बहुभाषिक शिक्षाः व्यक्ति—व्यक्तित्व विशेष (मल्टिलिङ्गल मेन)
१.डा.लवदेव अवस्थी,
अध्यक्ष भाषा आयोग
बैतडीमा जन्मनु भएका डा.लवदेव अवस्थीले सन् १९८३ त्रिभुवन विश्वविद्यालयबाट मा अङ्ग्रेजी भाषा र साहत्यमा स्नातकोत्तर गर्नुभएको हो । उहाँले सन् १९८९ बेलायतको लेनचेस्टर विश्वविद्यालयबाट भाषाविज्ञान स्नातकोत्तर गर्नुभभयो भने डेनिस युनिभर्सिटि कोपनहेगन डेनमार्कबाट सन् २००४ मा एक्सल्पोरिङ मोनोलिङगल स्कुल प्राक्टिसेस इन मल्टिलिङगल’ विषयमा विद्यावारिधि गर्नुभएको हो । शिक्षा विभागका पूर्व महानिर्देशक अवस्थी नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ भने हाल भाषा आयोग, नेपालका अध्यक्ष पदमा पदासीन हुनुहुन्छ । उहाँले विद्यालयमा अध्यापन गर्नुका साथै काठमाडौँ विश्वविद्यालयमा आगन्तुक प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले भाषा नीति र योजना, भाषा र सिकाइ, बहुभाषिक शिक्षासम्बन्धी लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । उहाँ शिक्षा विभागमा महानिर्देशक रहँदा नै फिनल्याण्ड सरकारको सहयोगमा बहुभाषिक शिक्षा परियोजना सन्२००७-२००९ लागू भएको थियो । नेपालका विश्वविद्यालयहरूमा विद्यावारिधि उपाधिको अनुसन्धान समिति विज्ञ र शोध निर्देशकका रूपमा रहेनुभएका अवस्थी नेपालबाट बहुभाषिक शिक्षामा पहिलो विद्यावारिधि गर्ने व्यक्ति समेत हुनुहुन्छ।
२.प्रा.डा.योगेन्द्रप्रसाद यादव
प्राज्ञ, मातृभाषा शाखा प्रमुख, नेपाल प्रज्ञा प्रतिष्ठान
हाल नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ एवम मातृभाषा शाखा प्रमख प्रा.डा. योगेन्द्रप्रसाद यादव त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक हुनुहुन्छ । उहाँले भारतको हैदरास्थित इएफएलयुबाट भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएको हो । भाषा विज्ञान केन्द्रीय विभाग कीर्तिपुरमा विभागीय प्रमुखको जिम्मेवारी सम्हाली सक्नु भएका प्रा.डा.यादव दक्षिण एसियाकै भाषाविद्हरूमध्ये पर्नुहुन्छ । उहाँको विशेषज्ञता शब्दनिर्माण, वाक्य विज्ञान, नेपालका भाषाहरूको अभिलेखनका साथै मातृभाषामा आधारित बहुभाषिक शिक्षामा रहेको छ ।
हाल भाषा आयोगको सल्लाहकार समेत रहेको प्रा.डा.यादवले मातृभाषा शिक्षासम्बन्धी विभिन्न आयोजना र परियोजनाको अध्ययन अनुसन्धानको संयोजकको जिम्मेवारी निर्वाह गर्दै मातृभाषा शिक्षाको क्षेत्रमा विशेष योगदान प्रदान गर्दै आउनु भएको छ। पर्पेक्टिभ्स अन मदर टङ्ग बेस्ड एजुकेसन इन शीर्षकको पुस्तक प्राज्ञ यादव र डा.अवस्थीको सम्पादनमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन भएको छ। विगतमा बराम भाषा संरक्षणसम्बन्धी परियोजना र सुदूरपश्चिम प्रदेशको भाषाहरूको अध्ययनको संयोजकको भूमिका समेत उहाँले निर्वाह गरिसक्नु भएको छ ।
३. डा. डिल्लीराम रिमाल
पूर्व सहसचिव, शिक्षा मन्त्रालय
कक्षाकोठामा भाषिक विविधताको सम्बोध विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि उपाधि हासिल गर्नु भएका डा. रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.ए. र एम.एड. गर्नु भएको छ। तात्कालीन शिक्षा विभागमा महानिर्देशको जिम्मेवारी निर्वाह गरिसकेका डा.रिमाल नेपाली भाषा शिक्षण विषयक पुस्तकका लेखक समेत हुनुहुन्छ।
उहाँ भाषा आयोग भाषाविज्ञ सूचीमा सूचीकृत भई बज्जिका, अवधि र राना थारू मातृभाषाको शिक्षामा प्रयोग सम्भाव्यताको अध्ययन अनुसन्धान गरी प्रतिवेदन लेखन कार्य सम्पादन गर्नु भएको छ । साथै उहाँ नेपालका विभिन्न भाषाहरूको इतिहासले कार्यमा समेत संलग्न हुनुहुन्छ ।
४. अमृत योञ्जन तामाङ
भाषाविद्
रामेछापको तिल्पुङमा जन्मनु भएका भाषाविद् अमृत योञ्जन तामाङ भाषिक अभियन्ताका साथै भाषासम्बन्धी अध्ययन अनुसन्धानता हुनुहुन्छ ।भाषाविज्ञान विषयमा स्नातकोतर गर्नुभएका योञ्जन शिक्षा विभागबाट सञ्चालित बहुभाषिक शिक्षा परियोजना २००७-२००९ का राष्ट्रिय सल्लाहकार हनुहुन्थ्यो । तामाङ भाषालाई जीवनकै महत्वपूर्ण समय दिएर तामाङ पुस्तकालय नै सञ्चालन गर्नु भएका योञ्जनका ५० भन्दा बढी नेपाली र तामाङ भाषा लिखित पुस्तकहरू प्रकाशित छन् ।
पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा मातृभाषा शिक्षा समितिका सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा विषयका सदस्य रहेका योञ्जन भाषा आयोगका विज्ञ सूचीमा सूचीकृत हुनुहुन्छ । भाषा आयोगबाट गरिएका तामाङ भाषाको शिक्षामा प्रयोगसम्बन्धी अध्ययन र कुसुन्डा भाषा कक्षा सञ्चालनका लागि तयार पारिएको ३० दिने भाषा पाठ्यसामग्रीको संयोगको जिम्मेवारी निर्वाह गर्नुभएको छ ।
तामाङ न्हाङखोर संस्थाका अध्यक्ष र भाषिक मानव अधिकार प्रतिष्ठानका समेत अध्यक्ष हुनहुन्छ । उहाँ भाषा आयोगलगायत विभिन्न सङ्घसंस्थाबाट सञ्चालित मातृभाषा शिक्षासम्बन्धी कार्यक्रममा विज्ञका रूपमा योगदान प्रदान गर्ने व्यक्तित्वका रूपमा चिरपरिचित हुनुहुन्छ ।उहाँ विभिन्न सङ्घसंस्था सञ्चालित मातृभाषा शिक्षसम्बन्धी कार्यक्रमका विज्ञ समेत विज्ञ सहजकर्ता हुनुहुन्छ ।
५.डा. प्रेम फ्याक
सहप्राध्यापक त्रिभुवन विश्वविद्यालय
इलाम जिल्लाको माङसेबुङमा जन्मेका डा. प्रेमबहादुर फ्याकले अमेरिकास्थित हवाइबाट सन् २०१६ मा फर आवर चोत्लुङः डिकोलोनाइजिङ ल्याङग्वेइज आइडोलोजिज एन्ड (रि) इम्याजिनिङ मल्टिलिङगल एजुकेशन पोलिसिज एन्ड प्राक्टिसेस इन नेपाल विषय विद्यावरिधि गर्नु भएको हो । त्रि.वि.शिक्षाशास्त्र सङ्काय अङ्ग्रेजी शिक्षा विभागमा विभागीय प्रमुख जिम्मेवारी निर्वाग गरिसक्नु भएको डा.फ्याकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा मातृभाषामा शिक्षासम्बन्धी विभिन्न लेख तथा पुस्तक प्रकाशन गर्नु सक्नुभएको छ ।
उहाँकै पहलमा ग्य्राजुएट स्कुल अफ एजुकेसन कीर्तिपुरको एम.फिल. र विद्यावारिधि तहको पाठ्यक्रममा मल्टिलिङगल एजुकेशन विषय समाविष्ट भएको छ । साथै उहाँले नेपाल आदिवासी जनजाति प्रतिष्ठानबाट लिम्बू भाषामा विद्यालय शिक्षा र भाषा आयोगबाट चेपाङ मातृभाषामा शिक्षासम्बन्धी अध्ययन कार्य समेत सम्पादन गर्नु भएको छ । हाल उहाँ सिङगापुरको युनिर्भर्सिटिको अङग्रेजी विभागमा प्राध्यापनरत हुनुहुन्छ ।
६. डा. उमा प्रधान
प्राध्यापन
अक्सफोर्ड विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरी सिमुल्टानियस आइडेन्टिटिज ल्याङग्वइज एजुकेसन एन्ड द नेपाली नेसन विषयमा विद्यावारिधि गर्नुअघि डा.प्रधान नेपालमै विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा शिक्षा र भाषासम्बन्धी विषयमा सल्लाहकारमा कार्यरत हुनुहुन्थ्यो । काठमाडौँमै जन्मेका प्रधानले नेपाल भाषामा केन्द्रित भएर बहुभाषिक शिक्षासम्बन्धी विद्यावारिधि सम्पन्न गरेका हुन् । उनको भाषा र शिक्षासम्बन्धी लेख तथा पुस्तकहरू प्रकाशित छन् ।
अक्सफोर्ड विश्वविद्यालयमा साउथ एसियन स्टडिजमा संलग्न उहाँले दक्षिण एसियाली क्षेत्रका भाषा, संस्कृति र शिक्षा विषयक थुप्रै अध्ययन अनुसन्धान गरिसक्नु भएको छ । हाल उहाँ अक्सफोर्ड युनिभर्सिटीमा अध्यापन तथा अध्ययन-अनुसन्धान कार्यमा क्रियाशील हुनुहुन्छ ।
७.डा.लोकबहादुर लोप्चन
मातृभाषा शिक्षा शाखा, प्रमुख भाषा आयोग
त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा शिक्षा (बहुभाषिक शिक्षा) मा पिएच.डी.गरेका लोप्चनले त्रि.वि.बाटै एम.एड.(नेपाली),एम.पी.ए., एम.ए.(राजनीतिशास्त्र) र एल.एल.बी.सम्मको औपचारिक अध्ययन पूरा गरेका छन्
१६ वर्षसम्म शिक्षण पेसामा आबद्ध रहेका उनी वि.सं.२०६६ सालदेखि विद्यालय निरीक्षकबाट निजामति सेवामा प्रवेश गरी शिक्षा सेवाको उपसचिव हुँदै पाँचथर, ओखलढुङ्गा, दोलखा जिल्लामा जिल्ला शिक्षा अधिकारी र शिक्षा मन्त्रालयमा उपसचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।उनी सुनहरी लोप्चन फाउन्डेसनका संरक्षक र त्रि.वि.मा नेपाली भाषा तथा राष्ट्रिय भाषा विषय समितिका सदस्यसहित बहुभाषिक शिक्षा अनलाइन पत्रिकाको सम्पादक (२०७६) जस्ता पदीय जिम्मवारीमा छन्। हाल भाषा आयोगमा मातृभाषा शिक्षा शाखा प्रमुख रहेका डा.लोप्चन २४ मातृभाषाको शिक्षा प्रयोग सम्भाव्यता र २७ भन्दा बढी लोकवार्ता सङ्कलन गरी पुस्तकहरूको सम्पादन र प्रकाशन कार्यमा समेत संलग्न हुनुहुन्छ ।
राष्ट्रिय दैनिकहरूका साथै विभिन्न स्मारिका, पुस्तक, पत्रपत्रिका, जर्नल आदिमा सयौँको सङ्ख्यामा भाषा, साहित्य, शिक्षा, संस्कृति, प्रशासनसम्बन्धी उनका लेखहरू प्रकाशित छन्। साथै उनको शिक्षक प्रतियोगिता सफलता कुञ्जिका (२०६९) र भाषा आयोगबाट शिक्षामा मातृभाषाको प्रयोगसम्बन्धी अध्ययन तथा अनुसन्धान विधि (२०७५) जस्ता पुस्तक प्रकाशित छन् । शिक्षक दोर्जे सरको पदचाप चाहिँ उनको नाट्य सिर्जना हो।