तामाङ भाषाको मानकीकरण र लेखन पद्धतिः प्रश्न र भावी गन्तव्य

तामाङ भाषाको मानकीकरण र लेखन पद्धतिः प्रश्न र भावी गन्तव्य

डा.लोकबहादुर लोप्चन

परिचय

भाषाको उत्पत्ति मौखिक परम्पराबाट हुने हो ।यसको विकास क्रममा लेख्य पद्धतिको विकास भई प्रयोगमा स्तरीकरण, एकरूपता र नियमन हुन थाल्दछ । यसरी विभिन्न भाषिक क्षेत्रीय भेदमध्ये बहुसंख्य वक्ताले बोल्ने भाषा छनोट, कोडीकरण, प्रकार्य विस्तार, स्वीकार्यता  र सरकारी प्रयोगमा ल्याउने कार्य भाषाको मानकीकरण हो । साथै यसमा लेखनमा मानक ध्वनि, वर्ण र हिज्जेको प्रयोग गर्दै व्याकरणको अनुशासनलाई पालना अपरिहार्य मानिन्छ। तामाङ भाषाको सन्दर्भमा यस भाषाको स्तरीय भेदलाई चयन गरी मानक लेखन पद्धतिका लागि कुनै एक लिपि र लेखन स्वरूपलाई प्रयोगमा ल्याउने कार्य तामाङ भाषाको मानकीकरण हो । तर अद्यापि तामाङ भाषाको मानक रूप चयन भइसकेको छैन । त्यसैगरी लेख्य पद्धतिमा पनि एकरूपता र नियमन भन्दा विविधता  रहेको छ ।यसको ज्वलन्त दृष्टान्त भनेको मानक भाषा लेखनका लागि प्रयुक्त सम्भोटा, तामयीग र देवनागरी लिपिहरू हुन् ।

तामाङ भाषाको मानकीकरण प्रक्रिया

तामाङ भाषाको मानकीकरणको लागि नेपाली र अङग्रेजी भाषा जस्ता समृद्ध भाषा समानका मानकीकरण पद्धति अपनाउन सकिने अवस्था रहँदैन । तथापि सरकारी कामकाजमा प्रयोगका लागि एउटा निश्चित आधार वा मानक तयार गरी प्रयोगमा ल्याउनु आजको आवश्यकता हो । भाषाको मानकीकरण प्रक्रियामा तलका तत्वहरू रहन्छन्:

  • तामाङ भाषाको स्तरीय भेदको छनोट

कुनै पनि भाषाको मानकीकरणका लागि सर्वप्रथम उक्त भाषामा विभिन्न क्षेत्रीय भेदहरूमध्ये कुनै एक भेदको चयन वा छनोट गरी प्रयोगमा ल्याउनु हो । यसका लागि बहुसंख्यक वक्ताको भाषा, बोध, सम्प्रेषणीय, लेख्य पद्धतिमा आबद्धता, शब्दकोश, व्याकरण, साहित्य र जीवन पद्धतिमा प्रयोग आदिलाई आधार बनाउन सकिन्छ ।उदाहरणको लागि नेपाली भाषाको पूर्वीय क्षेत्रीय भेदलाई नेपाली भाषाका रूपमा विकास गरिएको हो । तथापि तामाङ भाषामा भने आजको दिनसम्म पूर्वीय तामाङ र पश्चिमी तामाङ भेदमध्ये दुवै भेदको कार्य क्षेत्र, प्रयोजन र आवश्यकतानुसार प्रयोग हुँदै आएको छ।

 

  • तामाङ भाषाको कोडीकरण (नियमन)

भाषाको मानकीकरणको मुख्य सूचक वा प्रयोग क्षेत्र चाहिँ यसको लेख्य पद्धतिको निर्धारण हो।यसअन्तर्गत ध्वनि र वर्ण पहिचान, हिज्जे (वर्णविन्यास), शब्दकोश, व्याकरण, साहित्यको विकास आदि पर्दछन् । यसमा लेखन पद्धतिमा एकरूपता वा मानक स्वरूपको प्रयोग गर्नुपर्ने हुन्छ ।तामाङ भाषाको मानकीकरणका लागि पनि लेखन पद्धतिमा तामाङ भाषाको वर्ण, शब्द, व्याकरण, लिपि, लेखन  र सम्पादन शैलीको निश्चित ढाँचा वा तौर तरिकालाई विकास गरेर प्रयोगमा ल्याउनुपर्ने हुन्छ ।

  • तामाङ भाषाको प्रयोग कार्य विस्तार

भाषाको विकासका लागि भाषिक योजनाअन्तर्गत कार्य सम्पादन गरिन्छ । भाषाको जीवन्तता र प्रयोग विस्तारको पहिलो सर्त भनेको यसको स्तरगत योजना हो । यसअन्तर्गत कुनै पनि भाषालाई सरकारी कामकाजमा प्रयोग गरिन्छ । उदाहरणको लागि विद्यालय र विश्वविद्यालय कुनै भाषाको विषय पठनपाठन गर्नु भाषाको प्रयोग विस्तार हो । त्यसैगरी भाषाको संरचनात्मक योजनाअन्तर्गत वर्ण पहिचान, शब्दकोश विकास, व्याकरण, लेखन, पाठ संग्रह, साहित्यको विकास, सङकथन निर्माण, अनुवाद प्रणाली र यान्त्रिक अनुवाद पद्धतिको विकास पर्दछन् । तामाङ भाषाको मानक शब्दकोश र व्याकरण निर्माणसहित साहित्यक विधागत कृतिहरू सिर्जना र प्रकाशन कार्यलाई भाषिक प्रकार्यको विस्तार मान्न सकिन्छ ।

  • स्वीकार्यता

भाषाको संरक्षण, संवर्धन र विकासको सार्वभौम अधिकार समुदायमा निहीत रहन्छ । त्यसैले कुनै पनि भाषाको प्रयोगका लागि सम्बद्ध समुदायका वक्ता, अध्येता, भाषिक संस्था, परम्परागत निकाय र सरकारी निकायबाट समेत प्रयोगका लागि स्वीकरण गरिएको हुनुपर्छ । यस सन्दर्भमा तामाङ भाषाको मानकीकरणका लागि विकास गरिएका तामाङ भाषाको लेखन पद्धतिअन्तर्गत चयन गरिएको भाषिक भेद, लिपि र भाषिक सम्पादन शैलीलाई आम तामाङ समुदायले स्वीकार आवश्यक छ। यसका अतिरिक्त परम्परागत विधि, विधान, अड्डा अदालत, भाषण, लेखन आदिमा स्वतः कार्यान्वयन हुनुपर्छ ।

  • सरकारी कामकाजमा प्रयोगः

भाषाको मानकीकरणका लागि निर्धारित ढाँचा वा अवयवहरूको आधार पूरा गरेको भाषालाई मानकीकृत भाषा मानिन्छ । तामाङ भाषामा पनि उल्लिखित आधारहरू स्तरीय भेदको पहिचान, व्याकरण र लिपिको स्वीकार्यता, बहुंसख्यकता र प्रयोग विस्तारको तुलोमा राखेर कुनै एक स्वरूपलाई सर्वस्वीकार्य बनाई मानक रूपमा विकास गरी प्रयोग गर्न सकिन्छ ।

 

तामाङ भाषा मानकीकरणसम्बन्धी प्रयास, उपल्बधि र प्रश्नहरू

बागमती प्रदेशमा तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोगका लागि तामाङ भाषाको मानकीकरण गरेर एउटा कोर्स लिनुपर्ने भएको छ । यसका लागि प्रदेश सरकार संस्कृति र पर्यटन मन्त्रायबाट आ.व.२०८१/८२ मा तामाङ भाषाक मानकीकरणका लागि कार्यक्रम र बजेट विनियोजन गरी उक्त कार्य सम्पादन गर्नको लागि नेपाल तामाङ घेदुङसँग सहकार्य गरेको छ ।यस सन्दर्भमा तामाङ भाषाको मानकीकरणसम्बन्धी केही तथ्यहरूको विश्लेषण गर्न सकिन्छ ।

  • तामाङ भाषाको मानकीकरणका प्रयास र उपलब्धिहरूः

हालसम्म तामाङ भाषामा केही थान वर्णपहिचान, शब्दकोश, व्याकरण र विधागत साहित्य सिर्जनाहरू भएका छन् ।यसका साथै  आम सञ्चारअन्तर्गत सरकारी क्षेत्रमा गोरखापत्र, रेडियो, टेलिभिजनमा समाचार र कार्यक्रमहरू प्रसारण र सञ्चालनमा छन् । विश्वविद्यालय तहमा आजसम्म विषयका रूपमा पठनपाठन नभए तापनि विद्यालय तहमा भने सम्भोटा लिपिमा लिखित पाठ्यपुस्तक कक्षा ८ सम्म पठनपाठन भइरहेको छ ।त्यसैगरी तामयीग लिपिमा लिखित तामाङ भाषाक पाठ्यपुस्तक कक्षा ३ सम्म विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन भइरहेका छन्।त्यसैगरी नेपाल खुला विश्वविद्यालयमा शैक्षिक वर्ष २०८२ देखि स्नातक तहमा “तामाङ स्टडिज” को प्रारम्भ हुँदैछ । तामाङ भाषा र साहित्यको अभिलेखनमा  तामाङ डाजाङको दुई सयभन्दा बढी अङकहरू प्रकाशनमा आएका छन् जुन उल्लेख्य मान्न सकिन्छ ।त्यसैगरी काठमाडौँ विश्वविद्यालयको विज्ञान र प्रविधि विभागबाट प्रा.डा.बालकृष्ण बललगायतका समूहबाट तामाङ टु नेपाली ट्रान्सलेसन सफ्टवेयर तयार भई आधारभूत तामाङ टु नेपाली अनुवाद सुरूवात भएको छ ।तर यो देवनागरी लिपिमा आधारित भएको हुँदा अन्य लिपिमा भने यसको पहुँच रहेको छैन।

अन्तर्राष्ट्रियस्तरमा सिक्किममा तामयीग लिपिमा लिखित पाठ्यपुस्तकहरू कक्षा १२ सम्म पठनपाठन भइरहेको छ ।सिक्किम सरकारको मुखपत्र सिक्किम हेराल्ड तामाङ भाषा र तामयीग लिपिमा प्रकाशन हुन्छ । भर्चुअल माध्यमबाट तामाङ भाषा र तामाङ लिपि सिकाइको परम्परा नै बसेको देखिन्छ ।यसरी तामाङ जाति र समुदायमा आफ्नो भाषा र लिपिप्रति भाषिक बफारिता उच्च देखिन्छ ।

ख)तामाङ भाषाको मानकीकरणसम्बन्धी प्रश्नहरू

नेपालको इतिहासमा तामाङ जातिमाथि शासकीय क्रुर दमन र तिरस्कारको कारण तामाङ भाषाको  लेख्य परम्पराको विकास ढिलो हुन गयो। राणाकालदेखि पञ्चालयतकालसम्म तामाङ भाषामा सरकारी तहबाट खासै पहल र सहजीकरणको कल्पनासम्म गर्न सकिने अवस्था थिएन।यसको मतलब हाम्रा अग्रजहरूको व्यक्तिगत प्रयासमा केही सङकलन, लेखन र प्रकाशन भएका छन् जसमा बुद्धिमान मोक्तानको जिक्तेन तामछ्योइ देखि सन्तबीर लामाको “ताम्बा काइतेन”सहित आजसम्म प्रकाशित भएका सयौँ अनमोल कृति, सिर्जना र पत्रकारितालाई नजरअन्दाज गर्न खोजिएको होइन ।

तामाङ भाषाको मानकीकरणको सन्दर्भमा एउटा ऐँजेरूका रूपमा लिपि विवाद रहेको कटुसत्य हो ।यस विवाद वा समस्या आउनुको मुख्य कारण तामाङ भाषा लेखनका लागि आफ्नै मौलिक लिपि विकास नहुनु हो । तामाङ भाषाको ध्वनि, संरचना र व्याकरण समेत मौलिक, विशिष्ट र अन्य भाषा भन्दा भिन्न रहेको छ । तर अन्य भाषाको लेखनका लागि प्रयोग भएका लिपिहरू जस्तो देवनागरी, सम्भोटा र तामयीग लिपिहरूबाट चाहेजस्तो ठ्याक्कै मिल्ने गरी लेख्य चिन्हहरू पाइँदैनन् । त्यसैगरी बाम्ही लिपिबाट विकास भएका देवनागरी र तिब्बती सम्बोटा/उइछेनकृत तामयीग लिपि तयार पार्दा मूल लिपिका लेख्य चिन्हरूमा भाँचभुच, थपथाप, काटकुट गर्नुको विकल्प रहेन । त्यस सन्दर्भमा तीनथरि मतहरू देखिएका छन् जुन विवादका रूपमा छताछुल्ल पोखिएको छ जुन तल प्रस्तुत छः

पहिलो थरिः विद्यालयबाट स्वतः सिकिने देवनागरी लिपि प्रयोगको सहजता, बोधगम्यता र सम्प्रेषणीय भएकाले यसलाई प्रयोग गर्नुपर्छ भन्न्ने र प्रयोग गर्नेहरू छन् । हालसम्म करिब ९८% तामाङ भाषाको लेखन यसै लिपिमा भएको हुन सक्छ ।

दोस्रो थरिः तामाङ भाषा तानीय भाषा हुनाका साथै बौद्ध धर्मसँग मान्ने समुदाय तामाङले सम्भोटा लिपिको जस्ताको तस्तै प्रयोग गर्नुपर्छ भन्ने धार रहेको छ । यस लिपिमा विद्यालय तहमा पठनपाठनका लागि पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ८ सम्मको पाठ्यपुस्तक तयार भएको छ भने विद्यालयहरूमा पठनपाठन भइरहेको छ । केही शब्दकोश समेत तयार भएका छन् ।

तेस्रोथरिः सिक्किम तामाङ बौद्ध सङ्घ र नेपाल तामाङ घेदुङसमेतल आजभन्दा ३० वर्ष अघिलेखि सम्भोटा/उइछेन लिपिकृत तामयीग लिपिलाई तामाङ भाषा लेखनका लागि प्रयोग गर्न घोषणा र निर्णयसहित कार्यान्वयनमा गएको छ । नेपालमा यस लिपिमा दुई चार थान साहित्यक कृति र एक दुई थान शब्दकोशबाहेक खासै सिर्जना भएको पाइँदैन । राष्ट्रिय दैनिक गोरखापत्रमा नयाँ पेजमा प्रयोग हुनाका विद्यालयमा भने हालै कक्षा ३ सम्म पठनपाठन हुन थालेको छ ।

तामाङ भाषाको स्तरीय भेदको निर्क्यौल र प्रयोगको प्रश्न

तामाङ भाषाको हालसम्म प्रयोग वा लेखन अवस्थामा विविधता छ। जुन क्षेत्रीय भेद बोल्ने व्यक्ति, लेखक वा अध्येता वा कार्यक्रम सञ्चालक या सञ्चारकर्मी होस् उक्त व्यक्तिले बोल्ने  भाषा नै आजको दिनसम्म प्रयोगमा आइरहेको छ। अहिलेसम्मको तामाङ भाषाको शब्दकोश, व्याकरण र साहित्यक सिर्जनाहरू यसका सपाट उदाहरण वा ऐना हो । तर अब सरकारी कामकाजको भाषाका लागि एकरूपता वा मानक निर्धारण गर्नुपर्ने भएको छ ।तर कुन क्षेत्रीय भेदलाई मानक तामाङ भाषा मान्ने भन्ने कुरा अद्यापि अनुत्तरित छ ।

अन्य भाषाको स्थिति नियाल्दा नेपालभाषामा त्रि.वि.बाट नेपालभाषा विभाग स्थापना गरी स्नातकदेखि पिएचडीसम्म पठनपाठन हुने हुँदा एकखालको मानक स्थापित भइसकेको छ । त्यसैगरी नेपाल एकेडेमीले पनि थुप्रै अध्ययन अनुसन्धान गरेर नेपालभाषाका शब्दकोश र व्याकरण तयार भएको पाइन्छ । तर लिपिमा देवनागरी लिपिको अवलम्बन र रञ्जनासहित प्रचलित लिपिको प्रयोगले अझै सर्वस्वीकार्य मानक स्थापना र प्रयोग नभएको प्रस्ट हुन्छ ।

 भावी गन्तव्य

बागमती प्रदेशमा तामाङ भाषाको सरकारी कामकाजको प्रयोगको सन्दर्भमा तामाङ भाषाको मानकीकरण गरेर तामाङ भाषाकै एउटा स्तरीय भेदलाई मानक तामाङ भाषाको रूपमा चयन गर्नुपर्ने देखिन्छ ।त्यसैगरी प्रदेशको हकमा कुनै एक लिपिलाई तामाङ भाषा लेखनका लागि प्रयोग गर्नुपर्ने हुन्छ। तर तामाङ भाषामा हालसम्म समस्त तामाङ समुदायले स्वीकार गरेको एकल भाषिक भेद र लिपि समेत रहेको अवस्था छैन। त्यसो हुँदा भाषा आयोगबाट तामाङ भाषाको सर्वस्वीकार्य मानक भाषा र लिपिको विकास नहुँदासम्म तामाङ भाषाका प्रचलित भाषिक स्वरूप र उक्त भाषा लेखनमा प्रयोगमा आएका बहुलिपिहरुलाई कार्य प्रयोजन, क्षेत्र र प्रकार्यको आधारमा प्रयोग गर्न सिफारिस गरेको पाइन्छ। तर यो प्रावधान अस्थायी मात्र हो, बागमती प्रदेशको सरकारी कामकाजको भाषाको सवालमा कुनै विन्दुमा पुगेर तामाङ भाषाको सर्वस्वीकार्य मानक (एकल) भाषिक स्वरूप र लिपिको कार्यान्वयन गर्नु मूल गन्तव्य हो ।

यसका लागि बामगती प्रदेश र नेपाल तामाङ घेदुङको सहकार्यमा मानकीकरण कार्यक्रमबाट केही आधार तयार हुने देखिन्छ । तथापि तामाङ भाषाको मानकीकरण र लेखन प्रणालीको मानक निर्धारण र एकल प्रयोगका लागि भने एक वर्षीय कार्यक्रम र प्रयास पर्याप्त नहुन सक्छ । यसका लागि ५-१० वर्ष लाग्न पनि सक्दछ ।त्यतिबेलासम्म के गर्ने भन्ने सवाल उठ्नु अस्वाभिक होइन । यसका लागि तामाङ भाषाको सङक्रमणकालीन व्यवस्थापनअन्तर्गत तामाङ भाषाको स्तरीय भेदका लागि शब्दकोश, व्याकरण र स्तरीय खाका तयार नहुँदासम्म हालकै अभ्यास जस्तो जसले जुन भाषा बोलेको छ, त्यही व्यक्ति, अनुवादक, लेखक वा अध्येता जोभए तापनि उसैले बोल्ने तामाङ भाषिक भेदको प्रयोगका लागि छुट दिई नियमन भन्दा सहजीकरण गर्दै जानुपर्ने देखिन्छ।तर केही वर्षभित्र तामाङ भाषाको समष्टि शब्दकोश र मानक व्याकरण तयार भएपछि भने प्रदेशभरि सरकारी कामकाज, शिक्षा, सञ्चार लगायत सामाजिक जीवन पद्धतिमा सोही  तामाङ भाषिक भेद र लिपिको प्रयोगलाई औपचारिकता प्रदान गरी  अनिवार्य प्रयोगको व्यवस्था गर्न सकिन्छ ।

You might also like