तामाङ साहित्यमा विधा र वर्तमान प्रवृत्ति
डा.लोकबहादुर लोप्चन
१.परिचय
तामाङ नेपालको एक प्राचीन जाति हो । आदिमकालदेखि नै काठमाडौँ उपत्यकाको वरिपरि डाँडाकाँडाहरूमा र उत्तरपट्टिको सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाको लेकाली भागहरुमा तामाङहरु बस्दै आएका छन् (विष्टःई २००५:२८) । प्रस्तावित वर्तमान ताम्सालिक्षेत्रअन्तर्गतका जिल्लाहरु तामाङ बसोबासका मुख्य क्षेत्र हुन् । जसमा काभ्रे, धादिङ,नुवाकोट,मकवानपुर,रसुवा, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला पर्दछन्। तामाङहरु देशभरि नै छरिएर रहेका छन् । साथै तामाङहरू नेपालबाहिर उत्तरपूर्वी भारतको बगाल राज्यको दार्जिलिङ,सिक्किम, आसाम, भुटान, वर्मा र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरु्र۪ङ सिगात्सेसम्म बसोबास गर्दै आएको पाइन्छ ( तामाङ२०५५:१) ।
राष्ट्रिय जनगणना(२०७८) अनुसार तामाङ जातिको जनसंख्या करिब १६ लाख पुगेको देखिन्छ । बौद्घ धर्म मान्ने तामाङ जाति भोट बर्मेली भाषा बोल्दछन् । तामाङहरूको आफ्नै मौलिक संस्कृति र परम्परा छ । यो तामङ जातिको पुख्र्यौली धरोहर हो भने निजी परिचायक पनि हो ।जसमा धर्म, भाषा, साहित्य,संस्कृति,भेषभूषा,चाडपर्व, रीतिस्थिति,कलाकृति आदि पर्दछन् । भाषा,संस्कृति,संस्कारमा धनी तामाङ जाति आर्थिक, राजनीतिक,प्रशासनिक लगायत अन्य क्षेत्रहरुमा धेरै पछि परेको छ वा पारिएको छ । राज्यको विभिन्न तह र तप्कामा नगण्य सहभागिता रहेको छ । न्यून चेतनास्तर, कमजोर आर्थिक स्थिति, शिक्षामा न्यून पँहूच अनि राज्यको ऐतिहासिक विभेदकारी नीतिको मारमा पर्नाले तामाङ जाति विकासको मूल प्रवाहभन्दा बाहिर रहन बाध्य छ।,यसले तामाङ जातिको स्वाभिमानमा चोट पुगेको छ भने तामाङ जातिको पहिचानका रुपमा रहेको भाषा,साहित्य र कला ओझेलमा पर्दै आएको छ ।यद्यपि इतिहासका कठिनतम कालखण्डहरुमा पनि यस जातिले आफ्नो भाषा, साहित्य र कलालाई संरक्षण गर्दै आएको छ (योञ्जनःः२०६३)।यसको ज्वलन्त उदाहरण यस जातिमा विद्यमान चाडपर्व,संस्कार,रीतिस्थिति (रिमठिम),गीतसंगीत) तामाङ सेलो र डम्फू) लाई लिन सकिन्छ ।
२.तामाङ साहित्य
‘सहित’ शब्दमा ‘यत’ प्रत्यय लागेर साहित्य शब्दको निर्माण भएको हो ।“सहितस्य भाव साहित्य” वा कल्याणकारी भावसयुक्त कलात्मक सिर्जना साहित्य हो ।हड्सनका अनुसार भाषाका माध्यमबाट गरिने जीवनको अभिव्यक्ति साहित्य हो। ज्ञवाली र भट्टराई(२०६२) का अनुसार साहित्य भनेको मानवीय अनुभूतिको कलात्मक, मूल्यवान र प्रभावकारी भाषिक कला हो ।अतः साहित्य भावना वा विचारको कलात्मक अभिव्यक्ति हो । जसमा जीवन र जगतप्रतिको मानवीय अनुभूतिलाई भाषाको माध्यमबाट सशक्त रुपमा अभिव्यक्ति गरिन्छ ।
तामाङ साहित्य चाहिँ तामाङ र साहित्य दुई शब्दबाट निर्मित समस्त शब्द हो । शाब्दिक रुपमा तामाङ जातिको साहित्य भन्ने अर्थबोध हुन्छ । संक्षेपमा तामाङ भाषामा रचित साहित्यिक कृति वा कलात्मक सिर्जना तामाङ साहित्य हो भन्ने बुझिन्छ भने विस्तृत अर्थमा तामाङ पहिचान,मूल्य,मान्यतामा आधारित समग्र सिर्जना तामाङ साहित्य हो। अमृत योञ्जन(ई २००५) का अनुसार –(१) तामाङ भाषामा रचिएको कुनै पनि सिर्जनात्मक लेख्य वा मौखिक सामग्री तामाङ साहित्य हो । (२) तामाङ मौलिक मूल्य,मान्यता र परिवेशमा आधारित कुनै पनि भाषामा रचिएका सामग्री तामाङ साहित्य भन्न सकिन्छ। (३) माथिको दुवै परिभाषालार्ई आदर्स परिभाषा बनाउन सकिन्छ -जस्तो तामाङ जातिको मौलिक मूल्य,मान्यता र आधारित तामाङ भाषामा रचिएको सामग्री तामाङ साहित्य हो ।
योञ्जनका अनुसार तामाङ भाषामा लिखित कलात्मक सिर्जना नै तामाङ साहित्य हो ।साहित्यमा अभिव्यन्जित विचार वा भावको आधारमा मात्र साहित्यको वर्गाीकरण गर्नु उचित देखिँदैन । साहित्यको वर्गाीकरणको लागि भाषालाई आधार बनाउन सकिन्छ । जुन भाषामा रचिएको छ त्यही भाषाको साहित्य भन्नु उचित ठहरिने भएकोले तामाङ भाषामा रचित सम्पूर्ण कलात्मक सिर्जनालाई तामाङ साहित्य भन्नु उपयुक्त हुन्छ ।
३. तामाङ साहित्यको विकास
तामाङ भाषा भोट चिनीयाँअन्तर्गत भोट बर्मेली शाखाको एक भाषा हो । यो भाषा भोट बर्मेलीको भोट हिमाली उपशाखाअन्तर्गत हिमालीको उत्तर पश्चिमी वर्गमा पर्दछ (दाहालः२०३१२३)। नेपालमा बोलिने भोट बर्मेली भाषाहरुमध्ये तामाङ भाषा पनि एक हो । तामाङ भाषामको आफ्नै लिपि नभएकोले यसलाई लिप्योन्मुख भाषा भन्न सकिन्छ ।हाल ‘तामयीग’ लिपिको विकास गरिएको छ भने सम्भोटा लिपिमा तामाङ ऐतिहासिक अभिलेखहरु पाइन्छन्।साथै देवनागरी लिपिमा तामाङ भाषा साहित्यसम्बन्धी ग्रन्थ,पुस्तक,पत्रपत्रिकासहित पाठ्रयपुस्तकसम्म तयार भएका छन् ।
राणाकालीन राज्यव्यवस्थाले तामाङ जातिलाई र्शेक्ष्ग्कि,राजनीतिक,धार्मिक र सामाजिक रुपमै साम,दाम,दण्ड,भेदको नीति अपनाई दास बनाएको तथ्यलाई इतिहासले प्रमाणित गर्दछ ।पिपा (भरिया,टलुवाको काम गर्ने,तल्लो तहको पल्टनियाँ,निम्नस्तरको जागिर) मा बाहेक माथिल्लोस्तरको पदमा सहभागी हुन निषेध गरियो (स्यङ्रबाः२०६१)। राज्यको एक भाषा,धर्म र जातिको विभेदपूर्ण नीतिका कारण तामाङ भाषा र साहित्य कुण्ठित हुन पुग्यो वा फल्ने,फुल्ने अवसर पाएन । तथापि आ‘फ्नो भाषा,धर्म,संस्कृति तथा परम्परालाई असाध्य माया गर्ने तामाङ पूर्खा अग्रजहरुले संभोटा लिपि र देवनागरी लिपिमा तामाङ वंशावली, रीतिस्थिति(रिमठिम), इतिहास,रहनसहन,साहित्य,गीतसंगीतलाई लिपिबद्घ गरेका छन् । म्याकडोनाल्डले (ई.१९८७) लामा लिपिमा लिप्यान्तर गरेका तामाङ भाषाका पुस्तक र पाण्डुलिपिहरु प्राप्त गरेका छन् । जिकतेन तामछ्योइ ल्होग्य सित्पा छ्यागपा जुङ खुङ( संसारको इतिहास र पृथ्वीको उत्पत्तिको कथा), जिकतेन तामघि तामाग कद स्युग् स्यो ( तामाङ सांस्कृतिक कुराहरु) सहित चार कुतिहरु छन् ।त्यसपछि सन् १९५६ मा बुद्घिमान मोक्तानको देवनागरी लिपिमा लिखित ‘जिकतेन तामछ्योइ वा तामाङ वंशावली ह्रामा प्रकाशित भएको पाइन्छ ।जसबाट यस अघि लेखिएका तीन पुस्तक (१)जिकतेन तामछ्योइ (२) रुइसाङ चोप्गेला ठुङ्राप (३) ह्रामा को बारेमा जानकारी उपलब्ध हुन्छ (तामाङः२०५१:११०) ।
यसरी तामाङ भाषा र साहित्यको धर्म,संस्कृति,संस्कारसम्बन्धी सामग्रीको संकलन र लिपिबंद्घीकरणबाट आरम्भ भई विधागत कृति सिर्जनासम्मको यात्रामा आइपुगिसकेको देखिन्छ । अनि यसबीचमा तामाङ भाषा र साहित्यले असाहित्यिकबाट साहित्यिक, संकलनबाट सिर्जनात्मक लेखन,परम्परागत कामचलाउ लेखन प्रवृत्तिदेखि उत्तरआधुनिकसम्मको यात्रामा फड्को मारेको देखिन्छ ।तथापि लिपि विवाद,भाषिकागत विविधता,राज्यको केन्द्रीकृत र एकल भाषा नीतिको कारण तामाङ भाषा र साहित्यको विकासका बाधक हुन् । यति हुँदाहुँदै पनि तामाङ भाषाका कृतिहरु प्रकाशन भएका छन्। तामाङ चलचित्र निर्माण र प्रदर्शन,रेडियो टेलिभिजनबाट कार्यक्रमहरु सञ्चालन र पत्रत्रिकामा तामाङ स्तम्भमा नियमित प्रकाशनको थालनी भएको छ । इन्टरनेटमा तामाङ वेवपेज समेत खुलिसकेको अवस्था छ ।यसबाट प्रष्ट हुन्छ तामाङ भाषा र साहित्यको भविष्य उज्ज्वल छ। यो उत्साहकासाथ निरन्तर आफ्नो विकासको अविराम यात्रामा लागिरहेछ। यसमा तामाङ भाषाविद्,समाजसेवी,संस्कृतिपे्रमी, बुद्धिजीवी लगायत सचेत सबै तनमनकासाथ कसेर लागेका छन् । यसैको उपलब्धि मान्नुपर्छ तामाङ साहित्यिक संघसंस्था गठनको श्रृंखलामा तामाङ प्राज्ञ सभाको गठन।थुप्रै तामाङ संघसंस्थाहरु तामाङ भाषा र साहित्यको विकासमा समर्पित छन् ।योञ्जन(२०६३) का अनुसार तामाङ संघसंस्था र साहित्यिक आन्दोलनमा (१)स्योम्हेन्दो थेत्मा(२०४५),नेपाल तामाङ घेदुङ(२०४७),(३) तामाङ ग्योइ सेमलेङ सेङजाङ(२०४९),(४)इन्द्रेणी सांस्कृतिक समाज(इसास,२०४९), (५( धिनीम्हेन्दो तामङ रिमठिम थेत्माइ(२०५०),(६) तामाङ डाजा ङ (२०५८),(७) प्राङ्बोला छारन्हान्(२०६०), (८) पुपुम्हेन्दो थेमो(द्द०६०), (९) डिहिला म्हेन्दो परिवार को योगदान उल्लेखनीय रहेको छ । गैरतामाङ संघसंस्थाहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका(२०५०) , आदिवासी जनजाति राष्टिय प्रतिष्ठान लगायत अन्य संघसंस्थाहरुको उल्लेखनीय भूमिका रहेको छ।
४.विधागत वर्गीकरण
साहित्य सिर्जनाको उपयुक्त प्रकार र स्वरुपलाई नै विधा भनिन्छ (सुवेदीः२०५७ १४ ) ।अर्को शब्दमा विधा भनेको संरचनागत नियम र विधिहरुको सामूहिक रुप हो । प्रत्येक विधाको आफ्नै निजी पहिचान हुन्छ । संरचना,प्रस्तुति,शिल्पशैली,साँध सीमा नै विधागत निजत्वका अवयवहरु हुन् । पूर्वीय तथा पाश्चात्य दुवै साहित्य जगतमा साहित्यिक विधाको वर्गीकरण भएको पाइन्छ।पूर्वमा भामह,दण्डी,विश्वनाथ आदिले विधागत वर्गीकरण गरेका छन् जसमा श्रव्य र दृश्य काव्य विधा प्रमुख रहेका छन् । श्रव्य काव्यअन्तर्गत गद्य र पद्य तथा दृश्य काव्यअन्तर्गत नाटक र प्रहसन समाविष्ट देखिन्छन् । पाश्चात्य साहित्य जगतमा चाहिँ नाटक,काव्य र मिश्रित काव्य विधाको प्रचलन रहेको छ । वर्तमान सिर्जनामा प्रयुक्त विधाहरु पाश्चात्य साहित्यका उपज हुन् ।
सिर्जनत्मक साहित्यका मूलतः चार विधाहरु छन्ःः(१)कविता (२) नाटक (३) आख्यान (४) निबन्ध (ओझा र गिरीः२०५८:२०१)। नेपाली साहित्यको सिर्जनात्मक लेखन यिनै विधाहरुमा भएका छन्। तामाङ साहित्यमा पनि यिनै विधाहरुमा साहित्यिक सिर्जना गर्ने प्रयोगाभ्यास भएको देखिन्छ,। तामाङ भाषामा कविता, नाटक,कथा,उपन्यास,निबन्ध,जीवनी विधाहरुमा लेखन र सिर्जना भएका छन् ।योञ्जन (२०६३) का अनुसार तामाङ कविता विधाअन्तर्गत फुटकर कविता,गीतगजल, हाइकु, तांका,बालकविताहरु पर्दछन्।नाटक विधामा नाटक,एकांकी र फिल्मलाई राखेर अध्ययन गर्न सकिन्छ।आख्यानमा लोककथा,कथा र उपन्यास पर्दछन् भने निबन्ध विधामा पत्रसाहित्य,यात्रासंस्मरणलाई समावेश गर्न सकिन्छ। तामाङ साहित्यमा विभिन्न विधाहरुमा सिर्जना भए पनि विधागत विशेषताहरु संरचना,शैलीशिल्प,प्रस्तुति,सीमामा जटिलता भन्दा पनि लचकता पाइन्छ । साहित्यिक विकासको यात्रामा यात्रारत रहेकोले विधागत विशिष्टता र उत्कृष्ठता नपाइए पनि विधागत विशिष्टतासहितको रचना धर्मिता र सिर्जनामा सारगर्भिता नपाइने होइन। उदाहरणको लागि तामाङ सेलो नै काफी छ। सेलो विट र डम्फूको संगीत तामाङ ढुकढुकीलाई सदासर्वदा जीवित राख्ने अमूल्य निधि हुन् । तामाङ जातिको निजत्वका प्रतीक हुन् जसले तामाङ जातिको सम्पन्न सांस्कृतिक र सामाजिक संस्कारको सुरिलो र सुमधुर आवाज गुन्जाउँछ। यसले कहिले च्याङ्वा र मैच्याङ्लाई नचाउँछ कहिले तामाङ संस्कार विवाह,छेवर,ल्होछारजस्ता चाडपर्वको महिमालाई जगाउँछ अनि यो शोषण, अन्याय,अत्याचार विरुद्ध क्रान्तिको जोशिलो विगुल फुक्न पनि पछि पर्दैन ।अतः तामाङ साहित्य प्रणयप्रीति,रीतिस्थितिदेखि विरोध र विद्रोहको परिवर्तनकारी भाव र विचार समेटेर सिर्जिएका छन् । रोज मोक्तानद्वारा गाइएको तामाङ सिसाम् सितोबा (मरे तामाङ मर्नपर्ने ), गीत अनि योक घिसिङ रचित तामाङ उपन्यास प्राङ्बोला छेटाङ (गरीबको भाग्य) यसका ज्वलन्त उदाहरण हुन् ।
५.विधागत सिर्जना र प्रवृत्ति
साहित्य भनेको कुनै पक्षको नभएर युगको यथार्थ चित्रण हो । साहित्यमा युग बोल्नुपर्छ ।भनिन्छ,साहित्य समाजको दर्पण हो ,त्यही दर्पणलाई दस्तावेजको रुपमा लेख्नु लेखकको धर्म हो (न्यौपानेः२०६६)। साहित्यमा जीवनजगतप्रतिको सर्जक अनुभूति व्यक्त गरिन्छ ।सर्जक अनुभूति समाज तथा युगसापेक्ष हुनुपर्छ भन्ने एक थरिको भनाइ छ भने अर्काथरि कला कलाको लागि भन्छन् र साहित्यलाई कुनै वाद,समाज र युगसापेक्ष बनाउन चाहाँद्रैनन् । बरु पुराना मूल्य,मान्यतालाई भत्काउन चाहान्छन्,विपठन,विनिर्माण वा क्रमभंगतालाई चाहान्छन्। डे कार्डस्को परम्पराको निरन्तरताको सिद्धान्त विरुद्ध ज्याक डेरिडाको विनिर्माणवादी उत्तरआधुनिक प्रवृत्तिलाई खुला आमन्त्रण गर्छन्। तर गौतम (२०६६:१५) का अनुसार दुवै खाले अति साहित्यका लागि अनुपयुक्त, छन् ।परम्परा भनेर यथास्थितिमा रहिरहनु र उत्तरआधुनिकता भनेर अस्तित्व नामेट हुने गरी अगाडि बढ्नु उचित होइन । यसको सही विकल्प दुवैको सन्तुलित र संयमित प्रंयोग नै हो ।
साहित्यिक प्रवृत्तिको उत्तरआधुनिक वहससम्म आइपुग्दा तामाङ साहित्यमा यसको प्रभाव नपरीरहन सक्ने कुरै भएन । योञ्जन(२०६३) ले तामाङ साहित्यको प्रवृत्तिगत आधारमा निम्न वर्गीकरण गरेका छन्ः
क) पूर्वआधुनिककालीन तामाङ साहित्य (वि.स.१९६५–२०२९)
ख) आधुनिककालीन तामाङ साहित्य –वि.स. (२०३० –२०६१)
ग) उत्तरआधुनिककालीन तामाङ साहित्य ( २०६२ यता)
योञ्जनले वि.स.२०३० देखि २०६० लाई आधुनिककालीन तामाङ साहित्य मानी प्रवृत्तिगत आधारमा यस पूर्वको साहित्यलाई पूर्वआधुनिककालीन तामाङ साहित्य भनी चर्चा गरेका छन् ।यस अवधिमा अनुकृतिमूलक लेखनका अतिरिक्त काइतेन,दोङराप,फाराप,केरापआदि लेखिए । परम्परागत कला,संस्कृति,परम्परा,लोकविश्वास तथा जातिसम्बन्धी अभिलेखन नै यस अवधिको विशेषताहरु हृन् ।मुख्य कृति र कृतिकारहरुमा बुद्धिमान मोक्तानको जिकतेन तामछ्योइ अथवा तामाङ वंशावली, सन्तवीर लामाको तम्बा काइतेन ह्वाइ रिमठिम छन् ।वि.स.२०३० पछिको सिर्जनात्मक साहित्य लेखनको अवधिलाई उनले आधृनिककालीन तामाङ साहित्य भनी चर्चा गरेका छन् ।यस अवधिमा तामाङ गीत,कविता,कथा,निबन्ध आदि लेखिएको पाइन्छ भने सामाजिक जागरण,परिवर्तन,जातीय उत्थान, विरोध र क्रान्तिको भाव वा विचार तामाङ साहित्यमा अभिव्यञ्जित भएको पाइन्छ ।भीमराजा लामाको तामाङ वर्णमाला(२०३०) सँगै प्रारम्भ भएको आधुनिककालीन तामाङ साहित्यका प्रमुख कृतिकारहरु भीमराजा लामा,अमृत योञ्जन तामाङ , चन्द्रकुमार मोक्तान, प्रताप बल तामाङ, धर्मराज लामा आदि छन् ।वि.स.२०६२ यताको अवधिलाई उनले उत्तरआधुनिककालीन तामाङ साहित्य भनी उल्लेख गरेका छन् ।यसको आधार चाहिँ बहुलवादी चिन्तन र सोच,परम्पराबाट मुक्त र समसामय्कि युगसापेक्ष मूल्य मान्यताको स्वीकरणलाई मानेका छन् ।यस अवधिमा अघिल्लो पुस्ताको लेखन र प्रवृत्तिगत निरन्तरता रहनुका साथै नवपुस्ताको आगमन र नवीन प्रवृत्रिको स्वीकरण भएको पाइन्छ । तामाङ भाषामा उपन्यास र गजल लेखिनु यसको परिणति हो भन्ने मान्नुपर्ने हुन्छ ।
६.वर्तमान तामाङ साहित्यको प्रवृत्ति
वर्तमान तामाङ साहित्यिक प्रवृत्तिको मूल परिचायक विधागत लेखनको आराम्भ र विकास हो ।विधागत संरचना,शैलीशिल्प, प्रस्तुति सीमालाई साहित्यिक कृतिमा अवलम्बन गरिएको छ ।भाव ,विचार र विषयवस्तुमा विविधता छ नै। योञ्जन (२०६३) ले स्वपहिचान,बहुलता,समावेशीता, संघीयता र उत्तरआधुनिकतालाई समकालीन साहित्यिक प्रवृत्ति भनी औँलयाएका छन्।अतः समकालीन तामाङ साहित्यमा शास्त्रीयतावादी,स्वच्छन्दतावादी,प्रगतिवादी,नारीवादी, अस्तित्ववादी तथा उत्तरआधुनिक चिन्तन र प्रवृत्ति पाइन्छ। अन्य प्रवृत्तिहरु निम्न छन्:
क) विधागत विविधता
ख)भाव,विचार वा विषयगत व्यापकता
ग)स्वजाति,भाषा र संस्कृतिप्रतिको मोह
घ) स्वपहिचान,स्वतन्त्रता र स्वाभिमानको खोजी
ङ) एकत्वको बहिष्करण र बहुलताको स्वीकरण
च) सीमान्तीकत वर्गको अधिकारवादी र अस्तित्ववादी चेतनाबोध
छ) क्रान्ति र विद्रोही चेतना
ज) साहित्यमा विश्वअवधारणा उत्तरआधुनिकता(एयकत ःयमभचलष्कm) को प्रभाव
झ) बहुजाति,धर्म,भाषा र संस्कृतिको वकालत
ञ)संघीयता,स्वायत्तता,समावेशीकरण,सशक्तीकरण र मूलप्रवाहीकरणको अभिव्यक्ति
ट) सूचना,प्रविधि र सन्चारको प्रयोग
ठ) संगठित र संस्थागत प्रयास
ड) नवीन पुस्ताको आगमन नवीन सिर्जना
ढ)स्थानीय,राष्टिय र विश्व परिवेशको चित्रण
ण) सीमित सिर्जना
त) लिपि विवाद यथावत्
थ) समालोचनात्मक सिर्जनार्का अभाव
७.निष्कर्ष
संघीयता स्वशासनको धूरी हो । स्वशासन विविधताको मूर्तिकरण हो । जहाँ स्वपहिचान र स्वाभिमान कायम हुँदैन । त्यहाँ सुशासन रहने कुरै आउँदैन । सुशासन नहुँदा भाषा साहित्य ओझेलमा पर्छ । तसर्थ वर्तमान तामाङ साहित्यको गन्तव्य वा सार चाहिँ स्वशासनको स्थापना हो । समसामयिक तामाङ साहित्यको मूल ध्वनि यही बनेको छ ।हुनत साहित्यमा जीवनजगतको सारा विषयवस्तुको अभिव्यक्ति गरिन्छ। समाज,समय र सन्दर्भले साहित्यको गर्भधारण मात्र हैन जीवन नै निर्धारण गर्छ । त्यसैले भनिएको पाइन्छ साहित्य समाजको दर्पण हो । यसले समाजको प्रतिनिधित्व गर्छ । अर्थात् साहित्यले समाजलाई दिशानिर्देश गर्न सक्नुपर्दछ।समाज विनाको साहित्यको कल्पना नै गर्न सकिन्न र साहित्य विनाको समाज कति खल्लो र उदासपूर्ण होला । तसर्थ तामाङ साहित्यले वर्तमानमा एउटा दरिलो चुनौती सामना गर्नुपरेको छ। त्यो हो मौलिक संस्कृतिको संरक्षण र उत्तरआधुनिकताको स्वीकरण। तर मौलिक पहिचानको रक्षामा मात्र सीमित रहँदा अगाडि बढ्न सकिन्न,बाँधिन्छ भने आधुनिकता वा नवीनताको बाटो पछ्याउँदा मौलिक पहिचान त्यागिन्छ,छाडिन्छ। यसरी मौलिक पहिचान छाड्दा मुर्कट्टा (पहिचानविहीन) बन्ने देखिन्छ भने आधुनिकता नअँगाल्दा अस्तित्वविहीन बनिन्छ ।तसर्थ तामाङ साहित्यले बीचको बाटो अबलम्बन गनुपर्ने देखिन्छ त्यो बाटो वा कार्य हो परम्परा र आधुनिकताको सन्तुलन र संयोजन गर्ने। अनि समन्वयात्मक,सन्तुलित र समग्रतालाई अँगाल्ने साहित्यिक कृतिको सिर्जना गर्ने। त्यही तामाङ साहित्यिमक सिर्जना नै समाज, युग र जीवनसापेक्ष बन्छ ।तब मात्र जीवन्त तामाङ साहित्यको सिर्जना हुन्छ,युगयुगसम्म बाँच्छ र रहन्छ ।
सन्दर्भग्रन्थसूचीः
१) ओझा र गिरी (२०५८),शोध,सिर्जना र संस्कृतकाव्यशास्त्र,काठमाण्डौँः न्यू हिरा इन्टरप्राइजेज ।
२) गौतम,लक्ष्मणप्रसाद(२०६६), नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना, काठमाण्डौँःओरिएन्टल पब्लिकेसन हाउस प्रा.लिं।
३) तामाङ,परशुराम (२०५१) तामाङ जाति, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान ।
४)— (२०५५), तामाङ संस्कार,काठमाडौँःनेपाल तामाङ घेदुङ ।
५) (२०६३) तामाङ जाति, नयाँ सहस्राब्दी विकास एजेण्डा, काठमाडौँःप्रगति पुस्तक सदन ।
६) तामाङ,रुद्रसिं (२०६०) , तामाङ संस्कार र संस्कृति,काठमाडौँःआदिवासी जनजाति रा.प्र.।
७) तामाङ ,अजितमान –ई.२००४) तामाङ जातिको मौलिक इतिहासका अवशेषहरु,याम्बुः
कोनडोङडोङ थेत्मा ।
८) तामाङ, रविन्द्र (२०६३) तामाङ लोककथाहरु, नुवाकोट आरुखर्कः रुद्रसिं तामाङ ।
९) तामाङ , शम्भुकुमार (२०५८) तामाङ सेलोको अध्ययन,अप्रकाशित स्नातकोत्तर शोधप्रबन्ध,त्रि.वि.।
१०) तामाङ ,जर्नल –ई.२००९) तामाङ प्रज्ञासभा,वर्ष १,अङ्क१ ।
११) न्यौपाने,चन्द्रप्रसाद (२०६५) चन्द्रयुग बृह्त्तर महाकाव्य भाग १: काठमाडौँः श्रीमती होममाया न्यौपाने ।
१२)योञ्जन,अमृत (ई.२००६) तामाङ पहिचानका सन्दर्भहरु,काठमाडौँः डी. आरं पब्लिक हाउजिङ ।
१३) (२०६३) तामाङ साहित्यको इतिहास,अप्रकाशित पाण्डुलिलि ।
१४) (२०६३) नेपालका भाषाहरुको पहिचान,वर्तमान स्थिति र भाषिकयोजना,
काठमाडौँः आदिवासी भाषिक समाज ।
१५) शर्मा,विश्वम्भरकुमार र्(ई.१९९९) नेपालका भोजपुरी साहित्य,अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध,बाबासाहेब भीमराब अम्बेदकर विहार वि.वि.,भारत ।
१६) सुवेदी, राजेन्द्र (२०५७) सिर्जनात्मक लेखनःसिद्धान्त र विश्लेषण,काठमाडौँः पाठ्यसामग्री पसल
१७) स्यूङबा, सिङमान (२०६१) तामाङ जाति, ललितपुरःश्रीमती काइँली तामाङ ।
१८) ज्ञवाली र भट्टराई (२०५९) ऐच्छिक नेपाली कक्षा १२,काठमाडौँःभुँडीपुराण प्रकाशन।
(स्रोतः काइतेन, तामाङ न्हाङखोर)