राष्ट्रिय जनगणना २०७८: असारसम्ममा सम्पन्न हुने
केन्द्रीय तथ्याङ्क विभाग, थापाथली काठमाडौँले मेरो गणना, मेरो जनगणना २०७८ नाराकासाथ राष्ट्रिय जनगणना २०७८ को व्यापक तयारी गरेको छ। विभागले जनगणनाको प्रश्नावलीलाई नेपाल सरकारबाट स्वीकृत गराई भदौ महिनामै राजपत्रमा प्रकाशित गरिसकेको छ।त्यसअघि जनगणनाको प्रश्नहरूको नमुना अध्ययन गरी परीक्षण गरेको थियो।
केन्द्रीय तथ्याङ्क विभागकाअनुसार ७० लाख घरपरिवारका सदस्यहरूको गणना हुने उक्त जनगणनामा ५० हजार गणक खटाइने छन् । यही आउँदो माघ महिनाबाट गणकहरूका लागि १ हप्ताको तालिम प्रदान गरिनेछ । अहिले गणकका लागि आवश्यक जनगणना निर्देशिका र तालिम सामग्री तयारी गर्न विभागले सरोकारवालाका साथै प्राविधिक समिति र विषयगत समितिको बैठकका गरेर अन्तिम रूप दिने कार्य गर्दै छ भने सरोकारवालासँग अन्तरक्रिया गर्दै उक्त सामग्रीको परिमार्जन र परिष्कार गरिरहेको छ।
विभागका महानिर्देशक नेफिन श्रेष्ठकाअनुसार जनगणनाको मूल उदेश्य सही तथ्याङ्क सङ्कलन गरी सवैधानिक दायित्व निर्वाह गर्नु हो । त्यसका लागि विभागले कुनै कसरत बाँकी नराखीकन सही रूपमा जनगणना गरी सही तथ्याङ्क सङ्कलन गर्नका लागि व्यापक तयारी गरिरहेको बताउनुहुन्छ। तथ्याङक विभागले त्यसका लागि सबै खाले तयारी गर्दै आएको उहाँको ठम्याइ छ। त्यसका लागि भाषा आयोगसहित अन्य आयोग, महिला, जेष्ठ र बालबालिका मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घसहित युनएनएफपीएलगायत सङ्घसंस्थाहरूसँग सहकार्य गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउन पहल र प्रयास गरिरहेको छ ।