डा.लोकबहादुर लोप्चनले भाषा आयोगको संवैधानिक कार्यका बारेमा प्रस्तुति दिँदै केवरत भाषाको संरक्षण र संवर्धनका लागि विद्यालय तहमा विषयका रूपमा पठनपाठन गर्नुपर्ने बताउनु भएको थियो। नगरपालिकामा केवरत व्याकरण प्रकाशनको दायित्व लिनुपर्ने र शिक्षामा समेत आबद्धता गर्न अनुरोध गरिएको थियो ।उपसचिव कमला पाण्डे भण्डारीले कार्यक्रम सञ्चालन गर्नुका साथै व्याकरण लेखसम्बन्धी कार्य प्रक्रियाको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको अन्तमा कार्यक्रम अध्यक्ष एवं भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले व्याकरण मौलिक रूपमा लेख्न व्याकरणका आधारभूत पक्षहरू जस्तो लैङगिक व्यवस्था, वचन, व्याकरणिक संरचना र अन्य व्याकरणको अनुवाद नगरी लेखन गर्नुपर्ने कुरा सुझाउनु भएको थियो । साथै उहाँले केवरत समाजको सहभागितामा व्याकरणका लागि थप अभ्यास र पहल गर्न आग्रह गरिएको थियो ।