शिक्षा र वास्तविकताः एक विमर्श र बहस
डा.लोकबहादुर लोप्चन
१) परिचय
भौतिक साँध र सीमाबाहेक संसारका वैचारिक वा कृत्रिम सीमाहरु भत्किएका छन् । पुराना सत्ता वा संस्कारहरु विस्थापन भएका छन् नयाँ सत्ता वा संस्कारको प्रतिस्थापनसँगै । वर्तमानको यसै मोडमा नवीन मूल्य,मान्यता,सोच र संस्कृतिको स्थापना भएको छ । एकल अस्तित्वको सट्टा बहुल अस्तित्व वा केन्द्रीकृतको सट्टामा विकेन्द्रीकृत सोच र व्यवहारको स्थापना हुन थालिसकेको छ । भनौँ वर्तमान बहुकेन्द्रमा विश्वास गर्छ, विविधताको स्वीकरण गर्छ र साझा मूल्य(Share value) लाई आत्मसात गर्छ । अर्को शब्दमा वर्तमान उत्तरआधुनिकतामा प्रवेश गरिसकेको छ । यसको आशय वा सार एकल हैन बहुल, केन्द्रीकृत हैन विकेन्द्रीकृत तथा पुराना हैन नयाँ मूल्य मान्यतामा विश्वास गर्छ । यसरी वर्तमान संसार सीमाहीन( Borderless) मा रुपान्तरित भइसकेको छ । त्यसैले विना रोकतोक संसारभरि सूचना, प्रविधि,विचार र व्यवहारको प्रवाह हुन्छ । यसको प्रभाव शिक्षामा नपर्ने कुरै भएन । हिजोको शिक्षा वा शैक्षिक विषयवस्तु आजका निम्ति पुराना मात्र हैन अनाश्यक र घातक समेत बनिसकेको छ । संसार यति छिटो परिवर्तन भइरहेको छ कि त्यसको गतिमा आफूलाई हिँडाउन विश्वका सम्पन्न र शक्तिशाली देशहरुलाई समेत हम्मेहम्मे नपरेका होइन। तथापि ती देशहरुले शिक्षामा समसामयिक सुधार र परिवर्तन गरी समयसापेक्ष र जीवनसापेक्ष शिक्षा दिने प्रयास गरिरहेका छन्। त्यो प्रयासमा नेपाल पनि शैक्षिक सुधारका निम्ति लागि नपरेको होइन तर हाम्रा सुधारका प्रयत्नहरु पर्याप्त भयो भन्न सकिने अवस्था छैन । किनकि विगतबाटै सुरु गरिएका सुधारका टालटुले प्रयास हात्तीको मूखमा जिरा भएको देखिन्छ । तसर्थ भावी सुन्दर, सुखमय र सफल नेपालको कारकतत्व शिक्षालाई मान्ने हो भने यसमा आमूल परिवर्तनको सख्त खाँचो छ ।
२) शिक्षा र वास्तविकतामाथिको बहस
सफल जीवन र सम्पन्न तथा शक्तिशाली देशको सुन्दर परिकल्पना कुन देशको नागरिकले गर्दैन र ? शायद एउटा व्यक्तिको जीवनको उच्चतम लक्ष्य यस्तै हुन सक्छ । त्यसैले होला वर्तमान विश्वमा अमेरिका,बेलायत,अष्ट्रेलिया,स्वीजरल्याण्ड,जापान आदि देशहरु सबैको सपनकिो देश बनिरहँदा रुवाण्डा, इथियोपिया, नेपालजस्ता देशहरु आफ्नै नागरिकबाट छाडिने र छाड्न नसक्ने मात्र रहने अवस्थातिर लम्किरहेछ । हुनत विश्वव्यापीकरणले बनाएको खुला संसारमा जो जहाँ पनि बस्न न रमाउन पाउनुपर्छ यो वर्तमान मान्यता वा अधिकार पनि हो । तर साँचो कुरा के पनि हो भने अरुले बनाएको सुन्दर देश मात्र ताक्ने हो भने आफ्नो देश कसले बनाउने ? तंसर्थ आफ्नो देश अर्काले बनाइदिँदो रहेनछ ,अन्तमा आफैँले बनाउनु पर्दोरहेछ । अमेरिका, बेलायत, स्वीजरल्याण्ड,जापानलाई सपनाको देश ठानिरहँदा नेपाल पछि पर्दो रहेछ । काठमाडौँलाई मात्र केन्द्रविन्दु बनाउँदा कर्णाली ओझेलमा पर्दोरहेछ अनि उच्च पदासीनलाई मात्र महान ठान्दा विचरा राउटे सदाको लागि लोपको गर्भतिर धकेलिँदो रहेछ । तसर्थ सवाल अमेरिका र नेपाल, काठमाडौँ र कर्णाली, राष्ट्रपति र राउटेबीचको उच्चता र नचिताको होइन। मूख्य कुरा समानता, समता र समावेशिताको हो । जबसम्म समता र समावेशिताको सोच र चिन्तन हरेक व्यक्तिको मनमस्तिष्कमा उब्जन्न र व्यवहारमा उतारिन्न तबसम्म व्यक्ति, समाज र राष्ट्रको मुहार फेरिन्न । यस्तो सोच र चिन्तनको विकास चाहिँ शिक्षाले गर्ने हो । तसर्थ शिक्षा सही हुनुपर्छ जसले जीवन चिनाओस् र कर्तव्यबोध गराओस् । तर शिक्षा सही भएन भने त्यो झन् प्रत्युत्पादक हुन्छ । यस सन्दर्भमा सापिरो को भनाइ राख्नु उपयुक्त हुन्छःGas Chambers built by learned engineers. Children poisoned by educated phycisian. Infants killed by trained nurses. Women and babis shot and burnt by high school and college graduates.
सापिरोले भनेजस्तै लाखौँ मानिसको एकै चिहान बनाउने ग्याँस च्याम्बर पठित इन्जिनियरले बनाएको हो । अनि देवता ठानिएको शररिशास्त्री डाक्टरबाट विष खुवाएर बच्चाहरु नमारिएको होइन । तालिमप्राप्त नर्सहरुबाट शिशुको हत्या गरिएको पनि हो । अनि स्कुल र कलेजका डिग्री होल्डरहरुबाट बच्चाहरुलाई गोली ठोकी नजलाइएको पनि होइन । यी यस्ता र यसभन्दा डरलाग्दा कार्यहरु शिक्षित पठित व्यक्तिहरुबाट भएका छन् । तर खोइ त बुद्धले हिंसा गरेको अनि खोइ त गान्धीले हत्या गरेको ? किनभने बुद्ध, गान्धी लगायत धेरै विद्वान् र महान व्यक्तिहरुले जविनजगत पढे,बुझे र व्यवहारमा उतारे । तिनै व्यक्तिहरुले यस संसारलाई यतिसम्म सुन्दर र सभ्य बनाए । तर तिनीहरुले खालि सीमित पाठ वा विषयवस्तुमा मात्र आफूलाई कैद गरेनन् । व्यक्तिगत जीवनको साँघुरो घेरा र स्वार्थमा आफूलाई सती पठाएनन् र सारा विश्व तथा तमाम मानव जातिको लागि आफ्नो जविनको उत्सर्ग गरे । यसबाट प्रष्ट हुन्छ थुप्रै डिग्री लिँदा र धेरै पढ्दा मात्र शिक्षित हुन्छ भन्नु पनि भ्रम रहेछ यदि जीवनजगतलाई चिनाउदैन भने त्यस्तो शिक्षा के शिक्षा? अझ यो बाधक मात्र हेन घातक पनि हुँदोरहेछ यदि यसले वास्तविकतालाई बुझाउँदैन भने । त्यसैले यदि शिक्षा जीवनको लागि हो भने जविन चिनाउने मात्र होइन सफल बनाउने पनि हुनुपर्छ जसले व्यक्तिको विचार बदलोस्,जविन बदलोस् र देश बनाउन उपयोगी रहोस् ।
तर एसियाका नोबेल पुरस्कार मानिएका म्यागासासे पुरस्कार विजेता महावीर पुन अमेरिकामा पढेर पनि नेपालकै विकट क्षेत्र म्याग्दीको विकट गाउँहरुमा वायरलेस इन्टरनेट सेवा जोडिरहँदा शिक्षा मन्त्रालय अगाडि विदेश प्रस्थानको लागि ‘ नो अब्जेक्सन लेटर लिन दैनिक सयौँको संख्यामा लाम लागिरहेका छन् । राजनेता, सरकारी उच्च पदस्थदेखि सर्वसामान्यसम्म डि.भी चिट्ठा भरिरहेछन् भने नेपाल छाडी विदेशिन मरिहत्ते गर्नेको संख्याधको कमी रहेन। हुनत सीमाहीन संसारको नवीन मन्यतासँगै जोकोही पनि संसारभर निर्बन्ध रुपमा जानबस्न पाउने अधिकार होला ? तर सम्पन्न,सुखी र स्वर्गीय जीवनको अभिमान पालेर आफ्नो निजी स्वाभिमान गुमाउनु कति उचित होला ? हो ,त्यही नेपाली स्वाभिमान खोज्दा नै महावीर पुनले नेपाल फर्केर विश्वकै एउटा निर्धन देशको गाउँवस्तीहरुलाई अत्याधुनिक प्रविधिले जोड्दैछन् । अनि जसरी नि अकूत सम्पत्ति कमाउन तँछाडमछाड गर्ने व्यक्तिहरुका माझमा नेपालका विल गेटस् उपेन्द्र महतो नेपालको शैक्षिक विकासदेखि भौतिक विकासको लागि करोडौँ लगानी गरिरहेछन् । कुनै डाक्टर किड्नी बेचेर पैसा कमाउन पछि नपरेको सुन्नु परिरहँदा डा. भगवान कोइराला हजारौ मानिसलाई पुनर्जीवन दिइरहेका छन् । अनि गुणस्तरीय शिक्षा पाउने आशा बोकी आफ्नो सन्तानलाई सरकारी स्कुलमा नपढाई सके विदेशमा र नसके महंगा स्वदेशी प्राइभेट स्कुलमा पढाउन चाहने र पढाइरहेका राजनेता, प्रशासक,शिक्षा प्रशासक , शिक्षाविद्, शिक्षक ,प्राध्यापक सबैका अगाडि उत्तम सञ्जेलले मासिक सय रुपियाँमा समता निकेतन स्कुलबाट करीब १८ हजार बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिइरहेका छन् । यी दुई खाले प्रवत्ति कोरा र वास्तविक शिक्षाको अन्तर हो जसले सही र वास्तविक शिक्षा प्राप्त गरे ती उच्च र महान कार्यमा समर्पित भए तर जसले किताबी वा पाठ्यवस्तुगत शिक्षा मात्र प्राप्त गरे ती कुहिरोको काग बने अर्थात् अन्तरज्ञानको अभावमा आफ्नो परम कर्तव्य र दायित्व पूरा गर्नमा चुके भनौ आफ्ना खृट्टामा आफैँ बञ्चरो हान्न पनि पछि परेनन् बरु रमाए । तसर्थ साँचो शिक्षा त जविनभोगाइको क्रममा प्राप्त हुन्छ । जीवनभोगाइ चाहिँ त्यस्तो प्रयोगशाला हो, जहाँ जीवनको साँचो परीक्षा हुन्छ र वास्तविक सफलता असफलता छुट्टिन्छ।
विश्वका सम्पन्न राष्ट्रहरुको विगतलाई फर्केर हेर्ने हो भने रातारात विकास भएको देखिन्न । यो चाहिँ सत्य हो कि नेपालसँगै विकास थालेका मलेसिया औद्योगिक देशमा परिणत भइसक्यो । अझ सन् १९५७ मा मात्र यो देश उपनिवेशबाट मुक्त भएको हो । हाल यसको साक्षरदार उच्च छ भने प्रतिव्यक्ति आय १० हजार अमेरिकी भन्दा माथि डलर छ । अनि संघीय शासनको सफल प्रयोगको कारण सबै वर्ग,जाति र समुदाय एकताबद्ध भई सन् २०२५ सम्ममा मलेसियालाई विश्वका धनी देशमा रुपान्तर गर्न लागी परेका छन् । जबकि नेपालको साक्षरता प्रतिशत ७६% मात्र छ ।अझ महिला साक्षरता करिब ६९% मा सीमित छ भने प्रतिव्यक्ति आय करिब १३०० अमेरिकी डलर छ तर दुर्भाग्य नै भन्नुपर्छ प्रतिव्यक्ति ऋण चाहिँ वर्षेनी बढ्दो छ । सँगैका विकासका सहयात्री मलेसियाले विश्वका हजारौँ मानिसलाई रोजगारी दिइरहँदा नेपालमा वर्षेनी ३ लाख शिक्षित जनशक्ति बेरोजगारीको मारमा परिरहेछन् । अनि बाध्यतावश रोजगारीको खोजीमा यिनै मलेसिया,सउदी अरब,कतार लगायत अन्य देशहरुमा बाहिरिन्छन् । कुनै बेलामा मलेसियामा बौद्धिक पलायन ठूलो संख्यामा हुन्थ्यो तर हाल विभिन्न देशहरुबाट यहाँ आउनेको ओइरो लाग्छ । समयक्रममा यसले बौद्धिक लाभ गरेको छ । यो सजिलै भएको उन्नति,प्रगति र सफलताको गाथा हैन । यो त मलेसियन जनताको आँट,साहस,लगन र मेहनतको कमाइ हो । अझ यस्तो चमत्कारिक सफलताका नायक हुन् पूर्व मलेसियन राष्ट्रपति मोहम्मद महाथीर । उनको सबल,कुशल र दूरदर्शी नेतृत्वको परिणाम हो मलेसियाको वर्तमान नवीन रुप । तसर्थ कुनै पनि देश बनाउन जनता मात्र लागेर नहुँदोरहेछ साँच्चै देशको मुहार फेर्न त असल र कुशल नेता र नेतृत्वको आवश्यकता पर्दोरहेछ । ‘ एक बार आना है सिंगापुर’ भन्दै सिंगापुरलाई विश्वका सुन्दर र चर्चित नगरी बनाए महान नेता ली क्वा यू ले । यसरी संसारका सम्पन्न र सफल देशहरुको निर्माण असल तथा कुशल नेतृत्वबाट मात्र संभव भएको देखिन्छ । तर ती सबै नेतृत्वको विकास असल,सही र वास्तविक शिक्षाबाट भएको हो । असल र वास्तविक शिक्षा चाहिँ औपचारिक स्कुल र कलेज तथा सीमित पाठ्यपुस्तकीय विषयवस्तुमा सीमित रहन्न । यस खाले शिक्षा त समाजको विकासक्रममा जीवनभोगाइको सिलसिलामा देखेर,भोगेर र गरेर सिकिन्छ । अग्रज पुस्ताको सोच,चिन्तन,संस्कार,बानी,व्यहोराबाट पनि प्रत्यक्ष वा परोक्ष रुपमा सिकाइ भइरहेको हुन्छ । त्यसैले अगुवाले ने गलत बाटोमा लागे भने भावी पुस्ताले के सिक्ला ? हाम्रो भावी नेपाल कस्तो होला ? तसर्थ गम्भीर भई सोच्ने हो भने र अग्रज पुस्ताले परिवर्तनको बाटो रोज्ने हो भने पक्कै पनि हाम्रो देश स्वीजरल्याण्ड,सिंगापुर र अमेरिका बनाउने वा बन्ने सपनामा सीमित रहन्न । यसको लागि सबैले सही शिक्षा वा मार्गदर्शन प्राप्त गर्नै पर्दछ अन्यथा हाम्रो गति बाटो भुलेको बटुवाको जस्तै अन्यौलपूर्ण हुनेछ । जब सही , वास्तविक र सार्थक शिक्षा प्राप्त हुन्छ तब हरेक व्यक्ति समाज र राष्ट्रप्रति जिम्मेवार हुन्छ ।अनि व्यक्ति स्वार्थको सट्टा अमेरिकी पूर्व राष्ट्रपति जोन एफ केनेडीको “ राष्ट्रले तिमीलाई के दियो होइन,तिमीले राष्ट्रलाई के दियौ ?” भन्ने तथ्यलाई आत्मसात गर्दै राष्ट्र निर्माण(Nation Building) को अभियानमा सबैजना लाग्नेछन् ।
æ ChangeÛ ChangeÛÛ ChangeÛÛÛ I believe in it ” यो परिवर्तनको बुलन्द आवाज विश्वका सम्पन्न र शक्तिशाली अमेरिकी राष्ट्रपति बाराक ओबामाले चुनावको प्रचारको क्रममा जनता सामू व्यक्त गरेको प्रतिबद्धता र कटिबद्धता हो । यसै नवीन तर उच्च सोचकासाथ अगाडि बढ्दा उनले अमेरिकी जनताको समर्थन पाए र नयाँ इतिहास रच्दै अमेरिकामा प्रथम अश्वेत राष्टपति बनेर विश्वलाई चकित पारिदिए । यस्तै आँटिला,आत्मविश्वासी र दूरदृष्टियुक्त सामथ्र्यवान् कुशल नेताहरुले संसारको मुहारै बदलेका छन् । ती नेताहरु समय र शिक्षाले जन्माएका महान नायकहरु हुन् । यसरी सारमा के देखिन्छ भने समाज, राष्ट्र र संसार बनाउन कुशल नेता र नेतृत्वको जरुरत पर्दछ, जुन जीवनजगतबोध गराउन सक्ने शिक्षाको प्राप्तिबाट मात्र संभव छ । तसर्थृ सही र वास्तविक शिक्षा त्यो हो जसले व्यक्तिलाई सानो र तुच्छ व्यक्तिगत जीवनको घेराबाट माथि उठाएर समाज र संसारकै लागि समर्पित हुन प्रेरित गर्छ,मार्गनिर्देश गर्छ र मानव संस्कारको सुधार गरी व्यवहारमै उतार्छ ।
३) निष्कर्ष
संसार बदल्ने तागत कोहीसँग छ भने त्यो मानव जनशक्तिसँग नै छ । त्यो तागत भनेको मानवको सकारात्मक सोच र व्यवहार नै हो तर त्यो सोच र व्यवहार सही र सार्थक भने हुनैपर्दछ । उक्त सार्थक सोच र व्यवहार निर्माण गर्ने कुची वा हतियार चाहिँ सही र वास्तविक शिक्षा हो । तसर्थ वर्तमानमा हाम्रो शिक्षा परीक्षामा उत्तम हुने तर जीवनमा खत्तम हुने जीवन निरपेक्ष खालको हुनुहुँदैन । परीक्षामा सामान्य वा उत्तम जे भए पनि सुखी जीवन जिउन र समाजमा परिवर्तन ल्याउनमा चाहिँ अवश्य पनि उत्तम हुनैपर्दछ । यसको लागि शिक्षालाई समयसापेक्ष र जीवनसापेक्ष बनाउनुपर्छ नै । जसको निम्ति राजनेता, नीतिनिर्माता, शिक्षा प्रशासक,शिक्षाविद्, शिक्षक प्राध्यापक,विद्यार्थीसहित तमाम अभिभावकको प्राथमिकतामा वा केन्द्रविन्दुमा शिक्षा पर्नुपर्दछ । संसारलाई यदि साँच्चै बदल्ःने हो भने यसको कारक वा मुहान ठानिएको शिक्षामा परिवर्तन गर्नैपर्छ । अनि मात्र देश र समाजको सुधार मात्र हुने हैन हामीले चाहेको आमूल परिवर्तन नै हुन्छ । सुन्दर समाज र देशको निर्माण गर्ने हाम्रा स्वर्णिम आशा र सपनाहरु तुहिने छैनन्, पूरा हुनेछन् र सार्थक हुनेछन् ।