देवास राई भाषा यात्राः उदयपुरको कटारीदेखि मकवापुरको राईगाउँसम्म

देवास राई भाषा यात्राः उदयपुरको कटारीदेखि मकवापुरको राईगाउँसम्म

डा. लोक बहादुर लोप्चन

भाषा आयोगको का.मु.सचिव हुँदै निमित्त सचिवको जिम्मेवारी लिएको पनि २०८० साल मंसिर २२ देखि २०८२ साल पुस २१ गतेसम्म २ वर्ष १ महिना पो पुगिसकेछ। समय यति बलवान र गतिवान छ कि आयोगको प्रशासकीय प्रमुखको जिम्मेवारी निर्वाह गरेको दुई वर्ष दुई महिना जति नै लागिरहेछ तर यसबीच आयोगमा एक दिन किरात देवास राई उत्थान समाज, काठमाडौँका संरक्षण आशमान राई र अध्यक्ष श्याम बहादुर राई मकहाँ देवास राई भाषालाई सूचीकरण गर्ने पत्रसहित आइपुग्छन्। आयोगका अध्यक्ष डा. गोपाल ठाकुरज्यूको आवश्यक कामकारबाही गर्ने तोक आदेश लागेको हुन्छ।मैले पनि आयोगको बैठकमा पेस गर्ने गरी सम्बन्धित भाषा संरक्षण र संवर्धन शाखामा जिम्मेवारी तोक्छु। यतिञ्जेलसम्म आयोगको आ.व.२०८२/८३ को कार्यमक्र र बजेट समेत आयोगमा स्वीकृतिका लागि पेस गरिसकेको हुन्छु। आयोगले सामाजभाषावैज्ञानिक अध्ययनअन्तर्गत राई भाषाहरूको समाजभाषावैज्ञानिक अध्ययन गर्न निर्णय गरिसकेको छ।

सुरूमा कोशी प्रदेश उदयपुर गाईघाटमा त्रियुगा क्याम्पसको सहकार्यमा स्थानीय तहमा मातृभाषामा शिक्षासहित देवास राई भाषाको समजभाषावैज्ञानिक अध्ययनको लागि क्याम्पस प्रमुख डा. कैलाशकुमार राईसँग कार्यक्रमको सहयात्रा गरिएको थियो। तर क्याम्पस प्रमुखले सहकार्यको प्रतिबद्धतालाई पूरा गर्न सकेनन्। उनी आयोगले पठाएको कार्यक्रम र बजेटअनुसार सहकार्यमा सहमत भएको देखिए पनि टार्नका लागि व्यक्तिगत फोन उठाउन समेत पछि पर्छन्। त्यसपछि यस कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने क्रममा आयोगका अध्यक्ष र प्रदेश प्रतिनिधित्व गर्ने मा.मातृका प्रसाद पोखरेलसँगको परामर्शमा उदयपुरको कटारी नगरपालिकामा राई दनुवार र देवास राईका साथै किरात राईहरूको बसोबास रहेको हुँदा कटारी नगर प्रतिष्ठानको सहकार्यमा कार्यक्रम सञ्चालन गर्ने गरी मिति २०८२ साल पुस २२ गतेको समय जुर्‍यो। यसमा आयोगले आयोजना गर्ने, कटारी प्रज्ञा प्रतिष्ठानले संयोजन गर्ने र नगरपालिकाको सहकार्य रहने गरी कार्यक्रम तय भयो। तर यस अध्ययनको लागि स्थलगत अध्ययनको क्षेत्रहरू बागमती प्रदेशको बागमती नगरपालिकाको वडा नं. १ माझगाउँ र कटारी नगरपालिकालाई चयन गरियो भने अध्येतामा भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा.कृष्णप्रसाद चालिसेलाई विज्ञ अध्येताका रूपमा चयन गरियो। सुरूमा देवास राई भाषाको समाजभाषावैज्ञानिक अध्ययन गर्ने तय गरिए तापनि यस भाषाको अन्तरसम्बन्धको अध्ययन गरी जातिगत र थरगत आधारमा कुन भाषा परिवारअन्तर्गत पर्ने र यसको तुलनात्मक अध्ययन गरी भाषिक सन्निकटताको खोजी गर्नेमा यस अध्ययनलाई केन्द्रित गरियो ।

पहिलो दिनको कार्यक्रम । मिति २०८२ साल पुस २२ गते।

कटारी नगरपालिकाको सभाक्षमा भाषा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरको अध्यक्षता र नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रमुखको प्रमुख आतिथ्यमा देवाई राई भाषाको समाजभाषावैज्ञानिक अध्ययनसम्बन्धी कार्यक्रमको उद्घाटन र सञ्चालन भयो। यस कार्यक्रममा कटारी नगर प्रतिष्ठानका अध्यक्ष कुमारसिं राईले स्वागत मन्तव्यत राख्दै यस पालिकामा ३२ वटाभन्दा बढी भाषाहरू बोलिने गरिएकोमा १४ वडाहरूमा बोलिने भाषाहरूको अभिलेखीकरण गर्ने र भाषा प्रशिक्षण सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रममा भाषा आयोगका कोशी प्रदेश प्रतिनिधि मा.मातृका प्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशका राई भाषाहरूको विभिन्न क्षेत्रीय भेदहरूमा अध्ययन पश्चात निर्णयमा पुगेर कतिपय विवाद समाधान गर्न सकिने चर्चा गर्दै प्रदेशमा बोलिने १०७ भाषाहरूमा ४५ भाषा प्रदेशको रैथाने भाषा रहेको उल्लेख गर्नुभयो।साथै आयोगबाट तिलुङ र लुङखिम भाषामा समुदायमा आधारित कक्षा सञ्चालन हुँदा भाषिक वक्ताको सङ्ख्या वृद्धि भएको समेत जानकारी गराउनुभयो।

आयोगका सचिव डा. लोक बहादुर लोप्चनले देवास राई भाषाको अध्ययनको कारण, औचित्य र यस अध्ययनबाट यस भाषालाई अभिलेखन गर्दै सूचीकरणका लागि सहयोग पुग्ने बताउनुभएको थियो। उनले आयोगको संवैधानिक दायित्वअन्तर्गत सरकारी कामकाजको भाषा, भाषा संरक्षण र संवर्धान, मात्भाषामा शिक्षा तथा अध्ययन अनुसन्धानसम्बन्धी विषयमा अभिमुखीकरण गर्नुभएको थियो। साथै उनले स्थानीय तहमा बोलिने ३२ भाषाहरूको संरक्षण, संवर्धन र विकासका लागि स्थानीय तह र प्रज्ञा प्रतिष्ठान के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिने हो यसमा बारेमा राय दिनुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख गीता खड्काले यस गाउँपालिकाको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारबाट प्रतिष्ठान स्थापना गरी सञ्चालन ल्याएको बताउँदै विद्यालयमा सबै भाषाका विषय पठनपाठन गर्न सम्भव नभए तापनि धार्मिक विद्यालय र संस्थाहरूमा भाषा कक्षा सञ्चालन गर्ने सकिने बताउनु भयो। त्यसैगरी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले  भाषा र संस्कृति सम्बन्धित समुदायको पुस्तैनी विरासत र सम्पदा भएकाले यसलाई संरक्षण गर्न कटारी प्रज्ञा प्रतिष्ठान स्थापना गरिएकोमा यसैमार्फत कार्यक्रम र स्रोत व्यवस्थापन गरी सबै जाति र भाषाको संरक्षण र विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अघि खुला अन्तर्क्रियामा  भाग लिँदै किरात देवास राई उत्थान समाजका संरक्षक आशमान राईले देवास राई भाषा भन्नाले दनवार जातिको भाषा भन्ने बुझाइ गलत रहेको उल्लेख गर्दै यो जाति किरात राई यायोख्खाको १३ औँ सूचीमा सूचीकृत भएको उल्लेख गर्नुभयो। उनले देवास राई राईहरू नुवाकोट, सिन्धुली, धादिङ, मकवानपुर, रौतहट  जिल्लामा बसोबास गर्ने राईहरूले बोल्ने गरेको बताउनुभयो। साथै विभिन्न अध्ययन अनुसन्धानहरूले यस भाषालाई दनुवार वा डोने भाषाभन्दा फरक रहेको पुस्टि गरेको कुरा समेत राख्नै देवास राई किरातअन्तर्गत थरगत र भाषागत समूहमा सूचीकृत भएको जानकारी दिनुभयो।त्यसैगरी पत्रकार एवम् अध्येता यमन दनुवारले दनुवार भनेको आफैँमा जात नभएर पद्‍वी भएको बताउँदै दनुवार थर लेखन कार्य माझी, थारू, कलबारले समेत गर्ने उल्लेख गर्नुभयो। तराईमा बसोबास गर्ने दनुवार जातिले जनै लगाउने र कतिपयले कछाडिया दनुवार भन्ने गरेको विषय उठान समेत गर्नुभयो। उहाँले देवास राई दनुवार भन्दा फरक रहेको कुरा उनीहरूको संस्कार, संस्कृति र भाषिक भिन्नताबाट प्रस्ट हुन उल्लेख गर्नुभयो। नेपाल डोने समाजका अध्यक्ष राजने डोनेले देवास राई किराँत समुदायभन्दा डोने वादनुवार जाति र भाषासँग सन्निकट रहेकोमा जोड दिनुभयो। त्यसैगरी सहभागी विष्णु दनुवारले चौथो शताब्दीमा दनुवार जाति नेवार जातिसँग नजिक रहेको हुँदा नेवार जाति र दनुवार जातिको भाषिक उच्चारणमा समानता रहेको उल्लेख गर्नुभयो। पहिलो दिनको कार्यक्रममा अन्त्यमा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले यो देवास रा भाषिक अध्ययन समाजभाषावैज्ञानिक अध्ययनका साथै भाषावैज्ञानिक अध्ययनमा केन्द्रित रहेको बताए भने भाषिक  मानव अधिकारको दृष्टिमा समुदायलाई नै आफ्नो भाषा, लिपि र संस्कृतिकल संरक्षण गर्ने मौलिक हक रहेकोले आयोगले सहजीकरण र सल्लाह सुझाव दिने तर आफ्नो भाषाको निर्णायक संस्था समुदायगत संस्थाले विशेष पहल र प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।

दोस्रो दिनको कार्यक्रम। ममिति २०८२ साल पुस २३ गते।

कटारी नगरपालिकामा देवास राई भाषाको अन्तरक्रिया सके पश्चात हाम्रो यात्रा बागमती गाउँपालिका मकवानपुरतिर मोडिन्छ।  काठमाडौँबाट भाषा आयोगको एक समूह कार्यक्रमस्थल नजिक पुगेपछि बागमती नदी पुलपारि हरिहरपुर गढी गाउँपालिका गुर्जीको हायात होटलमा बसोबास मिलाइएको हुन्छ। आयोगको दुई समूह बेलुका ७ बजेतिर हामी त्यहाँ पुग्छौँ भने किराँत देवास राई उत्थान समाजका पदाधिकारीहरू पनि सँगै पुग्छन् त्यहाँ। आयोग र समाजकाबीच भोलिको कार्यक्रम कहाँ, कसरी सञ्चालन गर्ने तय हुन्छ यसमा शिक्षा शाखाका कर्मचारी प्रमोद राईको विशेष सहजीकरण रहन्छ। बिहान ७ बजे चियापान पश्चात आयोगको टोली राइँगाउँतिर प्रस्थान गरी बिहान ८ बजे माझगाउँ पुग्छ। माझगाउँमा आपसी भेटघाट र भलाकुसारी पछि भाषिक अध्ययनअन्तर्गत वक्तासँग भाषिक विवरण लिने काम गरियो। देवास राई भाषी चार जना वक्तासँग आयोगबाट तयार पारिएको फारम भर्ने काम बिहान ११ बजेसम्म सकिन्छ र त्यसपछि माझगाउँस्थित सहकारीको सामुदायिक भवनमा आयोजित कार्यक्रम सरू भयो ।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा सञ्चालित यस कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्य रह्यो भने कार्यक्रमा किराँत राई उत्थान समाजका अध्यक्ष श्याम बहादुर राईसहित भाषा आयोगका मा.सदस्य मातृका पोखरेलकाक साथै आयोगा सचिव डा. लो बहादुर लोप्चन र कर्मचारीहरूको उपस्थिति रह्यो। कार्यक्रममा गाउँपालिका  शिक्षा शाखाको तर्फबाट प्रमोद राईले नेपालमापहिचानको मुद्दा उठेको सन्दर्भमा देवास राईहरूले भाषा र संस्कृतिको अभिलेखन र दर्ताका लागि पहल गर्दै आएकोमा पालिकाले आफ्नो जाति र भाषा प्रोफाइलमा देवास राई जातिलाई समावेश गरेको जानकारी दिनुभयो। यस पालिकाको स्थानीय पाठ्यक्रम र पाठ्यसामग्रीमा देवास राई जातिसम्बन्धी विषय समाविष्ट हुनुका साथै तामाङ भाषा विषय कक्षा १ मा पठनपाठन भइरहरेको जानकारी दिनुभयो।

त्यसपछि आयोगका सचिव डा. लोक हादुर लोप्चनले यस अध्ययनबाट देवास राई भाषाको आन्तरिक संरचनात्मक विकास र अन्य भाषासँगको सन्निकटतासम्बन्धी सूचना वा तथ्य प्राप्त हुने विचार व्यक्त गर्दै आयोगको कार्यहरूअन्तर्गत स्थानीय तहमा के कसरी सरकारी कामकाजको भाषा, मातृभाषामा शिक्षा, भाषा संरक्षण र अध्ययन अनुसन्धान गर्ने भनी प्रशिक्षण दिनुभयो। साथै उनले स्थानीय तहमा मातृभाषामा शिक्षा दिने तौरतरिका र सरकारी कामकाजमा भाषाको प्रयोगका आधारहरू प्रस्तुत गर्नुभयो। तत्पश्चात भाषाविद् डा. कृष्णप्रसाद चालिसे बजारको प्रभावको कारण समुदायमा अन्तपरपुस्ता भाषिक पुस्तान्तरण नभएको बताउनुभयो। भाषा संरक्षण एक मात्र र सशक्त उपाय भनेको घरपरिवारको माध्यमका रूपमा आफ्नो भाषा बोल्नुपर्ने कुरामा जोड दिनुभयो भने भाषा विकासका लागि साहित्यिक कार्यक्रम, भाषा शब्दकोश निर्माण र व्याकरण लेखन जस्ता कार्य सम्पादन गर्न अपरिहार्य रहेको उल्लेख गरे।किरात  देवास राई उत्थान समाजको अध्यक्ष श्यामबहादुर राईले संस्थाको पहल र भाषा आयोगको सहकार्यमा उदयपुरको कटारी र बागमती गाउँपालकाको माझगाउँमा देवास राई भाषासम्बन्धी अध्ययन कार्य र अन्तरक्रिया कार्य सम्भव भएको बताउनुभयो। साथै राजमान राईले एआईएलको सहयोगमा मातृभाषा विकास केन्द्रको तर्फबाट वि.सं. २०७४ सालमा वर्णनिर्धारण हुनाका साथै पाठ्यक्रम तयारी र प्रिती सँगालो प्रकाशन भएको जानकारी दिनुभयो। यस भाषाका लागि DWH 639 सङकेत प्राप्त भएकोमा उक्त सङ्केत के हो र यस भाषाको सूचीकरण कसरी हुन्छ भन्ने जिज्ञास राख्नुभयो ।

गाउँपालिका अध्यक्ष सर्केश घलानले सङघीयताले प्रदेश र स्थानीय सरकारलाई बहुभाषिकताको सम्बोधन गर्न अधिकार प्रदान गरिए तापनि अपेक्षित काम हुन सकेको छैन भन्ने स्वीकार्दै बागमती प्रदेशको हकमा तामाङ र नेपाल भाषा सरकारी कामकाजको रूपमा कार्यान्वयन हुनुले विशेष महत्व राखेको बताउनुभयो। साथै उनले भाषाको संरक्षण र संवर्धनका लागि स्थानीय शिक्षकले बहुभाषिक माध्यमबाट पठनपाठन गर्नुपर्ने र गाउँका विद्यालय देवास राई भाषा विषयका रूपमा पढाउन सकिने धारणा राख्दै गाउँपालिकाको तर्फबाट कार्यक्रम र बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भयो। कार्यक्रमको अन्तमा आयोगका अध्यक्ष डा.गोपाल ठाकुरले अहिले पछिल्लो पुस्तामा मातृभाषा पुस्तान्तरण नहुनु भाषिक मृत्युको मूल कारण बन्दै गएको र भाषा दस्तावेजमा मात्र नबाँच्नु कुरा संस्कृतको उदाहरण दिँदै समुदायमा भाषा बोलिनु अपरिहार्य रहेको स्मरण गराउनुभयो।साथै उहाँले  देवास राई भाषा भोट चिनियाँ भाषा परिवारअन्तर्गत परे तापनि यसको निकटता  भारोपेली परिवारसँग रहेको देखिने बताउनुभयो। त्यसैगरी देवास राई जाति, दनुवार र डोने जाति र भाषाको बीचमा सांस्कृतिक र भाषिक सामीप्यता रहेको हुँदा जाति र भाषालाई किराँत समूहसँग जोडिनु उपयुक्त हुने वा नहुने विषयमा समुदायले सुझबुझका साथै विवेकपूर्ण निर्णय गर्नुपर्ने सुझाउनुभयो। साथै उहाँले राष्ट्रिय जनगणना,२०७८ मा कतिपय जाति नै भाषा हुन पुगेको जस्तो मुसलमान भाषा र राई भाषा हुन गएको जबकि ती भाषा नभई जाति हुन् उल्लेख गर्दै अबको राष्ट्रिय जनगणनामा सही तथ्याङकको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट जनगणनाको तथ्याङ्क विश्लेषण मात्र गर्ने गरी स्थानीय तहको वडामार्फत प्रमाणीकरण वा रूजु गरेर मात्र जनगणना गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

 

 

 

 

You might also like