पाँचथरमा जिल्ला शिक्षा अधिकारीः स्काउट र सीप विकास तालिमका अनुभूतिहरू
डा.लोकबहादुर लोप्चन
का.मु.सचिव, भाषा आयोग काठमाडौँ
पूर्वस्मरण
पाँचथर जिल्ला मेरा लागि पहिलो पटक जिल्ला शिक्षा अधिकारी भएर सेवा गर्न अवसर मिलेको पूर्वको किराँती संस्कृतिले ओतप्रोतयुक्त सुन्दर थलो हो । म वि.सं.२०७८ सालमा यस जिल्लामा जिल्ला शिक्षा अधिकारीको रूपमा खटिएको थिएँ म । नेपालकै सुदूर पूर्वको जिल्ला, रैथाने किराँती संस्कृतिको मौलिकता अनि डा.स्वामी प्रपन्नाचार्य, प्रा.डा.गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, लेखक खगेन्द्र संग्रौला, कानुनविद प्रा.डा.युवराजदेखि संग्रौलादेखि कवि बैरागी काइँलाको जन्मभूमि रहेको जिल्ला हो यो। पहिलो दिनको यात्रा शाखा अधिकृत मित्र हरिप्रसाद निरौलाको साथमा काठमाडौँबाट भद्रपुर विमानस्थलबाट ओर्लेर केहीबेर पछि शाखा अधिकृत भरत धमलाजीसँग भेट भयो । उहाँले सवारी चालक सोमसँगै जिल्ला शिक्षा कार्यालयको गाडी लिएर आउनु भएको थियो। मित्र हरि, म र भरत सर करिब पाँचघण्टाको दुरी पार गरेर बेलुका पाँचथर सदरमुकाम फिदिम पुगियो र त्यस रात जिल्ला शिक्षा कार्यालयको क्वाटरमा बसियो ।
भोलिपल्ट जिल्ला शिक्षा कार्यालयमा जिल्ला शिक्षा अधिकारीको पदबहाली गरियो। १५ वर्ष शिक्षण पेसा अपनाएर करिब डेढ वर्ष क्षेत्रीय शिक्षा निर्देशनालय सानोठिमीमा उपनिर्देशकको जिम्मेवारी वहन गरी जिल्लामा खटिँदा केही नयाँ अनुभूति हुने नै भयो ।तर संयोग मेरा गाउँका मित्र विद्यालय निरीक्षक लोकबहादुर वाईबा जी र विद्यालय निरीक्षकका ब्याजी साथी युगमणि सबेहाङसहित अन्य साथीहरू त्यहीँ कार्यरत थिए जसको कारण मलाई अनौठो अनुभूति नै हुन पाएन धेरै परिचित नै रहे भने केही अपरिचित । नयाँ जिल्ला शिक्षा प्रमुखसँग शिक्षक सङ्घसंगठनको पदाधिकारीसहित शिक्षक, प्रधानाध्यापक र स्रोत व्यक्तिहरूसँगको चिनापर्जी हुँदै गयो। त्यतिखेर पाँचथरका स्रोतव्यक्तिमध्ये एक जना मात्र महिला स्रोत व्यक्ति हुनुहुन्थ्यो सावित्री गुरूङ रानीटार स्रोतकेन्द्रमा । त्यहाँ गुरूङ जातिको बसोबास बाक्लो छ तर सावित्री गुरूमाको बसोबास भने फिदिममा नै रहेको थियो।
हुनत उहाँ उमेरहदको कारण जागिरबाट म त्यहाँबाट सरूवा भएको केही समयपछि अवकाशमा जानु भएको थियो । तर सावित्री गुरूमाको शिक्षण पेसा, स्रोत व्यक्तिको जिम्मेवारीबाहेक सामाजिक र समुदायगत भूमिका र नेतृत्व बहुआयामिक देखिन्थ्यो जुन अद्यापि कायम रहेको पाउँदा असाध्यै खुशी लागेको छ ।त्यतिबेला नै उहाँ नेपाल स्काउटको केन्द्रीय पदाधिकारी हुनुहुन्थ्यो भने जिल्लाको इन्चार्ज र प्रमुख हुनुहुन्थ्यो। त्यसैबेला उहाँलाई शिक्षक सरिता तामाङले साथ दिनुभएको थियो।त्यसैगरी उहाँले जिल्लाका अन्य कार्यालयहरूसँग समन्वय गरी घरेलु तालिमहरू आफ्नो गाउँ रानीटारमा सञ्चालन गर्नुभएकै थियो। आज भन्दा करिब १२-१३ वर्ष अघिको फोटो र उहाँले पठाउनु भएको टिपोट पढ्दा मलाई पाँचथरका पुराना यादहरू पुनस्मरण भइरहेछ । हुनत म पछि पनि भाषा आयोगबाट लिम्बू भाषासम्बन्धी अध्ययनका लागि त्यहाँ नपुगेको भने होइन । त्यसबेला पनि फिदिमा सावित्री गुरूमासँग भेट भएको थियो भने महिला अभियान्ता निरन्ती तुम्बापो जो नेपालका १०० प्रभावशाली महिलाहरूको सूचीमा सूचीकृत हुनु भएको छ, उहाँसँग पनि भेट भएको थियो ।हुनत सावित्री गुरूमासँग ओखलढुंगा जिल्ला शिक्षा कार्यालयमा समेत भलाकुसारी गर्न पाइएको थियो त्यतिखेर उहाँ सोलु र हलेसी यात्रामा जानुभएको थियो। यसरी एक जना गुरूआमासँगको शिक्षा, स्काउट र उद्यमशीलतासँगको नातागत यात्रा आजको दिनसम्म पनि अटुट रूपमा बगिरहेछ, लाग्छ तमोरको अविचल बगाइजस्तो ।
स्काउटः अनुशासन, सेवाभाव र क्रियाशीलता
जिल्ला शिक्षा अधिकारी नै स्काउटको जिल्लाको पदेन प्रमुख पदाधिकारी हुनुपर्ने व्यवस्थाले होला उहाँले नै मलाई स्काउटको भूमिका र कतिपय स्काउटमा अभिवादन गर्ने विधि र तरिकाहरू सिकाउनु भएको थियो । किनकि स्काउट विद्यार्थी, शिक्षक र विद्यालयसँग सम्बन्धित भएकाले कतिपय कार्यक्रमहरूमा सहभागी भएको थिएँ म त्यतिखेर।लाग्छ स्काउटले अनुशासन, असल आचरणसहित निस्वार्थ सेवाभावले आपसमा सद्भाव र समपर्णको पाठ सिकाउँदो रहेछ । त्यतिबेला जिल्ला स्काउटदेखि क्षेत्रीय र केन्द्रीय स्काउटमा प्रतिनिधिहरू उपस्थित भएर कार्यक्रम सञ्चालन हुने गर्थ्यो। तर म अहिले पेसागत रूपमा फरक क्षेत्रमा भएकाले त्यति अद्यावधिक हुन सकेको भने छैन ।
वि.सं.२०६९ सालतिर जिल्ला शिक्षा कार्यालयबाट स्काउटसम्बन्धी केही बैठक भएको याद छ अनि विद्यालय र स्रोतकेन्द्रस्तरबाट विद्यार्थी र शिक्षकलाई स्काउटका लागि केन्द्रीय कार्यक्रममा पठाउन सहजीकरण गरेको जस्तो लाग्छ । त्यसैबेला नै सावित्री गुरूमा भने स्काउटको अन्तर्राष्ट्रिय सम्मेलनमा थाइल्याण्ड र सिंगापुरसम्म भाग लिएर हामीलाई उहाँको विदेश यात्राको सौगात समेत प्राप्त भएको थियो। मित्र युगमणि र म उहाँको घरमा गएर सिंगापुरबाट ल्याउनु भएको कोसेली ग्रहण गरेको कहाँ भुल्न सक्छु र ? त्यसदिनको बेलुकाको खाना गुरमा कहाँ नै भएको थियोः हाम्रा लागि उहाँले खुवाउनु भएको सिंगापुरे माछा झलझल्ती याद नआउरे कुरै भएन ?
फेरि स्काउटकै कुरा गरूँ, उहाँ अद्यापि स्काउटजस्तो अनुशासन र निस्वार्थ सेवामा समर्पित हुन सिकाउने संस्थामा क्रियाशीलता रहनु एउटा त्याग नै भन्नुपर्छ । यी हरफहरू लेखिरहँदा पाँचथरदेखि देशविदेशसम्म विस्तारित स्काउट विद्यार्थी र शिक्षकहरूको विशाल समूहको स्काउटप्रतिको लगाव, आबद्धता र लामो शृङ्खलाको सपाट प्रतिबिम्बन भरहेछ मेरा मनमस्तिष्कमा ।
रानीटार महोत्सव र सुईटर बुनाइ कार्यक्रमको समापन
सावित्री गुरूमाको पुर्ख्यौली थलो पाँचथर रानीटार। पाँचथरका घरेलु उद्योगका प्रमुख शाखा अधिकृत विजय भट्टराई हुनुहुन्थ्यो उहाँ साह्रै मिजासिला र सहकार्य गर्न सिपालु हुनुहुन्थ्यो । शायद उहाँ नभएको भए त्यतिबेलाको पाँचथरको कर्मचारी मिलन केन्द्रको रौनकता र क्रियाशीलता त्यति सबल र सशक्त हुने थिएन । साबित्री गुरूमा, विजय भट्टराईजी र म रानीटारमा सञ्चालित घरेलु उद्योगसम्बन्धी तालिमको समापन कार्यक्रममा गएको थिएँ । सहभागीहरूका सुइटरहरू प्रदर्शनमा थिएँ तर मलाई भने सावित्री गुरूमाले ऊनको हाते बुनाइको सुइटर उपहार दिनुभएको थियो। प्रमुख अतिथिका रूपमा सहभागीलाई प्रमाणपत्र र सावित्री गुरूमालाई सम्मान गर्ने अवसर मिलेको थियो। रानीटारको चिसोमा स्थानीयबासीले गरेको न्यायो स्वागत र न्यानो सुइटर मेरा लागि अविस्मरणीय छन् आजसम्म पनि ।
अब कुरा गरूँ, रानीटार महोत्सवको । त्यस महोत्सवको दोस्रो दिनमा साहित्यिक र साङ्गितिक कार्यक्रम आयोजना गरिएको थियो मलाई भने प्रमुख अतिथिको निमन्त्रणा थियो। साथी युगमणि सबेहाङ र साबित्री गुरूमासँग सल्लाह गरेपछि प्रमुख अतिथि भएर दोस्रो दिनको कार्यक्रममा सहभागी भएको थिएँ । साँच्चै यस दिन रानीटार गुञ्जायमान थियो गीतसङगीतको सुमधुर धुनहरूले अनि स्थानीयबासीले खुशीकासाथ गरिएको गडगडाहट तालीका साथ गरिएको हुटिङले । राष्ट्रिय सङगीतकार गणेश गुरूङ त्यही रानीटारको हुनुहुँदो रहेछ। उहाँको “भुली गए पाप लाग्ला है” गीत गुञ्जियो त्यहाँ । मलाई पनि साङगीतिक माहोल यही रौनकताले आफूले बितगमा लेखिएका गीत वाचन गर्न मन लाग्यो र युवा वयमा लेखिएको प्रणयगीति वाचन गरियोः
“नभेटेको भए तिमीसँग प्रिरतीको नसाले छुन्नथ्यो,
वर्षौवर्ष बाँचे पनि शायद जिन्दगीकै आभास हुन्नथ्यो” ।
मेरो गीति वाचन सुनेपछि सङगीतकार गणेश गुरूङजीले सङ्गीत गर्ने भन्नुभएको थियो । तर जागिरको दर्बियानमा “गाइने दाइको सारङगी” गीति सङ्ग्रहमा यस गीतलाई सङ्ग्रहित गरी प्रकाशन गरियो । तर गणेशजी र मेरो त्यसपछि आज सम्म पनि भेट पनि भएको छैन र मेरो गीतमा संगीत पनि भएको छैन । जे होस, त्यसदिनको महोत्सवमा स्थानीयबासीको उत्साह, उमङग र उल्लासहकासहित मेरा अनुभूतिहरू असाध्यै यादगार छन्। दिनभरिको रमाइलोपछि म, युगमणि सर र सावित्री गुरूमासँगसँगै फिदिम बजार फर्किएको क्षण एकपल्ट पूर्वस्मृति हुन पुगेको छ ।
बिसौनी
केही दिन अगाडि हुनुपर्छ सामाजिक सञ्चालमा उहाँले मेरो मोबाइल फोन पाउँ भनेर लेख्नु भएको रहेछ ।म मेसेज पढन्नासाथ फोन नम्बर टाइप गर्छु र उहाँलाई पठाउँछु, तत्काल कल आउँछ उहाँको। सञ्चोबिसञ्चोको सोधनी भयो नै । अनि फेरि १३ वर्ष अघिको स्काउटको यात्रागत स्मरण गराउनुभयो। ग्रीष्म ग्राफिक प्रेसमा स्काउटसम्बन्धी पुस्तक प्रकाशनमा रहेको हुँदा पाँचथर बसाइको स्मरणसहितको एउटा लेख पाएँ हुन्थ्यो भन्ने उहाँको शुभेच्छालाई नकार्न सकिनँ र त यी अतीतका केही याद वा स्मरणहरूलाई शब्दमा उतार्न पुगेको छु। समयको लामो अन्तर्रालमा धुमिल हुँदै गएको पाँचथर बसाइको अनुभूति, स्काउट, रानीटार महोत्सव र उद्यमशीतला विकाससम्बन्धी तालिमको समापन कार्यक्रम अनि जिल्ला शिक्षा कार्यालयमा गरूमासँगै रहेर पेसागत धर्म र कर्म निर्वाहका गर्दाका क्षणहरूमध्ये विस्मृतिका गर्भमा नपुगेका केही क्षण, केही सम्झना र केही यादहरू यसरी शब्दमा कोरिन पुगेछन् यस रूपमा ।
बिसौनीमा हार्दिक शुभकामना दिन चाहन्छु स्काउटसम्बन्धी यस प्रकाशनलाई। साबित्री गुरूमालाई हार्दिक आभार र धन्यवाद दिन्छु मलाई अतीतको पाँचथरको बसाइ वा कर्मथलोको यादहरू लेखन गरी अभिव्यक्त गर्न यसरी प्रेरित गर्नुभएकोमा अनि त्यतिखेर खिचिएको सुन्दर तस्वीर सजाएर राख्दै मलाई पठाउनु भएकोमा ।त्यसैगरी पाँचथर र पाँचथरबासी जोसँग यहाँका शिक्षा क्षेत्रमा आबद्ध स्रोतव्यक्ति साथीहरू, जिल्ला शिक्षा कार्यालयका कर्मचारी मित्रहरू, शिक्षकहरू, शिक्षक सङ्घसङठनका पदाधिकारीहरू, पत्रकार मित्रहरू र समग्र पाँचथरे बासिन्दाहरू । सेवा रो, छ्याजलो । जय स्काउट ! जय पाँचथर !
स्रोतः नेपाल स्काउट स्मारिका ।