तामाङभाषा शिक्षण परम्परा र सिद्धान्तहरू

तामाङभाषा शिक्षण परम्परा र सिद्धान्तहरू

डा. लोक बहादुर लोप्चन

 

तामाङ ज्ञान परम्परा

मानव जातिले सृष्टिकालदेखि नै  प्राकृतिक रूपमा ज्ञान, सीप र बौद्धिकता आर्जन गर्दै आएको छ । जङ्‌गली युगदेखि वर्तमान सूचना सञ्चारको युगमा अकल्पनीय र अपूर्व प्रगति हासिल गरिसकेको छ । मानव विकासको इतिहासमा उनीहरूले समयक्रममा पढेर भन्दा परेर सिकेका छन् । यस क्रममा मानिसले पुस्तागत रूपमा ज्ञान सीप आर्जन गरेर थप परिष्कार र उन्नत बाटो पक्रेका छन् । तामाङ जातिमा पनि तामाङ सभ्यताको विकासको लामो कालखण्डमा पुर्खाको नासोका रूपमा पुर्ख्यौली ज्ञान, सीप, प्रविधिलाई सम्मान गर्दै भावी पुस्तासम्म हस्तान्तरण गरिआएको देखिन्छ । यसरी तामाङ जातिले एक पुस्ताबाट आफ्नो अर्को पुस्तासम्म सार्ने तामाङ ज्ञान, सीप, प्रविधि, संस्कार, संस्कृतिसहितका यावत पक्षहरू समग्रमा तामाङ ज्ञान परम्परा हो ।

योञ्जन तामाङ (२०६८, पृ.२२) का अनुसार तामाङ समाजमा सबै प्रकारका लोकज्ञान र सीपहरू नयाँ पुस्ताले अघिल्ला पुस्ताबाट सिक्छन् र निरन्तरता दिन्छन् । उनीहरूले विभिन्न संस्कार र सांस्कृतिक कर्मविशेष जीवनसंस्कार, चाडपर्व, उत्सव, जात्रा, पूजाआजा, तामाङ जातिसम्बन्धी कार्यक्रमहरूमा गरिने लोकव्यवहार र अभ्यासमार्फत् सिक्ने सिकाउने गर्दछन् । जस्तो बोन्बो (झाँक्री) आफ्नो उपचार पद्धतिको ज्ञान हरेक वर्ष भदौ पूर्णिमाका दिन चेलाहरूलाई दिने गर्दछन् । लामाले छाम (गुफा) बसेर तालिमसहित ज्ञान प्रदान गर्दछन् । ताम्बाले न्वारन, छेवार, विवाह, घेवा आदिमा प्रवचन वा मोलम (सन्देशमार्फत्) ज्ञान बाँड्दछन् । जस्तोः

तालिका- १२

तामाङ ज्ञान परम्परासम्बन्धी गीत

 

तामाङ भाषा नेपाली भाषामा अनुवाद
ग्योतमी म्हे म्हेला जिनलब इन

ग्योत ग्योतनी ह्युलबाला ग्येनछेन

राङला ग्योतदा दा ख्लागो

तम्बा माला पाप खाला

धर्म न नीला रूइ नीला

मिसे ङान्दाम तिकबोला

राङला लेङमो दा ख्लागो

सेमरि मानबा दोनडुपला

 

पुर्खाले राखेको जात हाम्रो

देशको गहना झन राम्रो

आफ्नो ज्ञान सीप नछाड्नू,

नछाड्नु भाषा पाप लाग्ला

धर्म जाला जात जाला

मानिसहरूले हामीले के भन्ला

आफ्नो भाषा नछोड्नू,

मनमा बोलेको पुगी जाला ।

 

 

कुमार यात्रु (२०७८, पृ.१५५) का अनुसार आदिवासी ज्ञानको आविष्कारक व्यक्तिमा सीमित नरही यो सामूहिक ज्ञान परम्परा हो । यो साझा ज्ञान, इतिहास निर्माण र सामूहिक अभ्यास हो । तामाङ ज्ञान पनि सामूहिक सम्पदाका रूपमा रहेको छ र यसको प्रसारण तामाङ संस्कार र संस्कृतिको माध्यमबाट हुने गरेको छ । साथै तामाङ ज्ञान रीमठीम, प्रथा, परम्परा र सामाजिक संगठन (चोहो प्रणाली) मा जीवन्त रहेको छ । यसलाई कसैकसैले परम्परागत ज्ञान, स्थानीय वा आदिवासी ज्ञान भन्ने गरेको पाइन्छ । यसरी तामाङ ज्ञान परम्परा लोक जीवन पद्धतिमार्फत जनश्रुति, कैरन (मौखिक वृत्तान्त) लोककथा, आध्यात्मिक विश्वास र मान्यताहरूको माध्यमबाट सञ्चरण हुँदै आएको देखिन्छ ।

यसरी तामाङहरूको आफ्नै मौलिक ज्ञान पद्धति रहेको छ । उनीहरूमा अग्रज पुस्ताबाट पछिल्ला पुस्तामा व्यक्ति, परिवार र समुदायबाट भाषा, संस्कृति र संस्कार पुस्तान्तरण हुँदै आएको पाइन्छ । तामाङ जातिको लोकजीवन परम्परा, सामाजिक मूल्य मान्यता र संस्कार संस्कृति नै ज्ञानार्जनका माध्यम हुन् । यस पद्धतिलाई रैथाने वा आदिवासी तामाङ ज्ञान पद्धतिका रूपमा व्याख्या गर्ने गरिएको पाइन्छ । उदाहरणको लागि तामाङ जातिमा ल्होछार मनाउने आफ्नै शैली र रीमठीम रहेको मात्र छैन, उनीहरूमा बिरामी परेको बेलामा बोन्बो झाँक्रीबाट जडीबुटीको समेत उपयोग गरेर प्राथमिक उपचार गर्ने परम्परा छ । त्यसैगरी मेला, जात्रापर्व, नाचगानजस्ता अवसरमा तामाङ सेलोमा डम्फू बजाई गाउने नाच्ने गर्दछन् । पश्चिमी क्षेत्रका तामाङहरू म्हेन्दो माया नाच नाच्छन् ।

६.२ तामाङ भाषाको स्वरूप र सीप पक्ष

क) तामाङ भाषाको मौखिक र लिखित स्वरूप

सामान्यतया भाषाको मौखिक र लिखित दुई स्वरूपहरू हुन्छन् । हरेक भाषाको मौखिक रूपमा नै जीवन्त रहेको हुन्छ । दैनिक बोलचाल, संवाद र सञ्चारदेखि लोकजीवनका विभिन्न सन्दर्भमा मौखिक भाषाको प्रयोग हुने गर्दछ । भाषा विकासको क्रममा यसले लेख्य स्वरूप ग्रहण गर्दै जान्छ । यसको आशय उक्त भाषामा ध्वनि पहिचान, वर्ण निर्धारण, शब्दकोश विकास, व्याकरण लेखन, पाठसङग्रहजस्ता भाषिक कार्य भएर लेख्य प्रणालीको स्थापना भइसकेको हुन्छ ।

तामाङभाषामा पनि उल्लिखित भाषाका आन्तरिक संरचना वा अवयवहरू विकास भइसकेको छ । तीन दशक अघिसम्म लेख्य पद्धतिउन्मुख भाषाका रूपमा सीमित तामाङभाषा आजको दिनमा लेख्य पद्धति भएको भाषाका रूपमा स्थापित भएको छ । तामाङ भाषामा साहित्यिक सिर्जनातर्फ करिब दुई सयको हाराहारीमा लेखन र प्रकाशन भइसकेको छ । कवितादेखि खण्डकाव्य, महाकाव्य, नाटक, निबन्ध, गजल, हाइकुजस्ता विधागत कृतिहरू सिर्जना भएका छन् । यसका साथै यस भाषामा पत्रपत्रिका, जर्नल, गोरखापत्रको नयाँ पृष्ठअन्तर्गत तामाङभाषा पृष्ठको प्रकाशन हुनाका साथै रेडियो र नेपाल टेलिभिजनमा नेपालमा तामाङ समाचार प्रसारण र कार्यक्रमहरू सञ्चालन हुन्छ । हालै बागमती प्रदेशमा सरकारी काजकाजको भाषाको रूपमा कार्यान्वयन भएपश्चात् यस भाषाले प्रदेश सरकारी भाषाको मान्यता पाउन सफल भएको छ । तथापि भाषा आयोगको सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस प्रतिवेदन (२०७८) अनुसार सरकारी कामकाजको भाषाका लागि पूरा गर्नुपर्ने आधारहरूको आधारमा यस भाषाको विकास र प्रयोग विस्तार गर्न आवश्यक छ ।

  • भाषिक सीपका पक्षहरू

भाषाका मुख्यत दुई सीपगत पक्षहरू हुन्छन् । ती दुई पक्षहरू बोध (सुनाइ र पढाइ) र अभिव्यक्ति (बोलाइ र लेखाइ) पक्षहरू हुन् । अरूले व्यक्त गरेको भाव वा विचार सुनेर वा पढेर बुझ्ने कार्यलाई बोध भनिन्छ । त्यसरी नै आफ्नो भाव वा विचार बोलेर वा लेखेर अरूसम्म पुर्‍याउने कार्यलाई अभिव्यक्ति हो ।

 

६.३ तामाङभाषा शिक्षण परिचय

ताामाङभाषा शिक्षण भाषिक सीप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) जस्ता सीपहरूको सिकाइ हो । भाषा शिक्षणमा विषयवस्तु शिक्षण गौण रहन्छ तर भाषिक पाठ्यवस्तु (विषयवस्तु) नै भाषा शिक्षणको लक्षित पक्ष हो । भाषा शिक्षणमा अन्य सामाजिक, विज्ञान र गणित विषयवस्तुको शिक्षण गरिँदैन । बरू यसमा तामाङ भाषाको माध्यमबाट तामाङ भाषाका सीपगत पक्षहरू उच्चारण, वर्ण पहिचान, शब्द निर्माण, वाक्यगठन, विधागत पाठहरूमार्फत् भाषिक सम्प्रेषणात्मक सीप र सामर्थ्य विकास गरिन्छ । त्यसैगरी तामाङ भाषा शिक्षण समृद्ध नेपाली र अङ्ग्रेजी भाषा विषयहरू जसरी पठनपाठन गरिँदैन । किनभने तामाङ भाषामा मानक स्वरूप र  लेखन पद्धति विकास भई यस भाषाको विकास हुने क्रममा छ । अन्य भाषामा जस्तो समृद्ध भाषिक स्रोतसामग्री, पाठ्यसामग्री, साहित्यको भण्डार र विद्युतीय अनुवादको अवसर यस्ता विकाशील भाषाहरूमा उपलब्ध हुँदैन ।

तामाङभाषा शिक्षण तामाङ मातृभाषाको माध्यमबाट पठनपाठन गर्नु होइन । उदाहरणका लागि रसुवाका तामाङ बालबालिकाहरूलाई सामाजिक र विज्ञान विषयहरूको पठनपाठन गर्दा नेपाली भाषाका अतिरिक्त तामाङभाषाको समेत प्रयोग गरिएमा मातृभाषामा शिक्षा हुन्छ । तर तामाङभाषा शिक्षण भन्नाले तामाङ भाषा विषयको शिक्षण हो । जसरी नेपाली र अङग्रेजी भाषा विषयमा शिक्षण गर्दा भाषिक सीप विकाससम्बन्धी पाठ्यवस्तुहरूको पठनपाठन हुन्छ । त्यसरी नै तामाङभाषा विषय शिक्षणमा पनि तामाङभाषाको ग्रहण र अभिव्यक्तिगत सीपसम्बन्धी सक्षमता र सामर्थ्यको विकास गरिन्छ । विद्यालय तहमा ऐच्छिक विषयका रूपमा तामाङभाषा विषय पठनापठन गर्नुका साथै विश्वविद्यालयको स्नातक तहमा एक विषय तामाङभाषा विषय पठनपाठन गर्नुलाई यहाँ तामाङ भाषा शिक्षणका रूपमा लिइएको छ ।

६.३ तामाङभाषा शिक्षणका आधारभूत सिद्धान्तहरू

भाषा शिक्षणका निश्चित आधारहरू हुन्छन् त्यसलाई भाषा शिक्षणका आधारभूत सिद्धान्तका रूपमा लिइन्छ । मूलतः भाषा शिक्षण भाषाको निरन्तर प्रयोग र अभ्यासबाट सिक्ने सिकाउने गरिन्छ । तामाङभाषा पनि अन्य भाषाहरूजस्तै एक सार्वभौम भाषा भएकाले भाषा सिकाइसम्बन्धी आधार वा सिद्धान्तहरू यसको अध्यापनमा मिल्ने देखिन्छ । तर तामाङभाषा राष्ट्रिय र अन्तर्राष्ट्रिय सरकारी कामकाजको भाषाका रूपमा स्थापित भइसकेको छैन । त्यसैले तामाङभाषा शिक्षण र अन्य भाषा शिक्षणमा भिन्नता देखिन्छ । उदाहरणको लागि तामाङभाषा विषयको शिक्षण विद्यालय तहमा आरम्भ भएको केही वर्ष मात्र भएको छ । जबकि क्याम्पस तहमा यसले भर्खरै प्रविष्ट पाएको अवस्थामा यसको शिक्षणसिकाइका सिद्धान्तहरू हुबहु अन्य भाषा सिकाइका सिद्धान्तसँग नमिल्न पनि सक्छन् । तथापि भाषिक सिकाइका विश्वव्यापी परीक्षित र स्थापित सिद्धान्तहरूको अनुकूलन गरी तामाङभाषा शिक्षणमा समेत प्रयोगको सम्भाव्यता छ ।

भाषा शिक्षणका आधारभूत सिद्धान्तहरू अभ्यास र पुनरावृत्ति, वैयक्तिक भिन्नता, स्तरीयता र उपयुक्तता, स्तरण र क्रमबद्धता, रूचिपूर्णता, कक्षा सहभागिता, एककालिकता, शिक्षण विधि र सामग्रीमा विविधता, योजनाबद्ध शिक्षण, भाषिक समझको उपयोग, एकीकृत सिकाइ, निरन्तर मूल्याङकन आदि हुन् (शर्मा र पौडेल, २०६०, पृ.७-१४) । यस आधारमा भाषा शिक्षणको मुख्य आधार भनेको सिकारूले भाषा सिक्न अभ्यास र प्रयोग गर्नुपर्ने हुन्छ । भाषा सिकाइको व्यक्तिगत पृष्ठभूमि, रूचि र सहभागिताको स्तर फरक हुन्छ । यस अवस्थामा भाषा सिकाइसम्बन्धी क्रियाकलापहरूको सही व्यवस्थापन गरी भाषिक आवश्यकता र विविधतामा आधारित  शिक्षण विधि चयन, पूरक सामग्रीको प्रयोग र निरन्तर मूल्याङकनजस्ता आधारहरू अवलम्बन गर्नुपर्दछ । वर्तमान समयाम भाषा प्रविधिको प्रयोग जस्तो ट्युटर, गुगल, यान्त्रिक अनुवाद र भर्चुअल कक्षाको माध्यमबाट तामाङभाषालाई औपचारिक र अनौपचारिक ढङ्गले सिक्न सिकाउन सकिन्छ । यसै सन्दर्भमा तामाङभाषा शिक्षणका आधारभूत केही सिद्धान्तहरू निम्नअनुसार पहिचान गरिएका छन्ः

  • सांस्कृतिक सन्दर्भ र तामाङभाषाको पुस्तान्तरण

तामाङभाषा सिकाइको मूलस्रोत एक पुस्ताले अर्को पुस्तालाई भाषा हस्तान्तरण गर्नु हो । जस्तो बाजेबज्यै पुस्ताबाट आमाबाबु पुस्तामा तामाङभाषा सर्नु र आमाबाबु पुस्ता छोराछोरी पुस्तामा भाषा सार्नु तामाङ भाषा पुस्तान्तरण र जीवन्त राख्ने अचूक उपाय हो । तर नातिनातिना पुस्तामा तामाङभाषा नबोलिएमा उक्त भाषा नेपाली वा अन्य कुनै भाषातर्फ सरेको मानिन्छ । यसलाई एक किसिमले तामाङभाषा मरेको अनुमान लगाउनुपर्ने हुन्छ ।

  • प्रयोगसापेक्षता र कामकाजी भाषामा प्रयोग

प्रदेश र स्थानीय तहमा तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिई तामाङभाषालाई सेवा प्रवाहमा जोड्न सकिन्छ । सरकारी अड्डालत, अदालत र कामकाजी भाषा सिक्ने अवसर वृद्ध हुन्छ । त्यसैगरी विद्यालय तहमा एउटा विषयका रूपमा तामाङ भाषा विषय पठनपाठन गरी तामाङ भाषा सिकाउन सकिन्छ । त्यसैगरी तामाङ भाषालाई अन्य विषय शिक्षणको माध्यमा रूपमा विद्यालयमा उपयोग गरिन्छ ।

  • विविधता र बहुभाषिक आवश्यकताको मिलान

भाषिक सिकाइ सिकारूको व्यक्ति रूचि, आवश्यकता र पृष्ठभूमिगत विविधतामा आधारित हुन्छ । उदाहरणका लागि एक जना व्यापारीले जुन समुदायमा बसोबास गरेको छ त्यहाँको भाषा नसिकी हुँदैन उसको त्यहाँ भाषा सिकेरै छाड्छ । त्यसैगरी कोरिया र जापान जानको लागि त्यहाँको भाषा नसिकी धरै छैन । त्यसैगरी बागमती प्रदेशमा तामाङभाषा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन भएको हुँदा यसलाई प्रदेशबासीले सिक्नुपर्ने बाध्यता सिर्जना हुँदै जाने देखिन्छ । नेपालमा राष्ट्रिय सम्पर्क भाषाका रूपमा नेपाली भाषा र अन्तर्राष्ट्रिय माध्यम भाषाका रूपमा अङग्रेजी भाषा विषय पठनपाठन गरिँदै आएको छ ।

  • प्रयोग, अभ्यास र पुनरावृत्ति

तामाङभाषा शिक्षणसिकाइका लागि पनि अन्य भाषाहरूको सिकाइमा अवलम्बन गरिने प्रयोग, अभ्यास र पुनरावृत्ति आवश्यक छ । कक्षाकोठामा भाषा शिक्षणसिकाइको क्रममा भाषिक सीपको विकास र प्रयोग सामर्थ्यका लागि बारम्बार भाषिक पक्षहरूको अभ्यास र पुनरावृत्ति गरिनु पर्दछ । यसलाई व्यक्तिगत र सामूहिक रूपमा अभ्यास र पुनरावृत्ति गरेर सिकाउन सकिन्छ । पहिलो भाषा सिकाइको सन्दर्भमा पुनरावृत्तिको त्यति जरूरत पर्दैन । तर दोस्रो वा विदेशी भाषा सिकाइ गर्दा पहिलो भाषा सिकेको आधारमा ती भाषाहरूको प्रयोग र अभ्यास गर्नुपर्ने हुन्छ ।

  • शिक्षण विधि, सामग्री र निरन्तर मूल्याङकन

विश्वमा भाषा शिक्षणका विभिन्न सिद्धान्त, पद्धति र विधिहरू प्रतिपादन भई प्रयोग, परीक्षण र  पुनःआविष्कार उपयोगमा ल्याइएका छन् । संरचनावादी भाषावैज्ञानिक फर्डिन्याण्ड डि सस्युरदेखि युनिभर्सल ग्रामरका प्रतिवादन भाषावैज्ञानिक नोम चम्स्कीसम्म आइपुग्दा भाषा शिक्षण र सिकाइले नयाँ र फराकिलो क्षितिजसम्मको गन्तव्य तय गरेको छ । यसलाई भाषा शिक्षणसिकाइको एउटा शास्त्रीय वा परम्परागत क्रियाकलापबाट एक व्यक्तिले स्वभाविक रूपमा भाषाहरू सिक्न सक्ने गरी आधार प्रदान गरेको छ । तथापि भाषापिच्छे भाषिक परिवार, संरचना, बनोट, भाषा र प्रविधि आदिको आधारमा विभिन्न पद्धति र विधिहरू विकास गरिएका छन् । हुनतः भाषासन्दर्भ, संस्कृति र आवश्यकताको आधारमा सिक्ने गरिन्छ । तर भाषा विषय शिक्षणको केही आधार वा पक्षहरू पहिचान गरी प्रयोग गरिएका छन् । तामाङ भाषा शिक्षणका क्रममा पनि ती सिद्धान्त, विधि र पद्धतिहरूलाई अवलम्बन गरेर योजनाबद्ध र व्यवस्थित रूपमा गर्ने सकिन्छ ।

त्यसैगरी शिक्षणसिकाइलाई प्रभावकारी, ठोस, आकर्षक र अमिट बनाउनका लागि शिक्षणसामग्रीहरूको प्रयोग गरिन्छ । भाषा शिक्षणका सहायक सामग्रीहरू शब्दपत्ती, वाक्यपत्तीदेखि गोजीतालिका र आजको दिनमा गुगल प्रविधि वा यान्त्रिक अनुवाद (मेसिन ट्रान्सलेसन) सहित श्रव्यदृश्य सामग्री (अडियो र भिडियो) को प्रयोगको अवसर छ । साथै  तामाङभाषा शिक्षणसिकाइ कार्यमा आवधिक मूल्याङकन र परीक्षणमा सीमित रहँदैन । यसमा हरेक सीपगत पक्षको शिक्षणसिकाइकै क्रममा निरन्तर मूल्याङकन र पृष्ठपोषण, सुधार र पुनः परिमार्जनको क्रम चलिरहन्छ ।

  • पेसा, व्यवसाय र जीवन पद्धतिसँग आबद्धता

मानव जीवन र समाजको कार्यव्यवहार र आपसी सञ्चारको माध्यम भाषा हो । भाषा देशीय मात्र नभई अन्तरदेशीय आम संवादको माध्यम हो । त्यसैले भाषा पेसा, व्यवसाय र जीवन पद्धतिको अभिन्न पक्ष हो । भाषाको शिक्षणसिकाइको महत्ता र गरिमा यसको पेसा र व्यवसाय, आर्थिक आर्जन उपार्जनको विषयसँग जोडिएको देखिन्छ । अझ यो मानव समाज र जीवन पद्धतिलाई जोड्ने एक संवाहक हो । जसले एक अर्काबीच सञ्चार, संवाद र सहकार्यसम्मको यात्रालाई तय गर्ने महत्वपूर्ण कडीका रूपमा काम गर्दछ ।

  • भाषा प्रविधि र अनुवाद

तामाङभाषा लगायत संसारमा भाषा सिकाइ केवल मानवीय भौतिक सिकाइको विषय मात्र रहेन । मानवनिर्मित भाषिक अनुवाद संयन्त्रको उपयोग गरेर भाषा भर्चुअल माध्यमबाट सहजै सिक्न र सिकाउन सकिन्छ । यसको पछिल्लो रूप भनेको गुगल यान्त्रिक अनुवाद पद्धति हो । यसलाई प्राकृतिक भाषा प्रविष्टि पद्धति (Natural ।angauge Processing)  का रूपमा यान्त्रिकीकरण गरिएको अवस्था छ । तामाङ भाषा शिक्षणका लागि गुगल पद्धतिको विकास भइसकेको नभए तापनि यसतर्फ पहल भइसकेको छ । यसरी छिट्टै तामाङभाषा शिक्षणसिकाइको क्षेत्रमा कायापलट गर्ने अवश्याम्भावी देखिन्छ । यसरी भाषा प्रविधि र अनुवाद पद्धतिको माध्यमबाट तामाङभाषा शिक्षणसिकाइलाई छिटो, छरितो, लचिलो बनाई सबैका लागि अवसर खुला छ ।

 

You might also like