तामाङ भाषा र साहित्य शिक्षणः पुस्तकका लेखक को हुन् र पुस्तकमा के छ ?

तामाङ भाषा र साहित्य शिक्षणः पुस्तकका लेखक को हुन् र पुस्तकमा के छ ?

ताल्ढुङ्गा, खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक । २०८२ साल मङसिर २५ गते ।

डा. लोक बहादुर लोप्चन लिखित तामाङ भाषा र साहित्य शिक्षण विषयक पुस्तक काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नं. ५ स्थित श्री जनविकास मा.वि.को ६७ औँ हीरकीय वार्षिकोत्सवको अवसरमा २०८२ साल मङसिर २५ गतेका दिन विमोचन भएको छ । तामाङ भाषा र शिक्षासम्बन्धी लेखकको यो दोस्रो पुस्तक हो भने उनको यो दशौँ प्रकाशित कृति हो । उनले सर्वप्रथम वि.सं.२०६९ सालमा शिक्षक प्रतियोगिता सफलता कुञ्जिका कृति प्रकाशन गरेका छन् भने वि.सं.२०७७ सालमा दोर्जे सरको पदचाप नाटक प्रकाशन गरी २०७९ सालमा गाइने दाइको सारङगीमा गीति सङग्रह बजारमा ल्याएका छन् । त्यसैगरी भाषा आयोगमा रहँदा उनको शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यता अध्ययन र अनुसन्धान विधि र शिक्षामा मातृभाषाको प्रयोग सम्भाव्यतासम्बन्धी प्रतिवेदनहरूको सारांश प्रारम्भ भएको छ । साथै सामाजिक विकास कार्यालय धादिङबाट उनको अध्ययन प्रतिवेदन सीप विकास तालिम प्राप्त पूर्व प्रशिक्षार्थीहरूको तालिम प्रभावकारिकासम्बन्धी पुस्तक प्रकाशन भएको छ भने बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय र नेपाल तामाङ घेदुङबाट तामाङ भाषा तालिम पाठ्यक्रम र पाठ्यसामग्री प्रकाशन भएको छ । बहुआषिक शिक्षा तथा सञ्चार प्रा.लि.बाट सरकारी कामकाजको भाषा तथा मातृभाषामा शिक्षासहित तामाङ भाषा र साहित्य शिक्षण पुस्तक हालै प्रकाशन गरिएको भने खानीखोला गाउँपालिका काभ्रेबाट हाम्रो खानीखोला स्थानीय विषय कक्षा १-३ सम्म प्रकाशन भई पठनपाठन भईरहेको छ । यसरी लेखन, सम्पादन र विविध गरेर ८० भन्दा पुस्तक लेखन, सम्पादन र सिर्जनाहरूमा काम गरेको अनुभव संगालेका छन् ।

लेखक परिचय

 

बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, हालको खानीखोला गाउँपालिका वडा नं. २ मा  वि.सं. २०३१ साल असार १२ गते जन्मन पुगेका लेखक डा. लोक बहादुर लोप्चन पिता सुन लामा र माता हरिमाई लामाका सन्तान हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पिएचडी (बहुभाषिक शिक्षा), एम.एड. (नेपाली शिक्षा), एम.पी.ए. (जनप्रशासन), एम.ए. (राजनीतिशास्त्र) र एल.एल.बी. (कानुन) सम्मको औपचारिक शिक्षा पूरा गरेका छन् ।

अनुभव तथा संलग्नता

उनी वि.सं. २०५१ सालदेखि २०६६ सालसम्म प्रा.वि., नि.मा.वि. र मा.वि. तहको शिक्षक र प्रधानाध्यापक गरी १५ वर्षसम्म शिक्षणमा आबद्ध रहे । उनले वि.सं. २०६६ सालमा विद्यालय निरीक्षकबाट निजामती सेवामा प्रवेश गरी शिक्षा सेवाको उपसचिव हुँदै पाँचथर, ओखलढुङ्गा र दोलखा जिल्लामा जिल्ला शिक्षा अधिकारी, क्षेत्रीय शिक्षा निर्देशनालय सानोठिमीमा उपनिर्देशक र शिक्षा मन्त्रालयमा उपसचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी त्रि.वि. शिक्षाशास्त्र सङ्काय डिनको कार्यालयअन्तर्गत् नेपाली शिक्षा तथा राष्ट्रिय भाषा विषय समितिका सदस्यमा मनोनीत भई एक कार्यकालको जिम्मेवारी कुशलापूर्वक पूरा गरेका छन् । भाषा आयोगको मातृभाषा शिक्षा शाखा प्रमुख हुँदै उनले आयोगको का.मु. सचिवको जिम्मेवारी समेत वहन गरेका छन् । उनी भाषा, साहित्य सिर्जना, सामुदायिक विद्यालय शिक्षा सुधार, मातृभाषामा शिक्षा अभियानमा संलग्न हुनाका साथै आवाजविहीन (सबल्टर्न) वर्गको पक्षमा लेखन र पैरवी कार्यमा सक्रिय छन् । हाल उनी सुनहरी लोप्चन फाउन्डेसन नेपालको संरक्षक छन् भने बहुभाषिक शिक्षा मासिक (२०७६) र बहुभाषिक शिक्षा अनलाइन (mlenepal.com) का प्रधान सम्पादकको समेत अनुभव बटुलिसकेका छन् । साथै उनी World Atlas of Languages युनेस्को, फ्रान्सका लागि नेपालतर्फबाट सम्पर्क व्यक्ति हुन् ।

पदक, पुरस्कार र भ्रमण

उनले शिक्षा विभागबाट वि.सं. २०६३ सालमा बालगीत पुरस्कार प्राप्त गरेका छन् भने शिक्षा मन्त्रालयबाट शिक्षा दिवस पदक (२०७२) प्राप्त गरी खानीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकबाट वि.सं. २०७५ मा सरकारी सेवामा उच्च पदीय व्यक्तित्वका रूपमा सम्मानित भएका छन् । उनी Integrity Icon Nepal (2021) का बिजेता हुन् भने उनले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भाषा र साहित्यतर्फ बागमती प्रदेश प्रतिभा पुरस्कार, २०७९ समेत प्राप्त गरेका छन् । साथै, उनले शैक्षिक तथा भाषिक कार्यक्रमको सिलसिलामा नेपालका ७० भन्दा बढी जिल्लाहरूको भ्रमण गर्ने अवसर पाएका छन् भने भारत र थाइल्यान्डजस्ता मुलुकहरूमा आयोजित कार्यक्रममा विज्ञका रूपमा सहभागिता जनाइसकेका छन् ।

पुस्तकमा बारेमा लेखकीय भनाइ

विश्वविद्यालयमा उपाधि हासिल गरेर दशकौँ शिक्षण पेसामा आबद्ध हुँदा समेत बुझ्न नसकिएको एउटा विषय थियो मातृभाषा शिक्षा । यसले जो कसैको भावनालाई सजिलै छुँदो रहेछ भनूँ मातृभाषामा शिक्षाको विषयले नछुने मानव संसारमा कोही नहोलान् ।  संसारमै सबैभन्दा बढी बहस र छलफलमा रहेको तर कहिल्यै नटुङ्गिने अनन्त यात्रा रहेछ मातृभाषा शिक्षा । भाषाविद् एवम् पूर्वराजदूत प्रा.डा.नोबल किशोर राईले भन्नुभएजस्तै भाषामा सबै विद्वान् हुन्, कोही अनभिज्ञ छैनन् किनकि यस विषयमा नबोल्ने कोही छैनन् । तर मातृभाषा शिक्षा के, किन र कसरी भन्ने कुरालाई व्यवहारमा उतार्न सकेका हुँदैनन् । यसरी नेपालको मातृभाषा शिक्षाको विषय माल पाएर चाल नपाएको चीज (जिनिस)  बन्दै गएको अनुभूत हुन्छ । भाषा आयोगमा मातृभाषा शिक्षा शाखा प्रमुख भई ५ वर्षसम्म गरिएको अध्ययन अनुसन्धान र का.मु.सचिव भई कार्यरत रहेको २ वर्ष गरी करिब ७ वर्षको पेसागत यात्रामा देशका ७० भन्दा बढी जिल्लाहरूमा अध्ययन, अनुसन्धान र अभ्यासले मलाई मातृभाषामा शिक्षाको वास्तविकताको नजिक पुग्न अवसर मिल्यो ।  त्यस अवधिमा गरिएका केही अध्ययन, अनुसन्धान, प्रयोग  र परीक्षणहरू सफल भए भने कतिपय प्रयास र पहलहरू असफल पनि भए । तथापि मातृभाषामा शिक्षाको एउटा उज्यालो क्षितिज उघ्रियो जसमा तामाङभाषा विषय  र तामाङ साहित्य शिक्षण समेत जोडिनु पुग्यो ।

तामाङभाषा र साहित्यको विद्यालय र विश्वविद्यालयतर्फको शिक्षणलाई नियाल्दा विद्यालय तहमा वि.सं.२०५४ साल यता तामाङभाषा पाठ्यक्रम र पाठ्यपुस्तक लेखन कार्य भएका छन् । तापनि व्यक्तिगत पहल र प्रयासबाट यसको कार्यान्वयन वि.सं.२०६७ सालबाट हुन थालेको पाइन्छ ।  भाषा आयोग, काठमाडौँ र नेपाल तामाङ घेदुङको सहकार्यमा वि.सं.२०७७ सालबाट स्थानीय तहको सहकार्यमा तामाङ भाषा विषय पठनपाठनको थप विस्तार हुँदै गएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० सँगै तामाङ भाषा प्रदेश सरकारी कामकाजको भाषाका रूपमा लागू भएको हुँदा यसको कार्यान्वयनको विशेष क्षेत्र विद्यालय र विश्वविद्यालय हो । विश्विवद्यालयतर्फ नेपाल खुला विश्वविद्यालयबाट वि.सं.२०८१ सालबाट चार वर्षे स्नातक तहअन्तर्गत तामाङ अध्ययन प्रारम्भ भएको छ भने काठमाडौँ विश्वविद्यालयमा वि.सं.२०८२ सालबाट तामाङ भाषा शिक्षणमा पोस्ट ग्र्याजुएट तह (पिजिडिइ) को पठनपाठन सुरू गरिएको छ । जुन तामाङभाषा र साहित्यको विकासका लागि एउटा उल्लेखनीय र ऐतिहासिक कदम मान्न सकिन्छ ।

सङ्घीय नेपालको सन्दर्भमा भाषिक सङ्घीयताको कार्यान्वयन नेपालको भाषिक क्षेत्रमा ऐतिहासिक उपलब्धि  मात्र नभई विश्वकै लागि एउटा उदाहरण बन्दै गएको छ ।  सङ्घीय शासनको एक दशकभित्र बागमती प्रदेशमा तामाङभाषा र नेपालभाषा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन भएका छन् भने गण्डकी प्रदेशमा मगर र गुरूङ भाषा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनको क्रममा छन् । यसका साथै गण्डकी प्रदेशमा बोलिने अन्य मातृभाषाहरूको संरक्षण, संरक्षण र विकासका लागि सूचीकृत गरी भाषिक स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गर्न सक्ने कानुनी प्रबन्ध गरिएका छन् ।  यसबाहेक अन्य प्रदेशहरूमा पनि प्रदेश सरकारी कामकाजको भाषा विधेयक दर्ता भई  कानुन निर्माण हुने प्रक्रियामा अघि बढेको देखिन्छ । यसरी नेपालमा भाषिक सङ्घीयता देखिने सबल सूचक मात्र नभई एउटा ठोस उपलब्धि बन्न पुगेको छ ।

भाषिक सङ्घीयताको सन्दर्भमा नेपालका लागि असाध्यै नौलो प्रयोग र अभ्यास भएका हुँदा सिक्दै गर्दै कार्यान्वयनमा जानुको विकल्प देखिँदैन । बागमती प्रदेशको सरकारी कामकाजको भाषा कार्यान्वयन कार्यदलको सदस्य भई काम गर्दा प्राप्त अनुभवमा आधारित भई यस पुस्तकमा सरकारी कामकाजको भाषा कार्यान्वयनसँगै मातृभाषामा शिक्षाअन्तर्गत तामाङ भाषा र साहित्य शिक्षणका रणनीति र योजनाहरू अघि सारिएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत नेपाली तथा राष्ट्रिय भाषा विषय समितिको सदस्य, मातृभाषा शिक्षामा विद्यावारिधि उपाधिका लागि बिताएका ९ वर्षको अनुसन्धान र आयोगमा करिब ७ वर्ष निरन्तर मातृभाषामा शिक्षाको अध्ययन र बहुभाषिक शिक्षाको नमुना विकासका क्रममा प्राप्त अनुभव, भोगाइ र सिकाइमा आधारित भई मातृभाषामा शिक्षासम्बन्धी सैद्धान्तिक र व्यावहारिक सोच, कार्यदिशा र भावी गन्तव्यहरू पुस्तकमा प्रस्तुत गरिएका छन् । त्यसैगरी तामाङभाषा र साहित्यतर्फ तामाङभाषी वक्ता, अध्येता र विज्ञको तर्फबाट नेपाल तामाङ घेदुङको सहकार्यमा १५ भन्दा बढी स्थानीय पालिकाहरूमा तामाङभाषा  र तामयीग लिपि प्रशिक्षणसहित तामाङभाषा विषयको पठनपाठनका लागि गरिएका कार्यक्रमहरूबाट प्राप्त सुझबुझसहित परीक्षित उपाय र प्रयोगयोग्य तौरतरिकाहरू पुस्तकमा सङ्ग्रहीत छन् । साथै तामाङभाषा र साहित्य शिक्षण (तामाङ पेडागोजी) लेखनमा आफूले विद्यालयदेखि कलेजसम्म १५ वर्षसम्म नेपाली भाषा विषय अध्यापन गरेको अनुभवमा आधारित भई तिनै अनुभूतिलाई अनुकूलन गर्दै तामाङभाषा र साहित्य शिक्षणको विधि, पद्धति र कार्यकलापहरू प्रस्तुत गरिएका छन् ।

व्यक्तिले शिक्षा हासिल गर्नु केलव शैक्षिक उपाधि लिन र जीवन जिउनका लागि  मात्र नभई समाजमा केही योगदान गर्नका लागि पनि हो । वर्तमानमा हासिल गरेको शिक्षा र रोजगारीकाबीच अन्तरसम्बन्ध हुन नसक्दा शिक्षाप्रति नै वितृष्णा मात्र फैलिएको छैन, देश छोड्ने र विदेशमा रोजगारी खोज्नेको लहर बढ्दो छ । त्यसैगरी यस पुस्तकमा शैक्षिक उपाधि प्राप्त गरेका व्यक्तिलाई रोजगारीसँग जोड्न पेसागत मार्गदर्शन होस् भन्ने उद्देश्यले स्थायी सरकार मानिने निजामती सेवा र व्यक्तिको शैक्षिक भविष्य निर्माणसँग सम्बन्धित शिक्षण पेसामा प्रवेशका लागि आफ्नै सफलतामा आधारित भई शिक्षण सेवा र लोक सेवाजस्ता प्रतिस्पर्धात्मक परीक्षाको तयारीसम्बन्धी विषयवस्तु समावेश गरिएका छन् । यसबाट व्यक्तिलाई शैक्षिक उपाधिको प्राप्ति पश्चात् पेसागत जीवनमा प्रवेशका लागि व्यावहारिक रूपमा सही दिशाबोध हुने अपेक्षा गरिएको छ । मानिसले गर्न नसक्ने केही छैन तर त्यसको लागि अनुभव, व्यवहार र परीक्षणबाट प्रमाणित भएको वैज्ञानिक तौरतरिकाको जरूरी हुन्छ । त्यसैले यस पुस्तकमा सरकारी कामकाजको भाषा, मातृभाषामा शिक्षा तथा लोक सेवा/ शिक्षण सेवाको परीक्षामा सफलता हुन विभिन्न प्रयोग र परीक्षणबाट प्राप्त उपलब्धि वा स्वयमको सफलताको अनुभवको आधारमा व्यावाहारिक कार्यदिशा वा रणनीतिहरू अग्रसारित छन् । जुन कुनै व्यक्ति र संस्था विशेषका लागि व्यवहारको कसीमा  प्रयोग गरेर भाषा, शिक्षामा र रोजगारीको क्षेत्रमा स्थापित हुनको विशेष मार्गचित्र हुने कुरामा म विश्वस्त छु ।

हुनत यो पुस्तकमा  कुनै एक उद्देश्यबाट निर्देशित भई व्यावसायिक विषयवस्तु समावेश गरिएको छैन । विशेषतः यस पुस्तकमा तामाङभाषा र साहित्य शिक्षणअन्तर्गत विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र प्राध्यापकका लागि सन्दर्भसामग्री हुने गरी पाठहरू समाविष्ट छन् । यो पुस्तक भाषा, शिक्षा र प्रविधिसम्बन्धी चासो राख्ने आम जनतादेखि विद्यार्थी, शिक्षक, शिक्षण सेवा/लोक सेवा तयारीकर्ता, अध्ययन अनुसन्धानकर्ता, विज्ञ, विद्वानसहित इच्छुक सबैका उपयोगी हुनेछ ।

नेपालको भाषा, शिक्षा र प्रविधि क्षेत्रमा विगत ३ दशकको दीर्घ यात्रामा मलाई विभिन्न किसिमले साथ, सहयोग, सल्लाह र परामर्श दिई यो कृति तयार पार्न हौसला प्रदान  गर्नुहुने सम्पूर्ण आदरणीय व्यक्ति र व्यक्तित्वहरूमा सलाम टक्र‍याउँदछु । यो पुस्तक लेखन र प्रकाशनका लागि घचघच्याउनु हुने बहुभाषिक शिक्षा अनलाइनकी प्रबन्ध निर्देशक एवम् जीवन संगिनी संगिता तामाङ, प्यारा छोराहरू सम्राट लोप्चन तामाङ र छेसाङ लोप्चन तामाङलाई अगाध माया ।  अन्तमा, मातृभाषामा शिक्षा पाउने अधिकार प्राप्तिको पर्खाइमा रहेका लाखौँ बालबालिकाहरूमा यस पुस्तकलाई समर्पण गर्दै यस कृतिमा परिमार्जन र परिष्कारका लागि  रचनात्मक सुझाव र सल्लाहको स्वागत गर्दै  सम्बद्ध सबैबाट सिर्जनात्मक र सकारात्मक पृष्ठपोषण प्रदान गरिदिनका लागि सबैमा हार्दिक नमन गर्दछु !

डा. लोक बहादुर लोप्चन

तीनचुली-६, बौद्ध काठमाडौँ

मितिः २०८२ साल कार्तिक २७ गते

पुस्तकको मुख्य आकर्षक पक्षहरू

  • तामाङ जातिको इतिहास, संस्कृति र ताम्बा दर्शन
  • तामाङ भाषाको स्तरीकरण, मानकीकरण र यान्त्रिक अनुवाद
  • तामाङभाषामा तामयीग, देवनागरी र सम्भोटा लिपिको सान्दर्भिकता
  • विश्वमा तामाङ भाषा, शिक्षा र लिपिको प्रयोग अवस्था
  • तामाङ भाषा र साहित्य शिक्षणका सिद्धान्त, पद्धति र विधि
  • तामाङभाषा शिक्षण योजना, मूल्याङकन तथा परीक्षण
  • मातृभाषा/स्थानीय ‍‍‍‍‍‍पाठ्यक्रम र पाठ्यपुस्तक विकास मार्गदर्शन
  • नेपाली र अन्य मातृभाषा विषय शिक्षणका लागि उपयोगी
  • शिक्षण सेवा/लोक सेवामा सफलता कसरी ?
  • विद्यावारिधि (पिएचडी) देखि भाषा, शिक्षा र प्रविधि यात्रा

 

 

 

 

 

 

 

 

 

You might also like