तामाङ जातिको इतिहासः ताम्बा दर्शन र पर्यटन
डा.लोकबहादुर लोप्चन
पृष्ठभूमि
नेपालको आदिवासी जनजातितर्फ जनसङ्ख्याको आधारमा तामाङ समुदाय तेस्रो स्थानमा पर्दछ। राष्ट्रिय जनसङ्ख्या (२०७८) काअनुसार तामाङ जाति नेपालकै पाँचौ ठूलो समुदाय हो। आदिवासी जनाजति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन,२०५८ ले तामाङ समुदायलाई आदिवासी जनजाति समुदायभित्र समावेश गरेको छ। यस ऐनअनुसार आदिवासी जनजाति समुदायलाई विभिन्न ५ वटा समूहमा विभाजन गरेको पाइन्छ। ती समूहमध्ये तामाङ समुदाय सुविधा बन्चित समुदायभित्र पर्दछ (राई र योञ्जन तामाङ, २०८०, पृ. )।
बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा यस जातिको सघन बसोबास रहेको छ। तर तामााङहरू देशका सबै जिल्लाहरू र विश्वका विभिन्न मुलुकहरूमा छरिएर बसोबास गरिरहेका छन्। खासगरी भारतको दार्जिलिङ, सिक्किम, आसामलगायत भुटान, बर्मा र विश्वका अन्य मुलुकहरूमा समेत तामाङहरू बसोबास गर्दछन्। उनीहरूको आफ्नै भाषा, संस्कृति, संस्कार र मौलिक जीवन पद्धति रहेको छ। बौद्ध धर्मालम्बी तामाङहरू ताम्बा, बोन्पो र लामावादमा विश्वास गर्दछन्। ताम्बा उनीहरूको संस्कार र संस्कृतिका संवाहक मात्र होइनन्, पुर्ख्यौली धरोहर, विरासत र अन्तरपुस्ता ज्ञान परम्पराका योजक हुन्। त्यसैले ताम्बाहरू तामाङ समुदायका दार्शनिक हुन् भने ताम्बा दर्शन तामाङ जातिको संसार हेर्ने तामाङ चस्मा हो। आफ्नो मौलिक सोचाइ, बुझाइ र जीवन भोगाइको आधारमा उनीहरू जीवनजगतलाई बुझ्ने, व्याख्या गर्ने र अर्थ्याउने गर्दछन् (योञ्जन, तामाङ, २०७२, पृ. )।
प्रागऐतिहाासिक कालदेखि नै तामाङ जातिको नेपालमा बसोबास रहेको देखिन्छ। तामाङ जातिको इतिहास तामाङ सृष्टिको कथा, ताम्बा दर्शन, धर्म, संस्कार र संस्कृति, लोककथन र अध्ययन अनुसन्धानका दस्तावेजहरूमा छरिएका छन्। तामाङ जातिको इतिहासका विषयहरू तामाङ जातिको मौलिक जीवन परम्परामा जीवन्त देखिन्छन्। यसरी उनीहरू मौलिक संस्कृति, संस्कार, कला, सङ्गीत, लोक जीवनपरम्परा र सभ्यताका दृष्टिमा विपन्न छैनन्। तर राज्यको मूलधारबाट टाढा मात्र रहेका छैनन्, उनीहरू किनारीकृत वा सीमान्तीकृत छन्। परिणामस्वरूप यस समुदायको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक अवस्थ कमजोर रहेको पाइन्छ।
तामाङ जातिको इतिहास, उद्गम र विकास
तामाङ शब्दले तामाङ जाति र तामाङ भाषा दुवैलाई जनाउँछ। तामाङलाई मूर्मी पनि भनिन्छ। मूर्मीको अर्थ सीमानाको बासिन्दा भन्ने हुन्छ। तामाङ र मूर्मीमा कुनै अन्तर छैन (शर्मा, २०४५, पृ.३९३)। पहिले तामाङहरूलाई इसाङ, भोटे, मुर्मी, रोङ्बा, कागते, लामा समेत भन्ने गरिएको पाइन्छ (लोप्चन, २०८०, पृ.१३ )। तामाङ शब्दको उत्पत्तिका बारेमा विभिन्न कथनहरूमा कसैले तिब्बती घोडचढी सैन्य ‘तामाङ’ बाट तामाङ भएका हुन् भनी उल्लेख गरिएको पाइन्छ। चिनीयाँ भाषामा ‘ता’ को अर्थ “महान, विशाल, ठूलो” भन्ने बुझाउँछ भने ‘माङ’ को अर्थ सर्वसाधारण, साझा जनता भन्ने जनाउँछ (तामाङ, २०६९ पृ.५)।
केही विद्वानहरूले तामाङहरू सातौँ शताब्दीको तिब्बतका राजा स्रङचङ गम्पोको नेपाल आक्रमणको क्रममा आउँदा उनीहरूसँगै आएका सिपाहीहरूले तामाङ इतिहास सुरू गरेको थियो भन्ने भनाइ छ (गोले, २०७१ पृ.९)। १२ तामाङ भन्नाले प्राचीन राज्यको स्वरूप हो भन्ने कुरा कौटिल्यको अर्थशास्त्रमा उल्लिखित १२ गाउँका वृत्तान्तले पुस्टि गर्दछन् (तामाङ,२०६९,पृ.६)
वारेन क्याम्प (१९९६, पृ.१०) काअनुसाार तामाङ जातिको इतिहास अस्पष्ट छ। उनीहरूको इतिहास उतार गर्न कठनि छ किनभने असाध्यै थोरै मात्र लिपिबद्ध भएका छन्। तामाङ इतिहासको खोजीका लागि मौलिक परम्परा उपयोगी हुन सक्दछ। त्यसैगरी नेपाली समाजमा तामाङको भूमिका र स्थानको विषय तामाङ इतिहास खोजीका लागि महत्वपूर्ण सूचनाको आधार बन्ने देखिन्छ। तामाङ आदिवासी जनजातिहरू वर्तमान चीनको तिब्बतको स्याङसुङ र पुराङ हुँदै नेपालकै मुगु, मुस्ताङ, डुमा आदि ग्याल्सा (सङ्घ राज्य) लाई प्राचीन बाब्सा वा उत्पत्तिस्थल मानिन्छ (तामाङ, २०६९, पृ.७)।
तामाङ जातिको बसोबास र जनसाङख्यिकी
जनकलाल शर्मा (२०४५, पृ.३८७) काअनुसार तामाङहरूको बसोबास काठमाडौँ उपत्यका वरिपरिका जिल्लाहरू अर्थात् सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरमा पाइन्छ। तथापि उनीहरूको मूलथलो काठमाडौँ वरिपरिका जिल्लाहरू नै हो। धेरैजसो पहाडी इलाकाहरूमा बसोबास गर्ने तामाङहरूको बस्ती ७,००० फिटसम्मको उचाइमा रहको पाइन्छ। भौगोलिक आधारमा यस जातिको मूल बसोबास प्राचीनकालदेखि बहुसङख्यक रूपमा बस्दै आएको काठमाडौँ उपत्यका र वरिपरिका पहाडी र लेकाली क्षेत्रहरू सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, रसुवा, धादिङ, नुवाकोट, दोलखा, रामेछाप जिल्लाहरू रहेका छन् (योञ्जन तामाङ, २०४९, पृ.१७)।
नेपालको राष्ट्रिय जनगणना, २०७८ काअनुसार तामाङ जातिको जनसङ्ख्या १६,०२,८५ (५.६२%) र तामाङ मातृभाषीको सङ्ख्या १४,२३,०७५ (४.८८%) रहेको छ। यसरी जनसङख्या भन्दा तामाङ भाषा बोल्ने वक्ताको अन्तर २,१६,७९१ (१५.२३%) पुगेको छ। तर पुर्ख्यौली तामाङ भाषा बोल्नेको सङख्या ५.५० रहेको छ। यसको अर्थ तामाङ भाषा नबोल्ने भए तापनि उनीहरूको पूर्खाले बोल्ने गरेको देखिन्छ। नेपालका सबै प्रदेशहरूमा तामाङ जातिको बसोबास रहेको पाइए तापनि बागमती प्रदेशमा नै तामाङ जातिको बाहुल्य बसोबास रहेको दखिन्छ । जसलाई तलको तालिकामा प्रस्तुत गरिएको छः
तालिका-१
प्रदेशगत रूपमा तामाङ जातिको बसोबास
| क्र.सं. | प्रदेश | तामाङ जनसङख्या | प्रतिशत |
| १ | कोशी प्रदेश | 228838 | 13.95 |
| २ | मधेश प्रदेश | 122194 | 7.45 |
| ३ | बागमती प्रदेश | 1216517 | 74.18 |
| ४ | गण्डकी प्रदेश | 50349 | 3.07 |
| ५ | लुम्बिनी प्रदेश | 7839 | 0.48 |
| ६ | कर्णाली प्रदेश | 4348 | 0.27 |
| ७ | सुदूरपश्चिम प्रदेश | 9781 | 0.60 |
| नेपाल | 1639866 | 100 |
तामाङ जातिको धर्म र संस्कृति
जनकलाल शर्मा (२०४५, पृ.३९७) काअनुसार तामाङहरू सामूहिक रूपमा बौद्ध धर्म मान्दछन्। तर ग्यालोक्पा सम्प्रदाय मान्ने र बोन्पो धर्म मान्ने तामाङहरू पनि कतैकतै देखिन्छन्। उनीहरूले मान्ने गरेको बौद्ध धर्म तिब्बती निङमापा सम्प्रदायमा आधारित देखिन्छ। यस सम्प्रदायमा गुम्बामा पद्मसम्भवलाई आफ्नो मूल देवता मानेर स्थापना गर्छन् र यस सम्प्रदायका अनुयायी लामाहरू रातो टोपी र रातो लुगा लगाउँछन्। तर ग्यालोक्पा समुदायका तामाङहरू पहेँलो टोपी लगाउने गर्दछन्। यी दुवै सम्प्रदायहरू तन्त्रमन्त्र, भूतप्रेत, धामी र झाँक्रीमा विश्वास गर्दछन्।
तामाङ समाज दुई वर्गमा बाँडिएकोमा बाह्रजात र अठारजातका तामाङहरू हुन्। उनीहरूका अनुसार बाह्र जातका तामाङहरू शुद्ध रक्तका र अठार जातका तामाङहरू मिश्रित रक्तका मानिन्छन्। उनीहरू नेपालका पुराना बासिन्दा हुन् भन्ने कुरा उनीहरूको सामाजिक सङगठनका पदाधिकारीहरू चोहो, मुल्मी, ङाप्ता, बोन्पो, डोप्ता, आला, ताम्बा र गौराइबाट प्रतिबिम्बित हुन्छ (शर्मा, २०४५, पृ.३९६)। धैरै तामाङहरू आफूलाई बौद्ध धर्मालम्बी बताउँछन्। वास्तवमा उनीहरूको धर्म तिब्बती बौद्ध, हिन्दू र प्रकृति पूजाको मिश्रण हो। उनीहरूको धर्मको तीन आयामहरू स्पष्ट देखिन्छः लामा, बोन्बो र ताम्बा (वारेनक्याम्प, १९९६, पृ.२२)। तामाङ जातिको जन्म, न्वारान, भात खुवाइ, कुलपूजा र मृत्यु संस्कार लामाबाट सम्पन्न गर्ने चलन छ। त्यसैगरी छेवर र विवाहमा ताम्बाको भूमिका रहन्छ भने पूजाआजा, परम्परागत उपचार झारफुक र संस्कारजनित कार्यहरूमा बोन्बो चाहिन्छ। सीताराम तामाङ (२०७४, पृ.४०) ले भोटे (मंगोल) परापूर्वकालमा ‘बोन’ तान्त्रिक मान्थे र बोन्बो उनीहरूको तान्त्रिक पुरोहित मानिन्थे। उनीहरू भूतप्रेतमा विश्वास गर्ने भएकाले बोन्बोले नै बिरामी पर्दा झारफुकदेखि मृतकलाई स्वर्ग पुर्याउँदछ भन्ने कुरामा विश्वास गर्दथे। तामाङ जातिको आफ्नै संस्कार र संस्कृतिअन्तर्गत रहसनसहन, जीवन संस्कार (जन्मदेखि मृत्युसम्म), खानपीन, चाडपर्व, भेषभूषा, मेलापर्व/जात्रापर्व जस्ता विशिष्टताहरू छन्।
- जन्मदेखि मृत्यु संस्कार
तामाङहरू नेपालको उच्च मध्य पहाडी भूभागमा बसोबास गर्ने जनजाति हुन्। उनीहरू एकै स्थानमा झुरूप्प परेर बस्न रूचाउँछन्। लामावादमा विश्वास गर्ने भएकाले उनीहरूको घरमा दर्ज्यू र लुङदर (धार्मिक झण्डा) गाडिएको हुन्छ, यो तामाङ तामाङ सौन्दर्य हो। तामाङहरूको जन्मपछिको पहिलो संस्कार न्वारन (मिनथान्बा) हो। जन्मेको ३ देखि ११ दिनमा लामाले छयोइ पढेर न्वारन गर्ने चलन छ। यस जातिमा छोरा भए ५ महिनामा र छोरी भएमा ६ महिना भातखुवाइ (कान ख्वाबा) गरिन्छ। सामान्यतया मामा वा घरमूली र कतैकतै लामाबाट समेत भात खुवाइको संस्कार गरिएको पाइन्छ। तामाङ जातिमा नाक, कान छेड्ने चलन नभए पनि कतिपयले नाक, कान छेड्ने गर्दछन्। त्यस्तै तामाङ जातिमा आफ्नो छोरीचेली १०/१३ देखि १३-१४ वर्ष पुगेपछि गुन्यूचोलो दिने चलन छ। तामाङ जातिमा बच्चालाई बौद्ध धर्म र दर्शनको जानकारी दिने उद्देश्यले लामाद्वारा छोराको छेवर (टाप्ने) गर्दछन्। यसको अर्थ टुपी काट्नु हो। यसमा मामाले भाञ्जाको कपाल काट्ने चलन छ। यस जातिमा मृत्युपश्चात लामाले संस्कारजन्य कार्य गरी चिहान डाँडामा लगेर जलाउने चलन छ।
तामाङ जातिमा गुन्यूचोली र छेवरपछिको महत्वपूर्ण विवाह संस्कार हो। तामाङ जातिमा मागी विवाह, प्रेम विवाह/चोरी विवाह, जारी विवाह, विधवा विवाह, सट्टा विवाह र अन्तरजातीय विवाह प्रचलनमा छन्। तर औपचारिक संस्कारित विवाह मागी विवाह हो। यसमा केटा पक्षले केटी पक्षकहाँ गई सहमतिमा कुरा छिनाउँछन्। दुवै पक्षको सहमतिमा साइत हेरेर विवाहको तिथिमिति तय गरेपछि केटा पक्षले विवाहको दिन कोसेलीपात लिएर केटी कहाँ जन्ती लिएर आउँछन्। ताम्बाले विवाह कर्ममा चारदाम लगायतका अन्य कामहरू सम्पन्न भएपश्चात् छोरी अन्माउँछन्। तामाङ विवाह संस्कारमा केटापक्ष र केटीपक्षले डम्फू सेलोमा गीत गाई रमाइलो गर्दछन्। विवाहमा छरछिमेकी, आफन्त र नातागोतालाई भोजभतेर खुवाउने चलन छ। मृत्युपश्चात तामाङ जातिमा लामाबाट रीमठिम गरी डाँडामा लगेर लास जलाउने चलन छ। उनीहरूमा मृत्यु भएपछि १३ दिनसम्म घेवा गर्दछन् जसमा ३ दिनसम्म आफन्त, नातागोता र छिमेकीहरूको उपस्थितिमा घेवा संस्कार सम्पन्न गर्दछन्।
- भोजन र परिकारः तामाङहरू मूलत उच्च मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने हुँदा मकै, कोदो, फापरको ढिँडो, रोटी, तरकारी र माछा मासु खान्छन्। उनीहरूमा चाडपर्व विशेमा मात्र नभई दैनिक जाँड र रक्सी सेवन गर्ने चलन छ। यस जातिको विशेष परिकार आलुम (पानी रोटी) र गुन्द्रुकको अचार हो। रूद्रसिं तामाङ (.पृ.२३) काअनुसार तामाङहरूमा चाडपर्व विशेष चामलको भात, बिहेबर्तनमा सेलरोटी र बाबर, माघे सङक्रान्तिमा आलुम (पानी रोटी), ल्होछारमा खाप्से खाने चलन छ ।
- भेषभूषा र गरगहनाः तामाङ जातिमा महिला, पुरूष, लामा, बोन्बो, ताम्बालगायत संस्कार विशेषको पहिरनहरू छन्। ल्होछारको बेला लगाउने पोशाक तागीलाई नै लिन सकिन्छ। प्राचीन समयमा तामाङ जातिले अल्लोबाट बनेका घरबुना कपडा लगाउने गर्दथे। पश्चिम रसुवा र नुवाकोटतिरका तामाङ गादो (ग्याः काँधमा गाठो पारेर लगाउने पोशाक) लगाउँछन्। तर अचेल तामाङ पुरूषहरू बाँकट भोटो, कछाड, दौरा, सुरूवाल, इष्टकोट, सेती टोपी र कम्मरमा पटुका बाँधी कुखुरी भिर्ने गर्दछन्। तामाङ महिलाहरू भने बुट्टेदार छिटको फरिया (स्यामा), रातो कलेजी रङको फरिया, मखमली चोलो, टाउको मजेत्रो, हातबुना बर्को बेर्ने गर्दछन् (तामाङ, पृ.२१-२२)। उनीहरू गरगहना लगाउनमा शौखिन देखिन्छन्। तामाङ पुरूषले समेत कानमा बिरू (कुण्डल) लगाउने गरेको पाइन्छ भने तामाङ महिलाहरू चेप्टे सुन, ढुङग्री, बुटिल, शिरबन्दी, फुली, मुन्द्री, जन्तर, बाला, औँठी लगाउँछन्।
तामाङ जाति चाडपर्व, मेलापर्व र तीर्थस्थलहरू
इतिहासको विभिन्न कालखण्डहरूमा दशैँ तिहारजस्ता केही पर्वहरूलाई राष्ट्रिय पर्वका रूपमा मान्नुपर्ने बाध्यताका कारण तामाङ समुदायले तिनै पर्वहरू मनाउने गरेको पाइन्छ। तर मुलुकमा सङ्घीय लोकतान्त्त्रिक गणतन्त्र स्थापना अघि नै तामाङ जातिले ‘ल्होछार’ पर्वलाई मौलिक पर्वको रूपमा मनाउँदै आएका छन् । यसबााहेक उनीहरू बैशाख पूर्ण (गोने ङ्या) माघे सङक्रान्ति, साउने सङक्रान्ति जस्ता चाडपर्वहरू मनाउँछन्। तामाङ जातिमा विभिन्न मेला पर्वहरू प्रचलनमा छन्। यसको एक दृष्टान्तका रूपमा बौद्ध जात्रा वा तेमाल जात्रा, स्वयम्भू जात्रा आदिलाई लिन सकिन्छ। त्यसैगरी तामाङ जातिका प्रमुख तीर्थस्थलहरू बौद्ध, स्वयम्भू, गोसाइँकुण्ड, नमोबुद्ध, सैलुङ, कालिन्चोक आदि हुन् ।
तामाङ लोकवार्ता, कला र सङ्गीत
तामाङहरू जन्मजात विनोदप्रिय हुन्छन्। उनीहरूको प्रसिद्ध लोकबाजा ‘डम्फू’ हो। उनीहरू गाउँ, सहर जहाँका भए पनि केटाकेटीहरू जम्मा भएर डम्फू बजाउने, सेलो गाउने र डम्फूका तालमा नाच्च मन पराउँछन्। तामाङहरूको लोकगीतमा फापरे गीत, तामाङ सेलो, ताम्बा काइतेन, देउता गीत महत्वपूर्ण छन्। उनीहरूमा डम्फूचान, दोरा नाच, सरस्वती नाच र देउता नाचहरू प्रचलित छन् (शर्मा, २०४५, पृ. ४०९)
तामाङ जातिको सौन्दर्यरूपी मौलिक परम्परा पुस्तान्तरण हुँदै आएका छन्। यसका संवाहक लामा, बोन्बो र ताम्बाहरू हुन्। तामाङ जातिको जन्मदेखि मृत्युसम्मका संस्कारहरूमा यिनै तामाङ समाजका अगुवाहरूले अन्तरपुस्ता ज्ञान हस्तान्तरणको परम्परा रहेको छ। तर तामाङ लोकवार्ताहरूको खोजी, सङकलन, अभिलेखन र सार्वजनिकीकरणको कार्यहरू छिपटपुटबाहेक ठोस रूपमा भएको देखिँदैन।
तामाङ जाति लोक संस्कृति, साहित्य र सभ्यताका दृष्टिले समृद्धि जाति हो। तामाङ बूढापाका (गान्बा) र ताम्बा (पुर्ख्यौली बताउने व्यक्ति) बाट तामाङ समाजमा हजारौँ वर्षदेखि आफ्नो अनुभूति, रीतिस्थिति, रहनसहन, परम्परा, धर्म, इतिहास आदिलाई सँगाल्दै आएको पाइन्छ (तामाङ, २०७५, पृ.१५७)। लोकजीवनमा तामाङ संस्कार, संस्कृति, कला, सङगीतजस्ता यावत पक्षहरूको मौलिक स्वरूप नै समष्टिमा लोकवार्ता हुन्। तामाङ समाजमा लोकवार्तका रूपमा लोकगीतअन्तर्गत संस्कारगीत, पूजापाठ गीत, दोहोरी गीत, दोरा, उपदेश गीत, मेन्हो माया गीत, लोरी बुन्ने गीत, विवाहका गीतहरू प्रचलित छन्। त्यसैगरी तामाङ समाजमा लोककथाहरूमा उदाहरणका लागि कोकोम्हेन्दो र भँवरोजस्ता कथाहरू तामाङ लोकजीवनको पर्याय बनेको देखिन्छ। त्यसैगरी तामाङ जनजीवनमा काल्पला ह्वाईजस्ता लोकगाथाहरू प्रचलित छन्। नेपाल भोट युद्ध, गोरखा तामाङ युद्धजस्ता लोकनाटकका अतिरिक्त गाउँखाने कथा र तामाङ उखानहरू तामाङ लोकवार्ताका अमूल्य निधि हुन् तामाङ समुदायको।
तामाङ भाषा र लिपि
तामाङ जातिले बोल्ने भाषा नै तामाङभाषा [ISO 639-3 tdg] हो। यसलाई तामाङ भाषामा तामाङ ताम, ग्योइ, ग्योत भनिन्छ। भोटबर्मेली परिवारअन्तर्गत पर्ने यस भाषाका पूर्वी र पश्चिमी दुई मुख्य क्षेत्रीय भेदहरू छन् । तर यो भाषाको उत्तर पश्चिमी, दक्षिणी पश्चिमी, पश्चिमी, पूर्वी र पूर्वी गोरखा गरेर चारवटा भौगोलिक भेदहरू पाइएका छन् (एपिले र अन्य, सन् २०१२ पृ.१५८-१६५)। तामाङहरूले आफ्नो आदिथलो याम्बु (काठमाडौँ) लाई ठान्दछन् र यही उपत्यका वरिपरिका पहाडी भू-भागका जिल्लाहरू-रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र चितवन आदि हुँदै नेपालभरि छिटफुट र पातलो रूपमा फैलिएको पाइन्छ (योन्जन-तामाङ २०७३ पृ.१)।
तामाङ भाषाको लेखनमा सम्भोटा, तामयीग र देवनागरी लिपि गरी तीन प्रकारका लिपिहरू प्रचलन आएको देखिन्छ। जसमा तामयीग लिपिलाई तामाङहरूले आफ्नो मौलिक लिपिका रूपमा प्रयोगमा ल्याएका छन्। भाषा आयोगको सिफारिस पश्चात बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० बमोजिम तामाङ भाषा सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्दा तामयीग लिपिलाई तामाङ भाषा लेखनका लागि प्रयोगमा ल्याइएको पाइन्छ । तर तामयीग लिपि पूर्णतः मौलिक लिपि नभई अुछेन वा सम्भोटाकृत लिपि हो। अन्तर्राष्ट्रिय तामाङ सम्मेलनमार्फत् विस्तृत छलफल गरी नेपाल तामाङ घेदुङको निर्णयअनुसार यसमा तामाङ भाषाको लेखनका लागि सम्भोटा लिपिबाट केही आवश्यक लिपि चिन्ह लिएका छन् भने केही लिपिहरू छाडिएका छन्। भारतको सिक्किम राज्यको राज्यको मुखपत्र सिक्किम हेराल्ड र नेपालको गोरखापत्रको नयाँ पेजमा तामाङ पृष्ठ यसै लिपिमा प्रकाशन हुँदै आएको छ। त्यसैगरी बागमती प्रदेशका १५ भन्दा स्थानीय तहहरूमा यसै लिपिमा लिखित तामाङ भाषा विषयका पाठ्यपुस्तकहरू कक्षा १-३ सम्म पठनपाठन भइरहेको छ।
तामाङ जातिको आर्थिक प्रणाली
परशुराम तामाङ (२०७५, पृ.११८-११९) का अनुसार मल्लकालमा सुरू भई पृथ्वीनारायण शाहको एकीकरणसम्मको समयावधिलाई तामाङ समाजको आर्थिक प्रणालीको पहिलो चरण मान्न सकिन्छ। तामाङहरूको आर्थिक प्रणालीलाई तीन चरणमा वर्गीकरण गरिएको छ। पहिलो चरणअन्तर्गत निश्चित भौगोलिक क्षेत्रमा बस्ने तामाङहरूको सामाजिक राजनीतिक प्रणाली आफन्त, कुलकुटुम्ब, विवाह र नाता सम्बन्धमा आधारित देखिन्छ। यस्तो समाजको उत्पादन र आर्थिक आधार सामूहिकतामा केन्द्रित थियो। त्यसैगरी दोस्रो चरणमा गोरखाली विजयपछि किपट हरण र स्वामित्व परिवर्तनको बेलालाई समेट्न सकिन्छ। तामाङका घले, चोहो, मुल्मी प्रथालाई अन्त्य गरी जिम्मावाल वा सामन्ती प्रथाको बिजारोपण र अभ्यास गरियो। तेस्रो चरणको प्रारम्भ पञ्चायतकालमा भई सबै भूमि राज्यको स्वामित्वमा ल्याई रैकर प्रथामा व्यवस्थापन गरियो।
तामाङहरू १००० फिटदेखि १७०० फिटसम्मको उचाइमा बसोबास गर्दछन्। उनीहरूको आर्थिक जीवनको मुख्य पेसामा कृषि पेसा, पशुपालन, घरेलु उद्योग धन्दा (डोको, नाम्लो, मान्द्रो, डालो, चित्रा, भकारी आदि बन्ने) देखिन्छ। उनीहरूले कागत बनाउने पेसामा संलग्न रहेका छन्। थाङका बनाउने तामाङ जातिको पुर्ख्यौली पेसा हो। तामाङहरू दैनिक भारी बोक्ने, ज्यामी काम गर्ने, ट्याक्सी चलाउने र पर्यटकका लागि कुल्लीको काममा समेत संलग्न देखिन्छ। तर पछिल्ला कालखण्डमा तामाङहरू सरकारी सेवाअन्तर्गत सेना, प्रहरी र निजामती सेवामा आकर्षित भएक देखिन्छ। उद्योग व्यवसाय तामाङहरूको नगन्य मात्रमा उपस्थिति देखिए तापनि गाउँ सहरका युवायुवतीहरू वैदेशिक रोजगारीका लागि विदेसिने गरेका छन्।
तामाङ तामाङ जातिको साक्षरता
अध्येता सीताराम तामाङ (२०७४, पृ.४५) काअनुसार तामाङहरू आधुनिक शिक्षाको उज्यालोबाट ओझेलमा मात्र परेका छैनन्। पुर्ख्यौली भोगचलनको घर, जग्गा, जमिन साहु महाजनलाई बुझाएर बसाइ हिँड्नुका साथै उपल्लो तहको चाकरी र सेवामा जीवन बिताउनु परेको नियति छ। देशको वर्तमान अवस्थामा बहुसङ्ख्यामा रहेको यस जातिको आर्थिक र शैक्षिक अवस्था ज्यादै तल्लो अवस्थामा छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार तामाङ जातिको कुल साक्षरता ७३.५% रहेको देखिन्छ। जसमा तामाङ पुरूषको साक्षरता ८०.५ र तामाङ महिलाको साक्षरता ६७.५ रहेको पाइन्छ। यस आधारमा तामाङ जातिमा पुरूष भन्दा महिला साक्षरताको दृष्टिमा कमजोर रहेको पाइएको छ।
राजनीति र राज्य सञ्चालनमा तामाङ जाति
लेखक रविन्द्र तामाङ (२०६८) ले प्राचीन तामाङ राज्यहरू पुस्तकमा नेपालका विभिन्न भागहरूमा तामाङ राज्य भएका उल्लेख गरेका छन्। जसअनुसार काठमाडौँ, काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, रसुवा, मुस्ताङ र कर्णालीमा राज्यहरू भएको उल्लेख भएको पाइन्छ। तामाङ जातिको राजनीतिक सहभागिता र राज्य सञ्चालनमा निर्णायक उपस्थिति नरहे तापनि साङकेतिक उपस्थिति भने पहिलेदेखि नै भइआएको पाइन्छ। नेपालको राष्ट्रिय व्यवस्थापिकाको इतिहासमा तामाङ प्रतिनिधिको सङ्ख्या र प्रतिशतलाई हेर्दा व्यवस्थापिका (संसद) वि.सं. २०१५ साल यता ३% भन्दा कम देखिन्छन्। तर वर्तमानमा प्रदेश र स्थानीय तहहरूमा तामाङ जातिको राजनीतिक सहभागिता बढोत्तरी हुँदै गएको पाइन्छ।तामाङ जातिको बाहुल्य रहेको प्रदेशको बागमती प्रदेशमा तामाङ मुख्यमन्त्री नियुक्ति भई तामाङ जातिको प्रतिनिधित्व हुन पुगेको दृष्टान्त ऐतिहासिक बनेको छ। भारतको सिक्किम राज्यमा यसअघि नै तामाङ जातिको मुख्यमन्त्री रहेको छ।
तालिका-२
नेपालको व्यवस्थापिका (संसद) मा तामाङ प्रतिनिधिको सङ्ख्या र प्रतिशत
| चुनाव र अवधि | तल्लो र माथिल्लो गरी दुवैमा जम्मा स्थान | तामाङ प्रतिनिधिको सङ्ख्या | तामाङ प्रतिनिधिले ओगटेको स्थान | व्यवस्थाको किसिम |
| २०१५-२०१७ | १४५ (१०९+३६) | ३ | २.०६% | प्रजातन्त्रकाल |
| २०१९-२०४६ | ५०५ (जम्मा) | ८ | १.५८% | पञ्चायतकाल |
| २०४८-२०५१ | २६५ (२०५+६०) | ५ | १.८८% | प्रजातन्त्रको पुनस्थापनाकाल |
| २०५१-२०५६ | २६५ (२०५+६०) | ४ | १.५% | प्रजातन्त्रको पुनस्थापनाकाल |
| २०५६-२०६२ | २६५ (२०५+६०) | ४ | १.५% | प्रजातन्त्रको पुनस्थापनाकाल |
| २०६३-२०६४ | ३२० (२०९+७३+७८) | ९ | २.७३% | अन्तरिमकाल |
| २०६४-२०७० | ६०१ (४२५+१७५) | १६ | २.६६% | संविधान सभा |
| २०७०-२०७४ | ६०१ (४२५+१७५) | १४ | २.३२% | संविधान सभा |
| २०७४-२०७८ | २७५ (१६५+११०) | ६ | २.१८% | गणतन्त्रकाल |
| २०७८-२०८४ | २७५ (१६५+११०) | ८ | २.९% | गणतन्त्रकाल |
स्रोतः योञ्जन तामाङ (२०८१, पृ.१९), नायकको खोजीमा, म्हन्दो ट्रस्ट।
निजामती, सेना, प्रहरीलगायत राष्ट्र सेवामा तामाङ जाति
राज्य संरचनाको नीति कार्यान्वयन गरी सेवा प्रवाह गर्ने स्थानीय संयन्त्रको रूपमा निजामती सेवालाई लिन सकिन्छ। नेपालको निजामती सेवामा तामाङ जातिको उपस्थिति अन्त्यन्तै न्यून दखिए पनि पछिल्लो समयमा तामाङ युवायुवतीहरूको यसमा आकर्षण बढ्दै गएको देखिन्छ। नेपालको निजामती सेवामा तामाङ जातिको उपस्थिति १.७२ % रहेका छन् (विश्वकर्मा, आ.व. २०६३/६४ मा निजामती सेवामा प्रवेश गरेका जाति र आ.व. २०७९/८० मा निजामती सेवामा प्रवेश गरेका जातिको तुलना)। हालसम्म तामाङ जातिबाट एक जना मात्र नेपाल सरकारको सचिव तहसम्म पुग्नु, केही सीमित सङख्यामा सहसचिव र उपसचिव रहनु र अधिकृत भन्दा निजामती सेवामा तामाङ जातिको उपस्थिति हेर्दा तामाङ जनसङख्या भन्दा ३.८८% ले अन्तर देखिन्छ। यस आधारमा तामाङ जातिको जनसङख्याको अनुपातमा निजामती सेवामा तामाङ जातिको उपस्थिति सन्तोषजनक देखिँदैन।
आतिथ्य उद्योग, व्यवसाय र व्यापार
तामाङ जातिमा रहुसिला मात्र छैनन्, उनीहरूमा पाहुना सत्कारका आफ्नै तामाङ संस्कारजनिय रीमठिम रहेको छ। अचेल पाहुनालाई खादा लगाएर लास्सो फ्याफुल्ला भनी अभिवादन गरेर स्वागत गर्दछन्। उनीहरूको घरमा विशेष अतिथि (चोहो, मुल्मी आदि) साथै लामा, बोन्बो, लाब्ताबा) आदि आउनु भएमा राडी, गुन्द्री र गलैँचा ओछ्याउने गर्दछन् पाहुनाको अगाडि लामावादका शुभ चिन्हलिखित साधारण टेबल छ्याङदी राख्दछन्। तामाङ जातिमा पाहुनालाई जाँडरक्सी दिएर स्वागत गर्ने चलन छ भने खाना खानुअघि मूल व्यक्तिले लास्सो सोल्छयोइके भन्ने चलन छ।उनीहरूमा सबैले खाना खाई नसकेसम्म पर्खनुपर्ने चलन छ।
तामाङ ऐतिहासिकता, ताम्बा दर्शन र सांस्कृतिक पर्यटन
`तामाङ समाजको इतिहास, सामाजिक परम्परा र धार्मिक कर्मकाण्डको ज्ञान भएको व्यक्ति ताम्बा हुन्। त्यसैले ताम्बालाई तामाङ संस्कृतिको मर्मज्ञ, प्रतिपालक, इतिहासकार, धार्मिक र सामाजिक कार्यको अगुवा र तामाङ विश्व दृष्टिकोणको प्रवक्ता वा तामाङ दर्शनका प्रयोक्ता मानिन्छ (तामाङ, २०७५, पृ.२५५)। त्यसैगरी अमृत योञ्जन तामाङ (२०७२, पृ.१७) काअनुसार ताम्बा तामाङ जातिका पुर्ख्यौली र सांस्कृतिक धरोहरका व्याख्याता र तामाङ जीवन र जगतलाई व्याख्या गर्ने हुनाले उनलाई दार्शनिक रूपमा चिनिन्छ। ताम्बाद्वारा जीवन, जगत, प्रकृति, समाज र संस्कृतिको बारेमा निर्धारण गरिएका हेराइ र बुझाइहरू, विचार, सिद्धान्त र नियमहरू नै ताम्बाको दर्शन हो। मूलतः ताम्बा दर्शन ताम्बा काइतेन (ताम्बा शास्त्र), जिक्तेन तामछ्योइ (सांसारिक विषयका वाकशास्त्र), ह्रामा (सांस्कृतिक गीत) र दोङराप (वंशावली) मा सङग्रहीत छन्। यसरी तामाङ समाज, संस्कृति, संस्कार सबैको व्याख्याता र प्रवक्ता समेत ताम्बाहरू हुन्। अद्यापि तामाङ समाजमा कुनै पनि रीमठिम, परम्परा, संस्कार, संस्कृतिजन्य कार्यहरू ताम्बाको उपस्थितबिना सम्पन्न गर्न सकिँदैन। त्यसैले ताम्बा दर्शन तामाङ जातिको विश्व हेर्ने तामााङ दृष्टिकोण हो।
क)सांस्कृतिक पर्यटनको महत्व
नेपाल जसरी प्राकृतिक सुन्दरताले ओतप्रोत छ त्यसरी नै सामाजिक सांस्कृतिक विविधताले भरिपूर्ण छन्। यहाँको किराँत सभ्यता, मिथिला नेवा/ताम्सालिङ सभ्यता, गण्डक सभ्यता, खस सभ्यता र थारू संस्कृतिहरू पूर्वेली सभ्यताका अभिन्न पक्षहरू हुन्। प्रस्तुत पक्षहरू जाति विशेषको पहिचान मात्र नभई विश्वजगतसम्म चिनाउने प्रतिबिम्बहरू हुन्। त्यसमध्ये तामाङ संस्कृति पर्यटकीय दृष्टिले असाध्यै महत्वपूर्ण छन्। पर्यटकीय विकासमा पर्यटकीय पूर्वाधारहरू, भूगोल, सामाजिक सांस्कृतिक र धार्मिक स्थल, चाडपर्व, खानपीन, कला, सङगीत आदि हुन्।
ख) सांस्कृतिक पर्यटनको भावी कार्यदिशा
नेपालको सामाजिक आर्थिक विकासको रूपान्तरणकारी क्षेत्रहरूमध्ये पर्यटन क्षेत्र पनि हो। पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वधारको निर्माण, सामाजिक सांस्कृतिक पक्षहरूको प्रवर्धन, सूचना र प्रविधिको माध्यमबाट प्रचारप्रसार एवम् अन्तर्राष्ट्रिय जगतसम्म सम्बन्ध विस्तार गरिनु पर्दछ। तामाङ जाति र पर्यटकीय पक्षलाई हेर्दा तामाङ जातिको भूगोल, भाषा, संस्कृति, आतिथ्य संस्कार, रैथाने जीवन पद्धति, कला सङगीत र तामाङ डायस्पोराको परिचालन गर्ने सोचलाई कार्य रूप दिन आवश्यक छ। तामाङ जाति र सांस्कृतिक पर्यटनको प्रवर्धनका लागि देहायका कार्यदिशा अग्रसारित गर्न सकिन्छः
- तीनै तहका सरकारहरूबाट तामाङ सांस्कृतिक पर्यटकीय क्षेत्रको पहिचान गरी पर्यटकीय पूर्वाधार तयार गरी आकर्षक गन्तव्यका रूपमा विकास गरिनु पर्दछ। जसमा तामाङ सङग्रहालय स्थापना गरी तामाङ जातिका प्रागऐतिहासिक र तामाङ जातिसम्बन्धी सामग्रीहरू सङकलन र प्रदर्शनीमा राख्न सकिन्छ।
- तामाङ जातिसँग सम्बद्ध विशेष अवलोकनीय क्षेत्रहरू लुम्बिनी, बौद्ध, स्वयम्भू, शैलुङ, गोसाइकुण्ड क्षेत्रमा ‘तामाङ कोसेली घर’ स्थापना गरी तामााङ जातिसँग सम्बन्ध उत्पादनलाई बिक्री वितरण गरी देश विदेशसम्म आपू्र्तिको प्रबन्ध मिलाउनुपर्ने देखिन्छ ।
- तामाङ जातिको खानपीन र परिकारसहितको तामाङ भान्साघरजस्तो ‘तामाङ कुदाप’ स्थापना गरी तामाङ परिकार र स्वाद दिलाउन स्थानीय तहबाट तामाङ गाउँहरूमा तामाङ होमस्टे सञ्चालन गर्न आवश्यक देखिन्छ ।
- तामाङ जातिको बाहुल्य रहेको ठाउँमा “तामाङ सेलो घर” को सञ्चालन गरी डम्फू सेलो, फापरे ह्वाई र म्हेन्दोमायाजस्ता नाच प्रस्तुत गरेर तामाङ संस्कृतिको प्रवर्धन र पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।
- तीनै तहका सरकारहरू र अन्तर्राष्ट्रियस्तरसम्म पनि विश्वमा छरिएर रहेका तामाङ डायस्पोराको समेत सहयोगमा तामाङ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न तामाङ पर्यटन गन्तव्यसहितको वेबसाइट निर्माण गरी सोमार्फत् प्रचारप्रसारसहित सम्पर्क र समन्वयको व्यवस्था गर्न जरूरी छ ।
- ताामाङहरूको मौलिक कलाअन्तर्गत थाङका व्यवसायको प्रवर्धन गर्न गाउँगाउँसम्म थाङकासम्बन्धी तालिम दिई घरेलु उद्योगका रूपमा सञ्चालन गर्न सकिन्छ। त्यसैगरी हरेक चाडपर्व र संस्कार विशेषमा ‘डम्फू कोशेली’ दिने परम्परा बसालेर स्थानीय तहमा डम्फू उद्योग सञ्चालन गर्न सकिने प्रबल सम्भावना छ।
- तामाङ जातिका धेरै मानिसहरूले विदेशी पर्यटकका सहजकर्ताका रूपमा रोजगारी प्राप्त गरेको देखिन्छ। उनीहरूलाई पर्यटकको पथप्रदर्शकको तालिमसहित तामाङ पर्यटकीय परिपथतर्फ विकास गरी पर्यटक भित्र्याउनमा अभिप्रेरित गरिनु पर्दछ ।
- नेपालको तामाङ जाति र संस्कृति आफैँमा स्वदेशी र विदेशी अध्येताहरूका लागि अध्ययनको ‘पवित्र’ क्षेत्र भएकाले विश्वविद्यालयको प्राज्ञिक र अन्य अध्ययनको विषयका रूपमा तामाङ संस्कृतितर्फ अभिप्रेरित गर्नुपर्ने देखिन्छ ।
निष्कर्ष
लेखक बिना थिङकाअनुसार तामाङहरू याम्बुनेरका बासिन्दा हुन्। त्यसैगरी विज्ञ अजितमान तामाङकाअनुसार तामाङहरू नेपालको ठूलो सङख्या भएको जाति हुन् । जे होस् तामाङ जाति नेपाल राष्ट्र निर्माणका एक अभिन्न पक्ष हो। इतिहासको विभिन्न कालखण्डहरूमा विद्रोह र शासकीय कोपभाजनमा परी सीमान्तीकृत तामाङ जाति ताम्सालिङ सभ्यताका जननी हुन् (दिक्पाल, २०७६, पृ.३१-४६), जसरी उपत्यकामा नेवा सभ्यता छ त्यसरी नै उपत्यका वरिपरि ताम्सालिङ सभ्यता रहेको छ। यसरी याम्बुनेरको तामाङ सभ्यता वास्तवमै नेपालको सभ्यताको मूलथलो मान्न सकिन्छ। किनभने बागमती प्रदेशका १३ जिल्लाहरूबाट तामाङ जाति, पहिचान र सभ्यतालाई अलग गर्ने हो भने यस प्रदेशको मौलिकता भन्ने नै रहने देखिँदैन। त्यसैले तामाङ जाति नेपालको एक इतिहास मात्र होइन र राष्ट्र निर्माणका अभिन्न पाटा हुन्। समष्टिमा उनीहरू ताम्सालिङ सभ्यताका मुख्य पक्ष हुन्। त्यसमा ताम्बा दर्शन तामाङ जातिको विश्व दृष्टिकोण हो। तामाङ जातिको यही विशिष्ट र मौलिक पहिचानलाई तामाङ सांस्कृतिक पर्यटनमा रूपान्तरण गरी नेपालको शान र मानलाई विश्वसम्म पुर्याउने अबको गन्तव्य हुनुपर्दछ।
सन्दर्भसूची
गोले, मोहन (२०७१), तामाङ समाजः इतिहास र मौलिक संस्कृति, दिदीबहिनी अफसेट प्रा.लि., काठमाडौँ ।
ग्यावक तामाङ, रविन्द्र (२०६८), प्राचीन तामाङ राज्यहरू, ऐतिहासिक अध्ययन, याम्बुरी बुक पोइन्ट, काठमाडौँ ।
तामाङ, अजितमान (२०६९), तामाङ जातिको चिनारी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल तामाङ घेदुङ, काठमाडौँ ।
तामाङ, परशुराम (२०७५), तामाङ जाति, सामाजिक संरचना, संस्कृति, भाषा र श्रुतिसाहित्य, शैलुङ बुक्स प्रा.लि., काठमाडौँ ।
तामाङ, रूद्रसिं (२०६०), तामाङ संस्कार र संस्कृति, ताम्बा, बोन र बौद्ध धर्मसंस्कृतिसहित, तामाङ अनुसन्धान तथा विकास केन्द्र, काठमाडौँ ।
तामाङ, सीताराम (२०६०), तामाङ उद्गम इतिहास र राष्ट्रियता, स्वयम् ।
दिक्पाल, राजकुमार (२०७६), आदिवासी विद्रोहको इतिहास, मञ्जरी पब्लिकेशन प्रा.लि., काठमाडौँ ।
धनु विश्वकर्मा, आरक्षण खारेजी होइन परिस्कार, सोमबार, २१ साउन, २०८१ ।
योञ्जन तामाङ, अमृत योञ्जन (२०७२), ताम्बा दर्शन, चाइल्ड स्पेस फाउन्डेसन नेपाल, काठमाडौँ ।
राई र योञ्जन तामाङ (२०८०), बागमती प्रदेशमा बोलिने तामाङ भाषाका भौगोलिक भेदहरूको कोशीय-तथ्याङ्कगत (Lexicostatistical) विश्लेषण, भाषा आयोग।
लोप्चन, लोकबहादुर (२०८०), तामाङ डाजाङ मासिकको दुई सय अङकसम्मको यात्रा, उपलब्धि र योगदान, तामाङ डाजाङ, २०० छा बो गौरबा बो।
शर्मा, जनकलाल (२०७५), हाम्रो समाज एक अध्ययन (पाँचौँ संस्करण), मञ्जरी पब्लिकेशन, काठमाडौँ ।